भर्खरै :

भदौ ३१ सम्म ‘खुकुलो’ निषेधाज्ञा

काठमाडौँ, २४ भदौ । काठमाडौँ उपत्यकामा भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाइएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रका प्रतिनिधि, स्थानीय तहका प्रमुखको सुझाव तथा गृहमन्त्रालयसँगको परामर्श पछि नयाँ आदेश जारी गरेको छ । सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को समेत अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको हो ।
उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको र व्यापार, व्यवसायमा केही चलायमान बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकपछि जारी विज्ञप्ति अनुसार उपत्यका भित्रमा १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने छ । भाडाका ट्याक्सीको हकमा चालकसहित तीन जना र परिवार भित्रमा ५ वर्ष मुनिका बालबालिका दुई जनासम्म राखी चलाउन सकिने छ ।
निजी सवारीसाधन (मोटरसाइकल स्कुटर समेत) स्वास्थ्य मापदण्ड पालना गरी भौतिक दूरी कायम गरेर सञ्चालन गर्न सकिनेछ । यात्रुबाहक सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनुरूप सामाजिक दूरी कायम हुने गरी एक लहरमा एक जना (कुल क्षमताको आधाबाट नबढ्ने गरी ) बस्ने व्यवस्था मिलाउनु पर्नेछ ।
यसरी सवारी साधन सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । सवारी साधनको ढोका मै स्यानिटाइजरको व्यवस्था हुुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने तथा सवारी साधन दैनिक निसङ्क्रमण गराएको हुनेपर्नेछ । सवारी साधन भने जोरविजोर प्रणालीअनुसार सञ्चालन गर्नुपर्ने छ, तर मालबाहक सवारीको हकमा भने जोरविजोर लागु हुने छैन ।
राससको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *