भर्खरै :

निषेधाज्ञामा जनता थुनेर निर्माण कार्य गर्ने प्रयास !

ललितपुर, २४ भदौ । जनसरोकार समिति खोकना बुङ्गमतीको फास्टट्राय्क निर्माण कार्यविरुद्ध सङ्घर्ष कायमै छ । नगरपालिका वा वडा कार्यालयको स्वीकृतिबिना निर्माण कार्य नगर्ने पहिलेको सम्झौता हुँदाहुँदै नेपाली सेनाले खोकना–खुडोलमा बाग्मती नदीस्थित पुल निर्माण कार्य थालनी गरेको छ । जनता सबै घरमै बन्दाबन्दीको अवस्थामा रहेको मौका पारेर निर्माण कार्य थालनी गरेको देखिन्छ । त्यसरी निर्माण कार्य थालनी गरेपछि जनसरोकार समितिल निर्माण कार्य रोक्न जाने कार्यक्रम २३ भदौमा राखेको थियो । तर, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्माण रोक्नेबारे कुरा गर्न सरोकार समिति खोकनाका संयोजक नेपाल डंगोलको टोलीलाई बोलाई कुराकानी गरियो ।
प्रमुख जिल्ला अधिकारीले जनसरोकार समिति खोकनाको स्मरणपत्र ग्रहण गरी माथिल्लो निकायमा समस्या बोध गरिदिने वचन दिनुभएको खबर छ । नेपाल डंगोलको नेतृत्वमा प्रजिअ कार्यालय पुग्ने सरोकार समितिका पदाधिकारीहरूमा कृष्णभक्त डंगोल, महेन्द्र ब्रह्माचार्य, नरेश महर्जन, मनहेरा श्रेष्ठ, कविन्द्र डंगोललगायतका थिए ।
उक्त दिन दिउँसो सरोकार समितिका पाँच जना पदाधिकारीहरू नेपाल डंगोल, कृष्णभक्त डंगोल, महेन्द्र ब्रह्माचार्य, नरेश महर्जन र मनहेरा श्रेष्ठ खुडोलमा स्थलगत स्थिति बुझ्न पुगे । त्यहाँ पुल निर्माण कार्य नरोकेकोले निर्माण स्थलमा ठूलो विवाद भयो । निषेधाज्ञा जारी गरिराखेको बेला जनता घरबाट निस्कन नदिएर निर्माण कार्य अगाडि बढायो भनी चर्काे विरोधपश्चात् काम रोकेको थियो ।
७२.५ किमि लामो भनिएको दु्रतमार्गको अन्तिम बिन्दु (जेरो किलो) उल्लेख गरिएको उक्त खोकना –खुडोलमा स्थानीय जनताले जग्गा नछोड्ने भनी अधिकांशले मुआब्जा लिएका छैनन् । सरकारको जबरजस्ती जग्गा प्राप्त गर्ने नीतिको विरोधमा गत असार १५, २० र साउन ३ गते त्यस ठाउँमा रोपाइँ आन्दोलन भएको थियो ।
यसैबीच जनसरोकार समिति खोकनाले ‘तराई–मधेस फास्ट ट्राय्क परियोजनाको नाममा सम्पदा क्षेत्र खोकना÷बुङ्गमतीमा भइरहेको निर्माण कार्यहरू रोक्न तथा भौतिक संरचनाहरू हटाउने’ सम्बन्धमा ललितपुरका प्रमुख जिल्ला अधिकारसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
जनसरोकार समिति खोकनाका अध्यक्ष नेपाल डंगोल र जनसरोकार समिति बुङ्गमतीका अध्यक्ष अष्टबहादुर महर्जनको संयुक्त दस्तखतमा प्रेषित सो ध्यानाकर्षण पत्रमा उल्लेख छ –
नेपाल एक कृषिप्रधान देश हो । नेपालको ठूलो हिस्साको जनसङ्ख्या कृषिमा आधारित छ । तथापि, विगतको तथ्याङ्कलाई हेर्ने हो भने कृषि क्षेत्र प्रत्येक वर्ष ओरालो लाग्ने क्रममा छ । राज्यले कृषि क्षेत्रका लागि योजना र कार्यक्रम ल्याउने गरे तापनि राज्यको प्राथमिकतामा कहिल्यै पर्न सकिरहेको अवस्था छैन । यसको ज्वलन्त उदाहरण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरव रहेको यस सम्पदा क्षेत्र खोकना बुङ्गमतीमा अवस्थित उर्वर भूमि हो जहाँ भौतिक विकासको नाममा विभिन्न विकासका परियोजनाहरू सञ्चालित तथा प्रस्तावित अवस्थामा रहेका छन् ।
खोकना बुङ्गमती सदियौँदेखि आत्मनिर्भर, स्वाधीन रही ऐतिहासिक पहिचान एवम् धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व बोकेको जीवन्त सङ्ग्रहालयको रूपमा चिरपरिचत छ । यस क्षेत्रमा नेपाल सरकारद्वारा विभिन्न राष्ट्रिय आयोजनाहरू तराई–मधेस फास्ट ट्राय्क, १३२ केभी हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, बाग्मती करिडोर, स्मार्ट सिटी, पेट्रोलियम भण्डार, काठमाडौँ
रेलवेलगायतका योजनाहरूको नाममा जबरजस्ती जग्गा अधिग्रहण तथा प्रस्तावित गरिएको हुँदा हजारौँ वर्षदेखि आफ्नै संस्कृति, पुरातात्विक महत्व बोकेको कृषि पेशा अँगाली सहजरूपमा आफ्नो जीविकोपार्जन गर्दै आइरहेका यस क्षेत्रका स्थानीयवासीहरूको अस्तित्व नै सङ्कटमा परी आदिभूमि छोडेर विस्थापित तथा सर्वहारा भई जानुपर्ने र यससँग जोडिएको संस्कृति सम्पदासमेत नष्ट हुने भएको हुनाले करिब एक दशकभन्दा अगाडिदेखि नै यस्ता परियोजनाहरूको विरोध गरिँदै आएको यहाँलाई अवगत नै छ ।
आफ्नो सम्पदा भूमि बचाउनका लागि गत असार १५, २० र साउन ३ गते प्रहरीको दमनको विषयमा पनि खोकनाको बुडोल फाँटमा सामूहिक धान रोप्ने कार्यक्रम सम्पन्न गरिसकेको सर्वविदित्तै छ ।
यस प्रकारको निरन्तर विरोधका साथै सम्मानित सर्वोच्च अदालतमा यस परियोजनाको विरूद्धमा मुद्दा चलिरहेको बाबजुत कानुनविपरीत सेनाको तर्फबाट निरन्तर भौतिक निर्माण कार्य भइरहेको अवस्था छ । सो कार्यले कतै पनि स्थानीय जनताको भावनालाई सम्बोधन नगर्नेमा निश्चित देखिन्छ, जसले गर्दा राज्य र जनताबीचको सद्भावनासमेत खलल पुग्न गई परिस्थिति गम्भीर हुन जानसक्ने हुनाले सबैको सहअस्तित्व कायम गरी विद्यमान कोभिड–१९ महामारीसमेतलाई मध्यनजर गरी सौहार्द वातावरणमा सरकारद्वारा सम्बन्धित पक्षहरूसँग सहकार्य गरी अघि बढाउनका लागि यहाँको तर्फबाट सहजीकरणको भूमिका निर्वाह गरिदिनुहुन सविनय अनुरोध गर्दछौँ ।
साथै हाल खुडोल फाँटमा भइरहेको तराई–मधेसको फास्टट्राय्क परियोजनाको नाममा सम्पदा क्षेत्र खोकना÷बुङ्गमतीमा भइरहेको निर्माण कार्यहरू तत्काल रोक्न तथा भौतिक संरचनाहरू हटाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाही गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *