भर्खरै :

स्वास्थ्य सेवा नै अप्ठ्यारोमा

काठमाडौं, १४ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकोले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताउनुभएको छ । आइतबारमात्र विगत २४ घण्टामा एक हजार २२१ जना सङ्क्रमित फेला परेका छन् । तीमध्ये उपत्यकामा मात्र ४२९ जना रहेका छन् भने १४ जना सङ्क्रमणका कारणले निधन भएको छ ।
उहाँले कोभिड–१९ को सङक्रमणबाट समाजलाई बचाउनु सबैको दायित्व रहेकाले सबैले यस कठिन परिस्थितिलाई बुझेर आ–आफ्नो तर्फबाट रोकथाम र नियन्त्रणका लागि गर्न सकिने सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म राम्रो सेवा प्रदान गर्न खोज्दा खोज्दै पनि कतिपय बेलामा सङ्क्रमितको अपेक्षा पूरा नभएको बताउनुभयो । एक जना सङ्क्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्म सङ्क्रमण फैलाउन सक्ने भएकोले हामी सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।
समन्वय गरेरमात्र रिफर गर्न निर्देशन
सङ्क्रमितको रिफर जथाभावी गरिएको पाइएकोले मन्त्रालयले समन्वय गरेरमात्र गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा.गौतमले विभिन्न निजी तथा सामुदायिक अस्पतालले सघन उपचार कक्षमा भएका बिरामी कोभिड–१९ डेडिकेडेट अस्पतालमा रिफर गर्दा समन्वय नगरी रिफर गरिएकोले समन्वय गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
“कतिपय अस्पतालले बिरामी रिफर गर्दा कोभिड–१९ डेडिकेडेट अस्पतालमा शय्या भए, नभएको यकिन नगरी त्यहाँका उपचार गर्ने टीमसँग समन्वय नगरी र स्वास्थ्यकर्मी पनि साथमा नपठाइकन त्यतिकै पठाइएको पाइएको छ”, उहाँले भन्नुभयो ।
यस्तै मन्त्रालयले कोभिड–१९ को व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको क्वारेन्टिनको व्यवस्था सम्बन्धित अस्पतालले गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *