भर्खरै :

सिद्धि स्मृति अस्पताल ‘केही दिनको लागि’ बन्द

भक्तपुर, २९ भदौ । भक्तपुरको सिद्धि स्मृति अस्पतालका स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए पछि अस्पताल आइतबारदेखि बन्द गरिएको छ । अस्पतालका तीन जना स्वास्थ्यकर्मीमा नोबेल कोरोना भाइरस पोजेटिभ आए पछि अन्य स्वास्थ्यकर्मीहरूको पनि पीसीआर परीक्षण गर्दा धेरै सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएको पुष्टि भएको हो । अस्पतालका निर्देशक श्यामसुन्दर धौभडेलले बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएकोमा २१ जनाको पोजेटिभ परिणाम देखिएको जानकारी दिनुभयो ।
“अकस्मात नसोचेको सङ्ख्यामा स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ सङ्क्रमण पुष्टि भए पछि आइतबारबाट आकस्मिक सेवासहित सबै सेवा केही दिनको लागि बन्द गर्ने निर्णय गरेका छौं”, निर्देशक धौभडेलले भन्नुभयो । तर, आकस्मिक सेवा धेरै दिन बन्द नगर्ने स्वास्थ्य निर्देशिका र भक्तपुरमा बालबालिकाको लागि आकस्मिक सेवा भएको अस्पताल अरु नभएकोले सकेसम्म चाँडो चरणबद्ध रुपमा अस्पताल सञ्चालन गरिने अस्पतालका अपरेसेन डिरेक्टर अनिल राजभण्डारीले बताउनुभयो ।
अस्पतालका सङ्क्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा पठाइसकेपछि अस्पताल निष्सङ्क्रमण गरी चरणबद्ध अस्पताल सञ्चालन गरिने उहाँले भन्नुभयो ।
बिहीबारको परिणामपश्चात शुक्रबार परीक्षणको लागि पठाइएको ५१ जना स्वास्थ्यकर्मीको स्वाबमध्ये २ जनाको मात्र पोजेटिभ परिणाम आएको थियो । स्वाब परीक्षणको लागि धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । केही स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ पोजेटिभ आए पछि शुक्रबार र शनिबार अन्य सेवा बन्द गरी अकस्मिक सेवा मात्र सुचारु गरिएको थियो ।
“रिपोर्ट पुनःपुष्टिको निम्ति स्वास्थ्यकर्मीहरूको स्वाब पुनः सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा सोमबार पठाएका छौं”, निर्देशक धौभडेलले भन्नुभयो ।
सङ्क्रमित स्वास्थ्यकर्मीहरूमध्ये सुरुका दुई जना भक्तपुर खरिपाटीस्थित आइसोलेसन सेन्टरमा पठाइएको र अरु १८ जना जनालाई सोमबार पठाउने तयारी भइरहेको डिरेक्टर राजभण्डारीले बताउनुभयो ।
कोभिड–१९ एम्बुलेन्सको अभाव
स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भए पछि आइसोलेसन केन्द्रमा लान एम्बुलेन्सको व्यवस्था नहँुदा समस्या परेको राजभण्डारीले बताउनुभयो ।
भक्तपुर नगरपालिकाअन्तर्गतको कोभिड एम्बुलेन्सलाई पटक पटक सम्पर्क गर्दा पनि नआएको उहाँले बताउनुभयो । “आइसोलेसन सेन्टरमा लान दिउँसोदेखि नै एम्बुलेन्सको लागि सम्पर्क गरिरहेका छौं । अझै पनि एम्बुलेन्स आएको छैन । स्वास्थ्यकर्मीहरू थप अलमलमा परेका छन्”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *