भर्खरै :

पोर्टल्यान्डमा ट्रम्प समर्थक र विरोधीबीच झडप, एकको मृत्यु

पोर्टल्यान्ड, १४ भदौ (एपी) । संयुक्त राज्य अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा शनिबार अबेर राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक र विरोधीबीच झडप हुँदा एक जना ट्रम्प समर्थकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ट्रम्प समर्थकको एउटा जुलुसका समर्थक र अश्वेत आन्दोलनकारीका सदस्यबीच पोर्टल्यान्डको सडकमा झडप भएको थियो । आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई पुनः विजयी गराउन भन्दै करिब ६ सय वटा सवारी साधनमा ट्रम्प समर्थकले ¥याली निकालेका थिए । तर त्यसको विरोधमा ‘ब्लाक लात्स म्याटर’ नामको अश्वेतहरूको अभियानले सडकमा अवरोध गरेको थियो ।
प्रहरीले साँझ ८.३० बजे ट्रम्पका समर्थकहरूले ¥याली समाप्त गरेलगत्तै ८.४६ मा गोली चलेको आवाज आएको जनाएको छ । गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई तत्काल उद्धार गरिए पनि बचाउन नसकिएको प्रहरीले बताएको छ ।
एसोसिएटेड प्रेसका एक फोटोपत्रकारले आफूले तीन राउन्ड गोली चलेको सुनेको बताएका छन् । प्रहरीको चिकित्सा टोलीले घाइतेहरूको उपचार गरेको र तिनीहरू गोरा समुदायका सदस्य रहेको पनि ती पत्रकारले बताएका छन् ।
घाइते गोरा व्यक्तिले लगाएको ह्याटमा प्याट्रिअट प्रेयर लेखिएको ती पत्रकारले जनाएका छन् । यो समूह अतिवादी गोरा समुदायको रूपमा चिनिन्छ । यो समूहका सदस्य र अन्य समुदायबीच बेलाबखत झडप हुने गरेको छ ।
प्रहरीले मारिएका व्यक्तिको छातीमा गोली लागेको पुष्टि गरेको छ । गोली चलाउने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानीय प्रहरी एवं सङ्घीय निकायहरूले घटनाको सूक्ष्म अध्ययन थालेका छन् ।
मिनियापोलिसमा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी कारबाहीमा मृत्यु भएयता तीन महिनाभन्दा बढी समयदेखि पोर्टल्यान्डमा अश्वेत आन्दोलनकारीले साँझपख दिनहुँजसो प्रदर्शनहरू गरिरहेका छन् । यी प्रदर्शन सुरुमा शान्तिपूर्ण रहे पनि रातिपख हिंसात्मक हुने गरेका छन् । प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *