भर्खरै :

कोभिड– १९ रोकथाम, नियन्त्रण र व्यवस्थापनबारे स्वयम्सेवकहरूबीच अभिमुखीकरण

भक्तपुर, १८ भदौ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा कोभिड– १९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनबारे स्वयम्सेवकहरूलाई अभिमुखीकरण बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा उपप्रमुख जोशीले कोभिड– १९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भक्तपुर नगरपालिकाबाट भएका गतिविधिहरूबारे प्रस्ट पार्दै रोग सङ्क्रमण समुदायस्तरसम्म पैmलिन नदिन नगर प्रवेश गर्ने मुख्य नाकामा नगर प्रवेश गर्नेहरूको विवरण सङ्कलन र आवश्यक निगरानी गर्न नगरपालिकाका कर्मचारीहरू खटिरहेको जानकारी दिनुभयो ।
भनपाले सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि सबै वडामा स्वयम्सेवक परिचालन गरिरहेको जानकारी गराउँदै उहाँले नगरको सफाइको निम्ति सफाइका कर्मचारीहरू निरन्तर लागिरहेका छन् भन्नुभयो ।
उहाँले कोभिड– १९ सङ्क्रमित, सङ्क्रमित परिवार र वडावासीहरूको मनोबल बढाउन स्वयम्सेवकहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै यस्तो विषम परिस्थितिमा स्वयम्सेवहरू सजगतापूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सूर्यविनायक ब्यारेक भक्तपुरका प्रमुख सेनानी शिवप्रसाद पौडेलले नेपाल सरकारले सञ्चालनमा ल्याएको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेसनको रूपमा परिणत गरेको जानकारी गराउँदै नेपाली सेनाले नगरपालिकास्तरीय क्वारेन्टिन सञ्चालन, विदेशबाट आउनेहरूलाई सहजीकरण, आइसोलेसन कक्षमा सुरक्षा व्यवस्थापन र कोभिड– १९ का कारण मृत्यु हुनेहरूको शव व्यवस्थापनमा आवश्यक पहल गरिरहेको छ भन्नुभयो ।
स्वयम्सेवकहरूले कोरोना भाइरस सङ्क्रमित परिवार र समुदायका व्यक्तिहरूको मनोबल बढाउने र जनचेतना जगाउनेलगायतका कार्यहरूमा सरिक भई समाजलाई सुरक्षित बनाउन आवश्यक भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले कोभिड– १९ बाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि सङ्क्रमित बनिरहेको समयमा स्वयम्सेवकहरूले आफूहरू सुरक्षित रही जनस्तरमा यो रोगको जोखिम र नियन्त्रणका उपायहरूबारे सचेतना कार्यक्रमहरू प्रभावकारी ढङ्गले सञ्चालन गर्नु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले कोरोना सङ्क्रमितहरूलाई गरिने सामाजिक विभेदले समुदायमा नै नकारात्मक असर पु¥याउनेतर्फ सजग रहनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकामा कोभिड– १९ सङ्क्रमण भएका तथा सो व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको पीसीआर परीक्षणको विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि कोभिड सङ्क्रमित व्यक्ति र परिवारको मनोबल बढाउन स्वयम्सेवकहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *