भर्खरै :

चिकित्सा सेवाको आँखीझ्यालबाट नेपाल र क्युवा

 क्युवा र नेपाल
उत्तर अमेरिकामा मेक्सिकोको खाडी, क्यारीबियन समुद्र र उत्तर एट्लान्टिक महासागरबीच रहेको देश क्युवाको क्षेत्रफल १,१०,८६० वर्ग किलोमिटर र जनसङ्ख्या करिब १ करोड १२ लाख छ । एसियामा भारत र चीनबीच रहेको नेपालको क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर र जनसङ्ख्या करिब २ करोड ८१ लाख छ । क्षेत्रफल र जनसङ्ख्याको आधारमा नेपाल भन्दा सानो देश क्युवामा चिकित्सक सङ्ख्या ९५,४८६ छ । यो नेपालको भन्दा ३.५ गुणाले बढी हो ।
क्युवा ः चिकित्सकहरूको देश ?
क्युवाले आफूसँग भएको चिकित्सा जनशक्तिलाई संसारको हरेक कुनामा त्यहाँको आवश्यकताअनुसार सेवा गरिरहेको छ । सन् १९६० को भूकम्पपछि चिलीमा, सन् १९६३ मा अल्जेरियामा, सन् १९७५ को अङ्गोला युद्धमा, सन् २०१० मा हाइटीमा गएको विनाशकारी भूकम्प, सन् २०१५ मा नेपालमा गएको भूकम्प र सन् २०२० मा कोरोनाको महामारीविरुद्ध लड्न इटलीमा चिकित्सकहरू पठाउन सक्षम र सफल भएकै कारण क्युवा चिकित्सकको देश भनेर चिनिन्छ ।
एउटा सानो देश भएर पनि क्युवा संसारमा आफ्नो चिकित्सा सहायता पठाउन कसरी सफल भयो ? भनी श्रमिक साप्ताहिकको अङ्क २४ र २५ मा प्रकाशित ॅकोभिड-१९ प्रतिरोधमा क्युवालाई चे ग्वेभाराले के सिकाए ?’ लेखमा व्याख्या गरिएको छ ।
क्युवा ः स्वास्थ्य प्रणाली
क्युवाली स्वास्थ्य नीतिको सबैभन्दा सराहनीय पक्ष भनेको निःशुल्क स्वास्थ्य उपचारलाई मानव अधिकारको रूपमा संविधानमा उल्लेख गरी त्यहीअनुरूप कार्य अघि बढाउनु हो । अस्पताल र स्वास्थ्यचौकीलाई जनताको पहुँचसम्म पुर्‍याउन ग्रामीण भेगमा समेत घरघरमा स्वास्थ्य सेवा विस्तार गर्नसक्नु क्युवाको ठूलो उपलब्धि हो ।
चुनौती र सङ्घर्षका दिन न क्युवाको इतिहासमा कम थिए न हाम्रो देशमा । तर, क्युवाली नेताहरू नेपालका ठूला दलका नेताहरूजस्तै विपत्तिको फाइदा उठाएर आफ्नो निजी सम्पत्ति जोड्नतिर लागेनन् बल्कि देशलाई विपत्तिबाट मुक्त हुन अग्रसर रहे ।
सन् १९८० देखि सन् १९८९ तिर सोभियत रुसको विघटनपछि त्यहाँबाट आफ्नो राज्यले पाइरहेको ५ अर्ब अमेरिकी डलर बराबरको सहयोग स्वतः रोकिएर क्युवाको अर्थतन्त्रमाथिको ठूलो बज्रपात भयो । ज्क्ष्ख्रब्क्ष्म्क् जस्तो प्राणघातक रोग महामारीको रूपमा फैलिंदै गर्दा संयुक्त राज्य अमेरिकाको नाकाबन्दीले औषधि अभावमा परेको क्युवाले आफँै हातपाउ पसारेर तैरिन सिक्यो । आफ्नो राज्यको अर्थतन्त्र र स्वास्थ्य दुवै क्षेत्रलाई सुदृढीकरण गरी सारा संसारलाई विपत्तिमा स्वास्थ्य सहयोग पुर्‍याउन क्युवा सक्षम भयो ।
नेपाल धेरै कुरामा भारतसँग निर्भर रहँदा भारतले बेलामौकामा गर्ने नाकाबन्दीले धेरै असर पारेको छ । यो प्रतिकूल परिस्थितिमा यदि स्वदेशमै शिक्षा, स्वास्थ्य, व्यवसाय उद्योग-कलकारखाना, कृषि इत्यादि विकास र प्रवद्र्धन गर्नतिर लाग्न सके हामी क्युवाकोजस्तै शिर उँचो गरी आत्मनिर्भर रहन सक्छौँ ।
क्युवा, भक्तपुर नगरपालिका र कोभिड-१९
अहिले कोभिड-१९ सङ्क्रमणको चपेटामा सारा विश्व लडिरहेको छ । यो अति शक्तिशाली विषाणुले शरीरमा विभिन्न अङ्ग र प्रणालीहरूमा गएर असर गर्दछ । यस विषाणुले कसरी शरीरभित्र खराबी गराउँछ भन्ने कुरा देश र ठाउँअनुसार भिन्न भिन्न लक्षण र असर गर्ने अङ्गहरूको बयान विश्वभरका अध्ययनबाट आइरहेका छन् । आफ्नो च्ल्ब् को स्वरूपलाई बदल्न सक्ने यो विषाणु कसरी सर्छ भन्ने कुराको विवादित बयान विश्व स्वास्थ्य सङ्गठनले दिइरहेको छ । कहिले हावाबाट बिल्कुल सर्दैन भन्ने यो अजीब खालको विषाणु हालैमात्र विश्व स्वास्थ्य सङ्गठनले हावामा पनि केही घण्टाको लागि जीवित रहने र मानिसमा सर्नसक्ने तथ्यलाई स्वीकारेको छ । यसरी विश्व नै अन्योलमा परेको यो महामारीको बेलामा क्युवाले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ । क्युवाले आफ्नै देशका नागरिकलाई मात्र होइन आफ्नो चिकित्सकीय सहायता अन्तर्राष्ट्रिय क्षेत्रमा गरिरहेको छ । विश्वभरमा सर्जिकल मास्कको अभाव र कालोबजारी भइरहँदा क्युवाले सन् २०२० को सुरुवातमै दूरदर्शिता अपनाएर विद्यालयको युनिफर्म सिलाउने सरकारी कारखानाहरूमा मास्क् उत्पादन गराई आफ्नो देशका सबै नागरिकलाई सुरक्षाको मार्ग अवलम्बन गराउनतिर सोच्न सक्नु नै क्युवाको रोकथाम कदमको पहिचान हो । तर, हाम्रो देशमा मास्क लगायत स्वास्थ्य सामग्रीहरूको कालोबजारी र भ्रष्टाचारमा ठूला दलका नेता तथा मन्त्रीहरू नै फसे । क्युवामा मास्कमात्र नभई स्वास्थ्य सामग्री र पीसीआर परीक्षण पनि अभाव भएन ।
कोरोना सङ्क्रमण व्यक्तिबाट समुदायस्तरमा फैलिन रोक्न पीसीआर परीक्षणको दायरा बढाई मनग्य परीक्षणहरू गर्ने, सङ्क्रमित व्यक्तिलाई क्वारेन्टाइनमा राखी उपचार गर्ने र पटक-पटक पीसीआर परीक्षण गर्ने, सङ्क्रमणको शङ्कास्पद व्यक्ति र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई कन्ट्याक्ट ट्रेसिङमार्फत सम्पर्कमा ल्याएर क्वारेन्टिनमा छुट्टै उपचार गर्ने र परीक्षण गर्ने, ती क्वारेनटाइन र आइसोलेसनमा बसेका बिरामीलाई निःशुल्क खाना र अन्य सबै सेवा सुविधाहरूको जिम्मा सरकारले लिने जस्ता कदम हामीले क्युवाबाट सिकेर नेपालमा लागु गर्नुपर्छ । त्यतिमात्र नभई स्वास्थ्यकर्मीहरूका लागि गुणस्तरीय पीपीई तथा अन्य आवश्यक सुरक्षाका सामग्रीहरूको मनग्य व्यवस्थापन, अस्पताल नीतिमै परिवर्तन गरी स्वास्थ्यकर्मीहरूलाई बिरामी बस्ने ठाउँ नजिकै बस्ने व्यवस्थापन गरी टोली र समूहहरूमा काम गराई घर जानु अगाडि स्वास्थ्य परीक्षण गराई घरमा पनि थप १५ दिन अलग्गै बसी स्वास्थ्य परीक्षण गराइएको छ । यस विषम परिस्थितिमा स्वास्थ्यकर्मीको मनोबल नघटोस् र उनीहरूको काममा चाप परी डिप्रेसनजस्तो मानसिक रोगको सिकार नबनोस् भनी भरमग्दुर प्रयास गरिरहेको छ । यसको लागि काम बाँडफाँड गर्न चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई मनग्य स्वास्थ्य सामग्री र सुरक्षाको बन्दोबस्त गरी जनताको घरघरमा गई स्वास्थ्य स्थितिको अवलोकन तथा तथ्याङ्क सङ्कलन गरेर घरहरूमा वरिष्ठ स्वास्थ्यकर्मीको टोली पुगेर उपचारमा लागेका छन् । जबकि नेपालमा यसको ठीक उल्टो स्वास्थ्यकर्मीहरूलाई धेरैजसो अस्पतालमा मानसिक र शारीरिक तनाव, कामको चाप र सङ्क्रमणको डर तीव्र छ । धेरैजसो स्वास्थ्यकर्मीहरू डिप्रेसनलगायत मानसिक रोगहरूतिर धकेलिएका छन् । आवश्यक सुरक्षा सामग्रीको अभाव छ । बिना पञ्जा, एन ९८ मास्क र पीपीई नै आकस्मिक आईसियु सेवा दिन बाध्य छन् हाम्रा देशका स्वास्थ्यकर्मी । के अब हामीले क्युवाबाट नसिक्ने ?
सन् २०२० मा क्युवाले ७७ भन्दा बढी देशहरूमा ३७ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरू परिचालन गरिसकेको छ । अहिले संयुक्त राज्य अमेरिकाजस्ता पुँजीवादी देश स्वतन्त्रताको बिगुल फुकेर आफ्ना नागरिकलाई स्वास्थ्यसेवा र अन्य जन जीवनका प्रणालीहरू लागू गर्न स्वतन्त्र छन् भनी कोरोनाको बेवास्ता गरेको कारण विश्वमै कोरोनाको चपेटामा पर्ने पहिलो देशको रूपमा स्थापित छ । त्यहाँका अस्पतालहरूमा पीपीई मास्क र पञ्जाजस्ता अति आवश्यक सुरक्षा सामग्रीहरूको अभावको मारले त्यहाँको विकासको मुहार विश्वसामु उजागर भएको छ । तर, क्युवा यो अवस्थामा छैन । उदाहरणलाई लागू गर्न किन पछाडि पर्ने ?
भक्तपुर नगरपालिका सरसफाइ, स्वास्थ्य, शिक्षा, पर्यटन संवद्र्धन तथा विकास, कला र संस्कृतिको जगेर्ना, पुरातात्विक महत्वका सम्पदाहरूको उचित संवद्र्धन, व्यवस्थापन र पुनःनिर्माणलगायतका बहुआयामिक क्षेत्रहरूमा अनवरतरूपमा कार्यरत छ । भक्तपुर नगरपालिका नेपालकै एउटा नमुना स्थानीय सरकारको रूपमा चिनिन्छ ।
केही दशक अगाडिसम्म भक्तपुरलाई अशिक्षित गँवारहरूको ठाउँ, फोहोरमैला, घरघरमा मल बनाई दुर्गन्धले भरिएको ठाउँ, गल्ली-गल्लीमा खुला दिसा-पिसाब गरी टोलटोलमा हैजा, झाडापखाला हुने र बाक्लो घनत्वले गर्दा क्षयरोगको जड मानिन्थ्यो । तर, हाम्रो भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको इमानदार र जनताको सेवा समर्पित नेतृत्व पायो । त्यही सफल नेतृत्वको कारण भक्तपुरको कालो युगको अन्त्य भयो र उदय भयो एउटा समधुर बिहानीको ।
आज हामी भक्तपुरवासीबाटै छानिएका जनप्रतिनिधिको असल नीति निर्माण र जनसेवी भावनाको कारण भक्तपुर सुव्यवस्थित, शिक्षित, सफा र सभ्य नगरको रूपमा चिनिन्छ । पहिलो काम फोहरमैलाको उचित व्यवस्थापनबाट भएको हो । हाम्रो स्वास्थ्य प्रणाली फोहरमैलासँग घनिष्ठ सम्बन्ध राख्दछ । फोहरमैला सङ्कलनको निम्ति फोहोर सङ्कलनका गाडीहरू दैनिकरूपमा गल्ली गल्ली छिरिरहेका छन् । फोहोर फाल्न आफ्नो घरअगाडि बसे पुग्छ हामीलाई ।
केही समयअगाडि मलाई मेरो एकजना साथीले भन्नुभएको कुरा यहाँ म राख्न चाहन्छु । उहाँ कमलविनायकपारि भत्क्यापाटीमा बस्नुहुन्छ । दिनदिनै ॅयो नगर भक्तपुर’ भनी गीत बजाई उहाँकै घरभन्दा करिब २०-२५ घरहरू अगाडिसम्म भक्तपुर नगरपालिकाको फोहोर सङ्कलनको गाडी आइपुग्छ रे । किनकि केही घरहरूपारि चाँगुनारायण नगरपालिकाभित्र पर्ने उहाँको घर । महिनाको रु. २०० तिरेर ठेक्कामा फोहोरमैला सङ्कलन गर्न आउने प्राइभेट गाडी छ नियमानुसार हप्ताको २-३ पटक आउनुपर्ने हो । त्यसैलाई कुरेर बस्दा न भनेअनुसार समयमा आउँछ रे न त हप्ताको ३ पटक नै । पैसा नतिरूँ फोहोर कता लगेर फाल्ने ? तिरूँ यस्तो विजोग । त्यत्तिमात्रै नभई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सन्देशहरू पनि ती फोहोर सङ्कलनका गाडीहरूबाट प्रेषित हुन्छन् । पोहोर साल नगर डेङ्गुको चपेटामा पर्दा सोसम्बन्धी सूचना र यस साल कोरोनाको महामारी नेपालमा नफैलँदै कोरोना रोग, त्यसका लक्षण, रोकथामका उपायजस्ता जनचेतनामूलक सन्देशहरू जनताको घरदैलोमै र कान-कानमा गुन्जिन थालेको थियो ।
त्यस्तै शिक्षा क्षेत्रमा पनि भक्तपुर नगरपालिका पछि परेन । सायदै नेपालमा अर्को कुनै नगरपालिका होला जसले आफ्नै मातहतमा न्यून शुल्कमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने कार्य गरेको होस् । शिक्षण क्षेत्रलाई व्यापारको रूपमा लिने निजी कम्पनीहरू र व्यक्तिहरू सल्बलाइरहँदा नाफाको हिसाबकिताबमा नफसी न्यून शुल्कमा माध्यमिक विद्यालयदेखि स्नातकोत्तरसम्मका गुणस्तरीय शिक्षा दिइरहेको छ ।
म आफैँ पनि यही ख्वपकै उत्पादन हुँ। यहीँबाट मैले उच्च पूर्वाधार तयार नभएको भए आज म चिकित्सक भएर यहाँहरू सामु खडा हुनसक्ने थिइन हुँला । मेरो भाइ र मेरी श्रीमती पनि यहीँ ख्वपको बगैँचाकै कोपिलाहरू हुन् । अहिले मेरो भाइ एक दक्ष कम्प्युटर इन्जिनियर छन् भने मेरी श्रीमती नर्सिङ शिक्षिका अनि स्वास्थ्य परिचालिका ।
हामीले नगरपालिकाको स्वास्थ्य क्षेत्रको अर्को सराहानीय कदमलाई कदापि बिर्सन सक्दैनौँ । जुन क्युवाको घरघर पुगी स्वास्थ्य सेवा दिने नीतिसँग मिल्दोजुल्दो छ । देशभर सरकारी स्वास्थ्य चौकीहरू गाउँ-गाउँमा छन् र त्यहाँ स्वास्थ्यकर्मीको दरबन्दी पनि छ । तर, विभिन्न कारणहरूले गर्दा स्वास्थ्यकर्मीहरू पुगेका छैनन् । नगरपालिकाले जिल्ला अस्पतालको मात्रै भरमा नपरी वि.सं २०३० सालदेखि दुई ठाउँमा स्वास्थ्यचौकीहरूको विकास गरी ओपीडी सेवा सुरु गर्यो । त्यहीँ जनस्वास्थ्य केन्द्रलाई सुदृढीकरण गर्दै २४ घण्टे सेवा विस्तार गरी आकस्मिक
सेवा पनि प्रदान गर्दै आएको छ भने थप एक स्थान व्यासीमा स्वास्थ्य सेवाको विस्तार गरेको छ । आफैँले उत्पादन गरेका नर्सहरूलाई यहीँ रोजगारीको पनि व्यवस्था गर्नसक्नु नगरपालिकाको सबल पक्ष हो । हाम्रो आफ्नै स्थानीय उत्पादनलाई प्रयोग गर्दा स्वास्थ्य सेवा अझै बलियो भएको छ ।
हामीले सामान्य चिकित्सा मात्रै नभई विभिन्न विशेषज्ञहरूद्वारा ओपीडीमा बिरामी जाँच गरिरहेका छौँ । राष्ट्रकै राम्रो मानिने तिलगंगा आँखा अस्पतालको टोलीलाई नगरवासीको आँखासम्बन्धी उपचार भइरहेको छ ।
जसरी क्युवामा स्वास्थ्य टोली गाउँ-गाउँ पुगेर सेवा दिन्छन् त्यसरी नै भक्तपुर नगरका प्रत्येक वडामा सामुदायिक नर्सको दरबन्दी परिचालन गरेर वृद्ध, बालक, असहाय र रोगीको पहिचान गरी आवश्यकताअनुसार स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
धेरैजसो मानिस अफिसमा बसी काम गर्ने हुँदा मांसपेशी, हाडजोर्नीसम्बन्धी विभिन्न समस्या उत्पन्न भइरहेको छ । यसलाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले प्रत्येकजसो वडाका विभिन्न स्थानमा व्यायामको निम्ति उपकरणहरू जडान गरी एक त बाल-बच्चाहरूलाई खेलको एउटा माहोल सृजना गरेको छ भने अर्कोतिर जुनसुकै उमेरका नागरिकहरूलाई समयानुकूल बिहान-बेलुकी शारीरिक व्यायाम अवसर दिई स्वस्थ रहने वातावरण प्रदान गरेको छ ।
अहिले विश्व कोरोनाको महामारीमा परिरहँदा समेत देशका ठूला दलहरूका नेताहरू कोरोना रोकथामका लागि नीति बनाई कार्य गर्नुको साटो आफैँ भ्रष्टाचारमा फस्दै कुर्सी जोगाउँ अभियानमा लागिरहेको स्पष्ट छ । कोही भने कोरोनाको नाममा आफ्नो ढुकुटी भर्ने योजनामा व्यस्त छन् । यस्तो विषम परिस्थितिमा समेत जनप्रतिनिधिहरू भने नगरको विकास, स्वास्थ्य र पुरातात्विक सम्पदाको संरक्षणमा लागिपरेका छन् ।
कोरोनाको मार नेपालमा छिर्दैन भनी प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले अभिव्यक्तिहरू दिइरहँदा फागुन मसान्त र चैतको सुरुवातकै दिनमा भक्तपुर नगरपालिककाका प्रमुख आफैँ जनस्वास्थ्य केन्द्रमा मास्क र स्वास्थ्य सामग्रीहरूको पुग्ने मात्रामा बन्दोबस्त गर्न निर्देशन दिनुभयो । यसबाट जनप्रतिनिधिहरू हाम्रो स्वास्थ्य र आफ्ना स्वास्थ्यकर्मीहरूको सुरक्षालाई लिएर कति चिन्तित हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ । नेपालमा लकडाउन (बन्दाबन्दी) हुनुअगावै कोरोनसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै मास्कको प्रयोग र हात धुनुको महत्वबारे सचेत गर्दै निःशुल्क मास्क वितरण गर्नु सर्‍हानीय छ । घर-घर पुगेर डेरामा रहेका र आयस्रोतको आधार ठप्प रहेका परिवारको तथ्याङ्क सङ्कलन गरी निष्पक्षरूपमा राहतको रूपमा खाद्य सामग्री वितरण गरियो । देशको राजधानीलगायत विभिन्न स्थानमा नातावाद र भेदभाव गरी राहत वितरण भइरहेको बेला भक्तपुर नपाले गरेको राहत वितरण सकारात्मक रह्यो ।
भक्तपुरमा देखिएका कोरोना सङ्क्रमित व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङका निम्ति भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जन स्वास्थ्य सेवा केन्द्रमार्फत समिति बनाई चुस्त रूपमा तथ्याङ्क सङ्कलन गरी ती सम्पर्कमा आएका व्यक्तिहरूको पीसीआरको निम्ति पहल गर्नु, सङ्क्रमित व्यक्तिको इलाकालाई सिल गरी आवत-जावत ठप्प गर्नु, भक्तपुरको बिस्केट जात्रा, गाईजात्रालगायत विभिन्न चाड पर्वलाई औपचारिक पूजाआजामा मात्रै सीमित गरी भीडभाड हुन रोक्ने कार्य नगरपालिकाले गर्दै आएको छ । राम्रो कामलाई निरन्तरता दिने र त्यसलाई अझै गुणस्तरीय र व्यवस्थित गर्नसके जनस्वास्थ्य केन्द्रको सेवा कुनै ठूला अस्पतालहरूभन्दा कम हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *