भर्खरै :

कोभिड–१९ बारे अनलाइन छलफल

भक्तपुर, २५ भदौ । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा ‘कोभिड–१९ रोकथामको लागि हाम्रो भूमिका’ विषयमा बुधबार अनलाइन छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संरा अमेरिकाको समुद्री टापुमा देखापरेको ‘कोरोना भाइरस’ ट्रम्प प्रशासनले रूघाखोकी भनी बेवास्ता गरेको र अमेरिकी सैनिकहरू चीनको उहानमा भएको खेलकुद कार्यक्रममा भाग लिन जाँदा सङ्क्रमण फैलिएको बताउनुभयो ।
चिनियाँ सरकारले गत डिसेम्बरमा उहानमा कोभिड–१९ देखापर्नेबित्तिकै विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराई नियन्त्रणको लागि चीन सरकारले तत्काल थालेको प्रयास सकारात्मक कदम रहेको सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले ‘चिनिया भाइरस’ र ‘उहान भाइरस’ भनी संरा अमेरिकाले चीनलाई होच्याउनु निन्दनीय भएको भन्दै संरा अमेरिकाले कोभिड–१९ को रोकथाममा हेलचेक्र्याइँ गर्दा अमेरिकामा रोग सङ्क्रमण भयावह भएको तर्क गर्नुभयो । “भारतले पनि कोभिड–१९ नियन्त्रणको पहल नगरी रेल सेवा सञ्चालन गर्दा दैनिक लाखौँ जनता सङ्क्रमित भइरहेको छ”, उहाँले भन्नुभयो ।
भारतसँगको खुला सिमानाकै कारण नेपालमा सङ्क्रमण बढ्दो स्थितिमा रहेकोले सरकारले तत्काल सीमा बन्द गरी औद्योगिक क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई सिमानामा खटाउनुपर्नेमा सचिव सुवालले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले रोग नियन्त्रणका लागि सबै नागरिकमा अनुशासन आवश्यक रहेको बताउनुभयो ।
“निषेधाज्ञा खुकुलो गर्ने नाउँमा यातायात र व्यवसाय सञ्चालन गर्न दिँदा झन् समस्या आउने भएकोले जनता सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले जनता आफै सचेत र अनुशासित भएमात्र कोभिड–१९ नियन्त्रण गर्न सकिने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल चिकित्सक समाजका अध्यक्ष डा. रत्नसुन्दर लासिवा, नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवा, नेमकिपा भक्तपुर जिल्ला समितिका नारायणबहादुर दुवाल, सूर्यराम श्रेष्ठ र पाण्डव सुवालले कोरोना नियन्त्रणका लागि पार्टी कार्यकर्ताले समाजलाई सचेत पार्नुपर्ने बताउनुभयो । कार्यक्रममा कोरोना सङ्क्रमित भई निको भइसकेका छोरीमैया सुजखु र सुनिता खुसुले आ–आफ्नो अनुभव सुनाउनभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *