भर्खरै :

कोरोनाको अलमलमा शिक्षा

सेप्टेम्बर ८, विश्व साक्षरता दिवस । शिक्षा देश विकासको महत्वपूर्ण आधार मानिन्छ । विश्वका विकसित राष्ट्रहरूको उन्नति र प्रगतिको चर्चा गर्दा पनि ती राष्ट्रहरूले शैक्षिक क्षेत्रमा प्रगति गरेकाले नै उनीहरूको विकास सम्भव भएको देखिन्छ । शिक्षाको ज्योतिले हो जसमा अन्धकारलाई भगाउँछ । शिक्षाले सही र गलत के हो भनी बुझाउने चेतनाको विकास गर्छ । शिक्षा क्षेत्रको विकास हुनु भनेको समग्र समाज र देशकै विकास हुनु हो । आज हामी अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहेका छौँ ।
नेपालमा साक्षरताको प्रतिशत क्रमशः बढ्दै छ । २०६८ को जनगणनाले नेपालमा साक्षरता प्रतिशत ६५.९ देखाएको छ । २००७ सालभन्दा अगाडि नेपालको साक्षरता बढीमा प्रतिशत २ मात्र थियो । १०४ वर्ष अन्धकारमय राणाशासन नै त्यत्तिबेलाको निरक्षरताको कारण थियो । आजको आधुनिक समयमा शिक्षालाई आधारभूत मानव अधिकारको रूपमा लिइन्छ । हरेक व्यतिmले स्वतन्त्ररूपमा लेखपढ गर्न पाउनुपर्छ । तर, विश्वभर लगभग ७७ करोडभन्दा बढी मानिस सामान्य लेखपढ पनि गर्न नसक्ने पछिल्ला केही अध्ययनले देखाएको छ । साक्षरताको विश्वव्यापी अनुगमन प्रतिवेदनअनुसार संसारका प्रत्येक ५ जनामध्ये १ जना पुरुष र दुईतिहाइ महिला अझै पनि साक्षर छैनन्  । विश्वका अझै पनि धेरै बालबालिका विद्यालय जान पाएका छैनन् । कतिपय विद्यालय जान पाए पनि नियमितरूपमा जान पाउँदैन । विशेषतः पश्चिमी एसिया र दक्षिण एसियालगायतका देशहरूको साक्षरता प्रतिशत न्यून देखिन्छ ।
कोभिड १९ को महामारीले शिक्षा क्षेत्रमा नराम्रो असर पारेको छ । कलिला बालबालिकाको भविष्य के हुने हो अन्योलमा छ । नेपालमा सरकारले अनलाइन कक्षा चलाउन भने पनि अझै धेरै बालबालिका इन्टरनेटको पहुँचभन्दा बाहिर छन् । १८— २० प्रतिशत बालबालिका मात्र अनलाइन कक्षामा सहभागी हुने गरेको कुरा पछिल्लो अध्ययनले देखाएको छ । नेपालका धेरै बालबालिका इन्टरनेटको पहुँचभन्दा पर छन् । ती बालबालिकालाई अनलाइन कक्षा ‘मनको लड्डु घिउसँग खानु’ सरि भएको छ । पढ्ने चाहना हुँदाहुँदै बालबालिकाहरूले पढ्न पाइरहेका छैनन् । यसरी शिक्षाको पारिलो घामबाट कलिला बालबालिका बञ्चित हुनु परेको तीतो यथार्थ हामी भोगिरहेका छौँ ।
आजको संसार अध्ययन र अनुसन्धानतर्फ उन्मुख हुँदै गइरहेको छ । हरेक कुराको अनुसन्धान गर्ने पद्धति नेपालमा पनि सुरु हुँदै छ, चाहे त्यो आर्थिक, सामाजिक वा अन्य कुनै पनि क्षेत्र नै किन नहोस् । विकसित राष्ट्रहरूले अध्ययन–अनुसन्धानमा बढीभन्दा बढी समय र पैसा खर्च गर्ने गरेका छन् । फलतः उनीहरू प्रगतिको शिखर चढ्न सफल छन् । भोलि देश कुन अवस्थामा पु¥याउने भन्ने कुरा आजको शिक्षा नीति, पठनपाठन प्रक्रिया, विद्यार्थी र शिक्षकहरूको लगन, मेहनतमा भरपर्दछ । नेपालमा पनि शिक्षा क्षेत्रलाई सबल र सक्षम पार्न विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन हुने गरेका छन् । ती तालिमले शिक्षक–विद्यार्थीलाई सक्रिय पार्न ठूलो मद्दत गरेको छ । हाल कोरोना महामारीको अवस्थामा पनि इन्टरनेटको पहुँच भएका स्कूल–कलेजहरूले जुम, माइक्रोसफ्ट टीम इत्यादि एपमार्फत अनलाइन कक्षाहरू सञ्चालन गरिरहेका छन् । यसरी अनलाइनमार्फत कक्षा सञ्चालन गर्दा पनि विभिन्न बाधा अवरोध नआउने होइन । तथापि, तिनलाई सामना गर्दै स्कूल–कलेजहरूले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन् । यसरी पढाइका शैलीहरू पनि फरक हँुदै गएका छन्  । अनलाइनको पहुँच नहुने विद्यार्थीको समस्यालाई ध्यानमा राखी रेडियो र टेलिभिजनबाट पनि विभिन्न तहका कक्षाहरू भइरहेका छन् । दुर्गम क्षेत्रका बालबालिकाहरू अहिले रेडियो र टीभी हेरेर–सुनेर पढ्ने गरेका छन् । ग्रामीण भेगका धेरै विद्यार्थीहरू यस्तो सुविधा र प्रविधिबाट लाभान्वित भएका छन् । उनीहरू यसलाई सकारात्मकरूपमा लिएर आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छन् । स्कूलको कक्षाकोठामा जस्तो नभए पनि रेडियो सुनेर र टीभी हेरेर आफ्नै घरमा पढ्न पाइएकोमा उनीहरू खुसी छन् । फुर्सदको समयमा आफ्ना बाआमालाई खेतीपातीको काममा सघाउने गरिरहेका छन् । मानिसले जीवन जिउने कलाको विकास गरी आफूलाई स्थापित गर्ने गर्दछ ।
साक्षर र सक्षम हुनु आफैँमा गौरवको कुरा हो । साक्षर व्यक्तिले नै आफ्नो पहिचान बनाउन सक्दछ, आफ्नो कला र संस्कृति जोगाउन सक्दछ । नेपालको साक्षरताको अवस्था हेर्दा पुरुषभन्दा महिलाहरू पछाडि नै छन् । पहिलको तुलनामा अवस्थामा केही सुधार भए पनि सन्तोषजनक भने भइसकेको छैन । पछिल्लो तथ्याङ्कअनुसार महिलाहरूको साक्षरता प्रतिशत ५७ रहेको छ । महिलाहरू शैक्षिक क्षेत्रमा पछाडि पर्नुले देश विकासमा पनि पछाडि परेको छ । कोरोना महामारीले अवस्था जटिल बन्दै गएको छ । बन्दाबन्दीले महिलाहरू घरायसी काममा बढी व्यस्त हुने हुनाले शैक्षणिक क्रियाकलापमा पनि समस्या बढेको महिलाहरूको अनुभव छ । जबसम्म लैङ्गिक समता व्यवहारमा लागु हुँदैन तबसम्म महिलाहरू सशक्त भएर अगाडि बढ्न सक्दैनन् । शिक्षित मानिसले मात्र सही निर्णय गर्नसक्छ, देश र समाजको विकास निर्माण कार्यलाई बढावा दिन सक्छ । त्यसैले सबै मानिसहरू शिक्षित हुनु जरुरी छ, यो सबैको मानव अधिकार पनि हो । स्थानीय सरकार र सरोकारवालाहरूले बाल शिक्षा, प्रौढ शिक्षालाई पनि उत्तिकै महत्व दिएर अगाडि बढ्नु पर्दछ । नेपाली शैक्षिक क्षेत्रमा पनि डिजिटल युगको सुरुवात भइसकेको छ । तर, जति शिक्षाको लागि जागरुक हुनुपर्ने हो, त्यति भइसकेको छैन । हातहातमा मोबाइले, इन्टरनेटको सुविधा भए पनि ती वस्तुलाई अध्ययनको लागि प्रयोग नगरी अन्य मनोरञ्जनका साधनको रूपमा प्रयोग गरी घण्टौ समय खेर फाल्ने मानिसहरू पनि प्रशस्तै छन् । विडम्बना ¤ कतिपय दुर्गम ग्रामीण भेगका बालबालिका मोबाइल र इन्टरनेटको पहुँच नहँुदा पढ्न पाएका छैनन् ।
विश्वमै साक्षरता दिवस मनाइरहँदा कतिपय बालबालिकालाई गाँसबासकै अभाव रहेको छ । बेला–बेलामा आइरहने विभिन्न प्राकृतिक प्रकोप, रोग महामारीले पनि मानव जीवनलाई अस्तव्यस्त पारेको छ । यस्तो अवस्थामा सबैलाई सहज हुने किसिमको नीति नियमको विकास गर्न सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी छ । महामारीले सबै क्षेत्रलाई नराम्रोसँग असर गरेको छ । शिक्षा क्षेत्रमा त विद्यार्थीहरूको एक शैक्षिक वर्ष खेर जानेमा सबै चिन्तित छन् । केही शिक्षाविद्हरूले खेर गएको ३ महिनालाई छोडेर विद्यार्थीहरूलाई माथिल्लोे तहमा अपग्रेड गर्ने सल्लाह पनि दिएका छन् । उनीहरूको भनाइअनुसार चाडपर्व बिदाहरू, अन्य सार्वजनिक बिदा, शनिबारको बिदा इत्यादिमा कटाइ नयाँ शैक्षिक सत्र सुरु गर्ने उनीहरूको भनाइ रहेको छ । यस विषयमा फरक–फरक मतहरू छन् । कतिपय विज्ञहरूले यो शैक्षिक सत्रलाई अर्को सालको जेठ असारसम्म पु¥याउने र हरेक वर्ष क्रमशः १–१ महिना घटाउँदै लान पनि सकिने, केही वर्षपछि पहिलेजस्तै वैशाखबाटै शैक्षिकसत्र सुरु गर्नसकिने सुझाव दिएका छन् । चैत ११ गतेदेखिको लकडाउनले हालसम्म झन्डै १० लाख विद्यार्थीहरूको परीक्षा प्रभावित भएको तथ्याङ्क आइसकेको छ । यस्तो अवस्थामा स्कूलदेखि विश्वविद्यालयसम्मको विद्यार्थीहरू अन्योलमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *