के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
नरी रुस्टोमजी सन् १९६० को दसकमा भारतको केन्द्रीय सरकारको तर्फबाट आसामका गभर्नर थिए । तर, देहरादुनस्थित भारतीय सरकारी अधिकारीहरूलाई तालिम दिइने प्रतिष्ठानमा उनको सिक्किमका अन्तिम राजा (त्यत्तिबेलाका अधिराजकुमार) थनडप नामग्याल र भुटानका देव जिम्पो (मुख्यमन्त्री) राजा तोब्गे दोर्जेका छोरा जिग्मेई पाल्देन दोर्जेसँगको आत्मीय सम्बन्धले ती दुवै देशका शासकहरूसँग उनको नजिकको सम्बन्ध थियो । थनडप र जिग्मेई समयान्तरमा आ–आफ्नो देशको शासनको केन्द्रमा पुगे । शासनको केन्द्रमा रहेको बेला सिक्किम र भुटानका यी दुवै शासकले भारतसँगको सम्बन्धमा रुस्टोमजीसँगको सामिप्यको भरपूर उपयोग गर्न खोजे । रुस्टोमजीले पनि ती दुवै देशलाई भारतकै अक्षांशमा राख्न त्यहाँका शासकहरूसँगको मित्रतालाई पूरापूर उपयोग गरे । सिक्किममा त उनी केही वर्ष भारतीय प्रतिनिधिको रूपमा समेत औपचारिक काम गरे । सरकारी सेवाबाट अवकाश पाएपछि उनी भुटान सरकारको सल्लाहकारको रूपमा केही वर्ष काम गरे । भारतको उत्तरी क्षेत्र (आसाम), भुटान र सिक्किमको इतिहासमा निकै महत्व राख्ने कालखण्डमा रुस्टोमजी ती क्षेत्रको शासनका केन्द्रसँग नजिक भएर काम गरेका थिए । सिक्किम, भुटान र आसाममा त्यत्तिबेला भएका घटनाको आफू स्वयम् पात्र भएकोले उनले त्यही अनुभव र बुझाइका आधारमा केही पुस्तक लेखेका छन्ः ‘इम्पेरिल्ड फ्रन्टियरः इन्डियाज नर्थ इस्ट्रन बोर्डरल्यान्डस’, ‘सिक्किमः अ हिमालयन ट्राजिडी’ आदि । उनले भुटानबारे लेखेको पुस्तक होः ‘भुटानः द ड्रागन किङ्डम इन क्राइसिस’ ।
‘भुटानः द ड्रागन किङ्डम इन क्राइसिस’ मुख्यतः सन् १९६४ अप्रिल ५ मा भुटानका तत्कालीन प्रधानमन्त्री जिग्मेई पाल्देन दोर्जेको हत्या र भुटानका शासक परिवारबीचको सत्ता सङ्घर्षमा आधारित पुस्तक हो ।

बेलायती उपनिवेशवादी सत्ताले भुटानलाई कहिल्यै औपचारिकरूपमा आफ्नो उपनिवेश बनाएन । तर, भुटानलाई आफ्नो प्रभुत्वको अक्षांशबाट टाढा पनि कहिल्यै पठाएन । तिब्बतका दलाई लामाले एक जना मंगोलियालीमार्फत रुससँग सम्बन्ध विस्तार गर्न खोज्दा यङहस्ब्यान्डले नेतृत्व गरेको बेलायती सैनिक टोलीलाई तिब्बत पठाउन भुटानले मद्दत गरेको थियो । बेलायतले औपचारिकरूपमा आफ्नो उपनिवेश नबनाए पनि भुटान कहिल्यै पनि बेलायती प्रभावबाट मुक्त रहेन । बेलायती उपनिवेशको सेवा गरेर भुटानको दोर्जे परिवारले भुटानमा आफ्नो राजनीतिक प्रभाव विस्तार ग¥यो । बेलायती भायसरोय कर्जनले दोर्जे परिवारलाई आफ्नो सेवा गरेबापत ‘राइबहादुर’ र ‘राजा’ को पदवी प्रदान गरेको थियो । दोर्जे परिवार खासमा कालिङपोङमा बसेर व्यापार गर्ने भुटानी परिवार थियो ।
बौद्ध धर्ममा आधारित भुटानको बहुकेन्द्रमा फैलिएको सार्वभौमिकताको कारण अलमलमा परेका बेलायतीहरूले भुटानसँग औपचारिक सम्बन्ध विस्तार गर्ने एउटै सार्वभौम केन्द्र स्थापित गर्न चाहेका थिए । सार्वभौमिकता प्रयोग गर्ने भुटानका अन्य धार्मिक प्राधिकारहरू समयान्तरमा क्रमशः ओइलाउँदै गए । बेलायतीहरूकै चाहनाअनुसार वान्चुक वंशमा आधारित राजामा सार्वभौमिकता निहित हुने बन्दोबस्त भुटानले अभ्यास गर्नथाल्यो । वान्चुक वंशका सर युगेन वान्चुक राजा बने भने दोर्जे परिवारका देव जिम्पो (प्रधानमन्त्री वा मुख्यमन्त्री) बने ।
रुस्टोमजीका मित्र जिग्मेई दोर्जे परिवारका तेस्रो पुस्ताका शासक थिए । त्यत्तिबेला राजा थिए–जिग्मे युगेन । भुटानका राजपरिवारका सदस्यहरू बिरलै भुटान छोड्थे । त्यसकारण संसारमा भइरहेका परिवर्तनबारे उनीहरूलाई कममात्र जानकारी थियो । राजाका छोराछोरीलाई पनि विदेशमा पढ्न पठाइँदैथियो । त्यसकारण उनीहरूको अन्तर्राष्ट्रिय सम्पर्क थिएन । तर, दोर्जे परिवार भने त्यस विषयमा फराकिलो थियो । दोर्जे परिवारका छोराछोरीलाई प्रायशः विदेशमै पढाइन्थ्यो । उनीहरूको अन्तर्राष्ट्रिय सम्पर्क फराकिलो हुनुका साथै विदेशीसँगको सम्पर्क र संवादमा पनि उनीहरू आत्मविश्वासपूर्ण थिए । संसारमा आइरहेको परिवर्तनको धारलाई बुझेका दोर्जे परिवार भुटानलाई पनि त्यही धारमा लग्नुपर्ने मान्यता राख्थ्यो ।
त्यस्तो ‘आधुनिक’ सोच राख्ने दोर्जे परिवारका सदस्यमा थिए– जिग्मेई दोर्जे पाल्देन । रुस्टमजीको भनाइमा जिग्मेई भुटानलाई आधुनिकता राज्यतर्फ डो¥याउन चाहन्थे । भुटानमा विद्यालय, अस्पताल, बाटोघाटो, कृषि उत्पादनजस्ता विकासका पूर्वाधार निर्माणमा उनको चासो थियो । भुटानी सेनालाई पनि जिग्मेई विदेशमा तालिम प्राप्त सैनिक अधिकारीहरूलाई बढावा दिई आधुनिकीकरणको बाटोमा डो¥याउन चाहन्थे । भुटानका विकासका पूर्वाधार विस्तार गर्ने योजना सफल बनाउन रुस्टमजीकै सल्लाहमा केही इसाई मिसनसँग जिग्मेई सरकारले सम्पर्क गरेको थियो । जिग्मेईकै अगुवाइमा भुटान संयुक्त राष्ट्र सङ्घको सदस्यमात्र बनेको थिएन, बरु कोलोम्बो प्लानको सदस्यसमेत बनेर विदेशी बजेट देशमा भित्याउन खोजिरहेको थियो । जिग्मेईकी बहिनी तासीले विदेश सम्पर्क र सम्बन्धमा जिम्मेवारी लिएकी थिइन् ।
तर, विदेश सम्बन्धप्रति फरक सोच राख्ने भुटानी परम्परागत शक्तिलाई जिग्मेईको यस्तो सक्रियता चित्त बुझिरहेको थिएन । भुटानी सेनाको नेतृत्व गरिरहेको पुरानो पुस्तालाई नयाँ र तालिम प्राप्त युवा सैनिक अधिकारीहरूलाई सेनाको जिम्मेवारी दिएको स्वीकार्य भइरहेको थिएन । साथै बौद्ध धर्ममा आधारित भुटानी संस्कृतिमा हस्तक्षेप गर्दै इसाई मिसनलाई भुटानमा भित्र्याउने कदमको विपक्षमा मानिसहरू थिए । वान्चुक परिवारको राजतन्त्र भए पनि शासनमा दोर्जे परिवारको बढ्दो प्रभावको कारण दुई शासक परिवारबीचको सम्बन्धमा पनि समस्या देखिन थालेको थियो । त्यसो त प्रधानमन्त्री जिग्मेईका कान्छी बहिनी राजा जिग्मेकी श्रीमती अर्थात् रानी थिइन् । त्यसकारण पनि प्रधानमन्त्री जिग्मेई राजा जिग्मेका विश्वासका पात्र थिए । तर, राजाको खुम्चिंदो भूमिका र जिग्मेईप्रतिको विमति बढ्दै गएपछि दुई परिवारबीचको सम्बन्ध खस्कँदै गयो । राजाकी एक जना बहिनीसँग प्रधानमन्त्रीको कान्छो भाइसँगको विवाह दिगो नभएपछि दुई परिवारबीचको सम्बन्ध अझ चिसियो ।
राजा उपचारको क्रममा स्वीट्जरल्यान्ड रहँदा प्रधानमन्त्री जिग्मेईको हत्या भयो । हत्याको दोषीको रूपमा राजाका काका तथा सेनाका पुराना अधिकारीलाई ज्यान सजाय दिइयो । जनताको आँखामा जिग्मेईको हत्यामा राजाको पनि हात हुनसक्ने आशड्ढा भए पनि राजामाथि अनुसन्धान हुने कुरै भएन । जिग्मेईको हत्यापछि राजपरिवार र दोर्जे परिवारबीच सम्बन्ध क्रमशः खस्कंदै गयो । प्रधानमन्त्रीका भाइ उगेन रिम्पोचेले राजालाई भेट्न खोज्दा उनलाई राजाले भेट्न पनि मानेनन् । जिग्मेईकी बहिनी तासी आफ्नो दाजुको हत्यामा राजाकै हात रहेकोमा खरो बोल्दै हिँडिन् । त्यसले राजा र रानीबीचको सम्बन्धमा पनि तिक्तता बढ्यो । जिग्मेईको हत्यासँगै रुस्टोमजीले भुटानको विकास निर्माणमा बनाएका योजना पनि कार्यान्वयनमा लाने सम्भावना देखेनन् । सन् १९७२ मा राजाको निधन भयो । जिग्मेईका भान्जा र राजा जिग्मेका जेठो छोरा जिग्मे सिग्मे वान्चुक नयाँ राजा भए ।
राजा जिग्मेको दोर्जे परिवारकी छोरी रानीबाहेक अर्को एक जना ‘महिला’ सँगको सम्बन्धबारे पुस्तकमा रोचक चर्चा छ । राजाले उनै महिलाको सहयोगमा दोर्जे परिवारमाथि एकपछि अर्को हमला गरेको नरी रोस्टमजीको भनाइ छ ।
नरीले भुटानको आन्तरिक राजनीतिमा भारतले खेलेको हस्तक्षेपकारी भूमिकालाई नरम र सकारात्मकरूपमा प्रस्तुत गरेका छन् । भुटानको परराष्ट्र र रक्षा मामिला भारतको हातमा रहेको वास्तविकतालाई नरमरूपमा अभिव्यक्त गर्दै उनले भुटानलाई संयुक्त राष्ट्र सङ्घ र कोलोम्बो प्लानको सदस्य बनाउन भारतले भूमिकालाई जोड दिएका छन् । नरी पनि भुटानलाई भारतीय सत्ताको अक्षांशबाट पर जान दिन चाहने एक जना पात्र भएकोमा कुनै सन्देह छैन । उनले भुटानी शासकहरूको आफूप्रतिको विश्वासलाई भारतको हितमा उपयोग गरेको देखिन्छ । त्यस्तै विश्वासकै आधारमा उनले सिक्किमको विषयमा भारतको पक्षमा काम गरेका थिए । रुस्टमजी आफैँ इसाई थिए । त्यसकारण उनले इसाई धर्म भुटानमा फैलाएर त्यहाँको बौद्ध संस्कृतिमाथि हस्तक्षेप गर्ने योजना बनाएको देखिन्छ । दक्षिणी भुटानमा बसेका नेपालीहरूमा हिन्दू संस्कृतिको प्रभावको कारण बौद्ध धर्मको प्रभाव रहेको उत्तरी भुटानमा उनले इसाई धर्मको प्रभाव विस्तार गर्न खोजेको देखिन्छ ।
तथापि सन् १९६०–७० को समयमा भुटानको राजनीतिक अवस्थाबारे जानकारीको लागि र सत्तासङ्घर्षका भुटानी संस्करण बुझ्न यो पुस्तक पठनीय छ ।
नरी काे हाे , नरी बीचमा अाउँदा अलमल भयाे ।