भर्खरै :

कोभिड – १९ प्रतिरोधमा योगदान गर्नेलाई चीन सरकारको विशेष सम्मान

पेइचिङ, ८ सेप्टेम्बर । कोभिड–१९ महामारीमा अतुलनीय योगदान गर्न मद्दत गर्ने योद्धाहरूको सम्मानमा मङ्गलबार चीन सरकारले विशेष समारोहको आयोजना गरेको छ । ‘कोभिड–१९ प्रतिरोध सम्मान समारोह’ नाम दिइएको सो कार्यक्रम पेइचिङको जनबृहत् सभा भवनमा आयोजना भएको हो । समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय पदकका लागि मनोनीत भएका सम्मानित व्यक्तिहरूलाई पदक प्रदान गर्नुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो ।

जनबृहत्सभामा सम्मान कार्यक्रम


सम्बोधनमा चिनियाँ जनताले कोभिड–१९ को प्रतिरोधको क्रममा विभिन्न मुलुकका नेतागण, विभिन्न मुलुकका सरकार, विभिन्न पार्टी, संयुक्त राष्ट्र सङ्घका सम्बन्धित सङ्गठन, केही क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्था, विदेशी कम्पनी र अन्तर्राष्ट्रिय मित्रले विभिन्न तरिकामार्फत चिनियाँ जनतालाई सदिच्छापूर्ण चासो व्यक्त गरेकोमा राष्ट्राध्यक्ष सीले चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । कोभिड–१९ विश्वमा फैलिँदै गएबाट विभिन्न मुलुकका जनताले भोगेको दुःख, कष्ट र चिनियाँ जनताले भोगेको दुःख, कष्ट उस्तै भएको बताउँदै राष्ट्राध्यक्ष सीले भाइरस सङ्क्रमित व्यक्ति र उपचार लिँदै गरेका मानिसलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ प्रतिरोधको क्रममा ज्यान गुमाएका सहिद र भाइरसबाट मृत्यु भएका जनताप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
“कोभिड–१९ सयौँ वर्षयता विश्वमा उत्पन्न भएको सबैभन्दा गम्भीर महामारी हो । यो महामारी नयाँ चीनको स्थापनायता चीनमा सङ्क्रमण गति सबैभन्दा द्रुत, सङ्क्रमित परिमाण सबैभन्दा व्यापक र रोकथाम तथा नियन्त्रण सबैभन्दा गा¥हो भएको आकस्मिक सार्वजनिक स्वास्थ्य घटना हो । कोरोना भाइरसबाट चिनियाँ जनताको ज्यान र स्वास्थ्यमा गम्भीर चुनौती देखियो”, राष्ट्राध्यक्ष सीले भन्नुभयो ।

सम्मानित योद्धाहरू


उहाँले भन्नुभयो, “सधैँ जनताको जीवनलाई पहिलो स्थानमा राखेर चीन कोरोना भाइरसविरूद्धको युद्धमा लागिरहेको छ । चीनले एक महिनामा कोभिड–१९ फैलिने प्रवृत्तिलाई रोकेर लगभग दुई महिनामा चीनको मुख्य भूमिमा दैनिक नयाँ थपिने सङ्क्रमित सङ्ख्या दश जनाभन्दामुनि पु¥याई तीन महिनामा उहान र हुपेई प्रान्तमा महामारी नियन्त्रण गरेको छ ।” यस आधारमा चीनले स्थायीरूपमा कोभिड–१९ को प्रतिरोध कार्यलाई अघि बढाउँदै आर्थिक–सामाजिक विकासलाई पनि घच्घच्याएको र चीनले उत्पादन तथा जीवनको परिपाटीलाई सामान्य बनाई अघि बढेको उहाँले बताउनुभयो । चीनको कोभिड–१९ विरूद्धको युद्धबाट चिनियाँ भावना, चिनियाँ शक्ति र चीनको जिम्मेवारी लिने छवि प्रस्तुत भएको उहाँले बताउनुभयो ।
राष्ट्राध्यक्ष सीले भन्नुभयो, “आकस्मिक गम्भीर महामारीको सामना गर्न हामीले सुव्यवस्थित रूपमा समन्वय गरेका थियौँ । हाल आर्थिक विकास स्थिर बनेको छ । उत्पादनसँगसँगै जनजीवनसम्बन्धी सबै कामहरू स्थिररूपमा पुनःसुरू भएका छन् । हामीले महामारीको स्थितिको परिवर्तनबमोजिम महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकासमा ठूलो निर्णय लिएका थियौँ । वैज्ञानिकरूपमा महामारीको रोकथाम तथा नियन्त्रण, सटीकरूपमा काम र उत्पादनको पुनः थालनीसँगै उत्पादन र जीवनको प्रत्याभूति गरेका थियौँ ।
हामीले उद्योग–व्यवसायहरूमा सहुलियत नीति तर्जुमा गरेका थियौँ । रोजगार, उपभोग, वैदेशिक व्यापार र विदेशी लगानीलाई अगाडि बढाउने कदमहरू सार्वजनिक गरेका थियौँ । हामीले यातायात, ढुवानी, रेस्टुराँ र सुपरमार्केट, संस्कृति र पर्यटनलगायतका क्षेत्रहरूको सुव्यवस्थितरूपमा पुनःसञ्चालन गर्न विभिन्न कदमहरू अगाडि सारेका थियौँ । हामीले हुपेईको विकासमा समर्थन दिने नीतिहरू लागू गरेका छौँ ।
हामीले अझै ठूलो अठोट र अझै सशक्त शक्तिमार्फत गरिबी निवारणलाई अगाडि बढाएका छौँ, गरिबी निवारणका उद्योगलाई पुनःउत्पादन सुरू गर्न समर्थन दिएका छौँ । महामारी फैलिएयता आर्थिक गतिविधि पुनः थालनी गर्ने पहिलो देश चीन बनेको छ । महामारीको रोकथाम तथा नियन्त्रण र अर्थतन्त्र पुनः सुध्रिएको क्षेत्रमा चीन विश्वको अग्रस्थानमा रहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *