भर्खरै :

जैविक मल नै उत्तम विकल्प

किसानको आँसु
बचेरालाई चारो खुवाउन नपाउँदा माउ कति छटपटाउँछ ! भोक लाग्यो भनी चिच्याएको बच्चालाई खुवाउन नपाउँदा कुन आमाको मन स्थिर हुन्छ ! यतिबेला नेपाली किसान धानबालीमा मल हाल्न नपाएको दुःखमा छट्पटिरहेका छन् । त्यसो त नेपाली किसान रोएको यसपालि वा अहिलेमात्र होइन । रासायनिक मल अभावको विषय नेपालको निम्ति ‘नियमित आकस्मिकता’ नै बनेको छ । नेपालको मुख्य खेती धान पसाउने बेला पनि मलको हाहाकार छ । कोभिड–१९ महामारीमा पनि मल बिक्री केन्द्रहरूमा किसानको भीडा लाग्नु देशकै लज्जाको विषय हो । भीडभाडको नाममा ‘देशकै आमा’ किसानका टाउकामा लाठी बजारियो । धानबालीको बिजोग देखेर किसान पुर्पुरोमा हात हालेर बस्न विवश छन् । मल ल्याउने ठेक्का दिइएका दुइटा कम्पनीलाई दोष दिएर राज्य पानीमाथिको ओभानो बनिरहेको छ । राज्य सञ्चालकहरूको बुद्धि भ्रष्ट हुँदाको परिणाम सारा नेपाली किसानले भोगिरहेका छन् ।
बदनाम, अयोग्य, नालायक कम्पनीलाई मल ल्याउने जिम्मेवारी दिने को को हुन् ? ठेक्का पाएका कम्पनीको धरौटी जफत ग¥यौँ, कालोसूचीमा राख्यौँ भनी सरकार चोखिन सक्दैन । खोजी गरौँ, नेपालको कृषि अर्थतन्त्र चौपट पार्न कसले जालसाजी गरेको हो ? यी कम्पनीहरू त निमित्त मात्र हुन्, पर्दापछाडि कसले खेल गरिरहेको छ ? यस्ता देशद्रोहीहरू अरू को को हुन् ? ‘चोरलाई चौतारी’ दिने सरकारले ‘गोहीको आँसु झार्नु’ को कुनै अर्थ छैन । नेपालको कृषि अर्थतन्त्र नै ध्वस्त पार्ने उद्देश्यले नियोजितरूपमा चलखेल गर्ने जो कसैलाई ‘तुङँचा मः’ (तोरीको साग सिक्रीझैँ मुठामुठा कसी बाँधेर झुन्डाउने) नबनाएसम्म नेपाल र नेपालीको नियति उस्तै हुन्छ, पुस्तौँपुस्तासम्म ।
आफूलाई आफैले नचिन्दा
नेवारीमा एउटा चर्चित गीत छ, ‘आफूलाई आफैले नचिन्दा दुःख पाएँ ।’ आफ्नो क्षमता नबुझ्दा वा अर्काको लहैलहैमा लाग्दा मानिस लिक छोडेको रेलझैँ हुन्छ । नेपालको कृषि प्रणाली पनि कम्पासविनाको जहाजजस्तो भइरहेको छ । तर, यो आफ्नो इतिहास, भूगोल वा तिअनुकूलको कृषि व्यवस्था लागु नगरी अर्काको अन्धानुकरण गर्दाको परिणाम हो । हजारौँ वर्षको कृषि विज्ञान र प्रविधिको अनुसन्धान र विकास नगरी ‘अर्काले हात्ती चढेको देखेर घरको धुरी चढ्ने’ मूर्खको नियति नेपालले भोगिरहेको छ । विगतमा नेपाल कृषिमा अत्मनिर्भर थियो । अझ नेपालले कतिपय उत्पादन विदेशमा निर्यात गथ्र्यो ।
मलकै सन्दर्भमा हाम्रो आफ्नै अनुभव र सीप छ । नेपालमा रासायनिक मल आयात हुन थालेको कति भयो र ¤ आधा शताब्दीजति त भयो । त्योभन्दा अगाडि नेपालमा जैविक वा प्राङ्गारिक मल नै प्रयोग हुन्थ्यो । अझ ४०–५० वर्ष अगाडिसम्म काठमाडौँ उपत्यकाका किसान ‘काँ चा’(कालो माटो अर्थात् ब्ल्याक सोइल) निकालेर मलको रूपमा प्रयोग गर्थे । १५–२० फीट गहिराइ खनेपछि निस्किने ‘काँ चा’ मा राम्रो मृद्रस (ह्युमस्) पाइन्छ । जीवाणुहरूद्वारा विघटित जीवबाट माटोभित्र बनेको जैविक लेदोलाई ह्युमस् भनिन्छ । वनस्पतिको निम्ति चाहिने विभिन्न पोषक तत्व ‘काँ चा’ मा पाइन्छ । यो माटो क्षारीय (अल्कलाइन) हुन्छ ।

काठमाडौँबाट निस्किएको फोहर । अधिकांश फोहर कुहिने खालको हुन्छ ।


धान, सागपातलगायतका बालीको निम्ति यो मल धेरै उपयुक्त हुन्छ । हजारौँ वर्षदेखि जम्मा भएर बसेको प्राकृतिक ‘खानी मल’ काठमाडौँ उपत्यकाकै मौलिक प्रयोगप्रति राज्य बेपर्वाह छ । यसको अनुसन्धान कहाँ कति भएको छ ? कृषि अनुसन्धान केन्द्र खुमलटार के गर्दै छ ?
छ्वाली, पराल, झिँजा आदि बालेर खाना पकाउँदा चुलोबाट निस्किने खरानी खेतमा हाल्ने प्रचलन पनि वैज्ञानिक छ । खरानीमा क्याल्सियम, म्याग्नेसियम र पोटासियम हुने भएकोले यसले माटोको अम्लीयपन कम गर्छ । काठमाडौँ उपत्यकाका किसानको घरघरको छिँडीमा खाल्डो खनेर खरानी जम्मा गरिने ‘नौ गा’ पाइन्थ्यो । टोलबस्तीभन्दा पर खुला ठाउँमा घरघरबाट निस्किने कुहिने फोहर जम्मा गरिन्थ्यो र त्यही मलको रूपमा प्रयोग गरिन्थ्यो । ‘उहिलेको कुरा खुइलियो’ नभनी प्राङ्गारिक मल बनाउने अझ वैज्ञानिक प्रविधिको विकास एवम् प्रवद्र्धन हुनुपर्ने हो । विशेषज्ञ भन्छन्, गोठे मल बनाउने परम्परागत तरिकामा केही परिमार्जन गरे पुग्छ । किसानसँग चर्को घाम र धेरै पानीले प्राङ्गारिक मल बिग्रिने कारणबारे धेरथोर ज्ञान छ । मल विज्ञानबारे थोरै ज्ञान किसानलाई थप्न सकिए पनि किसानले आआफ्नो वस्तुस्थितिअनुसारको प्रविधिको विकास गर्ने थिए ।
माटोमा असङ्ख्य जीव
माटो जीवन्त प्रणाली पनि हो । माटोमा अर्बौँ जीव हुन्छन्, ती जीव विभिन्न वनस्पतिको निम्ति उपयोगी हुन्छन् । सन् १९९७ मा डेनमार्कमा गरिएको एक अनुसन्धानअनुसार एक घनमीटर माटोमा हजारौँ गँड्यौला, ५० हजार कीरा र १ करोड २० लाख जुका (राउन्ड वर्म) पाइए । त्यस्तै १ ग्राम माटोमा ३० हजार एककोषीय जीव प्रोटोजोआ, ५० हजार अल्गी, ४ लाख ढुसी प्रजाति (फन्गस्) र अर्बौँ ब्याक्टेरिया भएको भारतका जैविक मलका एक अभियन्ता बन्दना शिवेले आफ्नो पुस्तक ‘वास्तवमा विश्वलाई कसले खुवाउँछ’ भन्ने पुस्तकमा उल्लेख गरेकी छन् । माटोमा रहेका सूक्ष्म जीवले नै यसमा रहेका जैविक वस्तुलाई टुक्र्याएर ह्युमस बनाउँछन् । एक चम्चा माटोमा मल कुहाउने १० करोड ब्याक्टेरिया हुन्छन् । एक्टीनोमाइसीटीज नामका ब्याक्टेरियाले बनाउने ह्युमसले माटोका कणहरूलाई जोड्ने काम पनि गर्छन् । यसबाट माटोलाई धुलो बन्न वा सजिलै पानीसँगै बग्नबाट रोकिन्छ । ह्युमस् नभएको माटो सुख्खा हुन्छ । माटोमै वायुमण्डलको नाइट्रोजन लिएर प्रोटिन बनाउने ब्याक्टेरिया पनि पाइन्छन् । खासगरी गेडागुडीका बिरुवाका जरामा प्रवेश गरी यस्ता ‘नाइट्रोजन फिक्सिङ’ ब्याक्टेरियाले प्रोटिनको निर्माण गर्दछन् । जुका प्रजाति (नेमाटोड्स) ले माटोको ब्याक्टेरियाको सङ्ख्या नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।

जुम्लामा उत्पादित अर्गानिक स्याऊ


गँड्यौला किसानको सबभन्दा राम्रो ‘साथी’ हो । यसले माटो उब्जाउ बनाउँछ । माटोमा रहेका जैविक पदार्थ खाएर निकाल्ने मल बिरुवाले सजिलै उपयोग गर्नसक्छ । गँड्यौलाले फाल्ने मलमा उपयोगी सूक्ष्म जीव प्रशस्त भेटिन्छन् । माटोमा पाइने गँड्यौलाले माटोलाई मलिलो त बनाउँछ नै माटोको पानी सञ्चय गर्ने क्षमता पनि वृद्धि गर्छ । साथै, माटोमा हावाको मात्रा पनि बढाइदिन्छ । गँड्यौलाले माटोमा बनाउने ससाना दुलोबाट पानी र हावा भित्र छिर्नसक्छ । ब्याक्टेरिया, फन्गाइ, अल्गी, माकुरा, किर्ना, कमिला, गोब्रेकीरा, मिलिपेड तथा सेन्टीपेडजस्ता कीरा भएको माटो स्वस्थ मानिन्छ । यस्तो माटोले पानी थेग्नसक्छ, भूक्षय हुन दिँदैन ।
रासायनिक मलबाट क्षति
नाइट्रोजन नभई वनस्पतिले खाना बनाउन सक्दैन । नाइट्रोजन वनस्पतिको वृद्धिको निम्ति पनि उत्तिकै आवश्यक छ । गेडागुडी प्रजातिका वनस्पतिले आफै वायुमण्डलको नाइट्रोजन उपयोग गर्नसक्छन् । अन्य वनस्पतिले मलबाटै नाइट्रोजन पाउँछन् । युरिया मलमा पाइने पनि नाइट्रोजन नै हो । तर, रासायनिक मलका केही नकारात्मक पक्ष छन् ।
रासायनिक मलको प्रयोग बढेसँगै माटोमा रहेका उपयोगी जीवको सङ्ख्या घटेको किसानले पनि अनुभव गरेका छन् । माटोमा गँड्यौला, जुका, गोब्रेकीरालगायत थुप्रै कीरा घटेको किसान बताउँछन् । तर, खेतमा रहेका अनेकौँ प्रजातिका सूक्ष्म जीवको सङ्ख्या घटेको बारे किसानले चालै पाउँदैनन् । माटोमा प्राङ्गारिक मलको प्रयोग कम भएपछि जीवको निम्ति चाहिने खानेकुरा नहुँदा परिणामतः माटो बढी अजैविक हँुदै जान्छ ।
विभिन्न अनुसन्धानले पुष्टि गरेअनुसार किसानले खेतमा प्रयोग गरेको रासायनिक मलको दुईतिहाइ अंश उपयोग नै हुँदैन । बढ्ता भएको मल नाइट्रस अक्साइडको रूपमा वायुमण्डलमा मिसिन्छ । नाइट्रस अक्साइड कार्बनडाइअक्साइड ग्यासभन्दा बढी खतरनाक भएको पुष्टि भएको छ । साथै, बढी भएको रासायनिक मलबाट सतहको पानी प्रदूषित हुने गरेको छ । खोला, नदी र तालमा बढ्ता मल मिसिन गएकोे कारण समुद्री जीवहरू लोप भएको वैज्ञानिक अनुसन्धानले बताएको छ ।
संसारभर वार्षिक करिब साढे सो¥ह करोड मेट्रिक टन रासायनिक मलको खपत हुन्छ । १ केजी युरिया मल बनाउन २ लिटर डिजेल बराबरको इन्धन चाहिन्छ । त्यस्तै फोस्फेट मलको निम्ति युरियाको आधाजति डिजेल चाहिन्छ । सन् २००० मा मल उत्पादनको निम्तिमात्र करिब दुई खर्ब लिटर डिजेलको प्रयोग भयो भने सन् २०३० सम्ममा बर्सेनि २ खर्ब ७७ अर्ब पुग्ने अनुमान गरिएको छ । यसबाट वातावरणमा पुग्ने नकारात्मक प्रभावको मूल्याङ्कण गर्न नै बाँकी छ ।
क्युवाबाट सिकौँ !
सन् १९९० मा सोभियत सङ्घ विघटन भएपछि क्यारेबियाली क्षेत्रको सबभन्दा विकसित देश क्युवामा चरम आर्थिक सङ्कट आयो । ‘गुणस्तरीय जीवनको अनुक्रम’ मा विश्वमै क्युवा ११ औँ स्थानमा थियो, संरा अमेरिका १५ औँ स्थानमा । सन् १९५९ देखि १९९० सम्म क्युवाको ८५ प्रतिशत व्यापार सोभियत सङ्घसँग हुन्थ्यो । सोभियत सङ्घ विघटन भएपछि क्युवाको आयात ७५ प्रतिशतले घट्यो । तेल आयात ५३ प्रतिशतले घट्यो । यसको सबभन्दा नराम्रो असर खाद्यवस्तुमा प¥यो । क्युवाले ५७ प्रतिशत खाद्यान्न आयात गथ्र्यो । मल तथा विषादी आयातमा ८० प्रतिशतले कटौती भयो । यता संरा अमेरिकाले सन् १९९२ र सन् १९९६ मा झन् – झन् कडा नाकाबन्दीको घोषणा गर्दै गयो । खाद्यान्न तथा औषधीसमेतमा नाकाबन्दी लगाइयो । ‘यो वर्ष क्युवालीले फिडेललाई बिदा गर्ने वर्ष होस्’ जस्ता भनाइ संरा अमेरिकी संसद्मा प्रस्तुत भइरहेको थियो । तर, यही सङ्कटमा क्युवाले जैविक क्रान्तिको घोषणा ग¥यो । सारा देशलाई रासायनिक मलमुक्त बनाउने र जैविक खेती गर्ने महाअभियान थालियो ।
क्यारेबियाली क्षेत्रमा २ प्रतिशतमात्र जनसङ्ख्या भएको क्युवामा ११ प्रतिशत वैज्ञानिक थिए । विज्ञान र प्रविधिमा नयाँ प्रयोग गर्न थालियो । ट्रयाक्टरको ठाउँमा गोरु, एकल बाली नभई बहुबाली, एकीकृत जैविक कीट व्यवस्थापनको नीति लागु गरियो । रासायनिक मलको विकल्पको अध्ययन तथा अनुसन्धानलाई तीव्रता दिइयो । रोगका कीरा नियन्त्रणको निम्ति जैविक विधिको प्रयोग सुरु गरियो । ‘जहाँ उपभोक्ता त्यहाँ उत्पादनको नीति’ अनुसार सहरको समेत एक टुक्रा पनि जमिन खाली राखिएन । कार्यालयको चौरदेखि सडक किनारामा समेत कुनै न कुनै बाली लगाउन थालियो । सेनाले आफ्नो निम्ति आफै खाद्यान्न तथा तरकारी उत्पादन गर्न थाल्यो । ससाना खेत बनाई सहकारी खेती गर्न थालियो ।
क्युवाको कृषि क्रान्तिमा सबभन्दा महत्वपूर्ण पक्ष भने गँड्यौला मल (भर्मिकम्पोस्ट) बन्यो । केही वर्षभित्र १७३ स्थानमा गँड्यौल मल बनाउने केन्द्र स्थापना गरियो । ती केन्द्रबाट वर्षमा ९३ हजार टन गँड्यौला मल उत्पादन गर्न थालियो । ‘मन्थ्ली रिभ्यु’ मा प्रकाशित एक आलेखअनुसार सन् १९९८ देखि २००७ सम्म तरकारीमा १४५ प्रतिशतले वृद्धि भयो भने पेस्टिसाइडको प्रयोगमा ७२ प्रतिशतले कमी आयो । गरे के हुन्न ? मुख्यतः राज्यको इच्छाशक्ति चाहिन्छ ।
गँड्यौला मल एउटा विकल्प
नेपालमा रासायनिक मलको निम्ति राज्यको अर्बौँ रुपियाँ खर्च भइरहेको छ भने माटोको उर्वराशक्ति पनि दिनप्रतिदिन घटिरहेको पाइन्छ । देशलाई आत्मनिर्भर बनाउने हो भने क्युवाको जैविक क्रान्तिबाटै सिक्नु जरुरी छ । गँड्यौला मल बनाउन रातो गँड्यौला प्रयोग गरिन्छ (खेतमा पाइने माटोसमेत खाने गँड्यौलाको प्रयोग गरिन्न, यसबारे माथि कतै चर्चा गरिसकिएको छ) । नेपालमा पनि गँड्यौला मलको प्रयोग क्रमशः बढ्दै छ तर राज्यको पर्याप्त सहयोग नहुँदा वा राज्यकै पहलमा उद्योग स्थापना नहुँदा यथोचित प्रचारप्रसार भइरहेको छैन । रासायनिक मलभन्दा गँड्यौला मल राम्रो हो भन्ने कुरा नीति निर्माताले बुझ्नु जरुरी छ ।

जैविक मलको निम्ति रातो गड्यौला

गँड्यौला मलमा अनेक अनुसन्धान गर्नुहुने प्राध्यापक आनन्दशोभा ताम्राकार रासायनिक मललाई क्रमशः घटाउँदै गँड्यौला मल उद्योगको विस्तार गर्नुपर्ने तर्क गर्नुहुन्छ । गँड्यौला मलमा नाइट्रोजन, पोटासियम, फोस्फरस, नाइट्रोजन फिक्स गर्ने ब्याक्टेरियालगायत उपयोगी असङ्ख्य सूक्ष्म जीव पाइन्छ । जैविक मलले धेरै वर्षसम्म वनस्पतिलाई पौष्टिक तत्व उपलब्ध गराइरहेको हुन्छ । प्राङ्गारिक मलभन्दा गँड्यौला मलको उत्पादकत्व दशौँ गुणा बढेको प्राध्यापक ताम्राकार बताउनुहुन्छ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन ठूलो चुनौति भएको अवस्थामा गँड्यौला मलको उत्पादन सबभन्दा राम्रो विकल्प हुने उहाँको सुझाव छ । सहरी फोहरमा करिब ६० प्रतिशत कुहिने पदार्थ हुन्छ । ‘फोहरलाई मोहर’ बनाउनु भनेको देशलाई आत्मनिर्भरतातिर लम्काउनु पनि हो ।
अन्तमा, देशमा रासायनिक मल कारखाना खोल्नेबारे चर्चा भएको धेरै भयो । रासायनिक मललाई तत्कालै विस्थापित गर्ने स्थिति पनि छैन । जैविक मल सन्तुलितरूपमा राख्न सकिए माटो नबिग्रने कुरामा माटो विशेषज्ञहरू विश्वस्त छन् । माटोको परीक्षण गरी आवश्यक उपचार नगरिएको कारण पनि माटोको उर्वराशक्ति घटेकोमा दुईमत छैन । सरकार छिमेकी भारतबाट ग्यास ल्याई ग्यासबाट चल्ने कारखाना बनाउने योजनामा छ । यसो गरियो भने पनि नेपालको कृषि अर्थतन्त्र दीगो हुने सम्भावना हुँदैन । किसानलाई वैज्ञानिक ज्ञान, विधि तथा प्रविधि दिनेमात्र होइन, कृषि उत्पादन, भण्डारण र बजारको व्यवस्था पनि राज्यले गरिदिनु आवश्यक छ । राज्यको मुख्य ध्यान कृषि उत्पादन बढाउनमा केन्द्रित भएन भने देशको प्रगति पनि हुने छैन । कृषिमा जैविक क्रान्तितिर लाग्नु उत्तम विकल्प हो ।

One response to “जैविक मल नै उत्तम विकल्प”

  1. Madhav Pokharel says:

    it is better idea for sustainable development in agro product.

Leave a Reply

Your email address will not be published. Required fields are marked *