भर्खरै :

इन्द्रध्वजोत्थान नभएपछि क्षमापूजा

काठमाडौँ, १४ भदौ । कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी निषेधाज्ञाका कारण यस वर्ष इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएन । इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले ध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो उठाउन भाद्र शुक्ल द्वादशी अर्थात् आज बिहान ७ः०७ बजेको साइत दिएको थियो ।
भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा सुरु हुने परम्परा छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइने परम्परा छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ ।
आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । कोरोनाका कारण यी विधि नहुने भएपछि जात्राको मुख्य दिन भदौ १६ गते पनि क्षमा पूजा गर्ने तयारी गरिएको संस्थानले जनाएको छ ।
इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भीडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रा पनि हुन सकेको छैन ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएन । भदौ ४ गते बिहीबार इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९ः२५ बजेको दिइएको थियो । अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *