आफ्नै जनताको बुत्ता र जनप्रेमी नेताहरूको सबल नेतृत्वमा हँसिया–हथौडा अङ्कित रातो झन्डामुनि एक परिवारजस्तै रमाइरहेका समाजवादी देशका जनताले कसको के बिगार गरेका थिए र ? आणविक तथा अत्याधुनिक हातहतियारको दम्भमा साम्राज्यवादी र यिनका भरौटे पुँजीवादी मुलुकहरू समाजवादी मुलुकविरुद्ध जतिखेर पनि पाखुरा सुर्केर बस्छन् । तिनीहरू बिना कुनै कारण वा निराधार अत्तो थापेर सात समुद्र नाघेर गोला बारुद वर्षा गर्छन् । अनेकौँ निर्दाेष जनता र बालबालिकाको ज्यान लिने र तिनीहरूको रगत पसिनाले सिँचिएको हराभरा जन्मभूमिमा विध्वंस मच्चाउँछन् । तिनीहरूको घिनलाग्दो जालसाजीपूर्ण अमानवीय व्यवहारविरुद्ध शान्ति चाहने संसारका जनता आज एक हुँदै छन् । दोस्रो विश्वयुद्धको बेला जापानमाथि परमाणु बम प्रहारपछि आफूभन्दा कमजोर राष्ट्रलाई तह लगाउन अमेरिकी साम्राज्यवाद अझ सक्रिय रह्यो । सोभियत सङ्घको पतनसँगै संरा अमेरिका आफूलाई महाशक्ति सम्झेर अझ बढी शैतानी प्रवृत्ति विस्तार गर्न खोज्दै छ ।

प्रजग कोरियाली सर्वोच्च नेता किम जङ उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
अमेरिकी साम्राज्यवाद र उनका पिछलग्गू उपनिवशवादी पश्चिमी मुलुकहरू प्रजग कोरिया र समाजवादी मुलुक क्युवालाई सानो, अविकसित र मानव अधिकार नभएको देश भनेर होच्याउँछन्, स्वाभिमानमा विश्वास गर्ने ती समाजवादी मुलुकहरूसँग तर्सेर तिनका विरुद्ध वर्षाैँदेखि आर्थिक नाकाबन्दी लगाइरहन्छन् । तर, साना भनिएका ती मुलुकको प्रगति र समृद्धिको यात्रालाई संसारको कुनै पनि शक्तिले रोक्न र छेक्न सकेनन् । संसारभरि नै गुञ्जिने गरी “अमेरिकाले चाह्यो भने ती मुलुकलाई छिनभरमा खरानी पार्न सक्छ” भन्नेजस्ता खोक्रो हुङ्कार जनएकताको बलियो जगमा चट्टानजस्तै उभिएका साना भनिएका ती देशका अगाडि केही सीप लागेन । संरा अमेरिकी साम्राज्यवादसँग जतिखेर पनि तर्सिरहने देशमा अमेरिकी हातहतियारको बिक्री राम्रो भयो ।
सन् १९७५ मा संरा अमेरिकी साम्राज्यवादले सबभन्दा बढी बम प्रहार गरेर हजारौँ कम्बोडियाली जनताको हत्या गरेको थियो । तर, कम्बोडियाको भूमिबाट हार खाएर घायल कुकुरजस्तै पुच्छर लुकाई उनीहरू फर्के । सन् १९५०–१९५३ देखिको तीन वर्ष लामो कोरिया–अमेरिका युद्ध र अमेरिका–भियतनाम युद्धमा संरा अमेरिकाले नराम्रो हार व्यहोर्नुप¥योे ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ जून २०१८ मा सिङ्गापुर, २७ फेब्रुअरी २०१९ मा भियतनामको हनोइ र ३० जून २०१९ मा उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक सीमारेखा पानमुनजोममा पुगेर प्रजग कोरियाका नेता किम जङ उनसँग शिष्टाचार भेट गरे । ‘खरानी पार्ने’ जस्ता अपरिपक्व राजनीतिक वक्तव्यबाजीले दुनियाँको नजरमा अमेरिकी साम्राज्यवाद एकपल्ट फेरि कागजी बाघ सावित भएको छ । हुन त धनाढ्य व्यापारी डोनाल्ड ट्रम्पले चार वर्षअघि अमेरिकी चुनाउको बखत विश्व शान्तिका लागि प्रजग कोरियाका राष्ट्र प्रमुखसँग वार्ता गर्ने कुरा आफ्नो घोषणा–पत्रमा उल्लेख गरेका थिए । तर, त्यस घोषणापत्रमा वार्ता फलदायी हुनेबारे एक शब्द पनि उल्लेख थिएन । उक्त चुनावी पर्चामा बाचा गरिएको कुरा आफूले पूरा गरेको जस्तो देखाएर अमेरिकी जनतालाई मूर्ख बनाए । नेता किमसँगको ट्रम्पको भेट हात्तीको देखाउने दाँत हो भन्ने कुरा परिणामबाट स्पष्ट हुन्छ ।

नोर्ड स्ट्रिम १ ग्यास पाइप लाइनको उद्घाटन समारोहमा सरिक हुँदै जर्मनका चान्सलर मार्केललगायत रुस, नेडरल्यान्ड र फ्रान्सका नेताहरू
कुन मुलुकमा के कति हिसाबले मानव अधिकारको सम्मान भएको छ भन्ने विषयमा खुलेर संवाद गर्न सच्चा मानव अधिकारवादीहरूलाई गा¥हो छैन । गत २५ मे का दिन प्रहरीको निर्मम यातनाबाट दिनदहाडै ४६ वर्षीय एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्याबाट सिर्जिएको जनआक्रोश सेलाउन नपाउँदै अगस्ट २३, २०२० को दिन विनकोनसिन राज्यको केनोशा सहरमा कालो वर्णको ज्याकोब ब्लेक नाम गरेको एक अमेरिकी नागरिकको पनि गोरा अमेरिकी प्रहरीद्वारा दिनदहाडै हत्या गरियो । शरीर पछाडि सात वटा गोली हानेर अपाङ्ग बनाएको भयावह दृश्यले गाडीभित्र उनलाई पर्खेर बसेका भयभित लालाबालाहरूको बाल मानसिकतामा कस्तो दीर्घ मानसिक असर पर्छ भन्ने कुरा अमेरिकी सरकारका बाल मनोविज्ञानका पण्डितहरूलाई थाहै होला । २०४५ सालमा तानाशाही पञ्चायती व्यवस्थाले तत्कालीन नेपाल मजदुर किसान सङ्गठनलाई जरैदेखि उखेल्ने सरकारी उद्देश्यले रचेको भक्तपुर काण्डका भुक्तभोगीहरूले ज्याकोब ब्लेकका नानीहरूको बाल मनोदशालाई राम्ररी बुझेका छन् । तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य भएको धेरै वर्ष भइसक्यो । सानो राजनीतिक पार्टी भनी दमन गर्दाको परिणाम कस्तो हुन्छ भन्ने कुरा संरा अमेरिकी ट्रम्प सरकारले पनि बुझ्नु आवश्यक छ ।
संरा अमेरिका समाजवादी मुलुकविरुद्ध खनिइरहेको छ । तर, संसारका आफ्नो वर्चस्व कायम गर्न एक भइरहेका संरा अमेरिका र जर्मनी अहिले एक आपसमा गाली गलौजमा उत्रिरहेका छन् । आफ्नो आर्थिक कारोबारको स्वार्थमा अलिकति तलमाथि हुनेबित्तिकै जस्तोसुकै मित्रता पनि तोडिएको रहेछ । हालै रुस र जर्मनीबीच Nord Stream – 2 नाम गरेको ग्यास पाइपलाइनको निर्माण परियोजनालाई लिएर संरा अमेरिकाले जर्मनीविरुद्ध लगाएको नाकाबन्दीले प्रस्ट हुन्छ । वातावरणीय दृष्टिकोणलाई ध्यानमा राखी चरणबद्धरूपमा कोइलाको प्रयोगबाट आफ्नो मुलुकलाई मुक्त गर्न प्राकृतिक ग्यासबाट आवश्यक ऊर्जा परिपूर्तिका लागि रुसबाट सुलभ, छरितो, भरपर्दाे, सस्तो र गुणस्तरीय ग्यास आपूर्ति गर्न अनिवार्य भएको कुरा जर्मनी सरकारले प्रस्ट पारेपछि ट्रम्पमा दिमागी बिमार लाग्यो ।
राजनीतिमा जर्मनी र रुसबीच केही मत भिन्नता भए पनि दुई देशको आपसी हितका लागि बाल्टिक सागरको पिँढबाट १,२३० किमि लामो Nord Stream – 2 पाइप बिछ्याएर मुलुकमा बढ्दो ऊर्जाको सम्भावित सङ्कटको सम्बोधन गर्नु जर्मनीको आवश्यकता थियो । यस कार्यप्रति संरा अमेरिकाको ट्रम्प सरकारबाट आर्थिक नाकाबन्दीको धम्की आउनु आफ्नो देशको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप हो भनी जर्मनी सरकारले पुष्टि गरिसकेको छ । युरोपेली ऊर्जा नीतिको निर्माण वाशिङ्टनमा नभई युरोपमा भयो । संरा अमेरिकाको नाकाबन्दीको धम्कीले अन्तर्राष्ट्रिय जगतमा केही अर्थ नराख्ने कुरा जर्मनीका विदेशमन्त्री हेइको मासले बताइसकेका छन् । संरा अमेरिकी विदेशमन्त्री माइक पम्पेओलगायत डोनाल्ड ट्रम्पका अन्य तीनजना सिनेटर टेड क्रुज, टोम कटन र रोन जोन्सनबाट धम्कीपूर्ण भाषाको संयुक्त लिखित पत्रमा जर्मनी र रुसबीच भएको यो ऊर्जा व्यापारको सम्झौता (नोर्ड स्ट्रिम–२) ले युरोपेली ऊर्जा सुरक्षा र अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरनाक धम्कीको सङ्केत हो भनिएको छ ।
जर्मनीले रुसबाट ग्यास आयात गर्दा संरा अमेरिका रुष्ट हुनुका केही कारण छन् ।
१. जर्मनीलगायत अन्य युरोपेली मुलुकहरू ऊर्जाको लागि रुसमा निर्भर हुने सम्भावना ।
२. युरोपमा नोर्ड स्ट्रिम ग्यासको आपूर्तिले त्यस क्षेत्रमा रुसी प्रभावमा वृद्धि हुने ।
३. युरापेली जनता रुसबाट प्रभावित भई संरा अमेरिकी प्रभावमा ¥हास आउने प्रबल सम्भावना ।
४. युरोपको बजारमा संरा अमेरिकी ग्यासको बजार विस्तार नहुने । यसबाट अमेरिकी अर्थतन्त्रमा असर पर्ने सम्भावना ।
५. नेटो (NATO) मा विद्यमान संरा अमेरिकाको वर्चस्वमा खिया लाग्ने सम्भावना ।
युरोपमा ‘मेड इन चाइना’ को बजार विस्तारको हाउगुजीले हैरान भइरहेको संरा अमेरिकालाई नोर्ड स्ट्रिम ग्यास पाइपलाइनले अझ भयभित बनाएको भए तापनि कतिपयले संरा अमेरिकाको यस त्रासलाई ‘वनको बाघले नखाए नि मनको बाघले खाएको जस्तै’ मात्र हो भनी टिप्पणी गरेका छन् । त्यसो भए पनि संरा अमेरिकी सरकारले बन्दुक राजनीतिसँग सरोकार राख्ने कदमस्वरूप जर्मनीबाट नेटोअन्तर्गत हाललाई त्यहाँ तैनाथ आफ्नो १२ हजार सैनिक जवान फिर्ता गर्ने निर्णय गर्दै जर्मनीले नियमानुसार आफ्नो (Gross Domestic Product-GDP) कुल गार्हस्थ उत्पादनको २ प्रतिशत रकम पनि नेटो प्रतिरक्षाको दिगो विकासको लागि नतिरी संरा अमेरिकाको योगदानबाट गलत तरिकाले फाइदा उठाइरहेको आरोप लगाएको छ । यदि जर्मनीले बढी महँगो भए पनि अमेरिकासँग ग्यास खरिद गर्ने हो भने दुई देशबीच नोर्ड स्ट्रिम – २ लाई लिएर हाल चुलिएको विवाद छिनभरमै समाप्त हुन्छ । यसैकारण भन्ने गरिन्छ, नाफा–नोक्सान र शुभलाभसँग अत्यधिक सरोकार राख्ने पुँजीवादी सिद्धान्तमा आफूलाई जन्मदिने आमाबाहेक आवश्यक भए वचनबद्धता, नैतिकता र मित्रतालाई टाढा मिल्काएर जेसुकै र जोसुकैलाई पनि दाउमा राखिन्छ । संरा अमेरिकाबाट प्राकृतिक ग्यासको आयात गर्न जर्मनीको लागि ढुवानी, सहजता अन्य धेरै हिसाबले महँगो हुन्छ ।

राष्ट्रपति ट्रम्पको हत्या प्रयास गर्ने बेलायती युवा प्रहरी नियन्त्रणमा
रुसबाट जस्तो अमेरिकी ग्यास सहजै पाइपलाइनबाट कम दूरीमा जर्मनीसम्म आयात हुँदैन किनभने उक्त प्राकृतिक ग्यासलाई प्राविधिकरूपले चिस्याई तरल वस्तुमा परिणत गरिन्छ जसलाई अङ्ग्रेजीमा (Liquefied Natural Gas -LNG) भनिन्छ । उक्त एलएनजीलाई ठूल्ठूला ट्याङ्करमा राखी पानीजहाजबाट कम्तीमा ७,८८२ किमि दूरी तय गरेपश्चात् गन्तव्यमा पु¥याइन्छ । नोर्थ स्ट्रिम २ पाइपलाइनमार्फत रुस र जर्मनीको ऊर्जा व्यापारलाई सफल हुन नदिन जसरी भए पनि संरा अमेरिका उद्यत रहँदै आएको छ । रुसका राष्ट्रपति पुटिनका कट्टर आलोचक हाल जर्मनीको एक अस्पतालमा उपचारार्थ अचेत अवस्थामा रहेका अलेक्सी नाभाल्नीलाई विष घोलिएको चियापानको षड्यन्त्रमा संरा अमेरिकी गुप्तचरहरूको घूसपैठको शङ्का गरिएको छ । यसै विवादास्पद घटनालाई महाभारतको शिखण्डीको रूपमा प्रयोग गरी जर्मनी चान्सलर आन्जेला मर्केलउपर ठूलो अन्तर्राष्ट्रिय दबाबका कारण उक्त नोर्थ स्ट्रिम – २ परियोजना धरापमा पर्नसक्ने सम्भावनालाई अन्तर्राष्ट्रिय चासोको विषयवस्तु बनाइएको छ ।
तर, निर्माण भइसकेको नोर्थ स्ट्रिम १ पाइपलाइन सँगसँगै जाने गरी निमार्णाधीन नोर्थ स्ट्रिम – २ परियोजना जर्मनी र रुस दुवैको हितमा आधारित व्यापारी सम्झौता भएबाट यसलाई राजनीतिक रङले पोत्न नमिल्ने रुसी राष्ट्रपति पुटिन सरकारले भनेको छ । जर्मनीले साठीदेखि सत्तरी प्रतिशत ग्यासको आपूर्ति रुसबाट गर्ने भएकोले यो परियोजना विफल भए जर्मनीलाई ठूलो आर्थिक नोक्सानी हुने सङ्केततर्फ चान्सलर मर्केलको ध्यान आकर्षित गर्ने जर्मन नागरिकहरूको सङ्ख्या पनि कम छैन । संसारका ठूला पुँजीवादी राष्ट्रहरूको स्वार्थले भरिएको यो व्यापारिक घम्साघम्सीमा कसले बाजी मार्लान् समयले बताउनेछ ।

गरिब हुँदैमा आत्तिनु पर्दैन, धनी हुँदैमा मात्तिनुहुँदैन भन्ने कथन सबैलाई थाहा छ । तर, यसबारे संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वासै लाग्दैन किनभने उनी ठूलैखाले धनी व्यक्ति हुन् र फेरि संसारकै महाशक्ति राष्ट्रका राष्ट्राध्यक्ष पनि । राजनीतिक संस्कारको अभावले वा अहम् भावनाले मात्तिएको हुनसक्छ, राष्ट्रपति ट्रम्पले बेलाबखत पत्रकार भेटघाटमा शिष्टाचार, मर्यादा, राजनीतिक मान्यतालाई बेवास्ता गर्दै पत्रकारसँग जथाभावी बोल्ने, आफ्नो मर्यादित राष्ट्रपतिको पद बिर्सेर जन सम्बोधनको बेला दर्शकदीर्घामाथि जाइलाग्ने स्वभावले उनी संरा अमेरिकाको राष्ट्रपतिमा चुनिनुअघि नै उनको हत्याको प्रयास भएको थियो । सन् २०१६, जुलाई १८ का दिन राष्ट्रपतीय चुनावको लागि बलियो सम्भावित उम्मेदवारको हैसियतले लस भेगसमा आयोजित एक ¥यालीको क्रममा माइलक स्टेभन सानफोर्ड नाम गरेको एक बेलायती युवकले सुरक्षामा खटिएका लास भेगास महानगरीय प्रहरी अधिकृतको पिस्तोल खोसी धनाढ्य व्यापारी डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गरी उनको हत्या गर्न खोजेका थिए । तर, चनाखो सुरक्षाकर्मीका कारण गोली प्रहार गर्नुअघि नै उनी लस भेगास महानगरीय प्रहरीको पक्राउमा परे । माइकल साँच्चै खतरनाक आपराधिक मनोवृत्तिका व्यक्ति नभएको ठहर गर्दै संरा अमेरिकी न्यायालयबाट सामान्य अपराधीलाई दिइने कानुनी बन्दोबस्तअनुसार गोरा वर्णका माइकल स्टेभन सानफोर्ड प्रहरी हिरासतमा ११ महिना कैद गरिसकेपछि पनि मानसिकरूपले अझै ठीक नभएको बताएपछि थप चार महिनाको जेल सजाय दिइयो । आफ्नो राष्ट्रपतीय कार्यकालमा आफ्ना समर्थकहरूको सभामा उपस्थित भई सम्बोधन गर्ने क्रममा मञ्चमाथि आई राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि धेरैपटक साङ्घातिक हमला गर्ने प्रयास नभएको भने होइन ।
बुद्धिजीवी, निम्न मध्यम वर्गीय र गरिब अमेरिकी नागरिकबीच वर्तमान राष्ट्रपति ट्रम्प अप्रिय भए पनि अनेकौँ अनुचित कार्य, बन्दूक राजनीति र पैसाको खोलो बगाई आउँदो संरा अमेरिकी राष्ट्रपतीय चुनावमा पनि अर्काे चार वर्षको लागि बाइडनलाई पछि पार्दै ट्रम्प नै पुनः निर्वाचित हुनसक्ने सम्भावना पनि प्रबल रहेको समाचारलाई अमेरिकी नागरिकहरू विश्वास गर्दछन् । निःस्वार्थ रूपले देश र जनताको सेवामा लागिपर्ने जस्तोसुकै विराट व्यक्तित्वका उम्मेदवार भए पनि पुँजीवादी मुलुकमा गरिब जनताका प्रतिनिधिलाई उक्त उच्च पदमा निर्वाचित भई देशको सेवामा समर्पित गर्ने साँचो अठोट लिएर आए पनि दुईदलीय तानाशाहीको संरा अमेरिकी पुँजीवादी राजनीतिक व्यवस्थामा यो अहिले असम्भव छ ।
Leave a Reply