भर्खरै :

सक्वको म राजदास – ४७, पुश्कीनको मृत्युपछि

कवि पुश्कीनको एक दर्दनाक मृत्यु भयो । ३७ वर्षको उमेरमा एक विश्वविख्यात कविको दुःखद निधन भयो ।
रुसी भूमिमा कविको मृत्युमा धेरै रोए, आँसु बगाए । जब पुश्कीनको मृत्युबारे देशभरि हल्ला चल्यो पुश्कीनको घर वरिपरि त्यो दिन पचास हजार रुसी जनता भेला भए ।
त्यसबेला रुसी राजधानी सेन्ट पिट्र्सवर्गको आफ्नो सानो कोठाभित्र पुश्कीनले ३७ वर्षको कम उमेरमा आफ्नो देह त्यागे ।
डुयल युद्धमा घायल भएर मृत्यु शय्यामा पुगेका पुश्कीनको रेखदेख र उपचारमा लागेका डाक्टरले भने, “मैले धेरै रोगीहरूको उपचार गरेको छु, धेरै मृत्यु शय्यामा पुगेका मरणासन्न व्यक्तिहरूको रेखदेख गरेको छु, तर योजस्तो दर्दनाक पीडा देखेको छैन ।”
डुयल युद्धमा पुश्कीन धेरै नराम्ररी घायल भएका थिए । फ्रान्सबाट रुसमा आएर जार शासनको दरबारमा सुरक्षा सैनिकमा खटिएका एक सैनिक अफिसर जर्ज चार्लस दान्तेसँगको डुयल युद्धमा पुश्कीनको मृत्यु भएको थियो । यसको दोष धेरैले पुश्कीनकी आफ्नै श्रीमती नातालिया गन्छारोभामाथि पनि खन्याएका छन् । पुश्कीनको मृत्युलगत्तै रुसका एक प्रख्यात कवि मिखायल लेर्मेन्टोभले महान् कवि पुश्कीनको मृत्यु संयोजितरूपमा तत्कालीन जार शासक र जार शासकका भरौटेहरूले गरेको हो भनी दोषारोपण गरे आफ्नो ‘एक कविको मृत्यु’ (डेथ अफ द पोयट) भन्ने कवितामार्फत । पुश्कीनको मृत्युलगत्तै लेखिएको ‘एक कविको मृत्यु’ कविता रातारात दशौँ हजार रुसी जनताको हातमा परे । पचासौँ हजार जनता आफ्नो कविको मृत्युमा शोक व्यक्त गर्न पुश्कीनको घरमा जम्मा भए ।

रुसी कवि मिखायल लेर्मेन्टोभ जसले लेखे “एक कविको मृत्यु” र त्यही कविता लेखेबापत उनलाई निर्वासन जान बाध्य पारियो ।


‘कविको मृत्यु’ कवितामा रुसी शासक र यसका भरौटेहरू हत्यारा अपराधी हुन् भनेर लेख्ने कवि लेर्मेन्टोभलाई तत्काल शासकहरूले गिरफ्तार गरे र जेलमा थुने । पुश्कीनलाई डुयलमा पेस्टोल हानेर घायल पार्ने जर्ज–चाल्र्स दान्तेलाई तत्कालीन रुसमा डच सरकारको राजदूत बारेन भान हेक्केरेनले आफ्नो धर्म पुत्रको रूपमा पालेका थिए । जार निकोलाई प्रथमको दरबारमा दान्तेले सार्वजनिकरूपमा पुश्कीनकी श्रीमती नातालियामाथि दरबारभित्र हुने भोजभतेर र डान्स पार्टीहरूमा अशोभनीय व्यवहार गर्नथाले । यही कुरालाई लिएर धेरै नराम्रा हल्ला फैलिन थाले सेन्ट पिट्र्सवर्गमा । अलेक्जेन्डर पुश्कीनलाई पुश्कीनकै बुझाइमा डच राजदूतले अभद्र र अपमानित पत्रहरू गोप्यरूपमा पठाउन थालियो ।
यसप्रकारको अपमान सहन नसकेर, अनि आफ्नी श्रीमतीको इज्जतका लागि पुश्कीनले दान्तेलाई डुयल युद्ध गर्न लल्कारे ।
पुश्कीन स्वयम्ले सन् १८३६ को नोभेम्बर महिनामा पहिलोपल्ट डुयल युद्धमा लल्कारेका थिए । हुन त पुश्कीनको रिस जार निकोलासमाथि नै थियो । सर्वप्रथम आफ्नी श्रीमतीमाथि गिद्धेनजर लगाउने तर, जारलाई डुयलमा आह्वान गर्ने हिम्मत पुश्कीनमा भएन । त्यसकारण प्रत्यक्षरूपमा संलग्न देखिएका दान्तेलाई पुश्कीनले चुनौती दिए ।
तत्कालीन रुस र युरोपमा व्यक्तिगत रीसइवीमा कसैले कसैलाई डुयल युद्धमा निम्त्याउने चलन सामान्य थियो । यद्यपि रुसमा सम्राट पिटर प्रथमले डुयल युद्धमा नसिहत दण्डमा प्रतिबन्ध लगाएका थिए । तैपनि लुकीछिपी यस्ता प्राणघातक युद्धहरू भई नै रहे । पुश्कीन स्वयम्ले यस्ता युद्धहरू धेरै भोगेका थिए ।
पुश्कीनको ललकारलगत्तै दान्तेले पुश्कीनकै साली इकाटेरिना गन्छारोभासँग विवाह गरे र पुश्कीनलाई डुयल युद्ध गर्नबाट पर हटाए ।
केही समयको लागि डुयल युद्ध तरे पनि पुश्कीन र पुश्कीनकी श्रीमतीको कुरालाई लिएर समाजमा नराम्रो हल्ला चली नै रह्यो । यस कुराले पुश्कीनमाथि धेरै नैतिक प्रभाव पर्न गएकोले पुश्कीनले पनि डच राजदूत स्वयम्लाई गालीगलौज गर्दै पत्रहरू पठाउन थाले । यसको कारण दान्ते र पुश्कीनको बीच दोस्रोपल्ट सन् १८३७ को जनवरी महिनामा डुयल युद्ध हुने कुरा तय गरियो ।
डुयल युद्धमा पुश्कीनको पेटबाट गोली छिरेको कारण उनी घाइते भए र दुई दिनको भयानक पीडा सहेर पुश्कीनको सन् १८३७ जनवरी २९ तारीख ३७ वर्षको उमेरमा देहान्त भयो । जसले जे भने पनि पुश्कीनको मृत्यु आफ्नै सुन्दरी श्रीमती नातालिया गन्छारोभाको कारणले नै भएकोमा कसैको दुईमत हुनसक्दैन ।
नतालिया गान्छारोभा तत्कालीन रुसमा सुन्दरी नारी भनी मानिन्थ्यो ।
यही सुन्दरतामा जार शासकहरूको आँखा गडेको थियो र आफू नजिक राख्नलाई जार निकोलासले पुश्कीनलाई एक दरबारिया पदवीले सुसज्जित गरेका थिए जुन पुश्कीनले चाहेका थिएनन् र फर्काउन पनि सकेका थिएनन् । यही दरबारिया पदवीले गर्दा राजदरबारमा हुने चाडपर्व र डान्स पार्टीमा आफ्नो श्रीमतीको साथ उपस्थित हुन बाध्य पा¥यो पुश्कीनलाई ।
पुश्कीनको मृत्युको बारेमा कवि लेर्मेन्टोभ
रुसी महान कविको मृत्युको खबर सुन्नेबित्तिकै अर्का रुसी प्रख्यात कवि मिखायल लेर्मेन्टोभले लेखे आफ्नो कविता ‘एक कविको मृत्यु’ । कवितामा मृत्युको कारण खुलाई स्पष्ट भाषामा उनले लेखे, कवि पुश्कीनका हत्यारा र अपराधी हुन्, जार शासक वर्ग र यिनका भरौटे कुट्टाहरू हुन् ।
कविता ‘डेथ अफ द पोयट’ क्षणभरमा राजधानी सेन्ट पिटर्सवर्गमा हावासरि फैलियो ।
कविको मृत्युको खबर बोकेर केही दिनपछि पुश्कीनको उपचारमा लागेका डाक्टर निकोलाई आडेन्ट लेर्मेन्टोभलाई भेट्न गए र मृत्युको बारेमा सविस्तार बयान गरे कवि लेर्मेन्टोभलाई ।
डाक्टर आडेन्टको कुरा सुनेपछि लेर्मेन्टोभले आफूले पहिले लेखेका कवितामा अन्तिम १६ लाइन थपे, जार शासक र यिनका भरौटेहरूलाई स्वतन्त्रताको हत्यारा भन्ने संज्ञा दिँदै महान कवि पुश्कीनको हत्यामा यिनीहरूको प्रत्यक्ष संलग्नता छ । यिनीहरू सबै अपराधी हुन् । पुश्कीनको हत्या र यस दुर्घटनाका कारण यी सामन्ती शासकहरू नै हुन् । एक कान दुई कान मैदान हुँदै यो कविता दरबारभित्र पनि पुग्यो । त्यही भनाइलाई लिएर यो कविता राजद्रोही हो भन्ने निष्कर्ष निकालेर कवि लेर्मेन्टोभलाई हिरासतमा लिए । जार निकोलस प्रथमको हुकुमअनुसार पुश्कीनका प्रशंसक कवि लेर्मेन्टोभलाई १८३७ को फेब्रवरी महिनामा काफकाँज क्षेत्रमा रहेको सैन्यदल (रेजिमेन्ट) मा रहने गरी राजधानी पिट्र्सवर्गबाट निष्कासन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *