भर्खरै :

कीर्तिपुरमा भक्तपुर काण्डको भत्र्सना

कीर्तिपुर, १३ भदौ । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा शनिबार अनलाइन माध्यमबाट भदौ ९ गते ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले लेनिनवादी शिक्षाअनुरूप पञ्चायती व्यवस्थाको निर्वाचन उपयोग गरेको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिले निःस्वार्थ भावनाले जनताको सेवा गरेको बताउनुभयो । उहाँले पार्टीको निर्देशनमा ‘पञ्चायत’ पत्रिका निकालेर जनतालाई राजनीतिकरूपमा सचेत गराउने काम गरेको बताउनुभयो ।
‘पञ्चायत’ पत्रिकामा विश्व कम्युनिस्ट आन्दोलनका नेता माक्र्स, एंगेल्स, लेनिन, स्तालिन, माओ, किम इल सङ, फिडेल क्याष्ट्रोको योगदान र जीवनी प्रकाशन गरेको बताउँदै देश र जनताको हितमा नेमकिपाले कम्युनिस्ट आचरणलाई व्यावहारिक प्रयोग गरेकोले पञ्चहरूलाई असह्य भएको र भक्तपुर काण्ड रचिएको बताउनुभयो ।
नेमकिपाको इमानदारिताबाट तर्सेर नै भक्तपुर काण्ड रचेको पुष्टि भएको भन्दै केन्द्रीय सदस्य प्रजापतिले तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्षसमेतले शवयात्रामा ‘फाँसी दे’ नारा लगाएबाट न्यायपालिकालाई प्रभावित बनाउन खोजेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले देश र जनताको सेवामा काम गर्ने पार्टीमाथि झूटो षड्यन्त्र रचे पनि सफल नहुने पाठ भक्तपुर काण्डले सिकाएको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले २०४५ साल भदौ ९ गतेको भक्तपुर काण्डमा भएको ज्यादतीबारे अवगत गराउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले भक्तपुर काण्डको समयमा कीर्तिपुर पाँगामा आफ्नै घरमा प्रहरी घेरा हाली पक्राउ गरेको स्मरण गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका शोभालक्ष्मी गोसाईंले भक्तपुर काण्डले महिलाहरूको एकता र सङ्घर्ष गर्ने भावनामा मलजल गरेको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्लाका पूर्वसदस्य वासुदेव डङ्गोलले भक्तपुर काण्डको समयमा नेमकिपाले कीर्तिपुर पाँगामा नाटक मञ्चनको लागि तयार गरेको स्मरण गर्दै जनताका शत्रुहरूले अनेक दुःख दिएर अन्याय गरेको बताउनुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका उपाध्यक्ष बुद्धिमान महर्जनले भक्तपुर काण्डबारे पाँगामा फैलाइएको भ्रमलाई चिर्दै अगाडि बढेको स्मरण गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, कीर्तिपुर नगर संयोजक रामचन्द्र महर्जनले भक्तपुर काण्ड षड्यन्त्र नै हो भन्दै ‘साँचो डग्दैन झूटो टिक्दैन’ भनेजस्तै झूटो षड्यन्त्र गर्नेहरू पराजित भएको बताउनुभयो ।
कृष्णप्रसाद महर्जनले भक्तपुर काण्डको बेला पाँगामा प्रहरी हस्तक्षेप हुँदा बुबा कृष्ण महर्जनलाई पक्राउ गरेकोमा विरोध गर्दा आफूलाई पनि प्रहरीले पक्राउ गर्न खोजेको स्मरण गर्नुभयो ।
कार्यक्रम नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *