भर्खरै :

नेपालबाट चीन फर्केकाहरूमा सङ्क्रमण

काठमाडौँ, २४ भदौ । लामो समय नेपालमा बसेका दुई चिनियाँ नागरिकमा चीन पुग्नेबित्तिकै कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँबाट उड्नुअघि तीन दिनको म्याद भएको पीसीआर नेगेटिभ रिपोर्ट पेश गरेको भए पनि स्वदेश पुगेको भोलिपल्टै ज्वरो आएपछि गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमणको पुष्टि भएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईले जनाएको छ ।
काठमाडौँबाट चिनियाँ भाषामा सञ्चालित नेपाल एक्सप्रेस (निपोअर ख्वाइस्यून) ले जनाएअनुसार सङ्क्रमित दुवै पुरुष आइतबार एअर चाइनाको काठमाडौँ छन्तु नियमित उडान सीए ४३८ बाट स्वदेश पुगेका थिए । छन्तु पुग्दाको दिन स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिए पनि भोलिपल्ट उनीहरू दुबैलाई ज्वरो आएको थियो । कोरोना पुष्टि भएपछि उनीलाई आइसोलेनमा उपचारको लागि अस्पताल भर्ना गरिसकिएको बताइएको छ । सङ्क्रमितमध्ये ५४ वर्षीय वाङ मौमौ डेढ वर्षअगाडि काम गर्न र २६ वर्षीय छन मौमौ पर्यटकको रूपमा पाँच महिनाअगाडि मात्रै नेपाल आएका थिए । आइतबार नै छन्तु पुगेका उनीहरूमा सोमबार गरिएको परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो । स्थानीय सरकारले मङ्गलबारमात्रै उनीहरूको यात्रा विवरणसहितको जानकारी सार्वजनिक गरेको थियो ।
नेपालको पीसीआर परीक्षणको गुणस्तर र रिपार्टमाथि प्रश्न उठाउने ठाउँ भए पनि परीक्षणपछि उनीहरू सङ्क्रमित भएको हुनसक्ने उक्त सञ्चारमाध्यमले जनाएको छ । कारण जे भए पनि नेपालमा कोरोना भाइरसको महामारी डरलाग्दो अवस्थामा रहेको सङ्केत गर्दै चिनियाँ नागरिकहरूलाई सतर्कता अपनाउन उसले सुझाएको छ । चीनले काठमाडौँ उपत्यकाका स्टार, ह्याम्स र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गलको पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने भन्दै नेपालबाट चीन जान चाहनेले तीमध्ये कुनै एकमा परीक्षण गराउन कडाइकासाथ निर्देशन दिएको छ ।
काठमाडाँैस्थित चिनियाँ दूतावासले पनि सोमबार कोरोना भाइरसको महामारी नेपालमा यथावत रहेको उल्लेख गर्दै उसका नागरिकलाई नेपाल सरकारले लागू गरेको निषेधाज्ञाको पूर्णरूपमा पालना गर्दै सचेत र सुरक्षित रहन चिनियाँ भाषामै फेरि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *