भर्खरै :

सक्वको म राजदास – ४८

 

डिसेम्बर आन्दोलनदेखि अक्टोबर क्रान्तिसम्म
सन् १९७० को आधा दशक मेरो जीवन तत्कालीन सोभियत सङ्घमा बित्यो । सन् १९६९ मा म सिभिल इन्जिनियरिङ्ग पढ्न भनी सोभियत रुस गएको थिएँ । सन् १९७६ मा म एक केमिकल इन्जिनियरको डिग्री हासिल गरेर दुई छोरा र एक इन्जिनियर श्रीमतीका साथ नेपाल फर्केँ ।
आफ्नो खल्तीबाट एक पैसा खर्च नगरी ५–६ वर्ष सोभियत रुसमा बसी इन्जिनियरिङ डिग्री हासिल गरी फर्कन पाउनु मेरो लागि ठूलो ‘भाग्य’ नै हो भनी म आज सम्झन्छु । आज संसारमा सोभियत सङ्घ भन्ने देश छैन तापनि मेरो मानसपटलबाट त्यो कहिल्यै पनि हराएको छैन । मेरो मनमस्तिष्कमा ती बितेका मेरा सुखद क्षण र तीतामीठा दिनहरू यादहरू आइरहन्छन् ।
सोभियत सङ्घमा अध्ययन गर्दाका ती दुःखका दिनहरू पनि सुखका रूपमा प्रस्तुत गर्दै छु ।
हुन त सोभियत सङ्घ जानुअघि नै म कम्युनिस्ट विचार र सिद्धान्तबाट प्रभावित भइसकेको थिएँ । सन् १९६० को दशकमा काठमाडौँमा चलेका विद्यार्थी आन्दोलन र उत्तर चीनका महान् कम्युनिस्ट नेता माओ त्सेतुङ्गको विचारधाराको केही अध्ययनबाट एक सच्चा कम्युनिस्ट बन्न र आफ्नो देशमा कम्युनिस्ट शासन लागु भएको हेर्न म धेरै उत्साहित भएको थिएँ ।
यसैअनुरूप म तत्कालीन सोभियत सङ्घमा अध्ययन गर्न गएको थिएँ । यद्यपि, मलाई हाम्रो छिमेकी राष्ट्र भारतमा कोलोम्बो प्लानअन्तर्गत इन्जिनियरिङ्ग कोर्स पढ्न जाने अवसर पनि मिलेको थियो ।
सोभियत सङ्घ जानुको उद्देश्य कम्युनिस्टको विचारधाराबाट प्रभावित भएरमात्र होइन बरु युरोपेली देश र त्यहाँको जनजीवन हेर्नु र अनुभव बटुल्नु पनि थियो । मेरो मनले चिताएअनुसारको दुवै इच्छा पूरा भयो । पढ्न लेख्न पनि पाएँ, युरोपका धेरै देशहरू पनि हेर्न पाएँ ।
सोभियत सङ्घको कम्युनिस्ट जनजीवनदेखि जर्मन, होल्यान्ड, इङ्गल्यान्डको पुँजीवादी संसार पनि हेर्ने र देख्ने अवसर मिल्यो । ५–६ वर्षको अवधिमा यति धेरै कुरा पाउनु मेरो लागि कम महत्वको कुरा थिएन, त्यसकारण म तत्कालीन सोभियत सङ्घ र सोभियत जनताप्रति आभारी नभई रहन सक्दिनँ ।
तर, योभन्दा पनि अर्काे महत्वपूर्ण कुरा मैले सोभियत सङ्घमा बस्दा रुसी भाषा र रुसी साहित्य अध्ययन गर्ने अवसर पाएँ ।

सोभियत साथीहरुसँग निर्माण ब्रिग्रेडमा (काजाक्स्तान १९७५

आज यो मेरो ढल्दै गइरहेको उमेरमा रुसी भाषा, रुसी साहित्य अनि रुसी जनजीवन र रुसी क्रान्तिमा रुसी साहित्यले पारेको प्रभावहरूको अध्ययन एक ‘लङ्गडोको साथी’ को रूपमा प्रकट भइरहेको छ । यी मेरा अतीतका सम्झनाहरू विगत केही वर्षदेखि निरन्तररूपमा लेखिरहन पाउँदा र यी सम्झनाका पानाहरू ‘मजदुर’ दैनिकमा प्रकाशित भइरहेको देख्न पाउँदा आज म धेरै खुसी छु । यतिमात्र होइन मेरो यो सोभियत सङ्घमा बसेको बेलाको अनुभव र आफ्नो कम्युनिस्ट सिद्धान्तप्रतिको निष्ठाले गर्दा मलाई अति मनपर्ने, विगत ५० वर्षदेखि एक आदर्श पुरुष, एक क्रान्तिकारी कम्युनिस्ट नेताको रूपमा लिइरहेका व्यक्ति नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँसँग धेरै नजिक ल्याइदियो । उहाँसँग बेला मौकामा सभा सम्मेलनहरूमा भेट्ने अवसर पनि मिल्यो ।
कामरेड नारायणमान बिजुक्छेँ एक निष्ठावान राजनीतिज्ञमात्र होइनन् एक सबल साहित्यकार पनि हुनुहुन्छ । उहाँ एक मृदुभाषी, शालीन र सौम्य व्यक्तित्व पनि हुनुहुन्छ । उहाँकै नेतृत्वमा चलिरहेको नेमकिपा आज देशको एक गौरवशाली पार्टीको रूपमा खडा भइरहेको छ । यही पार्टीको अगुवाइमा भक्तपुर नगरले आज देशमा उदाहरणीय सफलता हासिल गरिरहेको छ, हाम्रो देशको कला–संस्कृति–साहित्य–स्वास्थ्य– शिक्षाको साथसाथै आर्थिक तथा कृषि उन्नतिमा पनि नेमकिपाको देन छ ।
देशमा पूर्णरूपमा परिवर्तन आएको छैन तापनि नेमकिपाले भक्तपुरमा गरेको उन्नति र प्रगतिदेखि म धेरै खुसी छु । मैले विगत ५० वर्षदेखि बोल्दै हिँडेको माक्र्सवाद–लेनिनवाद र माओका विचारधाराका सिद्धान्त वास्तवमा खेर गइरहेको छैन भन्ने अनुभूति पाएको छु । त्यसैकारण सोभियत सङ्घको विगतका सम्झना र त्यहाँ बस्दा प्राप्त गरेका अनुभवहरू फर्केर हेर्दै यी हरफहरू कोर्दै छु । विश्वास छ, सोभियत नेता भ्लादिमीर लेनिनले भनेझैँ “अन्तत्वगत्वा एक दिन विश्वमा समाजवादको विजय निश्चित नै हुन्छ ।”
भ्लादिमीर इलीच लेनिनलाई सम्झँदा हामीलाई अवश्य महान् अक्टोबर क्रान्तिको याद आउँछ र सोभियत बोल्शेभिक पार्टीको पनि याद आउँछ ।
विश्वमा सर्वप्रथम सन् १९१७ मा तत्कालीन रुसमा भएको महान् अक्टोबर समाजवादी क्रान्ति वास्तवमा एकैचोटि आएको होइन, सजिलै प्राप्त भएको होइन । महान् अक्टोबर क्रान्ति सफलतापूर्वक सम्पन्न हुनुपूर्व तत्कालीन रुसी जारशाही शासनकालमा पटक–पटक अन्य आन्दोलन र क्रान्तिहरू भएका थिए । रुस मध्य तथा पूर्वी युरोप र एसियाको एक विशाल भूमि हो । विश्वका धेरै देशहरूसँग यसको भूभाग जोडिएको छ । यो देश अथाह प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ । यही प्राकृतिक स्रोतसाधन र धनदौलतको कारण रुसी जनताले इतिहास कालमा धेरै वैदेशिक आक्रमणहरू झेल्नु परेको थियो । लाखौँ करोडौँ रुसी जनताको जीवन अकालमा समाप्त भएको थियो ।
मध्य युगमा मङ्गोल टाटारहरूले रुसी राज्यहरूमाथि आक्रमण गरी तीन चार सय वर्ष राज्य गरे । सन् १८१२ मा फ्रान्सका बादसाह नेपोलियन बोनापार्टले विशाल सैनिक फौज लिएर मस्कोसम्म धावा बोलेका थिए । यही बेला रुसमा उन्नाइसौँ शताब्दीको सुरुमा तत्कालीन रुसी साम्राज्यमा एक महान् साहित्यकार कवि– अलेक्जेन्डर पुश्कीन उदय भएका थिए । सन् १७९९ मा रुसको मस्को सहरमा जन्मेका कवि अलेक्जेन्डर पुश्कीनको बाल्यकाल तत्कालीन रुसी साम्राज्यको राजधानी सेन्ट पिट्र्सवर्गमा भएको थियो । बाल्यकालदेखि नै उनमा कविता लेख्ने र पढ्ने विलक्षण प्रतिभा थियो । उनले सानै उमेरमै फ्रान्सको विश्व प्रसिद्ध विद्वान भोल्टियरको विषयमा अध्ययन गर्न थालेका थिए । उनी फ्रेन्च भाषामा प्रखर थिए । फ्रान्सको भोल्टियरमात्र होइन उनले फ्रेन्च भाषामै तत्कालीन ब्रिटिश साम्राज्यका महान् साहित्यकार विलियम सेक्सपियरको साहित्यको पनि गहन अध्ययन गरेका थिए ।
यसरी विलक्षण प्रतिभा भएका कविले १३ वर्षको उमेरदेखि विश्वलाई चकित हुने खालका साहित्य या कविताहरू लेख्न थाले । उनको साहित्यको मूल विषय हुन्थ्यो ‘स्वतन्त्रता’ ।
स्वतन्त्रता जनजीवनको, स्वतन्त्रता गरिब किसानको, ‘स्वतन्त्रता’ दासहरूको । यही उद्देश्यअनुरूपको आफ्नो साहित्य रचनाले गर्दा उनी तत्कालीन निरङ्कुश जार शासकहरूको कोप–भाजन भए । आफ्नो युवा अवस्था निर्वासनमा बिताउनु परेको थियो । तर, निर्वासनले उनको पढाइ–लेखाइमा केही कमी आएन बरु उल्टो ५–६ वर्षको निर्वासित जीवन उनको विश्वमा उत्कृष्ट कहलिएका साहित्य कृतिहरूको रचनाको अति उर्वर समय भयो । १९ औँ शताब्दीको सुरूमा रुसमा अझै दासप्रथा थियो र सबै गरिब किसान धनीमानी जमिनदारका दास थिए । रुसी भाषामा ठूल–ठूला सामन्ती जमिनदारहरूलाई ‘कुलाक’ भनिन्छ । आजकल रुसमा जमिनदारहरू छैनन् । रुसमा सन् १९१७ मा अक्टोबर क्रान्ति हुँदासम्म थुप्रै ‘कुलाक’ हरू थिए । लेनिन र उनको बोल्शेभिक पार्टीले ती जमिनदारी प्रणाली समाप्त गरेका थिए । सन् १९७० को दशकमा म सोभियत सङ्घमा बस्दा मलाई रुसी साथीहरू जिस्काउँथे । ‘राज, तिमी कतै नेपालमा जमिनदारका छोरा त होइनौ ? यदि त्यही हो भने हामी तिमीलाई ‘ब्राग नारोडा’ को रूपमा लिन्छौँ ।
‘ब्राग नारोडा’ भनेको रुसी भाषामा ‘जनताको शत्रु’ हो ।
म हाँस्दै जवाफ दिन्थेँ, “होइन कमरेड, म त एक गरिब किसानको छोरो हुँ । धनी जमिनदारको छोरो भए म तिमीहरूकहाँ यसरी सित्तैमा किन पढ्न आउँथँे ?”
सोभियत साथीहरूसँग आफ्नो कक्षामा यस्तै–यस्तै कुरा हुन्थ्यो । तत्कालीन सोभियत जनताले धनी, व्यापारी, जमिनदार र उद्योगपतिहरूलाई धेरै घृणा गर्थे ।
सबै उत्पानका साधनको स्वामित्व सरकारले लिनुपर्छ, निजी उद्योग, व्यापार हुनु हुँदैन भन्ने मान्यता राख्दथे सोभियत जनता । सोभियत जनता अक्टोबर क्रान्ति यसैको लागि हो भन्थे ।
अक्टोबर क्रान्तिको कुरा गर्दा रुसी जनता तत्कालीन रुसी साम्राज्यमा सन् १८२५ मा भएको ‘डिसेम्बर आन्दोलन’ लाई बिर्सनु हुँदैन भन्थे । किनकि त्यो रुसमा गरिब किसानको ‘स्वतन्त्रता’ र दासप्रथा उन्मूलनको लागि सबभन्दा पहिले भएको रुसी आन्दोलन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *