भर्खरै :

दास मनोवृत्तिको सोचले कुुनै पनि मुलुक कहिल्यै समृद्ध बन्दैन

नेपाल दुई ठूला छिमेकी मुलुक चीन र भारतको बीच रहे पनि विज्ञान र प्रविधिमा ती छिमेकी मुलुकहरूले गरिरहेको प्रगतिमा नेपालका शासक दलहरू बेखबर छन् । देशका विभिन्न भागमा बाढी र पहिरोले पिरोलिएका जनताका व्यथा र कहरलाई मनन गरेर राहतको व्यवस्थित बन्दोबस्तबारे छलफल गर्ने समय ती शासक दलहरूसँग कहिल्यै भएन । शासकहरु जतिखेर पनि पद र राजनीतिक भागबण्डा मै व्यस्त छन् ।
नेपाल आकारमा चीनभन्दा ६८ गुणाले सानो छ तर जैविक विविधताको हिसाबले नेपाल चीनभन्दा सात गुणामात्र सानो छ । नेपाल आकारमा भारतभन्दा २३ गुणाले सानो भए पनि जैविक विविधताको दृष्टिकोणले भारतभन्दा तीन गुनाले मात्र नेपाल सानो छ अर्थात् प्राकृतिकरूपमा हाम्रो देश नेपाल विशाल छ ।

बिरामी गैँडालाई फलपूmल खुवाउदैँ स्थानीय जनता


प्राकृतिक सम्पदाको रूपमा विश्वमा चर्चित चितवन राष्ट्रिय निकुञ्जको दीपेन्द्र गज नामको एउटा हात्ती क्षय रोगले ग्रस्त हुँदा अर्थाभावका कारण यो वर्षको साउन महिनाको १९ गते मृत्यु भयो । मानव अस्तित्वका लागि वन्यजन्तु संरक्षणको महत्व बुझेका र नेपाललाई माया गर्ने विदेशी मित्रहरूले यही समाचारलाई लिएर मलाई जस्तै कतिपय अन्य नेपाली नागरिकहरूलाई दुखेसो पोखेको हुनसक्छ । अनि तर्कसङ्गत उत्तर नहुँदा मजस्तै उहाँहरू पनि सरमले नाजवाफ भएको हुनुपर्छ । यो दुःखद समाचार संसारभरि फैलिएपछि क्षयरोगबाट पीडित एउटा हात्तीको उपचारसम्म गर्न नसक्ने यो लाजहीन सरकारलाई पनि धेरैले गुनासो गरेका होलानन् । महँगा कपडाले शरीर छोप्दैमा इज्जत नजोगिने वास्तविकता पनि यो नक्कली कम्युनिस्ट सरकारलाई थाहा भएन । सन् २००२ देखि सन् २०१६ सम्म चितवन राष्ट्रिय निकञ्जले २५ वटा हात्ती गुमाइसकेको छ जसमध्ये क्षयरोगका कारण १५ वटा मरिसकेका छन् । एकसिङ्गे गैंडालगायत अन्य वन्यजन्तुको पनि यही हालत छ । ती वन्यजन्तुहरूको चोरी शिकारको दबदबाले इकोसिम्टममा परेको नकारात्मक प्रभाव त छँदै छ । जैविक विविधताको संरक्षणको आवश्यकता र मानव अस्तित्वको बारेमा पढी पण्डितको पदमा राजनीतिक नियुक्ति भई बसेका बौद्धिक दासहरू यस सम्बन्धमा चुईँक बोल्दैनन् । तिनीहरूले पाउने पारिश्रमिक पनि त जनताबाटै उठाइएको करबाट आउने हो नि ¤ प्राकृतिक सन्तुलनमा आउने ¥हासले जनताको अस्तित्वसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा भइरहेको बेतिथिबारे साँचो नबोल्ने सरकारी वातावरणवीद्ध भनाउँदाहरूको के काम ?
उक्त निकुञ्जमा भ्रमण गर्ने त्यतिबिघ्न आन्तरिक र बाह्य पर्यटकवाट सङ्कलित त्यत्रो राजस्वको रकम एउटा हात्तीको स्वास्थ्य उपचारको लागि पर्याप्त भएन रे ¤ सम्बन्धित पशु चिकित्सकका अनुसार यो कुनै शल्यक्रिया गर्नुपर्ने रोगै होइन, औषधि र खुराकीबाट सजिलै ठीक हुने हो । यो प्रधानमन्त्री ओलीजीको मृगौला प्रत्यारोपाणजस्तो महँगो र जटिल पनि छैन । राष्ट्रपति विद्यादेवी भण्डारीजीले खरिद गर्न चाहेको ‘नाथे’ गलंैचाको मूल्यको केही अंशमात्र खर्चिने हो भने पनि थुप्रै दीपेन्द्र गज, राम कली र कृष्ण कलीजस्ता हात्तीहरूले अनाहकमा ज्यान गुमाउनपर्ने थिएन । दिनमै हुुने दुईचार वटा सरकारी कार्यक्रममा जाँदा प्रत्येकमा सहभागिता जनाउन हाम्रा राष्ट्रपतिजीले फेरिफेरि लगाउने महँगा साडी, घाँटीमा लगाउने मोतीको हार र अन्य मूल्यवान लत्ताकपडाको केही अंशले पनि वन्यजन्तु हेरविचारमा धेरै योगदान गर्नसक्ने थियो । निकुञ्जको आम्दानी बढाउन दीपेन्द्र गज बलियो हुञ्जेल जोत्नसम्म जोतियो, बिरामी भएपछि विनाऔषधोपचार मारियो र पछि फेरि निकुञ्जमा हात्तीको सङ्ख्या कम भएका कारण जङ्गल सफारीमा आउने पर्यटकहरूबाट उठ्न सक्ने मनग्य आम्दानी गुमाउनुपर्ने सम्भावना टाढा नभएकोले नीजि क्षेत्रबाट हात्ती खरिदबारे विभागीय टिप्पणी उठाई भ्रष्टाचार गरिन्छ । डलरखेती गर्न पल्केका ‘जनावर अधिकार’ का हिमायतीहरू कुन दुलोमा छन् ?

यस गम्भीर विषयमा तिनीहरूको ध्यान गएको खोइ ? जतिसुकै हैरानी गरे पनि गल्ली र सडकका भुस्याहा कुकुर मार्न पाइँदैन भन्न जान्नेले संरक्षण गर्नुपर्ने वन्यजन्तुको यस्तो हरिबिजोगको अवस्थाबारे सत्य नबोली मुखमा बुजो लगाएर बुझपच्ची गर्नु बेइमानी होइन र ? घरपालुवा कुकुरलाई बाँधेर राख्न पाइँदैन, प्रत्येक वर्ष डिस्टेम्पर, एन्टी रेविज र अरू के नामको सुई दिनुपर्छ भनेर माना पचाउन घरदैलो चहार्ने जनावारवादीहरूलाई दीपेन्द्र गज र रामकलीहरूको दयनीय अवस्थाबारे अज्ञानी बन्न नैतिकताले दिन्छ ? सन् २०१८–१९ मा चितवन राष्ट्रिय निकुञ्ज भित्री र बाहिर गरी दुर्लभ मानिने ४३ वटा एकसिङ्गे गैंडा मरिसकेका छन् वा मारिएका हुन् ? तत्तत् क्षेत्रमा अनुसन्धान गर्ने भनी कार्यालय खोली डलर पचाउनहरूले यो भयानक अवस्थाबारे केही नगरी निचमार्न मिल्छ ? चितवन राष्ट्रिय निकञ्ज ६०५ भन्दा बढी गैँडाभएको राम्रो वासस्थान हो ।
यो भ्रष्टाचारमा पनि नेपाल कम्युनिस्ट पार्टीको क्षेत्रीय कार्यकर्ताको राजनीति चलखेल र तिनीहरूमा केन्द्र सरकारको आशीर्वाद रहेको सत्यतथ्य थाहा लाग्छ तर प्रमाणहरू पेश गर्दा पनि तिनीहरूका विरुद्ध कारबाही गर्न कागजमा मात्र सीमित नेपालको कानुन थर्कमान हुन्छ ।
हँसिया–हथौडा अङ्कित झन्डा बोकेर कम्युनिस्टको सरकार भन्नेले कोरोना नियन्त्रणको नाउँमा अरबौँ रुपियाँ खर्चेर पनि अग्रपङ्क्तिमा रहेर सेवामा कार्यरत चिकित्सक, अस्पतालका परिचारिका र प्रहरी जवानहरूलाई नाकमुख छोप्नका लागि मास्क, हात सफा गर्न र निर्मलीकरण गर्न स्याइनिटाइजरजस्ता सामान्य तर अत्यावश्यक वस्तु उपलब्ध गराउन सकेन । नियमानुसार आफूले पाउनुपर्ने सुविधा र पारिश्रमिक नपाएको अवस्थालाई प्राथमिकतामा नराखी स्वास्थ्यको दृष्टिकोणले खतरनाक अवस्थामा पनि अग्रपङ्क्तिमा रही अस्पतालमा जनताको सेवामा तल्लीन रहेका ती चिकित्सक र परिचारिकाहरूको सामूहिक राजीनामाले पनि यो दुईतिहाइ सरकारलाई आफ्नो कर्तव्य र दायित्वबोध गराउन सकेन । नैतिकहीन बन्ने स्थान अन्त कहीँ छ र ? लाजले कहाँसम्म गिर्ने र झर्ने भन्ने कुरै रहेन ¤ यस्तो अवस्थाले देश र जनताको कल्याणको लागि इमानदारीपूर्वक राजनीतिलाई सेवा ठानेर लागि पर्नेहरूलाई समेत निरास बनाइसकेको छ ।
२१ औँ शताब्दीमा आएर राजनीतिक विज्ञानको अध्ययनप्रति सुझबुझ र अनुसन्धान कार्य र बौद्धिक क्षेत्रमा अब्बल युवाहरूको अभिरुचिमा निकै ¥हास आउनुको कारण सायद यो पनि हुनसक्छ । सबल युवाहरू देश र जनताको लागि राजनीतिक विज्ञानको अध्ययन नगरी मुलुकको राजनीतिमा आमाको पवित्र स्तनपान गरी हुर्केको विगतको सत्यतालाई बिर्सेर होली वाइन पिउन सधैँ लालायित हुनेहरू, जालीफटाहा, भ्रष्ट र देशद्रोहीलाई मात्र मुलुकको राजनीतिमा स्थान दिइरहने हो भने प्राकृतिक छटाको विविधताले सजिएको हाम्रो देश नेपाल कहिल्यै उँभो लाग्दैन । ‘रोम एक रातमा निर्माण भएको होइन’ भन्ने कटु कथनभित्रको सत्यलाई मनन गरी विदेश पलायन हुने सपना त्यागेर नेपाल र नेपालीको सुन्दर भविष्य हामी आफैँले बनाउने अठोटका साथ आफ्नो मातृभूमिमा आफ्नै पसिना, श्रम, सीप, दक्षता र ज्ञान विज्ञानको बीउ छर्ने हो । अभिरुचि हुनेहरूले राजनीतिक विज्ञानको गहन अध्ययन गरी जनतामा चेतनाको स्तर उकास्ने कार्यमा लागिपरे वर्तमानको जस्तो सामन्त, भूमाफिया, विदेशी दलाल र चरित्रहीन व्यक्तिहरूको हातमा मुलुकको राजनीतिक बागडोर पर्ने छैन । राजनीतिलाई शुभलाभको व्यवसाय ठान्नेहरू विस्तारै पाखा लाग्नेछन् । विदेशी राष्ट्रहरूले दिएको दान–दक्षिणाबाट मुलुकमा शान्ति र समृद्ध आउँछ भनी प्रचारबाजी गर्ने घटिया र दरिद्र सोच नेपाल कदापि सुखी र समृद्ध बन्न सक्दैन । संरा अमेरिका र यिनका पिछलग्गू देशहरूले ७० वर्षदेखि लगाइराखेको आर्थिक नाकाबन्दीको दृढतापूर्वक सामना गर्दै आफ्नै देशका जनताको ज्ञान, विज्ञान, श्रम, सीप, साहस र भरमा सुखी र समृद्ध बनेका मुलुकहरूको इतिहास अध्ययन गरी हामीले पनि धेरै सिक्न सक्छौँ । यो अध्ययन हाम्रा लागि फलदायी हुन्छ । अरूको भरमा नपरी आफ्नै मेहनत, रगत पसिनाले प्राप्त गर्ने सम्पन्नता नै समृद्धि हो । गाँस, बास, कपासजस्ता आधारभूत र शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता मानव विकासका न्यूनतम विषयमा ढुक्क रहनसक्ने वातावरण नै शान्ति र समृद्धि हो
पखालाले सताउँदा जीवनजल नपाई ज्यान गुमाउनु पर्नेहरूले, दिउँसै काममा गएका तर घर फर्किन अघि हत्या गरिएका निर्मलाहरूको ‘आत्मा’ ले, कोभिड–१९ बाट सङ्क्रमित हुँदा पनि एकान्तवासमा रहँदा आफ्ना अस्मिता गमाउनु परेका चेलीबेटीहरूले समृद्धि नेपालको सपना बाँड्ने नेताहरूलाई कहिल्यै क्षमा दिने छैन । आफूले त गर्न सकेन तर मित्र राष्ट्रहरूले गरी खान सकून् भनेर निर्माण गरिदिएका उद्योग, कल–कारखानाहरू कौडीशे भाउमा बिक्री गरेर, कृषिप्रधान देशको उर्वर भूमि बाँझो राखेर तागत भएका युवा सबैलाई खाडीमा दास बन्न बाध्य पारेर मुलुकमा कसरी समृद्धि आउँछ ? कृषि, पर्यटन र यसैमा आधारित उद्योगधन्दा, व्यापारव्यवसायको सम्भावित अध्ययन र अनुसन्धान गरी आफ्ना मातृभूमिको माटोप्रति सम्मान, श्रद्धा र माया भएका नेपाली विज्ञहरूको सक्रिय सहभागितामा विकासका योजनाहरूको निर्माण गर्नुपर्छ । अनि, नेपालको प्राकृतिक, सामाजिक र सांस्कृतिक बनोटबारे राम्रो ज्ञान भएका बौद्धिक व्यक्तित्वहरूको विचार र सुझाउहरूलाई प्राथमिकतामा राख्नुपर्छ ।

सगरमाथा वारपार गरी उड्ने सुन्दर पानीहाँस


विशाल छिमेकी मुलुक चीनमा ९७ प्रतिशत भएको हान जातिको वर्चस्व छ । नेपाल आकारमा सानो भए पनि ५९ थरीका जनजाति छन् । ती सबका आ–आफ्नै भाषा, रीतिरिवाज, परम्परा र संस्कृति छन् । प्राकृतिक हिसाबले नेपाल धनी छ । संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा हाम्रै देशमा छ । सगरमाथाको माथिबाट उडान भर्न सक्ने पानी हाँस हाम्रै मुलुकमा छ । आठ हजार मिटरभन्दा बढी उचाइ भएका हिमशिखरहरूमध्ये पहिलोमात्र होइन, संसारकै तेस्रो, चौँथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ र दसौँ स्थानमा रहेका क्रमशः सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धवलागिरि, मनास्लु र अन्नपूर्णजस्ता सुन्दर र मनमोहक अग्ला प्राकृतिक सम्पदाहरू हाम्रै मुलुकमा छन् । यस्तो राम्रो र पवित्र मुलुक अपवित्र राजनीतिक सङ्गठनका नेता र कार्यकर्ताहरूको मुठीमा छ, यो हृदयविदारक छ । यसबाट मुलुकको विकास हुने छैन । अतः सच्चा देशभक्त युवाहरूले राजनीतिलाई सेवा गर्ने थलो सम्झेर जनतालाई भ्रममा पार्ने देशद्रोही विरुद्ध एकजूत भई अघि बढ्न सके नेपालको काँचुली अवश्य फेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *