भर्खरै :

लकडाउनमा बढ्दै अपराध

भक्तपुरको सल्लाघारीमा मङ्गलबार बिहान लागूऔषधसहित दुई जना व्यक्ति पक्राउ परे । मङ्गलबार नै पत्रकारको नक्कली पास बनाउने गिरोह काठमाडौँमा पक्राउ प¥यो । सीमा क्षेत्रमा तस्करीको घटना अझ बढिरहेको छ । कोरोनाको कारण चलचित्र घाटामा गएपछि घाटा भएको पैसा असुली गर्न भारतका एक चलचित्र निर्माता नेपालमा नक्कली सुनको कारोबारको क्रममा पक्राउ परे । देशभर नोबेल कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा लागू भएको अवस्थामा अपराधीहरूले भने यस्तो अन्योलको अवस्थालाई अपराध गर्ने अवसरको रूपमा उपयोग गरिरहेका छन् । प्रहरीको ध्यान यतिबेला मुख्यतः कोरोना नियन्त्रणमा नै बढी केन्द्रित भएको अवस्थामा अपराधीको लागि यतिबेला आफ्नो धन्दा चलाउने राम्रो मौका बनेको छ । राज्यको ध्यान अन्यत्र गएको बेला धमिलो पानीमा अपराधीले पनि माछा मार्न खोजेका हुन्छन् ।
लामो समयको लकडाउनको कारण बढ्दो आर्थिक विषमताले समाजमा अपराधको सङ्ख्या बढ्दै छ । लकडाउनको कारण रोजगारी गुमाउँदा जीविकोपार्जनको लागि अपराधको सहारा लिने मानिस पनि हुन्छन् । खाँचो परेका त्यस्ता मानिसहरूलाई अपराधको धन्दा चलाइरहेकाहरूले यही मौकामा उपयोग गर्ने गर्छन् । कतिपय सोझा सीधा मानिसहरू आफ्नोसामु आइपरेको विपत्ति टार्न अपराधको सहारा लिन पुग्छन् । तस्करी, अवैध वस्तुको ओसारपसार आदि यसैको परिणाम हो ।
राज्यको भूमिका यस्ता घटना भएपछि दोषीमाथि कारबाही गर्नुमात्र होइन, यस्ता सामाजिक रोगका कारण के हुन् भन्ने विषयमा पनि सोच्न जरुरी छ । खुलामञ्चलगायत देशका विभिन्न क्षेत्रमा निःशुल्क खाना खुवाइने ठाउँमा बढ्दो लाम समाजको लागि कालान्तरमा घातक पनि हुनसक्ने विवेक सरकारी निकायले पु¥याउनुपर्छ । निःशुल्क खाना खान लाम लाग्ने मानिसहरू दैनिक ज्यालादारीमा निर्भर विपन्न मानिसहरू नै हुन् । उनीहरू लकडाउनको कारण दैनिक कमाइबाट वञ्चित छन् । जीवनमा कहिल्यै बचत गर्न नपाएका यो तहका मानिसहरूलाई अहिलेको विषम परिस्थितिकै फाइदा उठाएर अपराधमा लगाउन सक्ने सम्भावनालाई राज्यले ध्यान दिनुपर्छ । राज्य यी नागरिकप्रतिको जिम्मेवारीबाट मुक्त हुनसक्दैन ।
मङ्गलबार प्रधानमन्त्रीले मनोविद् र चिकित्सकहरूसँग भेटी मानसिक स्वास्थ्यबारे चर्चा गरे । पछिल्ला अध्ययनअनुसार लकडाउन यता मानसिक बिरामीको सङ्ख्या बढेको मात्र छैन, बरु मानसिक रोगीहरूको उपचारको राम्रो बन्दोबस्त पनि हुनसकेको छैन । आर्थिक स्रोतहरू साँघुरो बन्दै गएपछि आत्महत्या गर्नेहरूको सङ्ख्या पनि बढिरहेको छ । यस्ता मानसिक स्वास्थ्य अपराधसँग सम्बन्धित हुन्छन् । अस्वस्थ मानसिकता नै अपराधको स्रोत हो । तसर्थ अपराध न्यूनीकरणको लागि राज्यले लकडाउनले निम्त्याएका मानसिक समस्याबारे पनि उचित ध्यान दिन आवश्यक छ ।
कोभिड–१९ बारे अनावश्यक र अतिरञ्जित चर्चाले मानिसहरू मानसिकरूपमा कमजोर बनेका छन् । सञ्चारमाध्यमहरूले विशेषतः कोरोना सङ्क्रमणबारे अत्याउने समाचारले कमजोर मानसिकताका मानिसलाई अझ त्रस्त बनाएको देखिन्छ । कोरोनाको प्रतिरोधको लागि यतिबेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमात्र होइनन्, विभिन्न क्षेत्रका मनोचिकित्सक, मनोरञ्जन क्षेत्रका कलाकार, प्रेरणादायी सम्भाषण दिने वक्ताहरूले पनि आ–आफ्नो भूमिका खेल्न जरुरी छ । राज्यले ती क्षेत्रका व्यक्तिलाई उत्साहित गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *