मेनबर्नको चिडियाघरमा कङ्गारुसँग खेल्दै
अर्को दिन मेलवर्न सहरको नजिकै पर्ने सेन्ट किल्दा समुद्रतिर लाग्यौँ । आँखाले भ्याउनैन सक्ने । पर–परसम्म पानीकै पहाड । पानीकै बादल । यस्तो लाग्थ्यो कि समुद्र नै बतास भएर हामीलाई अङ्कमाल गरी जिस्काइरहेको छ । आकाशले समुद्रलाई उठाएको अनि क्षितिजले हामीसँग मितेरी गाँस्न आएकोजस्तो भान भयो । मरुभूमिजस्तै बालुवै बालुवाको किनार र समुद्रमाथि लम्पसार परेर बालुवाकै मूर्तिजस्ता देखिने युवायुवतीको पश्चिमेली सभ्यताको उन्माद देखाइरहेका थिए । हामी आजित र लज्जित भई नदेखेझैँ गर्दै समुद्रमा हाम्रा निश्चल आँखाहरू बिछ्याइरह्यौँ । छालको छलाङसँगै खेल्दै बस्यौँ । छालको दौड देख्दा युवा–युवतीहरूका अ· अ· चुम्न छालहरूलाई हतारो भइरहेझैँ लाग्थ्यो । ती छालहरूको दौडलाई हेरिरहेका थियौँ । आकाश र बादलले पनि यी सबै दृश्य हेरिरहेका थिए । बादलले उनीहरूलाई छोप्न खोजिरहेको जस्तो लागिरहेको आभास हुन्थ्यो ।
समुद्रको छालसँगै हामी लुकामारी खेलिरहेका थियौँ, जिस्किएर रमाइलो गरिरहेका थियौँ । आँखाले भ्याएसम्म हेरिरहेका थियौँ । कता कता हाम्रो भूपरिवेष्ठित देश नेपाललाई अन्याय गरेजस्तो लाग्यो । घामले आफ्नै पाइलाहरू लम्काउँदै सन्ध्यासँग अजम्बरी गीत गाउँदै समुद्रमा डुबुल्की मार्न खोज्दै थियो । यो सुन्दर दृश्य हेर्न हामी समुद्र किनारमा उभिएर समुद्रले सूर्यलाई निलिरहेको हेरिरह्यौँ । त्यो सूर्यास्तले हाम्रो मानसपटलमा नागार्जुन डाँडाको याद दिलायो । हामीलाई आफ्नो देशमै छु भन्ने अनुभूति भयो । समुद्र किनारदेखि अलि पर खजुरका बोटहरू थिए, सैनिकले जस्तै टनक्क शरीर तन्काउँदै कुनै नेता वा मन्त्रीको स्वागतार्थ उभिरहेका जस्ता देखिन्थे । धेरै रमाइलो लागिरहेको थियो । फर्कन नचाहँदा नचाहँदै अन्ततः गन्तव्यमा पुग्नुपर्ने बाध्यतालाई स्वीकार्दै त्यहाँबाट फक्र्यौँ ।
भ्रमणको क्रममा तालिकाअनुसार हामी विल्सन प्रोमोन्टोरी भिक्टोरियाको लागि निस्क्यौँ । बिहान ६ बजेदेखि १० बजेसम्म, चार घण्टाको यात्रा गर्याैँ । त्यसदिन पनि धेरै रमणीय ठाउँ र समुद्रमा मन नअघाउञ्जेल खेल्दै, हेर्दै, रमाउँदै, कल्पना गर्दै आफ्नो गन्तव्यमा फक्र्यौँ ।
प्रकृतिले सुन्दरता दिएर, यो संसारलाई बेहुलीजस्तै सजाएर सुन्दर बनाएको रहेछ । स–साना थुम्का, पहाड, हल्का घुमाउरो बाटो, पहाड र सडकबीच हुँदै मौन भएर बसेको ताल मन नै लोभ्याउने खालको प्रकृति थियो । नेपालको जस्तो हरियालीले ढाकेको पहाड कतै पनि थिएन । सुकेर कुल्चँदा झुरुमझुरुम हुनेखालको मसिना केस्राजस्ता झारले पहाडलाई घुम्टो ओढाएको भान हुन्थ्यो । बाटोमा हिँड्ने मानिसहरूदेखि लजाएर पहेँलो घुम्टो ओढेर सबै पहाडहरू यथास्थानमा थपक्क बसेजस्तो लाग्थ्यो । वास्तवमै त्यहाँको प्राकृतिक सुन्दरता मन लोभ्याउने खालको नै थियो ।

मेलबर्नको चित्र सङ्ग्राहलयमा
सहरको भित्रको चिल्लो सडकमा आफ्नै रफ्तारमा ट्याक्सी र गाडी हँुइकिरहेका थिए । दायाँ–बायाँ बाटो काट्नको लागि जडान गरिएका ट्राफिक लाइटहरूले पहरा दिइरहेका थिए । ती ट्राफिक लाइटको इसारामा हामी दौडिरहेका थियौँ । न कतै ट्राफिक पुलिसले सिठी बजाउँदै हात हल्लाइरहेको थियो न त कतै जामको पिरलोमा उभिनु परेको थियो । सडक एकदम शान्त थियो । नियममा बाँधिएपछि व्यस्त सहर पनि खुला गाउँ, मौन र विनम्रझैं लागिरहेको थियो । हामी खुला आकाशमा पन्छीहरू उडिरहेझैँ गाडीमा यात्रा गरिरहेका थियौँ । सडक दायाँ–बायाँ विशाल घाँसे मैदान थियो । जहाँ तयारी अवस्थाका घाँसका मुढाहरू विभिन्न र·को प्लाष्टिकले बेरेर आकर्षक तरिकाले चाङ मिलाएर राखिएको थियो । हामीले त्यहाँका विशाल कृषि फार्महरू हेर्याैँ । अन्नबाली, फलफूल, तरकारी, जडीबुटी आदिका फाँट विशाल देखिन्थ्यो । त्यहाँ विशाल पशुपालनफार्महरू थिए । च्याङ्ग्रा पालन, भँेडा पालन, गाई पालन र विभिन्न पन्छी पालनहरू गरिएका थिए । धेरै बेर खेलेर, पार्कहरू घुम्दै आएको कल्पना गर्दै आफ्नो स्थानमा फक्र्याैँ ।
अस्ट्रेलियाको मेलवर्न सहरको दुई स्थानमा हामीले हिन्दू मन्दिरको पनि दर्शन गर्याैँ दुर्गा माता मन्दिर रक बैङ्कमा र शिव विष्णु मन्दिर, क्यारूम डाउन्समा । हिन्दूहरूको लागि ठूलो पवित्र धार्मिक स्थल मानिन्छ । त्यहाँ हिन्दूहरूका निम्ति धार्मिक प्रवचन, भजनकीर्तन, योग अभ्यास, दशहराजस्ता हिन्दू कार्यक्रमहरू, त्यसैगरी तीज, तिहारजस्ता चाडपर्वहरू मनाउन र विवाह, व्रतबन्ध, जन्मदिन आदि शुभ कार्यहरू पनि हुने गर्छ । मन्दिरभित्र विभिन्न देवीदेवताका मूर्तिहरू राखिएका थिए । तर, भित्र पूजा गर्न नपाइने र देवतालाई टाढैबाट दर्शन गर्नुपर्नेरहेछ । पूजारीलाई पूजा दिएर प्रसाद लिई आउनु पर्नेरहेछ । बाटोभरि फुलेका रंगीबिरंगी फूल र कागती, अम्बा, स्याउ, नासपाती, अङ्गुरका झुप्पा फलिरहेको देख्दा मोहित नहुने सायदै कोही होलान् । समयमा नटिप्दा रंगीबिरंगी फूलहरू पनि कुहिरहेका र विभिन्न फलफूल झरिरहेको देख्दा टिपौँ टिपौँ जस्तो लाग्यो । तर, त्यहाँको कानुनअनुसार बाटोमा फुलेका फूलहरू टिप्दा जरिवाना लाग्ने, कसैको कुनै सामानहरू, अरूले रोपेका फलफूल झरेको नै टिप्न नहुने नियम रहेछ । त्यहाँ नेपालमा जस्तो मन्दिरमा फूल चढाउने चलन रहेनछ । त्यसलाई सौन्दर्य र वासनाको लागि मात्र प्रयोग गर्नेरहेछ ।
छोराछोरीहरू आफ्नो काम र पढाइमा नै व्यस्त रहेका हुन्छन् । अभिभावक आफ्नै सुरमा हिँड्छन् । नेपालमा गरिरहने व्यवहारजन्य सानातिना गल्तीहरू पनि यहाँ ठूलो हुन गई दुःख भोगेका अभिभावकहरू पनि रहेछन् । त्यसकारण त्यहाँको नियम, कानुन र सिस्टमका बारेमा अभिभावकहरूलाई पहिले नै जानकारी हुन जरुरी देखिन्छ । राम्ररी अङ्ग्रेजी भाषा लेख्न र बोल्न नजान्ने अभिभावकहरूलाई भाषाको समस्या हुने भएकोले पहिले नै साधारण र व्यावहारिक भए पनि अङ्ग्रेजी भाषा सिकेर जानुपर्ने देखिन्छ ।
हामीले अष्ट्रेलियामा तीन महिनाको बसाइमा धेरै कुराहरू सिक्यौँ र थाहा पायौँ । बाहिर देशबाट पढ्न आउने विद्यार्थीहरूको समस्याबारे पनि धेरथोर बुझ्यौँ । अष्ट्रेलियामा विद्यार्थीहरू विभिन्न उद्देश्यका साथ आउने गर्दा रहेछन् । विद्यार्थी भिसामा आउने विद्यार्थीहरूले हप्तामा २० घण्टामात्र काम गर्न पाउने र पढाइमा नै जोड दिनुपर्ने हुन्छ । २० घण्टा काम गरेर पाएको पारिश्रमिकले आफ्नो कलेज शुल्क, घर भाँडा र अन्य खर्चको लागि उनीहरू प्रयोग गर्छन् । केही पैसा बचाएर उनीहरू नेपालमा आफ्नो घरपरिवारलाई पनि पठाउँछन् । अष्ट्रेलियामा तालिम प्राप्त व्यक्तिहरूका लागि बढी अवसर प्राप्त हुने भएकोले यहाँ आउन अगावै विभिन्न तालिम, सीप र क्षमता अभिवृद्धि गर्ने प्रशिक्षण लिएर आउने गरेको देखिन्छ । पैसामात्रै कमाउने हेतुले आएका व्यक्तिहरू सस्तो र सधैँ हाजिर हुन नपर्ने कलेज खोजेर भर्ना हुने गर्छन् । यस्ता व्यक्तिहरू पढाइमा भन्दा काममा बढी मेहनत गरेर पैसा धेरै कमाउँछन् । त्यहाँ कुनै पनि कामलाई सानोतिनो भनेर हेला नगरी सबै कामलाई समानरूपमा उत्तिकै इज्जत दिइन्छ । नेपालमा पनि पर्याप्त सुविधा र अवसर प्राप्त भएको खण्डमा र कुनै पनि कामलाई सानोतिनो नभनी भेदभाव नगरी मेहनत गरेमा त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ । नेपालमा त्यस्ता सुविधा र अवसरहरू प्राप्त नभए तापनि विदेशमा गएर आफूले जानेको र सिकेको अनुभव बटुलेर आफ्नै देशमा लागू गरी आफ्नो परिवार, समाज र देशको सेवा गर्न सकिन्छ कि भनी छोरी र ज्वाइँसँग छलफल पनि गरेँ ।
नेपालमा बस्दा प्रायःजसो छोराछोरीहरू अल्छी भएर बसे तापनि अष्ट्रेलिया पुगेपछि त्यस्तो नहुनेरहेछ । त्यहाँ अनुशासित भई रातदिन नभनी काम गर्नुपर्ने स्थिति छ । बिहान ४ बजेदेखि नै उठेर भान्साको काम सिध्याएर आफ्नो ड्यूटीमा जानुपर्ने आफ्नो सम्पूर्ण काम आफैँले गर्नुपर्ने बाध्यता हुन्छ । त्यसकारण आफैँले कर्म गरेर आफ्नो परिचय आफैँ बनाई बाँच्नुपर्ने भावना यो मुलुकले सिकाउँछ ।
अष्ट्रेलियामा हरेक कुरामा खर्च बढी लाग्ने हुँदा बाहिरबाट आउने विद्यार्थीको लागि एकल जीवन जिउन निकै कठिन हुनेरहेछ । विद्यार्थी भिसामा एक्लै गएका विद्यार्थीले हप्ताको २० घण्टामात्र काम गर्न पाउने, काम पनि आफ्नो सीप र दक्षताअनुसार नपाउने हुँदा जस्तोसुकै काम गरेर पनि पैसा जम्मा गर्नुपर्ने हुन्छ । ओभरटाइम काम गरी पैसा जम्मा गर्नुपर्ने यहाँको बाध्यतासँगै व्यवहारिकता र प्रतिस्पर्धात्मक दैनिकीले गर्दा दिनभरको थकाइका कारण पढाइमा त्यत्ति ध्यान दिन सकिरहेका हुँदैनन् । आफ्नो खर्च, कलेज शुल्क, घरपरिवारलाई पठाउनुपर्ने खर्चको लागि पनि निकै मेहनत गर्नुपर्ने हुन्छ । दिनरात नभनी हरेक सेकेन्ड अनि मिनेटको महत्व बुझेर समय तालिका बनाई मेसिनले जस्तै पढाइ सँगसँगै काममा खटेर सङ्घर्षशील जीवन बिताउनुपर्ने बाध्यता हुन्छ । आफू एक्लै हुने भएका कारण बिरामी पर्दा झन् गा¥हो हुने र यी सबै कठिनाइ सानै उमेरमा झेल्नुपर्ने पर्ने हुनाले कतिपय मानिस कुलतमा लाग्ने, डिप्रेसनमा गई जिन्दगीसँगै हार मानी आत्महत्या गर्नेहरू पनि छन् । अस्ट्रेलिया सरकारले विद्यार्थी भिसामात्रै नभई डिपेन्डेन्ट भिसाको पनि व्यवस्था गरिएको छ । डिपेन्डेन्ट भिसा पाएकाले आफूसँगै आफ्ना श्रीमान् वा श्रीमतीलाई पनि सँगै लग्न पाइने व्यवस्था छ । यो भिसामा गएकाहरूले एक जनाले काम गर्ने र अर्कोले पढाइ गर्नुपर्ने नियम छ । यसले परिवार र पढाइलाई पनि सँगसँगै अगाडि बढाउन राहत पु¥याएको छ ।
आफ्नो देशमा पढ्न राम्रो कलेज नपाएर हो वा पढाइ र क्षमताअनुसारका काम र अवसर नै नपाएर हो, आफ्नो देश छोडेर अर्काको देशमा जानु परेको हो कि जस्तो पनि लाग्यो । समयमा खान नपाइने, सुत्न नपाइने, आराम गर्न नपाइने, परिवार र साथीभाइसँग बस्न नपाइने, कुनै चाडपर्व, धर्म, रीतिरिवाज, संस्कृति मनाउन समय नपाइने देखेर आफैँलाई नमज्जा लाग्यो ।
नेपाल र अस्ट्रेलियामा हरेक कुरामा धेरै नै भिन्नता रहेको पाएँ । अष्ट्रेलियामा हरेक कुरा प्रणाली र नियमअनुसार चल्ने गर्छ तर नेपालमा त्यस्तो कुनै पनि विषयमा राम्रो प्रणाली र नियमहरू बनेका छैनन् । नेपालमा जताततै धुवाँ धुलोले वातावरण नै प्रदूषित भएको छ । अव्यवस्थित बाटोघाटो, खाल्डाखुल्डी सडक, सुविधायुक्त स्वास्थ्य सेवा, खानेपानी, विद्युत, यातायातका साधनमा कमी, पर्याप्त मात्रामा उद्योग र कलकारखानाहरू नहुनु तथा नेपालजस्तो कृषिप्रधान देश भए तापनि कृषिमा अहिलेसम्म कुनै किसिमको आधुनिकीकरण नभएको देख्दा कता–कता खल्लो अनुभव हुन्छ । शिक्षामा व्यापारीकरण भएकोले हुनेखानेले मात्र राम्रो ठाउँमा पढ्न पाउने, सबै ठाउँमा इन्टरनेटको सेवा नपुगेको र राजनीतिक अस्थिरता, बन्द, हड्ताल, ट्राफिक जामजस्ता विभिन्न किसिमका समस्याहरू सर्वसाधारणले भोग्न बाध्य छन् ।
नेपालमा हरेक ठाउँमा ठेक्कापट्टा, नातावाद, क्रिपावाद, भ्रष्टाचारी, तस्करी, हत्याहिंसा, आतङ्क, बलात्कार आदिले प्रश्रय पाइरहेको छ । देशको सारा अर्थतन्त्र नै परनिर्भर हुँदै गइरहेको छ । त्यसकारण लाखौँ युवाहरू विदेशमा जीवन जिउन र काम गर्न बाध्य छन् । कसलाई रहर हुन्छ र आफ्नो मातृभूमि छोडेर अर्काको देशमा पसिना बगाउन । यसको तमाम दोषको भागिदार चुनावमा पैसाको खोलो बगाई विदेशीको इशारामा पालैपालो शासन चलाउने ठूला भनाउँदा राजनैतिक दलहरू नै हुन् ।
हामी युवाहरूले पनि नेपालमा बस्ने वातावरण मिलाएर अवसर प्राप्त भयो भने, हामी पनि नेपालमा प्रणालीअनुसार काम गर्नसक्छौँ । नेपाल बनाउने हाम्रो पनि कर्तव्य हो । त्यसकारण हामीले विदेशबाट राम्रा कुरा सिकेर र त्यहाँको अनुभवलाई नेपालमा पनि त्यस्तै प्रकारका काम गर्न सक्षम हुनेछौं भन्ने प्रण गर्नुपर्छ । यो वाचा सबै विदेशमा बस्ने युवाहरूले गर्नुपर्छ भनी विश्वास दिलाउनुपर्छ । छोरी र ज्वाइसँग हाम्रो अष्ट्रेलिया मेलबर्नको यात्राको अन्तिम बसाइमा भएको कुराकानी अति नै महत्वपूर्ण लाग्यो ।
अनेकौँ यात्रा, घुम्ती पार गर्दै अस्ट्रेलियामा सिकेका केही ज्ञान र उत्साह अनि अनुभवहरू सँगाल्यौँ । नचाहँदा–नचाहँदै हामीले हाम्रो यात्रालाई टुङ्ग्याउने जमर्को गर्यौँ । सन् २०२० फेब्रुअरी १० तारिखका दिन हामी मेलवर्नको विमानस्थलमा पुग्यौँ । छोरी चण्डिका र ज्वाइँ उत्सवलाई आफ्नो जीवनको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्यौँ । १२ः४५ बजेको विमानबाट १० घण्टाको यात्रा गरी थाइल्यान्डको सुवर्णभूमि विमानस्थलमा ओर्लियौँ । ५ घण्टाको ट्रान्जिटमा बसी ११ तारिखका दिन दिउँसो १ बजे नेपाल पुगी आफ्नो मातृभूमिलाई ८८ दिन पछि स्पर्श गर्याैँ ।
समाप्त
Leave a Reply