भर्खरै :

ट्रम्प सरकार कोभिड–१९ खोप बनाउने अन्तर्राष्ट्रिय प्रयासमा सामेल नहुने

वाशिङ्टन, २ सेप्टेम्बर । संरा अमेरिकाको ट्रम्प सरकारले कोभिड–१९ को खोप विकास र वितरणको लागि हुने अन्तर्राष्ट्रिय सहकार्यमा सहभागी नहुने घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनजस्तो बहुपक्षीय समूहको नियममा कैद हुन नचाहेको भन्दै ट्रम्प सरकारले यस्तो घोषणा गरेको हो ।
गत जुलाई महिनाको सुरुमा संरा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट आफू फिर्ता हुने घोषणाकै सिलसिलाको रूपमा यस्तो निर्णय गरेको बताइएको छ ।
संरा अमेरिकाले कोभिड–१९ को उम्मेदवार खोपको सम्बन्धमा ‘दु्रतमार्ग’बाट अघि बढ्ने घोषणाबारे विश्व स्वास्थ्य सङ्गठनले सोमबार चासो राखेको थियो । ‘कोभिड–१९ को खोप तत्काल उपलब्ध हुनुपर्ने’ भएकोले आपत्कालीन काम हुनुपर्ने वाशिङ्टनले जनाएको छ ।
तर, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथमले एक पत्रकार सम्मेलनमा ‘सबै देश बिना पूर्ण परीक्षण कुनै पनि औषधि अनुमोदन गर्न आफैंमा अधिकारसम्पन्न भए पनि यो विषय कुनै हलुका विषय नभएको’ बताइन् ।
वाशिङ्टनको नीति सम्बन्धमा द वाशिङ्टन पोस्टले राष्ट्रपति कार्यालयलाई सोधेको प्रश्नको जवाफमा प्रवक्ता जुड डेरीले भने, “राष्ट्रपति ट्रम्पको नेतृत्वमा खोप र उपचारसम्बन्धी अनुसन्धान, विकास र परीक्षणको काम अभूतपूर्व गतिमा अघि बढिरहेको छ । यसले तथ्य–तथ्याङ्ग र सुरक्षामा आधारित नयाँ र प्रभावकारी औषधि उत्पादन गर्न काम भइरहेको छ । सरकारी औपचारिकताको घेराबाट यो प्रक्रियालाई मुक्त गरिएको छ ।” अहिलेसम्म संसारका १५० भन्दा बढी देश कोभिड–१९ को खोपसम्बन्धी विश्वव्यापी पहुँच संयन्त्र (कोभ्याक्स) मा सामेल भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *