भर्खरै :

संरा अमेरिकी प्रहरीको गोलीबाट घाइते ज्याकोबको पीडा

विनकनसिन, ७ सेप्टेम्बर । विनकनसिनमा एक जना गोरा प्रहरी अधिकारीले गत महिना सात वटा गोली हान्दा मरणासन्न बनेका संरा अमेरिकी अफ्रिकी मूलका नागरिक ज्याकोब ब्लेकको घटनापछि पहिलोपटक अस्पतालको शय्याबाट आफ्नो भनाइ सार्वजनिक रूपमा राखेका छन् । जातीय न्याय र प्रहरी निर्ममताको विरोधमा संरा अमेरिकाका विभिन्न सहरमा बढ्दो प्रदर्शनबीच ज्याकोबले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।
ट्वीटरमा पोस्ट गरिएको श्रव्यदृश्यमा ब्लेक अस्पतालमा लगाइने हरियो रङको लुगामा देखिएका थिए । उनले आफूलाई प्रहरीको गोली लागेपछि कम्मरमुनिको सबै भाग प्यारालाइज भएको र लगातार दुखिरहेको बताए ।
“मेरो ढाडमा, पेटमा पाटा छन् । मलाई श्वास फेर्दा दुखिरहेको छ । सुत्दा पनि दुख्छ । कोल्टे फेर्दा र केही निल्न खोल्दा पनि दुख्ने गरेको छ”, ज्याकोबको वकिल बेन क्रम्पले पोस्ट गरेको श्रव्यदृश्यमा उनले भनेका छन् ।
२९ वर्षका ज्याकोबलाई गत अगस्ट २३ मा प्रहरीले अनाहक गोली हानेपछि संरा अमेरिकाका जोर्ज फ्लोडको हत्यापछि चर्केको जातीय विभेदविरोधी आन्दोलनले अझ उग्र रुपमा लिएको हो । गत मे महिनामा संरा अमेरिकाकै मिनिओपोलिस सहरमा फ्लोडलाई घाँटीमा घुँडाले टेकेर हत्या गरिएको थियो । यसपालिको विरोध प्रदर्शनमा भने कोरोना महामारीको आर्थिक तथा सामाजिक प्रभाव पनि जोडिएको छ । महामारीको कारण संरा अमेरिकामा झन्डै १ लाख ९० हजार मानिसको निधन भइसकेको छ । यो रोगको कारण संसारमा सबभन्दा बढी मानिसको निधन संरा अमेरिकामा नै भएको छ ।
आगामी नोभेम्बर ३ मा हुने निर्वाचनको लागि पुनः उम्मेदवार बनेका राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी अभियानमा व्यस्त भएको अवस्थामा विरोध प्रदर्शनका घटना बढिरहेको हो । गत मार्च महिनामा प्रहरीकै हमलामा घाइते भएका अर्का अफ्रिकी मूलका संरा अमेरिकी नागरिक डानिएल प्रुडको हालै निधन भएपछि न्यु योर्क सहरको रोस्टरमा आयोजित प्रदर्शनमा झन्डै २ हजार मानिस सहभागी भए । सो प्रदर्शनमा ९ जना मानिस गिरफ्तार गरिनुका साथै तीन जना प्रहरी घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *