भर्खरै :

सही व्यवस्थापन नहुँदा अस्पतालबाटै सङ्क्रमण

पोखरा, २२ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कम्युनिस्ट सरकारबाट उत्पादनका मुख्य–मुख्य साधनहरूको राष्ट्रियकरण, शिक्षा–स्वास्थ्य निःशुल्क र रोजगारीको सुनिश्चितता अपेक्षा हुने भएकोले ती अपेक्षा पूरा नगर्ने एमाले–माओवादीको नेकपा सरकार कम्युनिस्ट सरकार नभएको प्रस्ट पार्नुभयो ।
आइतबार बिहान पोखराबाट प्रसारण हुने रेडियो बाराहीका विनोद सुवेदीसँग ‘आजको सवाल’ कार्यक्रममा टेलिफोन वार्ता गर्दै अध्यक्ष रोहितले निर्वाचनबाट समाजवाद आउँछ भन्नु गलत दृष्टिकोण हो भन्नुभयो ।
अध्यक्ष रोहितले एमाले–माओवादीले निःस्वार्थ भावनाले जनताको सेवा गर्नेभन्दा पनि सरकार र भागबन्डामा मात्र ध्यान दिएकोले देश र जनताको समस्या समाधान गर्न नसकेको चर्चा गर्नुभयो ।
चिलीमा चुनावबाट आएको वामपन्थी सरकारले उत्पादनका साधनहरू राष्ट्रियकरण गर्न खोज्दा एयेन्डेको सरकार अपदस्थ गरिएको बताउँदै अध्यक्ष रोहितले एयेन्डेको सरकारलाई चीनले चुनावबाट समाजवादी व्यवस्था आउन सम्भव नभएको भन्दै शुभकामना दिएको र फिडेल क्याष्ट्रोले बन्दुक उपहार दिएको चर्चा गर्नुभयो ।
नेपालमा अहिले सरकारको कामलाई सेनाले नरोकेको तर उत्पादनका साधन राष्ट्रियकरण गर्न खोजे संविधानविपरीत भनी अदालतमा मुद्दा चल्ने बताउँदै अध्यक्ष रोहितले विद्यमान संविधान अहिलेका शासकहरूले नै बनाएको हुँदा संविधानको कारण काम भएन भन्न पाउँदैन भन्नुभयो ।
भियतनामका नेता हो चि मिन्हले राष्ट्रपति हुँदा राष्ट्रपति भवन विदेशी पाहुना आउँदामात्र प्रयोग गरेको स्मरण गर्दै अध्यक्ष रोहितले नेपालका मन्त्रीहरूले भवन बनाउन र विलासी गाडी किन्नमात्र ध्यान दिएको उल्लेख गर्नुभयो । अध्यक्ष रोहितले प्रत्येक प्रदेशमा ‘वीर’ अस्पताल बनाउनुपर्छ भन्नुभयो ।
अध्यक्ष रोहितले लकडाउनको बेला लाखौँ कार्यकर्ता स्वयम्सेवकको रूपमा परिचालन गर्नुपर्नेमा पार्टीमै झगडा गरिरहनु ठीक होइन भन्नुभयो ।
सरकारले सही व्यवस्थापन गर्न नसक्दा प्रायः अस्पतालबाटै सङ्क्रमण फैलिएको अध्यक्ष रोहितले बताउनुभयो । उहाँले २५ वर्ष अगाडिदेखि जिल्ला जिल्लामा अस्पताल बनाउनुपर्नेमा जोड दिँदै आएको उल्लेख गर्दै तर अहिलेसम्मका सरकारहरूले बेवास्ता गर्दा यसको भागीदार सत्तारुढ दल नै हुने बताउनुभयो ।

One response to “सही व्यवस्थापन नहुँदा अस्पतालबाटै सङ्क्रमण”

  1. आशाा थापा says:

    निकै राम्रो बिचार।का.रोहित जस्तो देश र जनताको पक्षमा निश्वार्थ काम गर्ने राजनेता आवस्यक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *