भर्खरै :

चिनियाँ जनताको खुसी र मानव जातिको प्रगतिको लागि कडा मिहिनेत

सोङ ताओ
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले भन्नुभएको छ,“चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको भलो र मानव जातिको प्रगतिको लागि काम गरिरहेको छ ।”
एक शताब्दीभरि नदेखिएका ठूलठूला परिवर्तनहरू आज संसारले भोगिरहेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच केही देशहरू भने आफ्नै ढिपीमात्र कस्ने, आफ्नै उद्योग व्यापारमात्र जोगाउन खोज्ने, अरुलाई होच्याउने र राजनीतिकरूपमा अपमान गर्ने काम गरिरहेका छन् । त्यस्तै देशहरूको कारण संसारभर सुशासन, विश्वास, शान्ति र विकासको अभाव भइरहेको छ, जसले अस्थिरता र अन्योल बढाउने कारणहरू मौलाइरहेका छन् । तथापि, हाम्रो आजको समयको मूल जिम्मेवारी शान्ति र विकास नै हुनुपर्छ । आपसी सम्मान र सबैको जीत हुने सहकार्य नै अहिलेको अपरिहार्य कार्यशैली हो ।
इतिहासको सही ठाउँमा उभिएको चिनियाँ कम्युनिस्ट पार्टी आज चिनियाँ जनताको हितको लागिमात्र कटिबद्ध छैन । चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको भलोलाई मात्र जोड दिइरहेको छैन । बरु, शान्ति र साझा विकास प्रबद्र्धनको लागि मानवजातिको साझा भविष्यको लागि साझा समुदाय निर्माण गर्न दत्तचित्त भएर लागिपरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले शीतयुद्धकालीन मानसिकता त्यागिसकेको छ । विश्व शान्ति र विकासको बृहत् सिद्धान्तप्रति चिनियाँ कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेकोले उसले शक्ति राजनीतिको विरोध गर्दछ ।
चिनियाँ कम्युनिस्ट पार्टीः ‘जनता प्रथम’ र ‘जीवन प्रथम’ सिद्धान्तमा प्रतिबद्ध पार्टी
महासचिव सी चिनफिङले चिनियाँ जनताको खुशी खोज्नु, दुःख र सुख आपसमा बाँड्नु र जनतासँग नजिकको सम्बन्ध कायम राख्नु नै पार्टीको मूल भावना र दीर्घकालीन लक्ष्य भएको बताउनुभएको छ । जनवादी गणतन्त्र चीन स्थापना भएको सात दसकभन्दा बढी समय व्यतित भइसकेको छ । यो अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई तीब्र आर्थिक विकास र दिगो सामाजिक स्थायित्वतर्फ नेतृत्व ग¥यो । त्यसैकारण चीनमा संसारमै दुर्लभ चमत्कार सम्भव भयो । चिनियाँ जनतामा सन्तोष, खुशी र सुरक्षाको भावना लगातार बढिरहेको छ । सन् २०२० को वर्ष चीनको लागि ऐतिहासिक वर्षमा गनिनेछ किनभने यो वर्ष चीनलाई हरेक हिसाबले मध्यम ढङ्गले समृद्ध समाज बनाउने काम पूर्ण हुनेछ । कमरेड सी चिनफिङको मूल नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सशक्त नेतृत्वअन्तर्गत चीनले गरिबीमाथिको युद्धमा यो वर्ष सफलता प्राप्त गर्दैछ । हजारौँ हजार वर्षदेखि चिनियाँ राष्ट्रको अड्चनको रूपमा रहेका सबै निरपेक्ष गरिबी सधैँ सधैँको लागि यो वर्ष उन्मूलन हुनेछ । गरिबी निवारणमा चीनले हासिल गरेका उपलब्धिलाई संसारभरका राजनीतिक दलका विशिष्ट व्यक्तित्वहरूले ‘मानव विकासको इतिहासमा चमत्कार’ को संज्ञा दिएका छन् ।
हालै कोभिड–१९ को महामारी रोकथाम र नियन्त्रणको लागि चीनले गरेका कामले जनतालाई नै अग्रस्थानमा राख्ने चिनियाँ कम्युनिस्ट पार्टीको शासन सिद्धान्त र जनताको सेवामा दिलोज्यानले लाग्ने मूलभावनाबारे धेरै कुरा प्रस्ट भएको छ । सङ्कटको समयमा कुनै पनि राजनीतिक पार्टी र राजनीतिक शक्तिको प्रकृति र विशेषताको मूल्याङ्कन टड्कारो विषयवस्तुलाई उसले दिने प्राथमिकतामा निर्भर हुने गर्छ । अचानक फैलिएको महामारीको प्रतिरोध गर्न महासचिव सी चिनफिङ स्वयम् रोकथाम र नियन्त्रणका योजना बनाउने र कार्यान्वयन गर्नेमा सक्रिय हुनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले धेरै अघिदेखि नै जनताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्ने ‘जनता प्रथम’ र ‘जीवन प्रथम’ को सिद्धान्तलाई अङ्गीकार गर्दै आएको छ । महामारीको बेला हरेक र सबै बिरामीको उपचार र जीवन रक्षाको लागि उपलब्ध सबै स्रोत साधनको पूर्णरूपमा परिचालन गरियो । ३ करोड ९० लाखभन्दा बढी चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरू प्रतिरोधको अग्रमोर्चामा अथकरूपमा लडे । देशका विभिन्न भागबाट हुपेई प्रान्तमा सहायताका लागि गएका ४० हजारभन्दा बढी स्वास्थ्यकर्मीहरूमध्ये ५६.१ प्रतिशत पार्टीका सदस्यहरू थिए । जनताको स्वास्थ्य र सुरक्षाको लागि लड्दा लड्दै झण्डै ४ सय जना पार्टी सदस्यले आफ्नो ज्यान बलिदान गरे । विभिन्न देशका राजनीतिक दल र नेताहरूका शब्दमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा कोभिड–१९ विरुद्ध चिनियाँ प्रतिरोधबाट जनताप्रति चिनियाँ कम्युनिस्ट पार्टीको अगाढ भावना र मानवतावादी विचार उजागर भएको छ ।
इतिहास र आजको वास्तविकताले पनि पटक–पटक चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनतासँग हरेक दुःख सुखमा साथमा रहेको र आपसमा निकटको सम्बन्ध कायम राखेको देखाएको छ । यसको मूल्याङ्कन गर्ने सबभन्दा आधिकारिक ठाउँमा चिनियाँ जनता छन् । जनसम्पर्कबारे अध्ययन गर्ने संरा अमेरिकाको एउटा प्रतिष्ठित संस्थाले जनविश्वाससम्बन्धी पछिल्लो समय सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार चीन सरकारप्रति चिनियाँ जनताको विश्वास ९५ प्रतिशत छ । संसारभर विभिन्न देशमा गरिएको सर्भे नतिजामध्ये चीनप्रति चिनियाँ जनताको विश्वास सबभन्दा माथि देखियो । चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताबीचको सम्बन्ध नङ र मासुजस्तै अन्योन्यास्रित छ । पार्टीको बदनाम गर्ने वा पार्टी र जनताबीच फाटो ल्याउने कुनै पनि प्रयास असफल हुनेछ । जनतालाई पहिलो प्राथमिकतामा राख्ने र जनताको दिलोज्यानले सेवा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीका सबभन्दा विशिष्ट परिचय र महत्वपूर्ण विशेषता हुन् ।
 

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको अगुवाइमा गत अगस्ट ३१ मा भएको बेल्ट एन्ड रोड चिन्तन सहकार्य गोष्ठीमा सहभागी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओलगायत पार्टी पदाधिकारीहरू । गोष्ठीमा विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरू अनलाइनमार्फत सहभागी बनेका थिए । तस्वीरः आइडीसीपीसी


चिनियाँ कम्युनिस्ट पार्टी ः दिगो शान्ति र विश्वव्यापी सुरक्षाको दरिलो रक्षक
महासचिव सी चिनफिङले भन्नुभएको छ, “हामी चिनियाँ कम्युनिस्टहरूलाई शान्ति कति बहुमूल्य छ भन्ने कुरा राम्ररी थाहा छ ।” त्यसकारण हामी शान्ति रक्षाको लागि प्रतिबद्ध छौँ । चिनियाँ कम्युनिस्ट पार्टीको जन्म नै शान्तिको वंशाणुबाट भएको थियो । चिनियाँ सभ्यताको रगतले लामो समयदेखि त्यही शान्तिको वंशाणु बोक्दै आएको छ । त्यही वंशाणुले चिनियाँ राष्ट्रलाई शान्तिपूर्ण विकासको बाटोमा डो¥याएको छ । यही भावनालाई समयान्तरमा चिनियाँ कम्युनिस्ट पार्टीको विधान र जनवादी गणतन्त्र चीनको संविधानमा पनि समावेश गरियो । चिनियाँ कम्युनिस्ट पार्टी कुनै विवाद र भिन्नता संवाद र सरसल्लाहमार्फत समाधान गर्न प्रतिबद्ध छ । कुनै पनि अन्तर्राष्ट्रिय र क्षेत्रीय टड्कारो विषयको राजनीतिक समाधान खोज्न संसारका राजनीतिक दलसँग चिनियाँ कम्युनिस्ट पार्टी बसेर कुराकानी गर्न तत्पर छ । आतङ्कवाद, जनस्वास्थ्य सङ्कट र जलवायु परिवर्तनजस्ता विश्वले सामना गरिरहेका चुनौतीबारे पनि चिनियाँ कम्युनिस्ट पार्टी संवाद गर्न तयार छ । धेरै राजनीतिक पार्टी र नेताहरूले चिनियाँ कम्युनिस्ट पार्टीले सत्तासीन भएयता बितेका सात दसकभन्दा लामो समयावधिमा कहिल्यै पनि कुनै आक्रामक युद्ध नगरेको बरु विश्व शान्तिको लागि चिनियाँ कम्युनिस्ट पार्टी महत्वपूर्ण शक्ति भएको बताउने गरेका छन् ।
संसारमा आज महत्वपूर्ण र जटिल परिवर्तनहरू भइरहेका छन् । अतिवाद, आतङ्कवाद र पृथकतावाद अझै पनि अस्तित्वमा छन् । परम्परागत र अपरम्परागत सुरक्षा चुनौतीहरू एकआपसमा निकै जेलिएका छन् । यी सबै अवस्थाले विश्व शान्ति र सद्भावमा थप जटिल र गम्भीर चुनौतीहरू आइरहेका छन् । यस्तो परिस्थितिमा चिनियाँ कम्युनिस्ट पार्टीले शान्तिपूर्ण विकासको बाटो पछ्याएको छ । पार्टीले द्वन्द्वलाई संवादमा, मित्रतालाई साझेदारीमा बदल्ने अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ बाटो खन्नेछ । चिनियाँ कम्युनिस्ट पार्टीले कहिल्यै प्रभुत्ववाद खोज्नेछैन, विस्तारवादी कार्यमा संलग्न हुनेछैन अथवा आफ्नो प्रभाव क्षेत्र फैलाउने कार्यमा लाग्नेछैन । बरु, चिनियाँ कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, सुरक्षा र स्वाभिमान रक्षाको लागि दृढतापूर्वक उभिन सधैं तयार छ । कुनै पनि बाह्य दबाबसामु हामी झुक्नेछैनौं ।
क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको लागि संसारभरका राजनीतिक दलहरूसँग चिनियाँ कम्युनिस्ट पार्टीले सहकार्य गरिरहेको छ । चीनका छिमेकी देशका राजनीतिक दलहरूलाई सुरक्षाको विषयमा आपसी विश्वास बढाएर र आपसी संवाद र सहकार्य विस्तार गरेर चिनियाँ कम्युनिस्ट पार्टीले दक्षिण चीन सागरमा स्थायित्व ल्याउन मद्दत गरेको छ । अन्तर्राष्ट्रिय समुदायले चिनियाँ कम्युनिस्ट पार्टीको यो कामप्रति खुलेर प्रशंसा गरेको छ । संसारभरका २४० भन्दा बढी राजनीतिक दल र राजनीतिक सङ्गठन, १२० भन्दा बढी देशका २८० प्रतिष्ठित चिन्तक र गैरसरकारी संस्था (एनजीओ) हरू दक्षिण चीन सागरको मुद्दामा चीनको पक्षमा उभिएका छन् । दक्षिण चीन सागरभन्दा बाहिरका केही मुट्ठीभर देशहरूले यो विषयमा तनाव उछाल्न लगातार प्रयास गरे पनि सो क्षेत्रका देशहरू वस्तुस्थितिको विश्लेषण गर्न र सम्हाल्न धैर्यवान र सौम्य छन् । सो क्षेत्रका धेरै राजनीतिक पार्टी र नेताहरूले दक्षिण चीन सागरको विषयमा आफ्नो धारणा चीनसमक्ष प्रस्ट राखेका छन् । उनीहरूले दक्षिण चीन सागरमा समस्या उछाल्न खोजेका केही देशहरूको चालबाजीबाट आफू मूर्ख नहुने बताएका छन् । बद्मास शक्तिहरूले द्वन्द्वको आगो झोसिसकेपछि सो क्षेत्रलाई क्षति पु¥याएर भाग्ने तर त्यसको चोट भने सो क्षेत्रका देश र जनताले भोग्नुपर्नेमा आफू सचेत रहेको उनीहरूले भनेका छन् । मैत्रीपूर्ण सहअस्तित्व र साझा विकासको लागि चिनियाँ कम्युनिस्ट पार्टीले छिमेकी देशहरूका राजनीतिक दलसँग ऐक्यबद्धता र सहकार्य सशक्त बनाउने कार्य जारी राख्नेछ । हामी आपसमा मिलेर क्षेत्रीय शान्ति, स्थायित्व, समृद्धि र विकासको लागि मिलेर काम गर्नेछौँ ।
चिनियाँ कम्युनिस्ट पार्टी ः बलियो जिम्मेवारीबोधसहित न्याय र सत्यको बलियो पहरेदार
महासचिव सी चिनफिङले भन्नुभएको छ, “अन्तर्राष्ट्रिय सम्बन्धमा सबै देशका जनताको मूल उद्देश्य नै न्याय हुने गर्छ ।” समकालीन अन्तर्राष्ट्रिय सम्बन्धमा न्याय र सत्य अझ धेरै परका विषय हुन् । तथापि संसारका राजनीतिक पार्टीहरूले आफ्नो जिम्मेवार भावना छोड्नु हुन्न । हामीहरू अन्तर्राष्ट्रिय सत्य र न्यायको पक्षमा उभिनुपर्छ, बहुपक्षतावादको रक्षा गर्नुपर्छ, खुला विश्व अर्थतन्त्र निर्माण गर्नुपर्छ र अझ सत्य तथा समतामूलक विश्व व्यवस्था स्थापनामा अघि बढ्नुपर्छ । कोभिड–१९ विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न र महामारीसँग लड्न बाँकी संसारलाई सहायता दिन चिनियाँ कम्युनिस्ट पार्टीले गरेका कामको धेरै देशका राजनीतिक पार्टीहरूले खुलेर प्रशंसा गरेका छन् । चीनले यसरी सहायताको हात बढाउँदै गर्दा केही देशहरू भने अरुलाई बलीको बोका बनाउने र मनपरी नाकाबन्दीको नीतिमा अल्झिरहेका थिए । कसले असल काम गरिरहेको छ र कसले खराब भन्ने कुरा बुझ्न निकै सहज छ । चिनियाँ कम्युनिस्ट पार्टीसहित संसारका ११० भन्दा बढी देशका २४० भन्दा बढी प्रमुख राजनीतिक पार्टी र अन्तर्राष्ट्रिय राजनीतिक दलहरूका सङ्गठनहरूले जनस्वास्थ्यको विषयमा राजनीतिकरणको विरोधमा संयुक्त खुला पत्र जारी गरेका थिए । सो पत्रले महामारीविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य बिस्तार गर्न र सबैको लागि स्वास्थ्य सेवा प्राप्त हुने विश्व समुदाय बनाउन गहन राजनीतिक समझदारीमा पुग्न मद्दत पु¥याएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको आयोजनामा ‘महामारीको सन्दर्भमा विश्वका पार्टीहरूको राजनीति र पार्टी कूटनीतिको अवस्था’ विषयक अनलाइन भिडियो सेमिनारमा विभागअन्तर्गत विश्व राजनीतिक पार्टी प्रतिष्ठानका अधिकारीहरू । तस्वीरः आइडीसीपीसी


सत्य र विश्वासनीयतालाई महत्व दिने चिनियाँ परम्परा पछ्याउँदै चिनियाँ कम्युनिस्ट पार्टीले न्यायको पक्षमा उभिने सिद्धान्त अङ्गाल्नुका साथै अन्तर्राष्ट्रिय सहकार्यमा साझा हितको खोजी ग¥यो । न्यायको पक्षमा उभिँदा हामी कुनै पनि शक्तिसामु झुकेनौँ । न त त्यसबाट हामीले आफ्नो लागि कुनै फाइदा नै उठायौँ । हामीले हाम्रा जिम्मेवारी पूरा ग¥यौँ र त्यहीअनुसारको भूमिका खेल्यौँ । चिनियाँ कम्युनिस्ट पार्टीले कुनै देश जतिसुकै ठूलो वा सानो भए पनि सबै समान भएकोमा स्पष्ट अडान राख्दै आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले कुनै पनि प्रकारका प्रभुत्ववाद र अपमानको दृढतापूर्वक विरोध गर्दै बहुपक्षतावादको रक्षा र विस्तार गर्दै आएको छ । साथै चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय सम्बन्धमा बहुधु्रवीयता र बृहत् प्रजातन्त्रको पक्षमा छ । हाम्रो अडान र कामलाई संसारभरका राजनीतिक पार्टीहरूले उत्साहपूर्वक समर्थन गर्दै आएका छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा चिनियाँ कम्युनिस्ट पार्टीले असल विश्वास र इमानदारितालाई उच्च मूल्य दिँदै आएको छ । त्यसकारण, चिनियाँ कम्युनिस्ट पार्टीका धेरै असल र साँचो मित्र छन् । चीनमा कोभिड–१९ महामारी उचाईमा पुगेको बेला विभिन्न देशका राजनीतिक पार्टी र विभिन्न क्षेत्रका व्यक्तिहरूले सहयोगी हात बढाएका थिए । चीनभित्रै महामारी रोकथाम र नियन्त्रणमा प्रगति सुनिश्चित भएपछि चिनियाँ कम्युनिस्ट पार्टीले संसारभरका दुई सय राजनीतिक पार्टी र सङ्गठनलाई हाम्रो क्षमताले भ्याएसम्मको सहायता दिएर सङ्कटको बेला हामीप्रति देखाएको सद्भावप्रति आभार व्यक्त ग¥यो । आपसमा मिलेर हामीले कठिनाइमाथि विजय हासिल गर्न संसारका राजनीतिक पार्टीहरूबीच ऐक्यबद्धता र आपसी समर्थनको राम्रो दृष्तान्त प्रस्तुत गरेका छौँ । जे वाचा गरिएको हो, त्यो पूरा गरेरै छोड्नुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा यो हाम्रो पार्टीको एउटा असल परम्परा र चिनियाँ विशेषतासहितको कूटनीतिको विशिष्टता पनि हो । धेरै विकासशील देशका नेताहरू विभिन्न देशहरूले गर्ने सहायताको वाचा ओठे प्रतिबद्धतामा मात्र सीमित हुने गरेको गुनासो गर्छन् । अथवा त्यस्ता सहायता पछाडि खराब राजनीतिक स्वार्थ निहीत हुने गरेका छन् । तर, चिनियाँ कम्युनिस्ट पार्टीको सन्दर्भमा यस्तो कदापि हुने गर्दैन । अरु विकासशील देशहरूलाई सहायताको वचन दिएपछि चिनियाँ कम्युनिस्ट पार्टीले कुनै पनि माध्यमबाट त्यो वचन पूरा गर्ने गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीः आपसी हित र साझा विकासको प्रतिवद्ध प्रबद्र्धक
महासचिव सी चिनफिङले जोड दिनुभएको छ, “चिनियाँ जनताको अथक प्रयासले नै चीन आजको अवस्थामा पुगेको हो ।” चिनियाँ जनतालाई एकगठ बनाएर यो विशेष यात्रामा नेतृत्व गर्ने क्रममा हाम्रो पार्टीले आत्मनिर्भरता र कडा मिहिनेत, आफ्नो जिम्मेवारी पूरा गर्ने बलियो कटिबद्धता र ‘भित्ता छामेर अडेस लगाउने’ सजग भावनाको असल परम्परामा विश्वास ग¥यो । यसैबीच चीनको आन्तरिक विकासमा समन्वय गर्दै बाहिरी विश्वको लागि चिनियाँ ढोका खुला गर्ने, संसारको विकासलाई चीनको विकाससँग एकाकार गर्ने र चिनियाँ जनता एवम् संसारका अन्य देशका जनताको साझा हितलाई जोड दिंदै हाम्रो पार्टीले विश्व अर्थतन्त्र र विश्वव्यापी विकासमा महत्वपूर्ण योगदान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनता र संसारभरका जनताको हितको लागि काम गरिरहेको कुरा संसारका राजनीतिक पार्टीहरूबीच स्थापित छ । सुधार र खुलापन नीतिले चीनको परिस्थितिमा परिवर्तन निम्त्यायो । त्यो नीतिले क्षेत्रीय र वास्तवमा संसारको विकासमा टेवा पु¥यायो । यो नीतिले आज समग्र मानव जातिको कल्याण गरिरहेको छ ।
सबैको हित हुने सहकार्यमा आधारित खुलापनको रणनीतिप्रति प्रतिबद्ध चिनियाँ कम्युनिस्ट पार्टीले खुला विश्व अर्थतन्त्रको लागि सक्रियतापूर्वक काम गरिरहेको छ । आजको विश्वले सामना गरिरहेको सबभन्दा ठूलो असन्तुलनकै हिस्साको रूपमा रहेको असन्तुलित विकास समाधान गर्न चिनियाँ कम्युनिस्ट पार्टीले बृहत् सरसल्लाह, साझा योगदान र साझा लाभमा आधारित बेल्ट एन्ड रोड सहकार्यको पहल र प्रवद्र्धन ग¥यो । यो परियोजना आज सबै देशलाई आपसी हित र साझा विकासको महत्वपूर्ण दबु बनेको छ । सबै सम्बन्धित पक्षको होस्टे हैँसेले बेल्ट एन्ड रोड परियोजना आज ऐक्यबद्धतामार्फत चुनौतीहरूको सामना गर्ने सहकार्यको एउटा ढाँचा बनेको छ । बेल्ट एन्ड रोड परियोजना आज जनताको स्वास्थ्य रक्षा र भलाइ गर्ने विश्वव्यापी कार्यक्रम बनेको छ । यो परियोजना आर्थिक र सामाजिक गतिविधि पुनःस्थापना र विकासको सम्भावना खोल्ने आर्थिक वृद्धिको साझा सञ्जाल बनेको छ । धेरै देशका राजनीतिक नेतृत्व र आम सर्वसाधारणले बेल्ट एन्ड रोड परियोजनाको उच्च प्रशंसा गरेका छन् । बेल्ट एन्ड रोड परियोजनाबारे केही राजनीतिक नेताहरूले ‘प्रभावको परिधि बढाउने’ वा ‘ऋणको जालो थोपर्ने कूटनीति’ भनी चित्रण गर्ने प्रयास गरे । तर, संसारका धेरै राजनीतिक नेतृत्व र सर्वसाधारणले बेल्ट एन्ड रोड परियोजनाबारे यस्तो चित्रणलाई खारेज गरेका छन् । बरु, यो परियोजना साझा समृद्धितिर सबैलाई डो¥याउने पारदर्शी बृहत् परियोजना भएको र यसले संसारभरका जनताको साझा भलाइ गर्ने बताएका छन् । यो परियोजनाले ‘एक्काइसौँ शताब्दीको सबभन्दा ठूलो विकास परियोजना’ को रूपमा ख्याति कमाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको आयोजनामा गत वर्षको नोभेम्बर ८ मा चीनको राजधानी पेइचिङमा आयोजित समारोहमा सहभागी विभिन्न देशका प्रतिनिधिहरू । तस्वीर ः आइडीसीपीसी


सधैँभरि माछा भाग लगाउनुभन्दा माछा मार्न सिकाउनु बुद्धिमानी हो । विकासको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीले मानव समाजको विकासक्रमको नियम खोज्न आफ्नै अनुभवलाई आधार बनाउनुका साथै आफूले सिकेका कुरा अरू देशसँग आदानप्रदानलाई पनि विशेष जोड दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी चीनमा आफूले शासन गर्दा बटुलेको अनुभव अरू देशका राजनीतिक दलसँग साट्न प्रतिबद्ध छ । अठारौँ महाधिवेशनयता चिनियाँ कम्युनिस्ट पार्टीले विभिन्न देशका राजनीतिक दलका दसौं हजार प्रतिनिधिहरूलाई चीन भ्रमणमा आमन्त्रण गरिसकेको छ । त्यस्ता भ्रमणमा संसारभरका राजनीतिक पार्टीहरूसँग विभिन्न माध्यमबाट आपसमा छलफल र अनुभव आदानप्रदान गर्ने गरेको छ । समुदायस्तरमा पार्टी सङ्गठन विस्तार, भ्रष्टाचारको विरोध, गरिबी निवारण, पर्यावरणीय संरक्षण, आर्थिक विकास र जनजीवनमा सुधारजस्ता विषयमा राजनीतिक दलहरूबीच गहिराइमा छलफल र अनुभव आदानप्रदान हुने गरेको छ । धेरै देशका राजनीतिक पार्टी र नेताहरूले त्यस्ता भ्रमणको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले संसारसँग आर्थिक विकासका अनुभवमात्र साट्ने गरेको छैन बरु बिना कुनै सन्देह विचार र सिद्धान्तबारे पनि छलफल गर्ने गरेको बताएका छन् । यसले विशेषतः विकासशील देशहरूलाई आफ्नो देशको परिस्थितिअनुकूल विकासको बाटोको खोजी गर्न मद्दत पु¥याएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीः सभ्यताहरूबीच खुलापन, समावेशिता र आपसी सिकाइको पक्षधर
महासचिव सी चिनफिङले भन्नुभएको छ, “कुनै पनि दुई राजनीतिक प्रणाली पूर्णतः एउटै हुनसक्दैन र कुनै पनि राजनीतिक प्रणालीलाई सामाजिक र राजनीतिक परिस्थितिको लेखाजोखा नगरी अमूर्त ढङ्गले मूल्याङ्कन गर्न सकिन्न ।” चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्था चीनको इतिहास र चिनियाँ जनताको छनौट हो । स्थापनाकालदेखि हाम्रो पार्टीले प्रस्टरूपमा एउटा माक्र्सवादी राजनीतिक पार्टीको भूमिका खेल्दै आएको छ । माक्र्सवाद नै चिनियाँ विशेषतासहितको समाजवादको बाटो, सिद्धान्त, प्रणाली र संस्कृतिप्रति हाम्रो पूर्ण आत्मविश्वासको वैज्ञानिक जग र आधार हो । हामी हाम्रो बाटोप्रति प्रतिबद्ध छौँ । हामी कुनै पनि देशको राजनीतिक प्रणाली ‘आयात’ गर्न चाहँदैनौं न त हामी चिनियाँ राजनीतिक प्रणाली नै अरू देशमा ‘निर्यात’ गर्न चाहन्छौँ । चिनियाँ अभ्यास जस्ताका तस्तै पछ्याउन कुनै पनि देशलाई हामीले भन्ने सम्भावनाबाहिरको कुरा हो । अन्तर्राष्ट्रिय व्यवहार गर्दा सिद्धान्तमा कुनै लक्ष्मणरेखा नकोर्ने हाम्रो अभ्यासप्रति संसारभरका राजनीतिक पार्टीहरूबाट व्यापक समर्थन पाएको छ ।
धेरै देशका राजनीतिक पार्टीका नेताहरूले मानव जातिको उत्तम भविष्यको लागि सभ्यता, संस्कृति र सामाजिक प्रणालीबीच सद्भावपूर्ण सहअस्तित्व, आपसी सम्बन्ध र एकअर्काबाट सिक्नुपर्ने अभिमत व्यक्त गरेका छन् । देशहरूबीचको विवादलाई सभ्यता र प्रणालीहरूबीचको भेदमा पु¥याउने, ‘विचार मिल्ने’ हरू एक ठाउँमा उभिएर फरक विचारलाई टाढा पठाउने, आपसी भिन्नताको दुरूपयोग गर्नु र बलियोले कमजोरलाई हेलाहोचो गर्ने छुट दिनुले विद्यमान अन्तर्राष्ट्रिय बन्दोबस्तलाई गम्भीर क्षति पु¥याउनेछ । अझ यसले भिन्न सभ्यतालाई प्रतिकूलता र द्वन्द्वमा समेत धकेल्ने जोखिम हुन्छ ।

सधैँभरि माछा भाग लगाउनुभन्दा माछा मार्न सिकाउनु बुद्धिमानी हो । विकासको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीले मानव समाजको विकासक्रमको नियम खोज्न आफ्नै अनुभवलाई आधार बनाउनुका साथै आफूले सिकेका कुरा अरू देशसँग आदानप्रदानलाई पनि विशेष जोड दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी चीनमा आफूले शासन गर्दा बटुलेको अनुभव अरू देशका राजनीतिक दलसँग साट्न प्रतिबद्ध छ । अठारौँ महाधिवेशनयता चिनियाँ कम्युनिस्ट पार्टीले विभिन्न देशका राजनीतिक दलका दसौं हजार प्रतिनिधिहरूलाई चीन भ्रमणमा आमन्त्रण गरिसकेको छ । त्यस्ता भ्रमणमा संसारभरका राजनीतिक पार्टीहरूसँग विभिन्न माध्यमबाट आपसमा छलफल र अनुभव आदानप्रदान गर्ने गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ खुला दिमाग र बृहत् सोचका साथ भिन्न संस्कृतिका उपलब्धिलाई पनि स्वीकार्दै र तिनबाट सिक्दै आएको छ । हामीले सांस्कृतिक असमझदारी, द्वन्द्व र आफूलाई अब्बल ठान्ने बुझाइलाई आपसी सम्बन्ध, सिकाइ र सहअस्तित्वको भावनाले जित्नु महत्वपूर्ण छ । पछिल्ला वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले आपसी मतभेदलाई थाँती राखेर साझा बुझाइ फराकिलो बनाउने र आपसी सम्मान तथा सिकाइ प्रवद्र्धन गर्ने पार्टी–पार्टीबीच नयाँ प्रकारको सम्बन्ध विकासका उपायको सक्रियतापूर्वक खोजी गरेको छ । हामीले १६८ देश र क्षेत्रका झन्डै ६ सय राजनीतिक पार्टी र सङ्गठनसँग निकटको सम्बन्ध कायम राखेका छौँ । हामीले पार्टी–पार्टीमा आपसी सम्बन्ध र सहकार्यको लागि विभिन्न प्रकार र तहका अन्र्ताष्ट्रिय सञ्जालको विकास गरेका छौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अगुवाइमा विश्वका राजनीतिक पार्टीहरूबीच उच्चस्तरको बैठकको सफलतापूर्वक आयोजना भयो । सो कार्यक्रमको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा ग¥यो । सो कार्यक्रमले हाम्रो पार्टीको बृहत् राजनीतिक समावेशिता र नैतिक उचाइ प्रदर्शन गरेको छ । विश्वको राजनीतिक सभ्यताको विकासमा त्यसले महत्वपूर्ण योगदान गरेको छ ।
महासचिव सी चिनफिङले जोड दिनुभएको छ, “चिनियाँ कम्युनिस्ट पार्टी संसारकै सबभन्दा ठूलो राजनीतिक पार्टी हो । त्यसैले हामीले आफ्नो यो परिचयअनुसारको व्यवहार गर्नुपर्छ ।” स्थापनाको शतवार्षिकी मनाउने तयारीमा रहेको एउटा प्रमुख राजनीतिक दल चिनियाँ कम्युनिस्ट पार्टीले ‘नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारा’ लाई आफ्नो दिशानिर्देशकको रूपमा अङ्गीकार गरेको छ । चिनियाँ राष्ट्रलाई पुनःजागरण गर्ने महत्वपूर्ण रणनीतिक कार्यभारका साथै एक शताब्दीमा एक पटक संसारमा हुने परिवर्तनलाई विचार गरेर चिनियाँ कम्युनिस्ट पार्टीले विश्व शान्ति, अमनचयन, मानव जातिको साझा विकास र सभ्यताहरूबीच आपसी आदानप्रदान र सिकाइमा सधैँ महत्वपूर्ण योगदान गर्नेछ । संसारभरका राजनीतिक पार्टीहरूसँग सहकार्य गरी चिनियाँ कम्युनिस्ट पार्टी मानव जातिको साझा भविष्यको समुदाय र समग्र विश्वको लागि उत्तम भविष्य बनाउन अथाह ऊर्जा जम्मा गर्न लागिपरेको छ ।
(लेखक चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागमा प्रमुख हुनुहुन्छ ।)
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *