भर्खरै :

“भक्तपुर काण्ड” र युवाका केही जिज्ञासा

विसं २०४५ को ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना कार्यक्रम यो वर्ष जुम बैठक र अन्य उपाय अपनाई सम्पन्न गरिए । कार्यक्रम अझै चालु छन् । जिल्ला–जिल्लाका खबरहरू आउने क्रम पनि जारी नै छ । ती कार्यक्रममा ‘भक्तपुर काण्ड’ को क्रममा गिरफ्तार हुनुभएका र भूमिगत हुनुभएका नेता–कार्यकर्ताहरूले आ–आफ्ना अनुभव सुनाउनुभयो । प्रहरीद्वारा दिइएको क्रूर यातनाबारे सजीव ढङ्गमा बताउनुभयो । कष्टपूर्ण भूमिगत जीवन र प्रतिक्रियावादीहरूसँग भएका सङ्घर्षबारे वर्णन गर्नुभयो । पीडित परिवारका सदस्यहरूले अनुभवका पृष्ठहरू पल्टाउनुभयो । जनताका शत्रुहरूले दिएका मानसिक यातना, विभिन्न किसिमका हमलाबारे मार्मिक कथा–व्यथा सुनाउनुभयो । श्वेत आतङ्कको तस्वीर सबैसामु राख्नुभयो । कतिले पञ्चायती निरङ्कुशता र त्यसको अन्त्यबारे विश्लेषण गर्नुभयो । षड्यन्त्रका नालीबेलीबारे छलफल गर्नुभयो । साथै, त्यस काण्डमा अन्यायमा परेका जनताको पक्ष लिने विद्वान, पत्रकार, मानवअधिकारकर्मी, कानुनवेत्ताहरूप्रति आभार प्रकट गरियो । तीन दशकपश्चात् पनि सहयोगीहरूप्रति सम्मान व्यक्त गर्नु र अनुग्रहित हुनु उच्च संस्कृतिको द्योतक हो भन्ने चर्चा पनि चल्यो ।
यो वर्षको कार्यक्रमबारे
नेमकिपाले ३१–३२ वर्षदेखि भदौ ९ को कालो दिनलाई हरेक वर्ष निरन्तर स्मरण गर्दै आएको छ । विगतका वर्षमा जुलुस प्रदर्शनी, खुला सभा, भेला, अन्तरक्रिया, गोष्ठी आयोजना गरिन्थे । भदौ ९ कै सेरोफेरोमा त्यस काण्डसँग सम्बन्धित पुस्तक, बुलेटिन, विशेषाङ्क आदि प्रकाशन पनि गरिए । काण्डमा सहयोग पु¥याउने विद्वान, मानव अधिकारकर्मी, पत्रकार, वकिलहरूप्रति विगतमा धन्यवाद ज्ञापन समारोहहरू पनि भए ।
यो वर्ष कोभिड महामारीका कारण कार्यक्रमहरू बेग्लै ढङ्गमा सम्पन्न गरिए । घर–घरमै बसी आधुनिक प्रविधिको उपयोग गरी भदौ ९ को कालो दिनको भत्र्सना सम्पन्न गरिएको यो नै पहिलोपटक हो । विगत ३०–३१ वर्षमा यो खालको असामान्य परिस्थिति कहिल्यै आएको थिएन । धेरैले अवश्य नौलो अनुभव गरेको हुनुपर्छ । सामाजिक सञ्जाल, टिभीमार्फत पनि प्रसारण गरिनाले थप व्यापकता पाएको अनुभव गरियो । हजारौँ हजार श्रोता या दर्शकले घरमै बसी कार्यक्रममा सहभागिता जनाउन पाउनुलाई सकारात्मक नै मान्नुपर्छ । विगतमा त्यस काण्डबारे थाहासमेत नपाएका, भ्रम पालेर बसेका, व्यस्तताका कारण त्यस काण्डबारे गहिराइमा पुगेर बुझ्न नपाएका, जिज्ञासु किशोर–किशोरी आदिका निम्ति कार्यक्रम अझ बढी फलदायी भएको अनुभव गरियो । भुक्तभोगी, पीडित र सङ्घर्षमा प्रत्यक्ष होमिएकाहरूका विचारले पञ्चायती व्यवस्था र प्रतिक्रियावादी वर्गको कुरूप तस्वीर उदाङ्गो पारेको धेरैले महसुस गरे । षड्यन्त्र के हो र षड्यन्त्र कसरी हुन्छ भन्नेबारे यथार्थ उदाहरणसहित बताइनाले नयाँ पुस्ताका निम्ति शिक्षाप्रद बनेको पनि साँचो हो । प्रविधि–मैत्री कार्यक्रम हुनाले नयाँ पुस्ताले समेत अभिरूचिपूर्वक सहभागिता जनाएकोे या तिनीहरूलाई आकर्षित तुल्याएको अस्वीकार गर्न सकिन्न ।
नयाँ पुस्ताका केही जिज्ञासा
कार्यक्रमहरूमा सहभागी नयाँ पुस्ताका उत्सुक विद्यार्थी–युवाहरूबाट उमेरअनुसारका केही जिज्ञासा अभिव्यक्त हुनु अन्यथा मान्न सकिन्नँ । हाम्रा बुबा–आमा, हजुरबुबा–हजुरआमाहरूलाई त्यतिखेर नेपाली भाषा बोल्न नआउनुको कारण के थियो ? नेपाली भाषा नआएकैले दुःख पाउनुभएको र धेरै हेपाइ सहनुपरेको हो ? नेपाली भाषा नजानेर दुःख पाएको यदि हो भने बहुदलपछि भएपनि सिकाउने चेष्टा भयो कि भएन ? अहिले त्यस्तो षड्यन्त्र भयो भने हामीसँग के चिज नभएर दुःख पाउँछौँ होला ? अङ्ग्रेजी भाषामा कमजोर भएर दुःख पाउँछौँ कि ? ठाउँ नचिनेरभन्दा पनि मान्छे नचिनेर दुःख पाउँछौँ कि ? पहिलाभन्दा समाजमा लोभीपापीको सङ्ख्या बढिसक्यो, त्यो नै दुःखको कारण बन्ला कि ? पहिलाजस्तै ठूला–ठूला विद्वानले के अब पनि आपत्विपत्मा साथ देलान् ? पहिला त पञ्चायत सबैको साझा शत्रु थियो र अन्य राजनीतिक दलले सङ्घर्षमा साथ दिए, अहिले परिस्थिति भिन्न भइसकेकोले नेमकिपालाई अहिलेको परिवेशमा साथ देलान् ? आदि –आदि सवाल युवा, विद्यार्थीबाट सुनिए । विद्यार्थीहरू भन्दै थिए – त्यतिखेर प्रअ, शिक्षकहरूलाई नै छानी – छानी किन समातियो ? शिक्षक, प्रअजस्ता बुझक्कडहरूले नै किन बोली फेरे ? किन सङ्घर्षको मैदान त्यागे ? किसान, महिला, युवा, विद्यार्थीले भने साहसिकरूपमा सङ्घर्ष गरे नि ? त्यतिखेरको महिला अग्रसरताको तुलनामा अहिलेको कमजोर छ कि सबल ? कुन कुन क्षेत्रमा सबल बन्यो ? प्रविधिको विकास भइसकेको सन्दर्भमा त्यस घटनाबारे वृत्तचित्र निर्माण गरेर भ्रमलाई चिर्ने कार्य गर्न नयाँ पुस्तालाई किन हौस्याइएन ? यी अस्वाभाविक नलाग्ने प्रश्नको चित्तबुझ्दो जवाफ दिएर नयाँ पुस्तालाई हौसला दिनु, मार्गनिर्देश गर्नु निश्चय पनि अग्रज पुस्ताको जिम्मेवारी हो । युवा पुस्ताको राजनीतिक चेतना, सङ्घर्षशीलता, सामाजिक गतिविधिमा सहभागिता आजको चासोको विषय हो ।
सङ्घर्षका तीन मोर्चा
नेपाल मजदुर किसान पार्टीको इतिहासमा २०४५ भदौ ९ को घटना र त्यसपछिको पञ्चायती दमनले अकल्पनीय कम्पन ल्यायो भन्नु सायद अतियुक्ति नहोला ¤ कारण, पार्टी हेडक्वार्टरमाथि हमला चल्दै थियो । अध्यक्ष का. रोहित स्वयम् पक्राउ पर्नुभयो । जनताद्वारा निर्वाचितहरूलाई गिरफ्तार गरी पार्टीको जनसम्पर्कको जरो काट्ने र राज्यसँगको संवादको सम्भावना नै अन्त्य गर्ने काम भइसकेको थियो । पञ्चायतको न्वारानदेखिको बल नेमकिपाको दमनमा खर्च हुँदै थियो । पञ्चायत दोस्रो रजत जयन्तीको महा–उत्सव मनाउने मनस्थितिमा पुगिसकेको थियो । दिग्विजय प्राप्त गरेझैँ पञ्चायती सामन्तवादीहरू उत्सव मनाउँदै थिए । मण्डलेहरूको खुसीको कुनै सीमा रहेन । मण्डले राज सुरु भयो ।
नेमकिपाले भने तीन मोर्चाबाट पञ्चायतविरूद्ध सङ्घर्ष सुरू ग¥यो ः जेलभित्र, जेलबाहिर या जनस्तर र केही समयपश्चात् भारत प्रवासबाट । नेमकिपाले न सङ्घर्ष थाल्न अलमल ग¥यो न त विलम्ब नै ग¥यो । जेलभित्र प्रजातन्त्रको पक्षमा, निरङ्कुशतन्त्रविरूद्ध आवाज उठाउन थाल्यो । पञ्चायती प्रशासनको निर्मम यातना सहँदै विचार, सिद्धान्त, न्यायका निम्ति निरन्तर सङ्घर्ष अगाडि बढायो । जेलभित्रबाट राजनीतिक एकताको सन्देश प्रवाह ग¥यो । यातना भोग्दा होस् या अदालतको कठघरामा उभिइँदा होस् निरङ्कुशतन्त्रको अन्त्य र प्रजातन्त्रको उदय, न्यायको विजयको अवश्यम्भाव्यताबारे निर्भयका साथ विचार अभिव्यक्त ग¥यो ।
पार्टी अध्यक्ष का. रोहितले भेटघाट र अन्य गुप्त उपायमार्फत राजनीतिक सङ्घर्षको पृष्ठभूमि तयार पार्नुभयो । जनआन्दोलन केन्द्रीय परिचालन समिति (वाममोर्चा) को सदस्यको नाताले प्रजातन्त्र पुनः स्थापनाका लागि मार्गनिर्देशन तथा ऊर्जा प्रदान गर्नुभयो । भदौ ९ पश्चात् नेमकिपाको ढाड भाँचिएको र उल्लेख्य भूमिका असम्भव घोषणा गर्नेहरूलाई फागुन ८ गते पुग्दो जवाफ दिन नेमकिपा सफल भयो । जेलबाहिर अर्थात् जनस्तरबाट पञ्चायती दमन तथा निरङ्कुशताविरूद्ध बदलाको भावसहित नेमकिपाका कार्यकर्ता, किसान, महिला र युवाहरू जुझारू ढङ्गमा क्रियाशील भए । आफ्ना प्रिय निर्दोष कामरेडहरूलाई जेलमुक्त गरेरै छाड्ने सङ्कल्पका साथ श्वेतआतङ्कका बीच पनि विभिन्न गतिविधिलाई चालु राखे । बौद्धिक समुदायबीच अभूतपूर्व एकता समेत तयार भयो । पञ्चायतविरोधी जनमत तयार गर्न बल पुग्यो । यी गतिविधि २०४६ सालको संयुक्त जनआन्दोलनको पृष्ठभूमि साबित भयो भन्नु पनि अतियुक्ति नहोला । साथै, देशभित्रको यथार्थ अवस्था, पञ्चायती व्यवस्थाको वास्तविकता र भक्तपुर काण्डबारे बाहिरी संसारलाई अवगत गराउन नेमकिपाका नेता–कार्यकर्ताले प्रवासबाट गरेको सङ्घर्ष उल्लेख नगर्नु अधूरो हुनेछ । भारत प्रवासबाट गरिएको सङ्घर्षको पृथक् महत्व रह्यो भन्दा फरक नपर्ला !
सधैँ एउटै रटान ?!
केही केहीले ३० वर्षसम्म एउटै घटनाबारे नेमकिपाले रटान लगायो भनी टिप्पणी गरेको समेत सुनियो । एउटा घटनामा रूमलिएर नबस्न सल्लाहसमेत दिए । कसैले त ठूलो महत्वका साथ व्यापक ढङ्गमा छलफल नचलाए हुन्थ्यो भन्ने आग्रह समेत गरेको बताइयो । यी कुराले दुई–चार प्रश्न तेस्र्याउँछ । त्यसो भन्नेहरू ‘भक्तपुर काण्ड’ र कुनै पनि ऐतिहासिक घटना या सङ्घर्षबारे जानकारी राख्दैनन् र राख्ने चेष्टा गर्दैनन् । वर्गीय दमनबारे समेत संवेदनशीलता देखाउने क्षमता राख्दैनन् । इतिहासका घटना या सङ्घर्षबाट सिकेर नयाँ सङ्घर्षको अगुवाइ गर्ने मामिलामा ती उदासीन छन् । शत्रु र मित्र चिन्नु र शत्रुविरूद्ध सङ्घर्ष गर्नु एउटा निरन्तरको प्रक्रिया हो भन्नेबारे जानकारी नराख्नु आफैँमा दयालाग्दो विषय हो । वर्गीय शत्रुहरूप्रति सधैँ कडा हुन नहुने, विरोध एकचोटी गरे पुगिहाल्यो र बारम्बार विरोध गरी शत्रुको घेरा किन ठूलो बनाउने या दिउँसै बत्ती बालेर शत्रु कमाउने मूर्खता किन गर्ने भन्ने विचार उदारतावादी विचार हो । त्यो आत्मघाती विचार हो । शत्रु र मित्र चिन्ने मामिलामा खोट या कमजोरीकै कारण सङ्घर्षमा पराजय भोग्नुपर्ने व्यावहारिक पक्षमा बेवास्ता गर्न सकिन्न । प्रतिक्रियावादीहरूको विरोध तथा भत्र्सना र तिनका अपराध उदाङ्गो पार्ने काममा कोही असहमति जनाउँछन् भने ती स्वयम् प्रतिक्रियावादी हुन् भन्नु गलत हुने छैन । ‘भक्तपुर काण्ड’ को स्मरण गर्दा विगतका आप्mना व्यक्तिगत कमीकमजोरी सतहमा आउने पीर कसैलाई भएमा आत्मालोचना गर्दै फेरि पनि देश र जनताको इमानदारीपूर्वक सेवामा थप प्रतिबद्ध भएर लाग्नु श्रेयस्कर हुनेमा दुईमत नहोला !
अन्त्यमा,
स्मृति दिवस, जन्मजयन्ती आदि मनाउनुलाई हामी कुनै औपचारिकतामा सीमित राख्दैनौँ । पुँजीपतिवर्गले झैँ मनोरञ्जन, होहल्ला गरी जनतालाई दिग्भ्रमित पार्दैनौँ । बरु राजनीतिक कक्षा, सघन प्रशिक्षण, अन्तरक्रियामा परिणत गरी कामदारवर्गको चेतना स्तर तथा सांस्कृतिक स्तर अभिवृद्धि, वैचारिक स्तर वृद्धिमा जोड दिन्छौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकार एवम् स्पष्ट बन्ने र बनाउने अवसरमा परिणत गर्छौँ । ती विषयसँग सम्बन्धित रचना लेखन, प्रकाशन तथा अध्ययनमा जोड दिन्छौँ । गम्भीर सिंहावलोकन, समीक्षा एवम् आत्मसमीक्षा गर्दै सङ्घर्षलाई नयाँ ढङ्गमा माथि उठाउने तयारी गर्छौँ । क्रान्तिकारी भावना तथा परम्पराको निरन्तरताका निम्ति सत्प्रयास जारी राख्छौँ ।
नेमकिपा सही विचार, सिद्धान्त, सच्चाइका निम्ति र कामदार जनताको हित हुने विषयमा ३० वर्षमात्र होइन सयौँ वर्षसम्म सङ्घर्ष गर्न तयार छ । देश र जनताको निःस्वार्थ सेवाकै निम्ति नेमकिपाको स्थापना भएको हो । त्यस कार्यलाई कसैले रोक्न सक्दैन । माक्र्सवादी विचार, समाजवाद र साम्यवादको विषयमा नेमकिपाले अथकरूपमा बोलिरहनेछ, लेखिरहनेछ र सङ्घर्ष गरिरहनेछ, जसले जतिसुकै टाउको दुखाऊन् ¤ शोषण, दमन, अन्याय अत्याचारविरुद्ध बोल्दा नेमकिपा कसैको अनुहार हेरी बस्दैन या कुनै नाफाघाटाको पर्वाह गर्दैन । धेरैलाई ज्ञात भएकै कुरा हो, नेमकिपाको शब्दकोशमा सैद्धान्तिक विचलन भन्ने शब्द नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *