भर्खरै :

खोकना खुडोलमा जनताले फाले निर्माण सामग्री

ललिपुर, २७ भदौ । जनसरोकार समिति खोकना–बुङ्गमतीको आयोजनामा खोकना–खुडोल क्षेत्रमा सरकारले जबरजस्ती बाग्मती नदीमा पुल निर्माण कार्य गरिरहेको विरोधमा निर्माणस्थलमै पुगेर स्थानीयवासीले शनिबार विरोध कार्यक्रम गरे ।
द्रुतमार्गअन्तर्गतको कार्यहरू खोकनावासीसँग सहमतिमा मात्र गर्ने भनी जिल्ला प्रशासन कार्यालय तथा नेपाली सेनाको बन्दोबस्ती महाशाखाका प्रमुख सेनानी विदुर अधिकारी क्षेत्रीले गत फागुन २१ गते ललितपुर महानगरपालिकामा सहमति गरेका थिए । तर, काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेको समयमा उक्त सहमतिविपरीत बाग्मती नदीमा पुल बनाउने कार्य सुरु भइरहेको छ ।
यसको विरोधमा खोकना–बुङ्गमती जनसरोकार समितिका पदाधिकारीहरू भदौ २३ गतेदेखि सङ्घर्षरत छन् । स्थानीयको विरोधका कारण दिउँसो काम बन्द भएपनि राती–राती काम भइरहेकोले शनिबार निर्माणस्थलमै पुगेर स्थानीयले विरोध कार्यक्रम गरेका छन् ।
विरोध कार्यक्रममा जनसरोकार समिति खोकनाका संयोजक नेपाल डंगोलले निषेधाज्ञाको समयमा निर्माण कार्य गरेर जनतालाई धोका दिएको बताउनुहुँदै सरकारको कदमप्रति आपत्ति जनाउनुभयो ।
जग्गावाला र जनताको स्वीकृतिविना जनताको जग्गामा निर्माण कार्य गर्ने अधिकार नेपाली सेनालाई नभएको उहाँले स्पष्ट पार्नुभयो ।
जनसरोकार समिति बुङ्गमतीका संयोजक अष्टबहादुर महर्जनले विकासको नाममा खोकना–बुङ्गमतीका जनतालाई विस्थापित गर्ने सरकारी षड्यन्त्र कुनै हालतमा सफल नहुने बताउनुभयो ।
ललितपुर महानगरपालिका वडा नं. २१ का वडा सदस्य ज्ञानभक्त महर्जनले खोकना–बुङ्गमतीका जनताको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्नुहुँदै आन्दोलनमा सधैँ साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा अशोक महर्जन, मनहेरा श्रेष्ठ, कृष्णभक्त डंगोल, पशुपति तुलाधर, दुर्गाराम महर्जन र नरेश महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *