भर्खरै :

बुटवलमा भक्तपुर काण्डको भत्र्सना

बुटवल, १४ भदौ । नेपाल मजदुर किसान पार्टी रूपन्देहीको आयोजनामा आइतबार भक्तपुर काण्ड (कालो दिवस) को भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा २०४५ सालको भक्तपुर काण्डमा पीडित तथा प्रतिरोध अभियानमा सक्रिय कार्यकर्ताहरू शोभालक्ष्मी गोसाईं र सीतालक्ष्मी प्रजापतिले आ–आफ्नो अनुभव सुनाउनुभयो ।
भूकम्प पीडितलाई राहत बाँड्ने भनी नक्कली पीडितहरूलाई राहत कुपन बाँड्दा आक्रोशित स्थानीय जनताले ह्योजूलाई बजार घुमाउँदा ३÷४ घण्टासम्म प्रहरी मूकदर्शक रहेको र सरकारकै भाडाका मानिसहरूले ह्योजूलाई कुटपिट गरेको चर्चा गर्दै शोभालक्ष्मी गोसाईंले ह्योजूलाई अस्पतालमा उपचार गरिएन भन्नुभयो । घरमा पटक–पटक खानतलासी गरी प्रहरीले ५÷६ बोरा महत्वपूर्ण पुस्तकहरू उठाएर लगेको बताउँदै उहाँले असोज १ गते भएको धाँधलीपूर्ण सरजमिनको विरोधमा महिलाहरूले जुलुस निकाली कोणसभा गरेको स्मरण गर्नुभयो ।
भक्तपुर काण्डका पीडित हरेक व्यक्तिसँग कहिल्यै नमेटिने कथा रहेको चर्चा गर्दै सीतालक्ष्मी प्रजापतिले २०४५ सालको भूकम्पबाट आफूहरूकै पनि घर भत्केको र राहतको लागि पीडितहरूको नामावलीमा कहिले राख्ने कहिले हटाउने गरेको बताउनुभयो । भदौ ९ पछि राति राति प्रहरीले राज्य आतङ्क मच्चाइरहेको बेलामा टोल–टोलका महिलाहरूले प्रतिरोध गरेको बताउनुभयो । सङ्कटको बेलामा पार्टीका कार्यकर्ताहरू खेतमा आई सबै धान व्यवस्थापन गरिदिएको उल्लेख गर्दै प्रजापतिले सङ्कटको बेलामा पार्टी सङ्गठनको महत्वबोध भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले प्रतिक्रियावादी तत्वहरूबाट हुनसक्ने षड्यन्त्रबाट नयाँ पुस्तालाई सचेत बनाउन कालो दिवस स्मरण कार्यक्रम गरेको चर्चा गर्दै भक्तपुर काण्डका पीडित तथा प्रतिरोधमा सक्रिय कार्यकर्ताहरूको अनुभव सुन्दा नयाँ पुस्ताका कार्यकताहरू सतर्क र सङ्घर्षशील बन्न उत्साहित हुने गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा रूपन्देहीका सचिव जगिलाल थापा, हिमलाल पाण्डे, कमला विक, माधव अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *