भर्खरै :

साङ्केतिक भाषाको हाउभाउ देखिएन

सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रत्येक दिन समय–समयमा कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी जानकारी पत्रकार सम्मेलनमार्फत दिइरहेका छन् । यसले नेपालमा कहाँ कति सङ्क्रमणबाट पीडित छन् र सङ्क्रमणको कारण कतिको ज्यान गइरहेको छ भन्नेबारे आजको आजै थाहा पाउने अवसर मिलेको छ । प्रवक्ता गौतमले सङ्क्रमितको तथ्याङ्कमात्र होइन अन्य सूचना तथा सङ्क्रमणबाट बच्ने उपाय र सतर्कताबारे जानकारी दिइरहेका छन् । कोरोना सङ्क्रमितको स्थितिबारे जानकारी दिनु र त्यसबारे सतर्कता अपनाउनु सकारात्मक कदम हो । त्यसबारे बहिराहरूलाई पनि जानकारी दिने उद्देश्यले साङ्केतिक भाषा जान्ने व्यक्तिको व्यवस्था गर्नु पनि राम्रै हो । यो स्वागतयोग्य कदम हो ।
प्रवक्ता गौतमले कोरोना पीडितहरूको स्थितिबारे जानकारी दिइरहँदा साङ्केतिक भाषामार्फत जानकारी दिने व्यक्तिको हाउभाउ देखिँदैन । बायाँ हातमात्रै बल्ल देखिन्छ । उनको साङ्केतिक भाषाको हाउभाउ देखिँदैन भने बहिराहरूले कोरोना भाइरससम्बन्धी सूचना कसरी थाहा पाउँछन् ? यो समस्या दोहोरिरहेको एक दुई दिन एक दुई पटकमात्र होइन हप्तौँ भइसकेको छ । तर पनि सुधारिएको देखिँदैन । विशेषगरी साङ्केतिक भाषाको हाउभाउ नदेख्ने समस्या एभिन्युज च्यानलमा हो । अरु च्यानलमा सबै देख्ने तर एभिन्युज च्यानलमा मात्र किन यो समस्या भयो ? कुनै प्राविधिक कमीको कारण भएको हो या जानीजानी ¤
प्रवक्ता गौतमले कोरोना भाइरसबारे जानकारी दिइरहँदा साङ्केतिक भाषामार्फत सूचना प्रवाह गर्ने व्यक्तिको टाउको र हाउभाउ देखिँदैन । हाउभाउ नै देखिँदैन भने निज व्यक्ति रहनु र नरहनुमा के फरक रह्यो ? यसबारे कार्यक्रम सञ्चालक र प्रवक्ता गौतमले पनि थाहा पाउनुपर्ने हुन् । प्रवक्ता गौतम र साङ्केतिक भाषाको जनाउ दिने व्यक्तिको दुरी बढी भएकोले पनि समस्या देखिएको हो कि ¤ सामाजिक दुरी २ मिटर कायम गर्ने नाउँमा व्यक्ति नै नदेख्ने गरी या हाउभाउ नै नदेख्ने गरी राखेर कसरी सूचना प्रवाह हुन्छ ? यसलाई कार्यक्रम सञ्चालकले सुधार्नुपर्छ । प्राविधिक कमजोरी सुधारेर पछिल्ला दिनदेखि त्यो समस्या नदोहोरियोस् । सबैले सबै सूचना पाउने बाटो खोलोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *