भर्खरै :

उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्न जिप्रका काठमाडौंमा ज्ञापन

काठमाडौं, २६ भदौ । राजधानी काठमाडौमा नोबेल कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दो छ । सरकारले भने महामारी नियन्त्रण गर्नतिर भन्दा उद्योगपत्ति र व्यापारीहरूको दबाबमा जारी निषेधाज्ञा खुकुलो बनाउने नीति लिएको छ । यस अवस्थामा महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्ला समितिले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा शुक्रबार काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरू सबैमा कडाइ गर्न ज्ञापनपत्र बुझाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाललाई बुझाइएको पत्रमा काठमाडौ“ उपत्यकामा भाइरस फैलिरहेको र काठमाडौं जिल्लामा सबैभन्दा धेरै मानिसमा संक्रमण देखिएकोले काठमाडौं जिल्लामा एक महानगरसहित ११ वटा नगरपलिकामा कोभिड– १९ को रोकथामको औषधी उपलब्ध नभएसम्म सावधानी अपनाउनु पर्ने उल्लेख छ । सरकारले नेपाल–भारत खुला सीमा बन्द गराउन र देशका औद्योगिक क्षेत्रहरुमा राखिएका सशस्त्र प्रहरीलाई नेपाल–भारत खुला सीमामा राख्न लगाउन जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । सङ्क्रमण दर बढिरहेको अवस्थामा निषेधाज्ञा खुकुलो पारिए संक्रमण भयावह हुने भएकोले जिल्लाको नाकाहरूमा जिल्ला बाहिरका मानिसको प्रवेशमा निगरानी राख्ने व्यवस्थाको लागि आग्रह ज्ञापनपत्रमा गरिएको छ ।
“संक्रमण समुदायस्तरमा फैलिनु अघि नै जिल्लाका सबै नगरको प्रत्येक वडामा पिसिआर परीक्षण गराई तथ्याङ्क सार्वजनिक गर्नु जरुरी छ । हालसम्म यो काठमाडौं जिल्लामा सङ्क्रमितको संख्या ८,१०६ जना र मृत्युको संख्या ३६ जनाभन्दा बढी नाघेको छ । संक्रमितको संख्या बढ्न नदिन काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकामा कडा निगरानीको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गर्नु आवश्यक छ उल्लेख गरेको छ”, पत्रमा उल्लेख छ ।
पत्र बुझाउन नेमकिपा काठमाडौंं जिल्लाका अध्यक्ष नारायण महर्जन, जिल्ला सचिव राजवीर डंगोल, सदस्य कुलनारायण डंगोल,महानगर समितिका सुरेन्द्र महर्जन र सानुकाजी महर्जनलगायत जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।
त्यसैगरी आवतजावत बन्द गरी कारोना संक्रमित हुनबाट बचाउनु स्थानीय सरकारको दायित्व भएकोमा जोड दिंदै नेमकिपा काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकामा र तारकेश्वर नगरपालिकामा पनि ज्ञापनपत्र प्रदान गरेको थियो ।
महानगरमा समितिका अध्यक्ष सुरेन्द्र महर्जनले महनगरका मीना थापालाई र तारकेश्वर नपामा समितिका अध्यक्ष श्यामकुमार महर्जनले उपमेयर भवानी डौटेललाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *