यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
(१८१६ देखि १८३९ सम्मको नेपाल र नेपालीबारे लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (The Silent Cry_) को सङ्क्षिप्त अध्ययन)
२. साम्राज्यलक्ष्मीको बढ्दो दबाब ः सन् १८३८ को फेब्रुअरीमा साम्राज्यलक्ष्मीले राजामाथि दबाब दिन थालिन् । उनले तेस्रो विकल्पमा जाने सोचिसकेकी थिइन । राजाको ठाउँमा छोरालाई ल्याउने र रणजङ्ग पाँडेलाई मुख्तियार बनाउने उनको योजना थियो । शासन चलाउन राजेन्द्र विक्रम एकदम नरम व्यक्ति भएको उनको ठहर थियो । उनी भीमसेनप्रति नरम देखिइन् । रणजङ्गले आफूलाई परिस्थितिले कठोर बनाएको बताएपछि राजाले उनलाई केही आश्वासन दिएका थिए । तर, राजाले रणजङ्गको पक्ष नलिने रानीले बुझिसकेकी थिइन् । राजाले प्रशासन चलाउन बलिया मुख्तियार वा चौतरिया चाहेको देखिन्छ । तर, साम्राज्यलक्ष्मीको ध्यान यता थिएन । छोरालाई राजा बनाएर ‘बुद्धिमत्तापूर्वक’ शासन चलाउने उनको सोच थियो ।

साम्राज्यलक्ष्मीले आफ्नो योजना लागू गराउन पतिलाई गलाउने विचार गरिन् । दरबार छोडेर उनी पशुपतिमा गएर बसिन् । राजा उनलाई भेट्न दैनिक पशुपति जान्थे र दरबार फर्किन अनुरोध गर्थे । उनले रानीको सर्त भने मानेनन् । रंगनाथ पण्डितले मुख्तियारको पद छोडेपछि चौतरिया पुष्कर शाहलाई राजाले मुख्तियार बनाए । राजाले रणजङ्ग पाँडेलाई पुष्कर शाहको दाहिने हात बनाएर रानीलाई मनाउन सक्थे । तर, भारदारहरूले रणजङ्गलाई नस्वीकार्ने अनुभवले बताइसकेको थियो । त्यसैले कमजोर प्रवृत्तिका भए पनि राजाले यो जोखिम मोल्न चाहेनन् । यही अलमलबीच माथवरसिंह थापाले राजाबाट तराईमा शिकार खेल्न जाने अनुमति पाए । त्यहाँबाट माथवरसिंह भारत गए । लाहोर पुगेर रणजित सिंहलाई भेट्ने उनको सोच थियो । रणजित सिंहले धेरै नेपाली सैनिकलाई नोकरी दिएका थिए । तर, बाटोमै माथवरसिंहलाई अङ्ग्रेजहरूले समाते र सन् १८३८ को अन्त्यतिर छोडे । यसबाट काठमाडाँै दरबारमा डर छायो । अङ्ग्रेजहरूले नेपालमाथि आक्रमण गर्ने बहाना भेटेको दरबारको बुझाइ थियो । यस्तै डरका कारण सन् १८०१ मा अङ्ग्रेजहरूसँग नेपालले सन्धि गरेको थियो । माथवरसिंहको पक्राउले दरबारी तानाबानालाई अलि बेर विश्राम दियो । अङ्ग्रेज सैन्य टोलीहरू उत्तरतिर लम्किरहेको हल्ला चल्यो । दरबार आत्तियो । (अङ्ग्रेजहरू उत्तरतिर बढेको कुरा सत्य थिएन । नेपाल त्यसबेला भारतका देशी राज्यहरूसँग नियमित सम्पर्कमा रहेकोले पनि दरबारलाई यस विषयमा थाहा हुनुपर्छ ।) नेपाली सेनालाई उपत्यकाबाट सिमाना रक्षार्थ पठाइयो । सेनासँगै भीमसेन थापाको सैनिक समर्थन काठमाडौँबाट बाहिरियो । यसबीच दरबारको आन्तरिक चलखेलले भीमसेन थापाको अन्त्य नजिक्याउँदै थियो ।
३. अर्थतन्त्र र भ्रष्टाचारको विरोध ः यस अवधिमा किसान र सेनामात्र आर्थिक समस्यामा थिएनन् । पैसाको प्रसार नहुँदा दरबार पनि बन्धनमुक्त थिएन । सरकारको आम्दानी निश्चित भएकोले दरबारी खर्चको पनि सीमा थियो । सन् १८३६ को सेनाको जाँचबुझबाट आएको केही रकम हनुमान दल बनाउन सेनामै खर्च भयो । ग्रामीण नेपालीप्रति कसैको ध्यान गएको थिएन । रङ्गनाथ पण्डितको ध्यान पनि शीर्षस्थ भारदारहरूको आम्दानी घटाउनमा गएको थियो । यसबाट गाउँले नेपालीको आर्थिक उद्दार गर्ने उनको सोच थिएन । रङ्गनाथ पण्डितको नीतिले आम्दानी बढ्दा राजा खुसी थिए । तर, रणजङ्ग पाँडेले यसलाई राजनीतिक हतियार बनाउने सोचे । सन् १८३९ को जनवरीमा आफूले भर्खर मात्र पाएको जमिन रणजङ्गले राज्यलाई नै सुम्पे र सबै भारदारलाई यसो गर्न अनुरोध गरे । प्रशासन जोडतोडका साथ उच्चपदस्थहरूका शङ्कास्पद आर्थिक स्रोतको खोजीमा लाग्यो । लामो समयसम्म नफेरिएको व्यवस्थामा आर्थिक हिनामिना हुनु स्वाभाविक थियो । रणजङ्गले यसमा राजनीतिक हतियार त देखे । तर, त्यो निकै भयानक थियो । केही परिवारहरू इमानदार देखिए । थोरैको भ्रष्टाचारमात्र प्रमाणित भयो । यसले गर्दा सन् १८३७ जुलाईको दोस्रो पजनीपछि छाएको तनाव अझ चर्कियो । भ्रष्टाचार पुष्टि भएकालाई बिगो दिन लगाइयो । यसले भारदारहरूको असुरक्षा बढाइदियो । लामो समयको गतिरोधमा तरङ्ग आयो ।
रणजङ्गले समाज सुधारका लागि सो कार्य गरेका भए उनी सम्मानका भागीदार हुने थिए । तर, उनको उद्देश्य राजनीतिक थियो । उठेको बिगो थोरै थियो र यसले व्यवस्थामा रहेको भ्रष्टाचारको जरोमाथि पनि प्रहार गरेन । तर, उनले शत्रु भने प्रशस्तै कमाए । उनको नियत साफ नै थियो भने पनि उनको कामले गाउँले जनताको उद्दार भएन । इतिहासमा असल नियत लिएका राजनेताले पनि कामलाई टुङ्गोमा पु¥याउन नसक्दा समाजमा झन् खती गरेका उदाहरण धेरै पाइन्छ । परिणामले मात्र नियतलाई साकार पार्छ । रणजङ्गको कामले तनाव, असुरक्षा र आपसी अविश्वास बढाइदियो । यी सबै एक दिन विस्फोट हुनु थियो र विस्फोटले शासक वर्गको बनोट फेर्ने थियो । त्यसपछि रणजङ्गले चालेका अन्य कुनै पनि पाइलाले वातावरण खुकुलो पार्न केही गरेनन् । बरु हरेक पाइलाले आशङ्का, अविश्वास र तनाव चर्काइदिए ।
४. पुर्पुच्छे र मृत्यु ः सन् १८३९ को मार्चमा भीमसेन थापामाथिको आरोप अचानक ब्युँताइयो । अप्रिलमा रणजङ्ग पाँडे मुख्तियार बनेको हुनाले मुद्दालाई उनले गिजोलेको स्पष्ट हुन्छ । मे १८ बाट भीमसेनको पुर्पुच्छे सुरु भयो । प्रमाणका रूपमा कागजपत्रहरू अघि सारियो । एकदेव वैद्य नामका राजवैद्यले भीमसेन थापाले नै गीर्वाणयुद्धकी रानीलाई विष दिएर मार्न लगाएको दाबी गरे । रानीले भीमसेन थापाको विरोध गरेलगत्तै यसो गरिएको भनियो । बखतावरसिंह थापाकी विधवाले गीर्वाणयुद्धलाई पनि भीमसेनले विष दिएर मारेको बताइन् । राजा बिफरका कारण मरेको सबैलाई थाहा थियो । त्यस्तै रणवीरसिंह थापाले राजेन्द्र विक्रमलाई पत्र लेखेर भीमसेन थापाका कुटिल कार्यबाट बँच्न सुझाव दिएको विषय पनि उठ्यो । भीमसेन थापाले जवाफ दिए, ‘यी सबै आरोपका प्रमाण कहाँ छन् ? पहिले थुनामा राख्दा यी विषय किन उठेनन् ?’ यी प्रश्नको जवाफ कसैसँग थिएन । उपस्थित सबै शीर्ष भारदार मौन रहे । रणजङ्ग पाँडेमात्र उनलाई सजाय दिनुपर्नेमा अडिग रहे । आरोप निराधार थिए । केही बोलेमा आफ्नो हविगत पनि भीमसेनकै जस्तो हुने डरले सबैजना थर्कमान थिए । (७ वर्षपछि यस्तै परिस्थिति उत्पन्न हुँदा कोतपर्व हुँदै थियो ।) सबथोक राजाको प्रतिक्रियामा निर्भर थियो ।

राजाले परिस्थितिको गम्भीरता बुझेका थिए । यसका खतराहरू पनि उनलाई थाहा थियो । एकातिर मुख्तियार रणजङ्गको दबाब थियो । कोठामा आफ्नै शङ्का र अविश्वासले उत्पन्न गरेको भय र असुरक्षाले ग्रस्त भारदारहरू थिए । राजाले आफूलाई जे गर्न आउँथ्यो त्यहीँ गरे । हस्तक्षेप गर्दै उनले भीमसेनको निन्दा गरे र हत्कडी लगाएर उनलाई बाहिर लैजान आदेश दिए । यति गरेर उनी आफ्नो चेतनासँग लड्न सरासर आफ्नो दरबारतिर लागे । भर्खरका राजाको दिमागमा चलिरहेको आँधीबेहरीबारे कल्पना गर्न गा¥हो छ । रणजङ्गको एकनासको दबाबले राजालाई एकछिन पनि चैनले सोच्न नदिएको मान्न सकिन्छ । रणजङ्गलाई राजाको कमजोर मनोवृत्तिबारे थाहा थियो । राजाले भीमसेन उम्किन सक्ने कुनै कुरा निकाल्न सक्छन् भन्ने अन्दाज उनलाई थियो । मनोबलको यो लडाइँमा भीमसेन कैद थिए । भीमसेनले लामो समयदेखि साथ दिएको सेनाले समेत केही गरेन । धेरै सैनिक सीमातिर गएका थिए । आफ्ना विचार, डर र सम्झनाहरूसँगै भीमसेन एकलास उभिएका थिए ।
राजामाथिको दबाबले उल्लेख्य नतिजा नल्याउने देखिएकोले भीमसेनमाथि पनि दबाब बढाइँदै थियो । विपक्षीहरू एकजुट नहुन् भन्ने मनसायले भीमसेनविरुद्धको दुष्प्रचार चर्काइएको थियो । ती अनर्गल प्रचारहरू जेलको एकान्तमा भीमसेनसामु पनि पु¥याइयो । आफ्नी श्रीमतिलाई नाङ्गो पारेर शहर घुमाउने हल्ला उनले सुने । मान्छेको मनोबल नै खलबल्याउने यस्तो सङ्घर्षमा उनी अभ्यस्त थिएनन् । उनी झन्झन् हतास हुनथाले । त्यसपछि उनलाई खुकुरी ‘फेला पार्न’ दिइयो । (चित्तरञ्जन नेपालीले सीसाको टुक्रा भनेका छन् । तर, हडसनले यस विषयमा एकदम चासो दिएको हुनुपर्छ र उनले थाहा पाएअनुसार यस कार्यका लागि त्यहाँ खुकुरी राखिएको थियो ।) वयोवृद्ध भीमसेनले आफ्नो घाँटी खुकुरीले सेरे । खुकुरीको चोटले उनलाई मार्न सकेन । उनको उपचारमा कुनै वैद्य पठाइएन । ८ दिनसम्म छटपटिएपछि सन् १८३९ जुलाई २८ मा उनको मृत्यु भयो । एक इतिहासकारले यस दर्दनाक मृत्युबारे लेखेका छन्, “उनको लासलाई दाहसंस्कार गर्न दिइएन र चोक्टाचोक्टा पारेर सहरमा खुला छोडियो । शरीरका केही अङ्ग खोलाको तीरमा हुत्याइयो । कुकुर र गिद्धहरूले भने ती अङ्गहरूप्रति आकर्षित हुने दुस्साहस गरे ।”
५. परिणाम र विश्लेषण ः भीमसेन थापाको मृत्यु भारदारहरूले खोजेको समाधान थिएन । एक पक्षको विजयजस्तो देखिए पनि आउँदो समयमा यसले झन् ठूलो विपत्ति ल्याउँदै थियो । भीमसेन थापाको लाससँग गरिएको दुव्र्यवहारले पनि दरबार र भारदारलाई कोतपर्वतिर डो¥याए । राजा घटनाको पीडाबाट कहिल्यै बाहिर आउन सकेनन् । भयानक शक्तिको दाम्लो खोलिएको उनलाई थाहा थियो । तर, सो काम फत्ते गर्न भरपर्दो अर्को व्यक्ति पनि उनले देखेका थिएनन् । घटनाक्रमलाई नियन्त्रणमा राख्न नसक्दा उनी परिबन्दका शिकार बनेका थिए । राजमुकुट छोरालाई नसुम्पिँदासम्म उनले दबाब महसुस गरिरहे ।
भीमसेन थापाभन्दा पनि राजा राजेन्द्र यस बखतको नेपालका प्रतीक हुन् । भीमसेन थापाको अवसानको बीउ उनको लामो शासनकालमै रोपिएको थियो । मिलीभगतमा चल्ने प्रशासकहरू, आफ्नो हित साँध्न विपक्षीलाई खेलाउने भीमसेनको कार्य र नयाँ विचार नपस्ने गतिहीन प्रशासन हुँदैनथ्यो भने रणजङ्ग पाँडे पनि बन्दैनथे । उनी इखालु र तुच्छ विचारका व्यक्तिभन्दा बढी केही हुँदैनथे । भीमसेन थापा र उनका सहयोगीहरूले लिएका नीतिनिर्णयले नै देशलाई त्यस्तो बिन्दुमा पु¥याएका थिए । अन्तमा उनीहरू आफैँ विस्फोटको शिकार बने । तर, राजा पनि धेरै वर्षसम्म ग्रामीण नेपालीजस्तै व्यवस्थाविरुद्ध रुन–कराउन सकेनन् । उमेर पुगेपछि उनले स्वर त पाए तर उनको बोली सत्ता सङ्घर्ष, महत्वाकाङ्क्षाको दाउपेच र निजी सुरक्षाको खोजीको आँधीबेहरीमा दब्यो । राजा आफैँ के चाहन्थे भन्ने कुरा सदा अज्ञात रहनेछ । क्रन्दन मौन हुँदा पीडामात्र सुनिन्छ, सन्देश सुनिँदैन ।
मान्छेहरू भीमसेनको अवसान र कोतपर्वअघिका घटनाक्रममा ब्रायन हडसनको षड्यन्त्र हेर्न रुचाउँछन् । उनीहरूले आफैँलाई भ्रममा पार्छन् । ती घटना लामो समयको राजनीतिक विकासक्रमको नतिजा थिए । एक्ला हडसनले त्यसो गर्नसक्दैनथे । नेपाली राजनीतिमा हडसन किर्नाजस्ता थिए । उनले पशुलाई टोके र उसलाई चिढाए । तर, पशुको शक्ति, स्वेच्छाचारी शैली र उसको रगतलाई हुँडल्ने काम घरेलु थिए । पर्दापछाडि आफ्ना स्वार्थहरू पूरा गर्ने हडसनलाई कालो देखाउनु नेपाली राजनीतिक जीवनप्रति असंवेदनशीलता हुन जान्छ । नेपालका समस्या र तनावहरूबाट सुरु गरेर नेपाली नेताहरूले तिनलाई हल गर्न के गरे भन्ने कोणबाट इतिहासलाई हेरेमा एउटा वैज्ञानिक सिद्धान्त प्राप्त गर्न सकिन्छ र यसबाट देश र प्रशासनका समस्याहरू व्याख्या गर्न सकिन्छ । तर, नेपाली इतिहास लेखन यसो अर्थ असमर्थ छ । इतिहासलाई यस कोणबाट हेरिँदैन भने त्यस्तो इतिहास लेखनको के अर्थ ? नेपालका सबै समस्याका समाधान इस्ट इन्डिया कम्पनीको भारतीय शासनमा खोज्ने कार्यमा केही इतिहासकारहरू खुसी हुने गर्छन् । त्यहाँ भेटिने समाधानहरू नेपाली जीवनबाट अलग्गिएका छद्म समस्याका समाधान हुन् । तिनले समस्यामा पर्याप्त प्रकाश पार्दैनन् । समस्या र समाधानहरू नेपाली समाजको मुटुमा छन् । यस समाजको गहिराइमा नियालेपछि मात्र नेपाली राजनीतिक प्रक्रिया र तिनको वास्तविक विकासक्रम ठम्याउन सकिन्छ । नेपाली इतिहासको मुख्य चालक नेपालभित्रै थियो । कलकत्तास्थि गभर्नर जनरलको अफिसमा होइन न त त्यो चालक काठमाडौँस्थित अङ्ग्रेज रेजिडेन्सीभित्र थियो ।
Leave a Reply