भर्खरै :

सुरक्षित अवतरणको निहुँ !

(कोभिड–१९ सङ्क्रमण रोकथामको लागि प्रशासनबाट निषेधाज्ञा जारी भएको थियो । बिहान ७ बज्यो, घरको कौसीमै छिमेकीहरूबीच देशको स्थितिबारे चर्चा भयो ।)
छिमेकी १– “के हो यो, नेकपाको कार्यदलको प्रतिवेदन, ओलीलाई राहत, दाहाललाई अधिकार, ओलीको दुवै पद जोगिने, दाहालको भूमिका बढ्ने, ओलीले सरकार, दाहालले पार्टी चलाउने रे ?”
छिमेकी २– “नाम होस् या बदनाम, गुमनाम नहोस्’ भन्ने उखान छ नि ¤ ठ्याक्कै यस्तै छ, नेकपाको स्थिति ¤”
छिमेकी ३– “दाहाल, नेपाल, खनाल, वामदेव, नारायणकाजीलगायतलाई सुरक्षित अवतरण चाहिएको थियो, त्यसैको लागि कार्यदल र प्रतिवेदनको नाटक हो यो ¤”
छिमेकी १– “हो त नि, ओलीले पाँच वर्षको लागि आफू प्रम हुने भनेकै हो । अब फेरि एकपटक ओली आफू १ नम्बरको पार्टी अध्यक्ष र दाहाल २ नम्बरको अध्यक्ष भन्नेछन् ।”
छिमेकी २– “त्यसपछि चित् खान्छन्, दाहाल, नेपाल, खनाल, नारायणकाजीहरू ¤”
छिमेकी ३– “प्रम र पार्टी अध्यक्ष भएका ओली कहिल्यै दुई नम्बरको अध्यक्ष हुन्छन् र ?”
छिमेकी १– “कार्यदलका सदस्यहरू प्रम ओलीका मन्त्री बन्न हतारिएका हुन् । त्यसैले पुरानै कुरालाई प्रतिवेदनमा राखियो ।”
छिमेकी २– “विचराहरूको हैसियत नै के छ र ? कार्यदलको संयोजक पौडेल प्रम ओलीकै दाहिने हात हुन् । प्रम ओलीले दाहाल र नेपाललाई बहुमत देखाउन चेतावनी दिएकै थिए ।”
छिमेकी ३– “कार्यदलको प्रतिवेदन त सरकारको नीति तथा कार्यक्रमको चोचोमोचो न हो । के नयाँ कुरा छ र ?”
छिमेकी १– “त्यही त प्रम र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका यिनीहरू कुन हैसियतमा ओलीसँग फेरि बस्ने हुन् ? भागबण्डा खानका लागि बस्ने होइनन् र ?”
छिमेकी २– “होइन, प्रतिवेदनमा एकता महाधिवेशन, एमसीसी सम्झौता, कूटनीतिक पहलमा सीमा समस्या समाधान, कोभिड–१९ रोकथाम आदि परे तर भ्रष्टाचार र कमिसन नियन्त्रण चाहिँ किन परेन ?”
छिमेकी ३– “त्यो त जुकाले रगत चुस्दैन भनेर आशा गर्नुजस्तै हो । यिनीहरूको सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि नै कारोबारी अर्थात् कर्पोरेट हुन् । पैसा र सामान बाँडेर, भोज खुवाएर, झूटा आश्वासन दिएर दुईतिहाइ ल्याएकाहरू कसरी सदाचार होलान् ?”
छिमेकी १– “कोभिड–१९ समुदायमै फैलिँदै छ । स्वास्थ्यकर्मी, प्रहरीसमेतमा सङ्क्रमण बढ्दो छ । चुनावमा सत्तापक्ष एमाले र माओवादीले ४१ लाख र प्रमुख प्रतिपक्षी नेकाले ४० लाख मत प्राप्त गरेका थिए । यति धेरै मत पाएका पार्टीका कार्यकर्ताहरू सङ्क्रमण रोकथाममा खोई परिचालन भएको ?”
छिमेकी २– “मन्त्री र नेताहरूको घोटाला र कमिसनप्रेमका नालीबेली थाहा पाएका कार्यकर्ताहरू भोकै कहाँ हिँड्छन् ¤ चुनाव प्रचारकै बेला यी पार्टीहरूले आफ्ना कार्यकर्तालाई बिगारेका हुन् ¤”
छिमेकी ३– “यतिबेला स्वास्थ्यकर्मीहरूलाई दुव्र्यवहार गर्नु हुँदैन । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेसस्ले स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हत्या नै हुने बताउनुभयो । पीपीई र अन्य स्वास्थ्य सामग्रीविना स्वास्थ्यकर्मीले कोभिड–१९ जस्ता सङ्क्रामक रोगको उपचारमा काम गर्नु ज्यानको खतरा हो ।”
छिमेकी १– “डा. टेड्रोसले बढी घुलमिल भए कोभिड–१९ सङ्क्रमण फैलिने बताउनुभयो । अहिले काठमाडौँ उपत्यकालगायत देशको ४२ जिल्लामा निषेधाज्ञा छ । विज्ञहरूले अर्को हप्तासम्म काठमाडौँमा सङ्क्रमण घट्ने अपेक्षा गरेका छन् तर खुकुलो हुनासाथ मानिसको आउजाउ बढ्छ र सङ्क्रमण पनि बढ्छ ।”
छिमेकी २– “हो, यसअगाडिको ३ महिनाको लकडाउन खुकुलोसँगै वैदेशिक रोजगारीमा पठाइएका नेपालीहरू तत्तत् देशले फिर्ता गरे तर उनीहरूको लागि यहाँ क्वारेन्टिनको वैज्ञानिक व्यवस्थापन नहुँदा सङ्क्रमण बढ्यो । भारतसँगको खुला सीमाले पनि नेपालमा कोभिड – १९ सङ्क्रमण बढेको हो ।”
छिमेकी ३– “अहिले वैदेशिक रोजगारीमा गएका ७८ हजार श्रमिक नेपाल फर्किने प्रतिक्षामा छन् । वैदेशिक रोजगारीका १६ लाख श्रमिक फर्कँदै छन् । यसकारण नेपालमा कोभिड–१९ भयावह स्थितिमा छ यति धेरै मानिस वैदेशिक रोजगारीबाट फर्काइँदै छ । के वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीलाई जिम्मेवार बनाइनु पर्दैन र ?”
छिमेकी १– “वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सबाट देशको अर्थतन्त्र धान्ने सरकारमा गएका पार्टीहरूको नीति नै गलत भएको अहिले पुष्टि भयो । कृषि प्रधान देशमा गएको वर्ष मकैमात्र १४ अर्ब रुपैयाँको आयात गरियो । खाद्यान्न कुल २ खर्ब रुपैयाँको बर्सेनि आयात गर्नु सरकारको निर्लज्जता हो ।”
छिमेकी २– “निषेधाज्ञासँगै हरियो तरकारीको मूल्य बढ्यो । कृषि अनुदान किसानले पाउँदैनन् माफियाहरूले खान्छन् । कृषिमन्त्री पनि ढँटुवा रहेछन् ¤”
(छतमा बसेकाहरूलाई आ–आफ्ना परिवारले चिया खान बोलाउँछन् ।)
छिमेकी ३– “चिया पनि तयार भयो । अहिलेलाई छुटौँ ¤”
(सबै चिया खान जान्छन् )
(पर्दा बन्द)
२०७७ भदौ ७

Leave a Reply

Your email address will not be published. Required fields are marked *