भर्खरै :

क्रान्तिकारीको जरा (हयुगो चाभेजको बाल्यकाल)

ह्युगो चाभेज विपन्नहरूको आत्मा स्पर्श गर्नसक्छन् किनभने कुनै दिन उनी पनि उनीहरूमध्येकै थिए । भेनेजुयाली तेलखानीहरूले मुठ्ठीभर ‘भाग्यमानी’ का लागि धनको छेलाखेलो गरिरहेको समयमा उनी गरिबी धुलो माटोमा हुर्के । उनी सन् १९५४ जुलाई २८ का दिन हजुरआमा रोजा इनिस चाभेजको माटोको घरमा जन्मेका थिए । हजुरआमा बारिनस प्रान्तको दुर्गम साबानिटा गाउँमा बस्नुहुन्थ्यो । हजारौँ मानिसको वासस्थान यो सानो उपेक्षित ठाउँमा जाडोयाममा समेत गर्मी र सुख्खा हुनेगथ्र्यो । उधुम्मै उड्ने धुलो नियन्त्रण गर्न पानी छर्किरहनुपथ्र्यो । पानी पर्ने गर्मी याममा भने त्यो ठाउँ माटोका लेदोले छपक्क ढाकिन्थ्यो ।
साबानिटा लस इलानोसको विशाल घाँसे जलक्षेत्रमा पर्छ । त्यो क्षेत्रलाई संरा अमेरिकाको विशाल मैदानी क्षेत्र वा अर्जेन्टिनाको पामपास क्षेत्रको भेनेजुयाली संस्करण भन्न सकिन्छ । त्यो भेनेजुयलामा घोडचढी गोठालाहरूको घर हो । काराकसको समाजभन्दा टाढा यो क्षेत्रलाई एक प्रकारले जङ्गली पश्चिम भन्न सक्छौँ जो कोलोम्बियाको सिमानासँग जोडिएको छ । अविकसित र दुर्गम यो क्षेत्रले भेनेजुयलाको एकतिहाइ भू–भाग ओगटेको छ ।
चाभेजका बुबाको नाम ह्युगो डि लस रेयेस चाभेज र आमाको नाम इलिना फ्रायस डि चाभेज थियो ।
उहाँहरू लस रास्ट्रोजोस भनिने गाउँमा बस्नुहुन्थ्यो । त्यो गाउँ साबानिटाभन्दा पनि सानो र पिछडिएको थियो । त्यहाँ न चिकित्सक थियो न अस्पताल थियो न त कुनै क्लिनिक नै थियो । त्यसकारण पहिला सन्तान एडन जन्माउन र त्यसको एक वर्षपछि ह्युगो राफेल जन्माउन त्यो परिवार कोसौँ टाढा यात्रा गरेर साबानिटा पुग्नु प¥यो । रोजा इनिसको घरमा कमसेकम सुत्केरी बेला सुडेनीको भए पनि व्यवस्था हुनसक्थ्यो । उनीहरूका सात छोरा भए । तर, इन्जोको भने ६ महिनामा नै ब्लड क्यान्सर (Luekemia) बाट मृत्यु भयो ।
त्यतिबेला ठूलो र गरीब परिवारका ठूला केटाकेटी तिनका हजुरबा–आमासँग बस्नु अस्वाभाविक थिएन । उनीहरूसँगै केटा–केटी हुर्कन्थे । चाभेजका आमाबुबा विद्यालयका शिक्षक–शिक्षिका हुनुहुन्थ्यो । उहाँहरू पढाउने लस रास्ट्रोजोस गाउँ र साबानिटामा बरोबर साइकलमा आहोरदोहोर गरिरहनुहुन्थ्यो । उहाँहरूले पनि ह्युगो र एडनको हेरविचार गरिदिन रोजा इनिसलाई आग्रह गर्नुभयो । धेरै समयअघि आफ्ना पतिसँग टाढिएकी रोजासँग प्रशस्त समय थियो र मातृवात्सल्यले ओतप्रोत हुनुहुन्थ्यो ।
रोजा एउटा सामान्य घरमा एक्लै बस्नुहुन्थ्यो । उहाँको घर विपन्न क्षेत्रको एउटा नमुना थियो । त्यो घरमा भित्ता माटो र परालले बनेका थिए र छाना रुखका पातले छोपेको र भुर्इँ धुलोले भरिएको थियो । पानी पर्दा छानाबाट पानी चुहिन्थ्यो । रोजा आफ्नो घरको भुईँ हिलाम्मे नहोस् भन्ने मनसायले पानी थाप्न जताततै भाँडाकुँडा राखेर व्यर्थ प्रयास गर्नुहुन्थ्यो । त्यो घरमा न रेफ्रिजिरेटर थियो, न पङ्खा, न धारा थियो न त स्नानगृह नै । रोजा दाउरा बालेर खाना पकाउनुुहुन्थ्यो, इनारबाट पानी ल्याउनुहुन्थ्यो । उहाँको एउटै सुविधाको सामान भन्नु नै व्याट्रीले चल्ने एउटा सानो रेडियो थियो । गाउँकै सानो ग्याँसले चल्ने जेनेरेटरबाट उहाँ राति केही घण्टा विद्युत् पाउनुहुन्थ्यो । त्यस मानेमा उहाँ भाग्यमानी हुनुहुन्थ्यो । गाउँमा सवारी साधन पाउन मुश्किल थियो ।
मानिसहरू कि त साइकलमा नभए हिँडेरै यताउति पुग्थे । लस रास्ट्रोजोससम्म घण्टौँको लामो बाटो मानिसहरू हिँडेरै पुग्थे । आधा शताब्दीपछि अहिले पनि साबानिटा बजारमा साइकलकै बिगबिगी छ ।
एडन र ह्युगो रोजाको घरमा बस्न थालेदेखि उहाँ केटाहरूको लागि हजुरआमाभन्दा पनि आमा जतिकै हुनुभयो । उनीहरूको समय आमा–बुबासँगभन्दा उहाँसँग बढी बित्यो । आमा–बुबा त साप्ताहिक बिदाको दिनमात्र भेट्न आउने गर्नुहुन्थ्यो, त्यो पनि भ्याइयो भनेमात्र । ह्युगो र एडनको बोली फुटेदेखि रोजा इनिसलाई उनीहरूले ‘हजुरआमा’ भनेनन् बरु ‘आमा’ भनेर नै बोलाए । रोजा पनि उनीहरूलाई छोरा भनेर नै बोलाउने गर्नुहुन्थ्यो । धेरै हिसाबबाट ह्युगो रोजासँग आफ्नै आमासँग भन्दा पनि बढी नजिक हुनुहुन्थ्यो । ह्युगो पहिलो कक्षामा प्रवेश गर्नुअघि रोजाबाट नै उसले हिँड्न, पढ्न र लेख्न सिक्यो ।
एडन र ह्युगोसमक्ष रोजाले आफूसँग भएका सबै ममता र ज्ञान रित्याइ दिनुभयो । त्योभन्दा बढी दिन उहाँसँग थप केही थिएन । जुलियन पिनो प्राथमिक विद्यालयमा भर्ना भएको पहिलो दिन ह्युगोले च्यातिएको कपडाको चप्पल लगाएको थियो । अरू धेरै विद्यार्थीले राम्रा–राम्रा जुत्ता लगाएका थिए । सबैले ह्युगोलाई जिस्काए । ऊ रुँदै घर फक्र्यो र उसलाई रोएको देखेर रोजाका आँखा पनि लाज र निराशाको आँसुले तम्म भरियो । छरछिमेक र साथी सङ्गीसँग सरसापत गरेर उहाँले ह्युगोको लागि एक जोर नयाँ जुत्ता किनिदिनुभयो ।
पैसाको सा¥है समस्या थियो । आर्थिकरूपमा जीवन धान्न रोजालाई केटाहरूकै सहयोगमा भरपर्नु परेको थियो । उहाँले आफ्नै घर अगाडि मिठाइ र घरको आँगनमा फल्ने फलफूल बेच्ने सानो पसल थाप्नुभयो । उहाँ मेवालाई केस्रा पारेर काट्नुहुन्थ्यो, टावामा पकाउनुहुन्थ्यो, चास्नीमा डुबाउनुहुन्थ्यो र माकुराको आकारमा काट्नुहुन्थ्यो । रोजाको पसलको यो परिकार विशेषताजस्तै थियो ।
हरेक दिन ह्युगो रोजाले बनाउने त्यो निकै लोकप्रिय परिकार एउटा भाँडोमा राखेर विद्यालयमा लानेगथ्र्यो र खाजाको समयमा आफ्ना साथीहरूलाई बेच्नेगथ्र्यो । विद्यालयको समयपछि र बिदाको दिन ऊ भाले जुधाइ खेल वा बोलास क्रियोलस (एक प्रकारको बेस बल खेल) खेलिरहेको ठाउँमा आफ्ना हजुरआमाले बनाउनुभएको परिकार बेच्दै हिँड्थ्यो । साबानिटाको बोलिभार प्लाजा वा मेक्सिकाली चलचित्र देखाइने सिनेमा हलमा भेला भएका मानिसहरूबीच पनि ऊ बेच्दै हिँड्थ्यो । आफ्नो दाजु एडनभन्दा ह्युगो यो काममा रमायो । यसले उसलाई बजारभरि घुम्ने र मानिसहरूसँग कुराकानी गर्ने बनाइदियो । यसले घरको दयनीय आर्थिक अवस्था पनि केही मात्रामा उकासियो । चास्नीमा डुबाएको यो परिकार बेचेका ती वर्षको प्रभाव ह्युगोमा पछि सम्म पनि रहिरह्यो । ह्युगोका केही साथीहरूको आर्थिक अवस्था उसको भन्दा गएगुजे्रको थियो । आफ्ना आमा–बुबालाई सहयोग गर्न उनीहरू प्राथमिक तहमै विद्यालय छोड्न बाध्य भए ।
साबानिटामा त्यति मनोरञ्जन गर्ने माध्यम थिएनन् । त्यसैले ह्युगोले आफ्नो रमाइलोको लागि एउटा उपाय निकाली हाल्यो । त्यहाँका धेरै युवकहरूजस्तै ऊ पनि बेसबल भनेपछि हुरुक्क हुन्थ्यो । यो खेल भेनेजुयलामा सबभन्दा पहिले सन् १९२० को दशकमा भेनेजुयलामा तेलको खानीमा काम गर्न आएका अमेरिकी मजदुरहरूले भिœयाएका थिए । ल्याटिन अमेरिकाका अरू सबैतिर फूटबलको राज चल्थ्यो तर भेनेजुयलाको राष्ट्रिय खेल भने बेसबल बन्यो । बेसबल भनेपछि त्यहाँका मानिसहरू ज्यान फालेर लागेका हुन्छन् । ह्युगो र उसका साथीहरू पनि नियमित रूपमा बेसबल खेल्थे । उनीहरू सिसीको बिर्को वा मोजाको डल्लोलाई बल बनाउँथे र लाठी वा कुच्चो ब्याट बनाउँथे ।
ह्युगो खेलमा निकै रमाउँथ्यो । विद्यालय समयभन्दा बाहेकको उसको अधिकांश समय खेलमैदानमै बित्थ्यो । रोजाको घरमा एउटा टेबुल थियो । त्यो टेबुलमा ह्युगोले एउटा गोलाकार चित्र बनाएको थियो र त्यसलाई विभिन्न खण्डमा विभाजन गरेको थियो । प्रत्येक खण्डमा उसले खेलका मुख्य–मुख्य घटना सिङ्गल, डबल, स्ट्राइक, बल, आउट, डबल प्ले लेखेको थियो । ऊ गोलाकारको बीचमा एउटा छुरा राख्थ्यो, अनि घुमाउँथ्यो र आफैँसँग, एडन वा साथीहरूसँग बेसबल खेल्थ्यो । ऊ प्रत्येक खेलको नतिजा नोटबुकमा टिपोट गथ्र्यो । कहिलेकाहीँ ऊ एक्लै खेल्दा–खेल्दै कुर्सीमाथि चढेर चिच्याउँथ्यो ‘होम रन ¤’ उसको चाला देखेर हजुरआमा तीनछक्क पर्नुहुन्थ्यो ।
आर्थिक जटिलताबीच पनि चाभेजसँग आफ्नो बाल्यकालको सुखद सम्झना छ । “हामी ज्यादै गरीब थियौँ तर निकै खुसी थियौँ ।” रोजाको घर पछाडिको आँगन ठूलो थियो । त्यहाँ विभिन्न रसिला फलफूल फल्थे । ह्युगो घण्टौँ–घण्टा आँगनका बोटबिरुवामा पानी दिनमा बिताउँथ्यो । कतिबेला त ती बिरुवा हुर्काउन रोजाले सिकाएजस्तै गरी ऊ गीतसमेत गाइरहेको हुन्थ्यो । मेक्सिकाली लोकगीत र इलानिरोको दोहोरी उसका मनपर्ने गीतहरू थिए । ती गाउँका गीतहरू मूलतः माया–प्रीति वा चक्कु लडाइँ, रक्सीले मात्तिएको समय वा घोडा दौडाउनु आदि विषयवस्तुमा आधारित हुनेगर्थे । उसले घर पछाडिको आँगनमा मकै छर्न र हुर्काउन पनि सिकेको थियो । ऊ त्यहाँ फल्ने सुन्तला, भुर्इँकटहर, अङ्गुर र आँप खाने गथ्र्यो ।
ऊ गोलभेडा, प्याज र अरू सागसब्जी रोप्न रोजालाई सहयोग गर्ने गथ्र्यो । एडन र अरू साथीहरूसँग त्यहीँ ऊ बेसबल र अन्य खेलहरू खेल्ने गथ्र्यो । “हाम्रो लागि त्यो आँगन सपना थियो, पुरै ब्रह्माण्ड थियो ।” ह्युगोको अनुभव यस्तो छ ।
चित्र कोर्ने र रङ्ग भर्ने भनेपछि ऊ हुरुक्कै हुन्थ्यो र उसका चित्रहरू राम्रा पनि थिए । पछि प्रान्तीय राजधानीमा बस्ने उसका काकाले उसलाई आवश्यक पर्ने सामग्री पनि पठाइदिने गर्नुभयो । कलिलो उमेरमै ह्युगोले लामा–लामा कविता, गीत वा पुस्तकका अंशहरू कण्ठस्थ गरी सुनाउन सक्ने विलक्षण क्षमता विकास गरिसकेको थियो । ती प्रायः कविता, गीत वा पुस्तकका अंश कुनै ऐतिहासिक विषयमा हुन्थे । राष्ट्रपति भएर पनि ह्युगोले यो विलक्षणता प्रदर्शन चालू राख्नुभयो ।
ह्युगोको लागि पहिलो आदर्श पात्र रोजा हुनुहुन्थ्यो । उहाँ रोमन क्याथोलिक धर्मका अनुयायी र पक्षपाती हुनुहुन्थ्यो । उहाँ आफ्नै घरमा प्रार्थना गर्नुहुन्थ्यो । उहाँ बदमासीको लागि छुट दिनुहुन्नथ्यो र केटाहरूलाई अनुशासनमा राख्ने गर्नुहुन्थ्यो । उहाँ गरीबलाई सहयोग गर्ने भेनेजुयलाका तल्लो वर्गबीचको साझा भावनालाई उत्साहित गर्नुहुन्थ्यो । जब छिमेकमा खाना वा लुगाकपडाको अभाव हुन्थ्यो, रोजा आफैँसँग कम भएर पनि सहयोग गर्न तम्सिनु हुन्थ्यो । उहाँको प्रभाव चारैतिर फैलिएको थियो । ह्युगोले केही समय स्थानीय क्याथोलिक चर्चमा सहयोगीको काम पनि ग¥यो । त्यस्तै ‘सिक्रीबाट मुक्ति’ नामको सरकारी साक्षरता अभियानमा पनि उसले भाग लियो । आफैँमात्र दश–एघार वर्षको उमेरमा उसले धेरै पाका मानिसहरूलाई पढ्न–लेख्न सिकायो ।
हजुरआमासँग ह्युगोको सम्बन्ध निकै गहिरो थियो । उसको आफ्नै आमा–बुबा, अझ विशेषतः आमासँगको सम्बन्ध भने फितलो रह्यो । समयान्तरमा आमा बुबा पनि लस राष्ट्रोजोसबाट साबानिटाको ढलान गरेको घरमा सर्नुभयो । तर, ह्युगो भने हजुरआमासँग नै बस्यो । यसले हजुरआमासँग उसको गहिरो मायालाई थप गहिराइमा पु¥यायो । ह्युगोको बाल्यकालमा प्रायशः अनुपस्थित उसको आमा पनि कडा स्वभावको हुनुहुन्थ्यो । केटाहरूले तलमाथि गरे कुट्न पनि पछि पर्नुहुन्नथ्यो । उहाँमा त्यतिबेला केटाकेटीलाई पिटेरै तह लगाउन सकिने आम धारणा थियो । आफ्नी आमाको रामधुलाइबाट जोगिन ह्युगो र उसका भाइहरू सबै लुक्न जाने ठाउँ रोजाकै कोठा हुनेगथ्र्यो ।
साबानिटामा बस्न थालेपछि ह्युगोको बुबा जुलियन पिनो प्राथमिक विद्यालयमा पढाउन थाल्नुभयो । ह्युगो कक्षा पाँच पढ्दा उहाँ पनि उसको कक्षामा पढाउने शिक्षक हुनुहुन्थ्यो । त्यसक्रममा उहाँ इलेक्ट्रोल मुभमेन्ट अफ द पिपुल्स नामको वामपन्थी पार्टीमा लाग्नुभयो । तर, उहाँ सामाजिक क्रिस्टियन दल कोपेइसँग लामो समय आबद्ध बन्नुभयो । कोपेइ र इलेक्ट्रोल मुभमेन्ट अफ द पिपुल्स पार्टीले दशकौँसम्म भेनेजुयलाको राजनीतिमा बलियो भूमिका खेलेको थियो ।
ह्युगो राष्ट्रपतिमा निर्वाचित बनेको समय बुबा भने प्रान्तीय गभर्नर हुनुहुन्थ्यो । ह्युगो अहिले पनि रोजाको विषयमा र उहाँले आफूमा पारेको प्रभावबारे बोल्नुहुन्छ । आफ्ना चार सन्तानमध्ये ह्युगोले एक जनाको नाम रोज र अर्कोको नाम रोजिनस राख्नुभएको छ । आफ्ना एकमात्र छोराको नाम ह्युगो राख्नुभएको छ । ‘म मेरो आमा बुबालाई माया गर्छु तर मेरो लागि रोजाले दिनुभएको शिक्षा ज्यादै महत्वपूर्ण भएको कुरा मैले स्वीकार्नुपर्छ । उहाँ पवित्र मानिस हुनुहुन्थ्यो । …. चोखो माया, अपार सद्भाव …. रोजाबाट मैले मानवता, गरिबी, पीडा र कहिलेकाहीँ खानलाई केही हुनुको अवस्था सिकेँ । मैले संसारमा व्याप्त अन्याय देखें । ….. उहाँबाट मैले विनम्र भेनेजुयाली जनताका सिद्धान्त र महत्व जानेँ जसले मेरो देशको आत्मा बनाएको छ र जसले पाउन भने केही पाएनन् ।
सन् १९८२ मा हजुरआमा रोजाको निधन भयो । ह्युगोको लागि यो जीवनकै सबभन्दा पीडादायी समय थियो । दुःखको सागरमा डुबेर चाभेजले एउटा माया र प्रशंसाको कविता लेख्नुभयो । त्यो कवितामा रोजाका पाठहरू नभुल्न वा साबानिटाको जरालाई कहिल्यै धोका नदिन आग्रह गरिएको छ । ह्युगोले आफ्नो निष्प्राण शरीर आफ्नै हजुरआमाको चिहान छेउमा गाडिने चाहना पोख्नुभएको छ ।
‘पक्का पनि एक दिन
मेरी प्यारी बुढी आमा
म तिम्रै चिहानतर्फ
पाइला चल्नेछु अनिमात्र,
हो त्यतिखेर मात्र
मेरो जीवनको अन्त्यमा मात्र
म तिमीलाई हेर्न आउनेछु
मेरी आमा रोजा
म तिम्र्रो चिहानमा आइपुग्नेछु
त्यसमा पानीले सिँच्नेछु
पसिना र रगतले भरिलो पार्नेछु
अनि म सन्तोषको श्वास फेर्नेछु
तिम्रो आमाको ममतामा ।
अनि म तिमीलाई बताउनेछु
सबै बाँचेकाहरू बीचका मेरा असहमतिहरू
त्यसपछि
तिमीले तिम्रा हात बढाउनेछौ र
मलाई आगिङ्गनमा बेर्नेछौ
ठीक त्यसरी नै जतिबेला म बच्चा थिए
तिमी मलाई
तिम्रा मीठा गीतका लोरी सुनाउनेछौ
अनि तमीले अर्काे त्यस्तो ठाउँ लैजानु
जहाँ म कहिल्यै नरोकी
आर्तनाद सुनाउन सकूँ ।’
रोजाले ह्युगोको व्यक्तित्वमा अर्काे चमक भरिदिनुभयो, त्यो हो इतिहासप्रतिको प्रेम । ह्युगो ५÷६ वर्षको हुँदादेखि नै रोजा उनीहरूलाई इतिहासलाई कथा बनाएर घण्टौँ घण्टा सुनाउनुहुन्थ्यो । ती कथाहरूमध्ये सबभन्दा मनपर्ने कथा इजिक्वेल जामोराको कथा थियो । रोजा आफ्नो कथामा कसरी उन्नाइसौँ शताब्दीको गुरिल्ला लडाकु इजिक्वेल जामोराले आफ्ना घोडचढी सहयोद्धाहरूसँग साबानिटा पुगेका थिए भन्ने कुरा कथा बुनेर सुनाउनुहुन्थ्यो । उनीहरू रोजाकै घर अगाडिबाट धुलो उडाउँदै अगाडि बढेका थिए रे । रोजा आफैँले पनि त्यो दृश्य देख्नुभएको थिएन । उहाँलाई पनि आफ्नो आमाले बताउनुभएको थियो ।
जामोरा एक जना क्रान्तिकारी हुनुहुन्थ्यो र सिमोन बोलिभारको न्यायपूर्ण समाजका उहाँ अनुयायी हुनुहुन्थ्यो । तर उहाँको नाम त्यति सुनिँदैन । उहाँले किसान र दासहरूलाई सङ्गठित गरी सेना बनाउनुभयो । त्यो सेनाले सन् १८५०–१८६० को दशकमा जमिनदार कुलीनतन्त्रविरुद्ध गृहयुद्ध छेडेको थियो । जामोरा उपल्लो वर्गलाई सहनु हुन्नथ्यो र भेनेजुयाली समाज सुधारमा क्रान्तिकारी दृष्टिकोण राख्नुहुन्थ्यो “कोही धनी कोही गरिब हुनेछैन, कोही दास, कोही मालिक हुनेछैन, कोही शक्तिशाली, कोही कमजोर हुनेछैन बरु सबै दाजुभाइ हुनेछौँ र जसले नेतृत्व गरिरहेको हुनेछ, सबैलाई खुलमखुला समान व्यवहार गरिनेछ ।” जामोराको नारा थियो ।
आफ्नो समयभन्दा अघि बढेर जामोराले मृत्युदण्डको उन्मूलन, पूर्ण वाक् स्वतन्त्रता र बालिग मताधिकारको मुद्दा उठाउनुभएको थियो । त्यतिबेला कोही कामदार त्यतिकै सहरमा बरालिरहेको देखे उसलाई समातेर श्रम कैदमा राखिन्थ्यो । जामोराले कामदारहरूलाई स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकार दिनुपर्ने कुरा उठाउनुभयो । उहाँले ‘अक्षम वा अभावग्रस्त’ मानिसहरूलाई सहयोग पु¥याउन सामाजिक सुरक्षा प्रणालीको समेत प्रस्ताव गर्नुभयो । ठूलठूला जमिनदारहरूले ‘साझा प्रयोजनको लागि दश वटा दूध दिने गाई दिनुपर्ने र तिनले दिएको दूध हरेक दिन गरिबको घरमा निःशुल्क पु¥याउने’ बन्दोबस्तको समेत प्रस्ताव गरे ।
जामोरा सम्पत्तिको अधिकारलाई निःशर्त सम्मान गर्नमा प्रतिबद्ध हुनुहुन्थ्यो । तर, उहाँको अवधारणाले आफ्नै सहयोद्धाहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्यो । सन् १८६० मा उहाँको हत्या भयो । उहाँको निधन युद्धको क्रममा नभई आफ्नै समूहको कसैले गरेको भन्ने लोककथा छ । उहाँको पिँठ्युमा गोली ठोकिएको थियो । कोही कोही ह्युगो चाभेज आफैँले पनि एक दिन यही नियति भोग्नुपर्ने अनुमान गर्छन् । जामोराको बलिदानले अन्ततः अन्यायपूर्ण भेनेजुयाली सामाजिक संरचनामा केही सुधार भने ल्यायो । उहाँका कार्यकर्ताहरूले आर्थिक एवम् सामाजिक सुधारका बृहत् कार्यक्रम ल्याउन नसक्दा सानो पविर्तनमै चित बुझाउनुप¥यो । उद्यपि, उहाँले ग्रामीण क्षेत्रका गरिबहरूसँग मिलेको बलियो उदार प्रगतिशीलताको विरासत भने छोडेर जानुभयो । यो सिद्धान्त चाभेजको नयाँ भेनेजुयलाको उदाउँदो दृष्टिकोणसँग मेल खाएको छ ।
जामोराले धेरै लडाइँ साबानिटाकै वरपर लड्नुभयो । चाभेजजस्ता स्कूले केटाकेटीहरूको मानसपटलमा तिनका अमीट छाप प¥यो । तर, ह्युगोको भने जामोरासँग विशेष निकटको सम्बन्ध थियो । उहाँको हजुरबुबाको पनि हजुरबुबा पेड्रो पेरेज पेरेज पनि जामोराको पक्षमा लड्ने योद्धाहरूमध्ये पर्नुहुन्थ्यो र पेरेज पेरेजको एकजना छोरा थिए, पेड्रो पेरेज डेलगाडो जो ह्युगोको हजुरबुबाको बुबा हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *