भर्खरै :

काठमाडौँ उपत्यकालाई “नर्क” बनाउने प्रतिगामी योजना

काठमाडौँ, २३ भदौ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुर जिल्लाको ‘सूर्यविनायक नपा र चाँगुनारायण नपाको खुला क्षेत्रमा नयाँ सहर निर्माणको लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आशय पत्र मागेको’ (अन्नपूर्ण पोस्ट, २३ भदौ) छ । समाचारअनुसार यसअघि काठमाडौँ उपत्यकाका तीन जिल्लामा १ लाख ३० हजार रोपनी क्षेत्रफलमा नयाँ सहर बनाउने डीपीआर तयार गरिसकेको छ ।
नेपालभाषामा एउटा उखान लोकप्रिय छ, धानी चाकु खाएर पनि स्वाद थाहा नपाएकाहरू । काठमाडौँ उपत्यकामा ‘नयाँ सहर’ बनाउने योजना बनाउने योजनाकारहरू यही कोटीका बेस्वादेहरू हुन् । काठमाडौँ उपत्यकामा किन जनसङ्ख्या केन्द्रीकरण गर्नु हुन्न र कथित नयाँ सहरहरू विकास गर्नु हुन्न भन्ने प्रश्नको उत्तर यतिबेलाको परिस्थिति ऐनाजत्तिकै छर्लङ्ग छ । काठमाडौँ उपत्यकामा नोबेल कोरोना भाइरसको तीव्र सङ्क्रमण नियन्त्रण गर्न सरकारलाई हम्मेहम्मे भइरहेको छ । पछिल्लो एक अध्ययनले देशभर हुने आर्थिक गतिविधिमध्ये काठमाडौँ उपत्यकाभित्र ६० प्रतिशतभन्दा बढी हुने गरेको छ । यसरी आर्थिक गतिविधिको केन्द्रीकरणले देशको जनसङ्ख्या पनि काठमाडौँ उपत्यकाभित्र केन्द्रित छ । फलतः काठमाडौँ उपत्यका आज मानिस बसोबासको लागि वातावरणीय दृष्टिमा अयोग्य बन्दै गएको अध्येताहरूले सावधानी गर्दै छन् । नोबेल कोरोना भाइरसजस्ता महामारी काठमाडौँमा डढेलोजस्तै फैलिनुको मूल कारण पनि जनसङ्ख्या केन्द्रीकरण हो ।
काठमाडौँ उपत्यकामा जनसङ्ख्याको बढ्दो केन्द्रिकरणले यहाँको कृषि भूमि समाप्तमात्र भएको छैन, बाँकी बचेको भूमिको उत्पादनशीलता पनि घटिरहेको छ । काठमाडौँ उपत्यकाको जनसङ्ख्याको आधारमा यहाँको कृषि उत्पादन निकै न्यून छ । यसले काठमाडौँ उपत्यकाको परनिर्भरता अझ बढाएको छ । उपत्यकाबाहिर कुनै पनि कारण केही दिन सम्बन्धविच्छेद भए पनि काठमाडौँको जनजीवन नराम्ररी प्रभावित हुने गरेको छ । बढ्दो जनसङ्ख्याले सांस्कृतिकरूपमा समृद्धि उपत्यकाको संस्कृति आज क्रमशः नासिँदै छन् । फलतः आज संस्कृति रक्षाको निम्ति राज्य र काठमाडौँ उपत्यकाका रैथानेहरूबीचको द्वन्द्व अझ चर्किरहेको छ । खोकना बुङ्गमतीमा पछिल्ला दिनमा भएका सङ्घर्षलाई यसकै एउटा दृष्टान्त मान्न सकिन्छ ।
राज्यको एउटा गलत नीतिको कारण जनताले युगौँ युगसम्म दुःख पाउने र देशले खराब नियति भोग्नुपर्ने हुन्छ । राज्यबाट हुने यस्ता गल्ती पछि पछुताएर सञ्चो बनाउन सकिन्न । राज्यले केही वर्षको कुरा विचार गरेर होइन, कालान्तरसम्मको विचार गरेर योजना निर्माण गर्न जरुरी छ । देशको एकतिहाइ जनसङ्ख्या काठमाडौँ उपत्यकामा थुपार्ने सोच देशलाई बर्बादीतिर लानेहरूको सोच हो ।
देशको सन्तुलित विकास गर्ने भावनाबाट नै सङ्घीय बन्दोबस्त लागु भयो । तर, अहिले फेरि पनि देशलाई एकात्मक र केन्द्रीकृत शासन व्यवस्थातिर धकेल्ने सोच प्रतिगामी सोच हो । शासक दल वरपर घुमेर आफ्नो पोल्टा भर्न रुचाउने केही बदमासहरूको कुबुद्धिमा लागेर सरकारले यस्तो दूरगामी प्रभाव पार्ने गल्ती गर्नुहुन्न । काठमाडौँ उपत्यकामा नयाँ सहरको नाममा उपत्यकालाई ‘नर्क’ बनाउने काम बन्द हुनुपर्छ । बरु यस्ता योजना देशका विभिन्न विकासमा अझै पछाडि परेका जिल्लाको सन्दर्भमा लागु गर्नु उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *