भर्खरै :

सिकन्दरको पुस्तक र पुस्तकालय अनुराग अनि हाम्रा ‘आठपासे’ मन्त्रीहरू

सिकन्दर र इलियाड
ईसा पूर्व ३३६ देखि ३२३ अथवा जम्मा १३ वर्षको समयावधिमा (आजभन्दा २३३० वर्ष पहिला) युरोपेली, अफ्रिकी र एसियाली देशहरूलाई जितेर विश्वकै सबभन्दा ठूलो साम्राज्य खडा गर्ने सिकन्दर महान्(अलेक्सजेन्डर द ग्रेट) जहाँ र जहिले पनि तीन चिजहरू आफ्नो साथ राख्दथे, चाहे उनी युद्ध अभियानमा आफ्नो देश मेसोडोनियाबाट निकै टाढा कुनै स्थानमा नै किन नहोऊन् । उनले आफ्नो साथ राख्ने पहिलो चिज थियो–छुरी । त्यो उनी आफ्नो सुरक्षाको लागि साथमा राख्थे । उनको सिरानीमुनि सधैँ छुरी हुन्थ्यो । आफ्नो बुबा फिलिपको नियति भोग्न नपरोस् भन्नेमा उनी सचेत थिए । उनका बुबा फिलिप द्वितीयलाई निहत्था र कोही अङ्गरक्षकसाथमा नहुँदा एक योद्धाले उनी छेउ पुगेर अचानक छुरी हानी हत्या गरेका थिए । अलेक्सजेन्डरले आफू साथमा सधैँ राख्ने दोस्रो वस्तु थियो–एउटा बक्सा, जसलाई उनले पर्सियाका सम्राट डेरिअस (Darius) लाई परास्त गरेर प्राप्त गरेका थिए । पर्सिया (हालको इरान) सिकन्दरले जित्नु अघिसम्म संसारको पहिलो महाशक्ति मानिन्थ्यो । सुमेरियन साम्राज्य (Sumerian Empire) भनी चिनिने त्यो साम्राज्य पूर्वमा अफगानिस्तानदेखि पश्चिमको भूमध्यसागरसम्म फैलिएको थियो । तेस्रो वस्तु थियो–त्यो बक्साभित्रको एउटा पुस्तकरूपी दस्तावेज । त्यो पुस्तक विश्वविख्यात युनानी (ग्रीक) महाकवि होमरद्वारा लिखित महाकाव्य इलियाड थियो । एक महान् योद्धाले छुरी आफ्नो साथमा राखेको कुरा त अनौठो लाग्दैन । तर, पुस्तक (इलियाड) किन सधैँ आफ्नो साथमा राखे होलान् भन्ने उत्सुकता जोकोहीलाई लाग्न सक्छ ।

सिकन्दर महान

सिकन्दर युनानी दार्शनिक अरस्तुका शिष्य थिए । तत्कालीन समयमा ग्रीक र ट्रोई दुई राज्यहरूबीचको युद्धको गाथा–इलियाडलाई सिकन्दर पवित्र ग्रन्थ मान्थे । उनी युद्ध र विश्व विजय अभियानको लागि ‘इलियाड’ लाई आफ्नो प्रेरणाको स्रोत ठान्थे । सिकन्दर त्यो कृति मात्र पढ्दैनन्, त्यसका मुख्य चरित्र वीर योद्धा एकिलिजलाई आत्मसात गर्दै आफ्नो विजय अभियान अघि बढाउँथे । एक महान् योद्धालाई युद्ध जित्न पुस्तकले यस्तो प्रेरणा दिनसक्छ भने बौद्धिक कर्ममा लाग्ने बुद्धिजीवी, शिक्षक, देश हाँक्ने नेतालाई पुस्तक कति खाँचो हुन्छ होला भन्ने कुरा कोट्याउन नै सिकन्दरको प्रसङ्ग उठाइएको हो । हो, पुस्तक सभ्यताको प्रतीक बनिसकेको छ ।
आधुनिक मानवको इतिहास खोतल्दा हामी करिब २५ लाख वर्ष पहिले देखापरेको मानव अष्ट्रोलिपिथेकससम्म पुग्छौँ । आजभन्दा ३ देखि ४ लाख वर्ष पहिले देखापरेका होमो स्यापियन्सको पनि पुर्खा सो मानवले संसारमा पदार्पण गरेको समयदेखि मानिसले लेखनक्रियाको आविष्कार नगरुञ्जेलको समयावधिलाई इतिहासशास्त्रमा प्राग्ऐतिहासिक (pre-history) काल भनिन्छ । लेखनक्रियाको आविष्कार मानवले आजभन्दा झन्डै ६००० वर्ष पहिले गरेको अहिलेसम्मका अध्ययनले बताउँछ । त्यत्तिबेलादेखि नै मानिसले आफ्नो क्रियाकलापको अभिलेखीकरण गर्ने र लिपिबद्ध गर्ने कार्यको थालनी भयो र साँचो मानव इतिहास सुरु भयो । मानिसले लेखन कलाको आविष्कार गरेपश्चात् नै ज्ञानको प्रसार छिटोछिटो हुनथाल्यो । यसले नयाँ प्रविधिको आविष्कार गर्न सघायो र समाज परिवर्तनको गतिले फड्को मा¥यो । युरोपमा सन् १४४० मा छपाइ मेसिनको आविष्कार भएपश्चात् त ज्ञानको प्रसारले व्यापकता लिनुको साथै समाज परिवर्तनको गति अझ छिटो हुनथाल्यो । आधुनिक मानिसको २५ लाख वर्षको कालमा हुन नसकेका परिवर्तनहरू लेखनकलाको आविष्कार भएको ६,००० वर्षको समयमा भएका परिवर्तनलाई मनन गर्दा हामी आफैँलाई विश्वास लाग्दैन ।
ज्ञानमा ताल्चा किन ?
तर, दुर्भाग्य भनौँ या अफसोच ! १०४ वर्षको राणाकालमा पुस्तक र शिक्षाबाट वञ्चित गराइएका हामी नेपालीले प्रजातन्त्रदेखि, लोकतन्त्र र गणतन्त्रसम्मको यात्राको ७० वर्षको समयमा फेरि पनि पटक–पटक विभिन्न बहानामा शासकहरूको अकर्मण्यताले ज्ञान, शिक्षा र पुस्तकको पहँुचबाट टाढिनु परिरहेको छ । तीसवर्षे पञ्चायतकालमा गरिएका यस्ता कर्तुतलाई एकछिन थाती नै राखौँ । प्रजातन्त्रकालकै कुरा गर्दा विसं २०५५ सालतिर नेपाली काङ्ग्रेसको सरकार थियो र अर्थमन्त्री रामशरण महत थिए । बजेट तर्जुमाकै पूर्वसन्ध्यामा तत्कालीन सरकारले पुस्तकमा कर लगाउने घोषणा ग¥यो । पुस्तक व्यवसायी सङ्घका प्रतिनिधिमण्डल सो प्रावधान खारेज गराउने अभियानमा जुट्यो । सोही क्रममा प्रतिनिधिमण्डल लबिङको लागि पुस्तकको महत्व बुझेका सांसद र व्यक्तित्वहरूको खोजी गर्दै मानव अधिकार सङ्गठनको कार्यालय पुतलीसडकमा पुगेको थियो । त्यत्तिबेला यो पङ्क्तिकार पनि सो कार्यालमा कार्यरत थिए । सायद सो प्रतिनिधिमण्डलको लक्ष्य माननीय प्रदीप गिरी र हृषिकेश शाहमार्फत सरकारका जिम्मेवार व्यक्तिहरूलाई पुुुस्तकमाथि लगाइएको करको घोषणा रद्द गराउनु थियो । साँच्चिकै मानव अधिकार सङ्गठनले पुस्तकमाथिको करको कुनै औचित्य देखेन र खारेजीको लागि पहल ग¥यो । अर्थमन्त्रीले तत्काल खारेज पनि गरे । हालै बहिर्गमन भएका पाठ्यपुस्तकज्ञाता अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा पुस्तकमाथि २२ वर्षपश्चात् फेरि कर थोपरेर ज्ञानको स्रोतमा ताला लगाउने अविवेकीय काम भयो । पुस्तक व्यवसायीको प्रतिनिधिमण्डलले पठन सामग्री सम्बन्धी युनेस्को सन्धीमा हस्ताक्षर गर्ने देश नेपालले पुस्तकमा कर लगाउन मिल्दैनथ्यो । त्यसै पनि पठन संस्कृति ¥हास हँुदै गएको देशमा सरकारकै पहलमा पुस्तक पढ्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा उल्टै निरुत्साहित हुने काय भयो । नेपालमा पुस्तक कारोबारको आकार ज्यादै सानो भएकोले कर नै लगाउँदा पनि राजस्वमा यसले १२ करोडमात्र वृद्धि गर्छ । तर, त्यसको सामाजिक मूल्य ठूलो हुने तर्क प्रस्तुत गर्दै अर्थमन्त्री र सम्बन्धित निकायमा सो कुराको जानकारी गराउँदै विरोध भएको थियो । तर, उनीहरूको विरोधको प्रतिक्रियामा पुस्तक पसलहरूमा वाणिज्य विभागले छापामार शैलीमा खातापाता र बिल भर्पाई तथा अन्य खानतलासी गयो । जबकि वाणिज्य विभागलाई त्यस्तो काम गर्ने अधिकार नै छैन । सरकारले पुस्तकमाथि लगाएको उक्त कार्यप्रति विरोध नजनाउने र सरकारलाई सचेत नगराउने बौद्धिक व्यक्तित्व सायदै होला । तर, तीमध्ये कसैलाई टेरपुछर लगाउन आवश्यक ठानेन–सरकारका सम्बन्धित मन्त्री र कर्मचारीहरूले । फलतः पुस्तकमा लगाइएको कर यथावत छ । पुस्तकमा लगाइएको करबाट उठ्ने राजस्व अन्दाजी १२ करोड रूपैयाँलाई ठूलो उपलब्धि देख्ने अर्थमन्त्री र अन्य ‘आठपासे’ मन्त्रीहरूको सरकारले ज्ञानरूपी पुस्तकको पहँुचबाट जनतालाई टाढा राख्दा यसले पार्ने दूरगामी असर र भविष्यमा यसबाट सिङ्गो देशले चुकाउनुपर्ने बौद्धिक नोक्सानी र सामाजिक मूल्यबारे अलिकति पनि हेक्का राखेका छैनन् ।
पुस्तकपछि पुस्तकालयमा धावा
‘समाजवादउन्मुख’ र दुईतिहाइको बलियो सरकार भनाउन रुचाउने बिचौलिया निर्देशित सरकारको साढे दुई वर्षको अवधिमा भए–गरेका कार्यहरूको फेहरिस्त हेर्दा प्रशंसा गर्ने होइन, नराम्रा कामहरूको आलोचना गर्ने अब कुनै कुना र ठाउँ बाँकी रहेन । बुद्धि, विवेक, नैतिकता, सदाचार, विधिको शासन र सुशासनको यतिविघ्न दुर्दशा नेपालको इतिहासमा सायदै भएको थियो । आसेपासेलाई ठेक्कापट्टा मिलाइदिने, राज्यकोषको दोहन गर्ने, हरेक सरकारी जग्गामा आँखा गाड्ने, त्यसलाई व्यापारिक प्रयोजनको लागि आफ्ना मान्छेलाई दिई अर्को चुनावको लागि द्रव्य सङ्कलन नै यो सरकारको प्रमुख कर्म भएकोमा अब कुनै शङ्का छैन । यही मेसोमा गत महिना जमलको राष्ट्रिय पुस्तकालयको लागि छुट्याइएको जग्गामा पुस्तकालय होइन, फेरि अर्को व्यापारिक भवन निर्माणको लागि भाडामा दिन लागेको समाचारले नालायक सरकारको दरिद्र बुद्धि एकपल्ट फेरि छताछुल्ल भएको छ । पुस्तकालयको बन्दोबस्त सरकारको प्र्राथमिकतामा कहिल्यै परेन । हिन्दुस्तानमा १२ औँ शताब्दीको उत्तराद्र्धमा बख्तियार खिलजीको नेतृत्वको मुसलमानी आक्रमणले नालान्दा विश्वविद्यालयसमेत ध्वस्त पारिँदा त्यहाँ सङ्ग्रह गरिएका अभिलेखहरू बौद्ध विद्वानहरूका साथ सिम्रौनगढ हँुदै नेपालमण्डलसम्म आइपुगेका थिए । ती अभिलेखहरू नेपालमण्डलको राजधानी भक्तपुर हुँदा सुरक्षित थिए । नेपालको इतिहास लेखनको आधार भनेको गोपाल राजवंशावली हो । धेरैले यसलाई गम्भीर भएर सोच्दैनन् कि यो वंशावली लेखाउने कार्य राजा जयस्थिति मल्लले गरेका थिए अनि लेखिएको स्थान भक्तपुर थियो । यो गोपाल राजवंशावलीको पाण्डुलिपि फेला पार्ने ब्रिटिस विद्वान सेसिल बेन्डाल (Cecil Bendall, सन् १८५६ – १९०६) थिए । राणा प्रधानमन्त्री वीर शमशेरको ‘दरबार पुस्तकालय’ नामले चिनिने निजी पुस्तकालयबाट उनले सो पाण्डुलिपि फेला पारेका थिए । मानव सभ्यतालाई नै पुस्तान्तरण गर्न अहम् भूमिका खेल्ने यस्तो पुस्तक र पुस्तकालयप्रति शासकहरूको उदासिनता नेपालमा साँच्चिकै उदेकलाग्दो छ ।
आफूले बनाउने हिम्मत त गरेनन्, कमसेकम मल्लकालीन सभ्यताले आफूभन्दा जेठो सभ्यताका अभिलेखहरूलाई जसरी सुरक्षित गरे त्यतिमात्र भए पनि गर्नसक्नुपथ्र्यो तर गरिएन । २०७२ सालको भूकम्पले क्षति पु¥याएको त्रिविको केन्द्रीय पुस्तकालय, केशर पुस्तकालयदेखि राष्ट्रिय पुस्तकालय (हरिहरभवन) सम्मका अवस्था अझै जीर्ण छन् । ती पुस्तकलायमा अझै कति यस्ता महत्वपूर्ण दस्तावेजहरू होलान् जसमा नेपालका अझै खुल्न बाँकी इतिहासका पाटा र सुल्झिन बाँकी गुह्यका गाँठीहरू फुकाउन यिनले कति मद्दत गर्लान् ? नेपालका शासकहरूको अज्ञानता र उदासिनताले कति यस्ता दस्तावेजहरू विदेशी पुस्तकालय विशेषगरी बेलायत, जर्मनीमा पु¥याइए होलान्, यसको हिसाब–किताब कसले राख्ने ?

अलेक्सान्ड्रियाको पुस्तकालय

पुस्तकालयप्रतिको हाम्रा शासकको अज्ञानताले फेरि पनि सिकन्दर महानले पुस्तकालय स्थापनाको लागि गरेको प्रयास हाम्रो मानसपटलमा ताजा गराउँछ । सिकन्दरको साम्राज्य दक्षिणमा मिश्र (इजिप्ट) सम्म पुगेको थियो । मिश्रको हालको अलेकजेन्डरिया (Alexgendria) नामको सहर सिकन्दरकै नाममा स्थापना गरिएको थियो । युनानी सभ्यताबाट प्रभावित सिकन्दरले आफ्नो साम्राज्यमा युनानी संस्कृति र साहित्यलाई स्थापित गर्न भरमग्दुर प्रयास गरेका थिए । उनले हरेक नयाँ स्थानमा पुस्तकालय र खुला नाट्यशाला निर्माणको कार्यलाई प्राथमिकतामा राखे । सम्राट अशोकले बुद्ध र बुद्धधर्मका बारेमा आफ्नो साम्राज्त्रि जसरी प्रचार प्रसार गरे, त्यसैगरी सिकन्दरले होमर र उनको साहित्यलाई आफ्नो सामा्रज्यमा फैलाए । पुस्तकालयमा अभिलेखहरूको सङ्कलन र सङ्ग्रह गरिन्थ्यो भने नाट्यशालामा होमरका दुःखान्त नाटकहरू मञ्चन हुन्थे । मिश्रका अन्य सहरहरूको अवस्थितिभन्दा फरक समुद्रको किनारमा स्थापित रणनैतिक र व्यापारको दृष्टिकोणले अति उपयुक्त अलेकजेन्डरिया सहरलाई उनले विशेष प्राथमिकतामा राखेका थिए । व्यापारका लागि बन्दरगाहमा आउने हरेक पानीजहाजमा यदि कुनै लिखित दस्तावेज, अभिलेखहरू वा लिखित साहित्य भए सहरमा स्थापित पुस्तकलयमा त्यसको एक प्रतिलिपि दान गर्नुपर्ने नियम बनाए । ती लिखित दस्तावेज र साहित्यको प्रतिलिपि तयार पार्न सयौँ जना कर्मचारीहरूको पुस्तकालयमा व्यवस्था थियो । पुस्तकालयको केन्द्रमा होमरका महाकाव्यहरू राखिएका हुन्थे । यसरी सिकन्दर महानको देहावसानपश्चात् पनि उनका उत्तराधिकारीहरूले पुस्तकालयको त्यो संस्कारलाई निरन्तरता दिए र अलेकजेन्डरिया त्यतिबेला संसारको सबभन्दा ठूलो सहरको रूपमा स्थापित भयो ।
‘आठपासे’ मन्त्रीहरूको बथान
पुस्तक र पुस्तकालय, भाषा, साहित्य, कला र सङ्गीत मानव सभ्यताको क्रममा भए गरेका आविष्कार र सिर्जनामध्ये पनि उत्कृष्ट मानिन्छ । यिनीहरूको आवश्यकता र महत्व बुझ्न पनि एउटा चेतनाको स्तर आवश्यक हुन्छ । यस्तै संस्कारमा हुर्के–बढेका र दीक्षित भएकाहरूको चेतनाको स्तर र चिया पसल, पानी पँधेरा, चौतारीमा बकमफुसे गफको संस्कारमा हुर्के–बढेकाहरूको पुस्तक, पुस्तकालय, साहित्य र कलाप्रतिको रुझानमा आकाश–पातालको फरक हुनु स्वाभाविक हो । यसमा निश्चित सांस्कृतिक, शैक्षिक र प्राज्ञिक स्तरको पनि आवश्यक हुन्छ नै । कसैलाई होच्याउने मनसायले होइन, आजको दुईतिहाइ सरकार हाँकिरहेका मन्त्रीहरूको बोल्ने शैली र रवैया तथा पुस्तक र पुस्तकालयप्रतिको यिनीहरूको दृष्टिकोण र नीतिले यिनीहरूको सांस्कृतिक, शैक्षिक र प्राज्ञिक स्तरलाई घामजस्तै छर्लङ्ग पारेको छ । गत जेठ २२  गते संसदमा प्रधानमन्त्री ओलीले कोभिड सङ्क्रमणको प्रसङ्गमा “नेपालीको रोगसँग लड्ने प्रतिरोधी क्षमता सामान्यतया बढी हुन्छ” भन्ने भनाइलाई सांसद गगन थापाले थप पुष्टि खोज्दै “नेपालीको रोगसँग लड्ने प्रतिरोधी क्षमता बढी हुन्छ भनेर कसले भनेको ?” भनी प्रश्न गरे । थापालाई प्रधानमन्त्री ओलीको जवाफ थियो, “कसले भन्यो रे ! भर्खरै सुन्नुभयो नि मैले भनेँ ।” सांसद थापाले कुन अध्ययन र अनुसन्धानको निष्कर्ष हो यो भन्ने आशयले प्रश्न सोधेको प्रस्ट छ । तर, प्रधानमन्त्रीको त्यो ओठे जवाफले उनको शैक्षिक र प्राज्ञिक स्तर स्वतः उजागर ग¥यो । बुझ्नेलाई इसारा नै काफी भनेजस्तै उनले दशकक्षा पनि पार लाउन नसकेको तथ्य अब थप कोट्याउनु परेन । प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति पहिलो भने होइन । बेला–बेलामा उनी धम्क्याउँछन्, “बुद्धिजीवीहरूलाई म ठेकान लगाइदिऊ !”
करिब दुई हप्तापहिले एक टेलिभिजन अन्तर्वार्तामा ७० करोड भ्रष्टाचार काण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई प्रस्तोताको “तपाईँलाई ७० करोडको भ्रष्टाचारको आरोप त कालो दाग नै भयो हैन र ?” भन्ने प्रश्नको उत्तरमा बाँस्कोटाको जवाफ थियो, “केको कालो दाग …अर्को चुनावमा म ७० हजार नै भोट ल्याएर जितेर देखाइदिनेछु, हेर्दै जानुस् ।” त्यस्तै अर्को अन्तर्वार्तामा ओलीका विश्वासपात्र महेश बस्नेतको रवाफ थियो, “मलाई नेपाली मिडियासँग घृणा लाग्छ, …म अर्को चुनावमा गोर्खामा गएर बाबुराम भटराईको क्षेत्रमा लडेर जितेर देखाइदिन्छु । के फूर्ति गर्नुहुन्छ ¤ वाइसीएललाई थुरुथुरु कमाउने मान्छे हुँ म, बुझ्नुभयो ?’ स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बोली उस्तै ¤ जनताले सरकारको आलोचना गर्दा उनको जवाफ थियो, “कस्ता नेपाली जनता ¤ सरकारले गरेको राम्रो काम केही नदेख्ने मोतीबिन्दु लागेका आँखाहरू ।”
सात कक्षा नै सगरमाथा भएका बाँस्कोटा र मारपिट–हुलहुज्जतको संस्कारबाट हुर्केबढेका बस्नेतको बोली त्यस्तो हुनुमा आश्चर्य मान्नु नपर्ला । बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार दुर्गा प्रसाई सबैजसो त्यस्तै शैक्षिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । यहाँ शैक्षिक प्रमाणपत्र नै सबथोक हो भन्न खोजिएको होइन । तर, कुनै प्राध्यापक, मेन्टर, गुरु वा चिन्तकको निगरानीमा उच्च शिक्षा वा अन्य तहको शिक्षा हासिल गर्ने र अध्ययन–अनुसन्धानको कर्ममा लागेका जोसुकैमा एउटा संस्कार बसेको हुन्छ । त्यो संस्कारले उसलाई आफूसँग भएको ज्ञान, विचार वा विश्वदृष्टिमात्र सत्य होइन, त्योभन्दा परको दुनियाँ अझ विशाल हुन्छ भनी सिकाएको हुन्छ । यो संस्कारले उसलाई अझ बढी सिक्ने प्रेरणा दिइरहेको हुन्छ र यही सस्कारले नै उसलाई अहङ्कारी हुनबाट रोक्छ । प्रधानमन्त्री ओली र उनका किचन–क्याविनेटका मन्त्रीहरूमा अहिले खट्किएको संस्कार यही हो । जसले गर्दा उनीहरू कसैलाई नटेर्ने, अरूले दिएको सल्लाह नरुचाउने, आफूलाई नै हरेक विषयको ज्ञाता ठान्ने अहङ्कारी मनोवृत्तिले ग्रस्त छन् । उनीहरू पुस्तक र पुस्तकालयको संस्कारबाट मन्त्री भएका पक्कै होइनन् । आफूलाई नै सर्वज्ञाता ठान्ने यिनीहरूलाई पुस्तक किन चाहियो र पुस्तकालय किन बनाउनुप¥यो र ! तर, यसको ठूलो मूल्य भने देश र जनताले चुकाउनुपर्नेछ । अज्ञानी र मूर्खहरूको देशलाई पराधीन बनाउन शत्रु र छिमेकलाई ठूलो मेहनत लाग्ने गर्दैन ।

 

2 responses to “सिकन्दरको पुस्तक र पुस्तकालय अनुराग अनि हाम्रा ‘आठपासे’ मन्त्रीहरू”

  1. भक्तपुर मासिक says:

    पठनीय रचनाकोलागि धन्यवाद ।

  2. Ram Sundar Basi says:

    एक महान् योद्धाले छुरी आफ्नो साथमा राखेको कुरा त अनौठो लाग्दैन । तर, पुस्तक (इलियाड) किन सधैँ आफ्नो साथमा राखे होलान् भन्ने उत्सुकता जोकोहीलाई लाग्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *