भर्खरै :

शासकहरूको ब्रम्हलुटले देश रसातलमा

देशको अवस्था लामो समयदेखि कुशासन र ब्रह्मलुटका कारण कमजोर बन्दै गइरहेकोमा २०७२ सालको भूकम्प र बिगत ५ महिनादेखिको कोरोना सङ्क्रमणको प्रकोपका कारण अझ झन् दयनीय अवस्थामा पुगेको छ । कोरोनाका कारण जनताका दैनन्दिन क्रियाकलापहरू लगभग ठप्प हुन गएकाले जनताको जीवन निर्वाहमा नकारात्मक असर पुग्न गएको छ । यसै अवधिमा देशका विभिन्न भागहरूमा बाढी र पहिरोले गर्दा कैयौँ व्यक्तिको ज्यान जानुका साथै धेरैको वासस्थान र सम्पत्तिको नोक्सान हुनपुगेको छ । जनता अझ झन् के कस्तो अवस्था व्यहोर्नुपर्ने हो ? भन्ने कुरोबाट चिन्तित भइरहेका छन् ।
यस अवस्थामा एकातिर देशको संसदमा झन्डै दुई तिहाई बहुमत प्राप्त र आफूलाई समाजवादी बताउने दलको सरकार रहेको छ भने अर्कोतिर आफूलाई प्रजातान्त्रिक बताउने दल संसद्को प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ । यसभन्दा बढी दुवै (सत्तापक्ष र प्रतिपक्ष) दलहरू देशमा प्रजातान्त्रिक, जनउत्तरदायी सरकार स्थापनाको नाउँमा कहिले सशस्त्र सङ्घर्ष त कहिले जन आन्दोलन गरेर अहिलेको स्थानमा पुगेका हुन् । दुवै पक्षले सरकार र प्रतिपक्षमा रहेर लामो समय व्यक्ति गरेका छन् । तर, देशका जनताले भोग्नुपरेको अथाह पीडामा राहत दिलाउनेबारेमा तिनीहरूलाई कुनै चासो छैन । यो कुरा दिनको घामजत्तिकै छर्लङ्ग छ । यो बुझ्नका लागि तिनीहरूको अहिले कै व्यवहार र कार्यशैलीको मूल्याङ्कन गर्नु पर्याप्त हुनजान्छ ।
सरकारले जनतालाई कोरोनाको नियन्त्रण र उपचारमा सघाउनुका साथै रोजगार एवं व्यवसाय विहीन निम्न आय भएका जनता एवं बाढीपहिरो पीडितहरूलाई राहत उपलब्ध गराउने सम्बन्धमा खासै कुरो हुन सकेको छैन । उल्टै एकातिर सरकारको जिम्मेवार तहमा आसीन हुनेहरूले कमिसनखोर, माफिया र तस्करहरूसँग मिलेर कमाउने धन्दामा लागिरहेको कुरा प्रकट हुन आएको छ । यसो भइरहँदा पनि त्यस्ता क्रियाकलापमा संलग्न हुनेहरूलाई कारबाही गर्नुको सट्टा राष्ट्रिय ब्रह्मलुटमा आफ्नो हिस्सेदारी कायम गर्ने कुरोलाई लिएर दलभित्र नाङ्गो प्रतिस्पर्धा भइरहेको छ । यसबाट सरकारमा आसीन दल घोर अवसरवादी एवं जनविरोधी रहेको र त्यसको नेतृत्वमा रहेकाहरू राजनीतिको आडमा छिपेका निर्लज्ज लुटेराहरू भएको कुरा प्रमाणित हुनपुगेको छ । यो सबै देखेर जनता आफूले विगत निर्वाचनमा यस्ता लुटेराहरूलाई मत दिएर सरकार बनाउने अवसर प्रदान गरेकोमा पछुतो मानिरहेका छन् । रह्यो कुरा प्रमुख प्रतिपक्षी दलको । उक्त दल परिवर्तनको नाउँमा देशमा राष्ट्रिय ब्रह्मलुट मच्चाउने कुरोको प्रारम्भकर्ता रहेको र लामो समय सरकारमा रहेर सो अवसर उपयोग गरेकोमा यतिबेला प्रतिपक्षी दल बन्नुपर्दा विक्षिप्त हुनपुगेको छ । त्यसैले सो दल प्रतिपक्षमा रहेर सरकारका क्रियाकलापहरूको निष्पक्ष मूल्याङ्कन गरेर तिनको समर्थन वा विरोधको माध्यमबाट सरकारलाई सही बाटोमा हिँडाउने भूमिका निर्वाह गर्ने कुरोलाई आफ्नो दायित्व सम्झने कुरोमा सहमत छैन ।
यसविपरीत ऊ आफू प्रतिपक्षमा रहे तापनि सत्ता सञ्चालनका महत्वपूर्ण स्थानहरू ओगट्ने र राष्ट्रिय सम्पत्तिको लुटको कुरामा आफ्नो हिस्सेदारी कायम गर्ने कुरोमा मात्र प्रयत्नशील रहेको छ । यस कुरोको प्रमाणको रूपमा उक्त दलले त्रिविलगायतका विश्वविद्यालय र मातहत निकायहरूमा आफ्नो हिस्सेदारी कायम भएन भन्दै आफू समर्थक विद्यार्थी एवं प्राध्यापकहरूलाई तालाबन्दी र तोडफोड गर्न लगाएको कुरालाई हेर्नु पर्याप्त हुन्छ । विचारणीय कुरा, यस किसिमको हर्कतलाई नेका पार्टीले प्रवक्ताद्वारा जारी वक्तव्यमार्फत खुलारूपमा समर्थन व्यक्त गर्नपुगेको थियो । यत्तिमात्र नभएर भर्खरै प्रमुख प्रतिपक्षी दलका नेता र प्रम एवं सत्तारुढ दलका अध्यक्षहरूबीच संवैधानिक निकायका पदहरूको बाँडफाँड सम्बन्धमा सहमति कायम भएको कुरा प्रकाशमा आएको छ ।
यसले प्रतिपक्षी दललाई सरकारद्वारा गरिने गलत क्रियाकलापहरूलाई सच्याउने कुरोमा नभई राष्ट्रिय ब्रह्मलुटमा आफ्नो हिस्सेदारी कायम गर्ने कुरोमा मात्र चासो रहेको कुरा प्रस्ट हुन आउँछ । यो सबै हेर्दा प्रतिपक्षले सरकारद्वारा गरिने कुनै कुरोको विरोध गर्नुको तात्पर्य प्रतिपक्षको दायित्व निर्वाह गर्न नभएर हिस्सेदारी प्राप्त गर्नका लागि दिइएको घुर्कीमात्र हो भनी बुझ्नुपर्ने हुनजान्छ ।
देशको सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई राष्ट्रिय सम्पत्तिको ब्रह्मलुट मच्चाउने कुरोमा मोह छ भन्ने कुरोमात्र होइन
यी सरकारको त के कुरा, पार्टी सञ्चालन गर्ने हैसियतसम्म राख्दैनन् भन्ने कुरा सत्तारुढ कथित नेकपा र प्रमुख प्रतिपक्ष काङ्ग्रेस पार्टीभित्र यतिबेला देखा परेको आन्तरिक द्वन्द्व र विवादलाई हेर्नु पर्याप्त हुन्छ । दुवै दलको नेतृत्वलाई देश, जनता र सरकार सञ्चालन (सरकार र प्रतिपक्ष दुवै भूमिकामा रहेर) कसरी गर्ने ? भन्ने कुरोको जानकारी र सरोकार दुवै रहेको पाइँदैन । यस किसिमका भ्रष्ट, असक्षम र गैरजिम्मेवार दल र दलीय नेतृत्वबाट देश विकास र जनपक्षीय कार्य सम्भव हुनसक्छ भनी ठान्नु नै भ्रष्ट वा अपरिपक्व सोच हुनजान्छ ।
यहीँनेर स्वाभाविक जिज्ञासा ठडिन्छ, त्यसो भए वर्तमान अवस्थामा सुधारको सम्भावना के त ? यो नै यतिबेलाको सान्दर्भिक प्रश्न हो । यसबारे के कुरामा ध्यान दिनु आवश्यक छ भने देशको वर्तमान अवस्था एकाएक सृजना भएको होइन । यो योजनाबद्ध क्रियाकलापहरूको परिणाम हो । यस कुरोको प्रमुख जिम्मेवार भनेकै अहिलेको सरकार सञ्चालक र प्रतिपक्षी दलहरू नै हुन् । उनीहरूले आदर्श जे जस्तो फलाक्ने गरे तापनि राष्ट्रिय ब्रह्मलुट कायम गर्ने ध्येयको पूर्तिका लागि नै देशलाई वर्तमान अवस्थामा ल्याई पुर्याएका हुन् भन्ने कुरामा अब विवाद गर्नुपर्ने देखिदैन । यो कुरालाई दलीय नेतृत्वको व्यवहारले नै प्रमाणित गरेर देखाइदिएको छ । त्यसैले यी दल र यिनका कर्तुतहरूले निरन्तरता पाइरहँदासम्म देशको शासन व्यवस्थाले कुनै सकारात्मक स्वरूप लिनेछैन, देश र जनताको अवस्थामा कुनै सुधार हुनेछैन भन्ने कुरा सुनिश्चित छ ।
तसर्थ यदि वर्तमान अवस्थामा सुधार चाहने हो भने पहिलो आवश्यकता यतिबेला क्रियाशील दलहरूलाई पाखा लगाउनु नै हुनजान्छ । तर, यी दलहरू आफ्नो बलबुत्तामा नभएर मूलतः देशी–विदेशी अन्तर्राष्ट्रिय तत्व, माफिया एवं तस्करहरूको बलमा टिकेका छन् । त्यसैले जबसम्म ती तत्वहरूलाई नाङ्गेझार तुल्याउन र पाखा लगाउन सकिँदैन, यी दलहरूको भूमिकालाई कमजोर तुल्याउन सम्भव हुनेछैन । यसका लागि भरपर्दो विकल्प भनेकै जनचेतना र सजगता नै हो । तर, जनचेतनाको विकास त्यत्तिकै सहजरूपमा सम्भव हुने कुरो होइन । कारण वर्तमान लुटेरा दल र तिनको नेतृत्वले सर्वसाधारण जनताको मानसिकतालाई प्रदूषित तुल्याएका छन् । यद्यपि राजनीतिलाई कमाउ धन्धा बनाउनेहरूको स्वार्थी एवं तुच्छ व्यवहारलाई देखेर सर्वसाधारण जनताले समेत दल एवं दलीय नेतृत्वको नियतमाथि शङ्का गर्न थालिसकेका छन् । यसो हुँदाहुँदै पनि उनीहरूले भरपर्दो विकल्प देखिरहेका छैनन् ।
जनता ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नेपाली उखानलाई सम्झदै मौन रहन विवशजस्ता देखिन्छन् । त्यसैले यतिबेलाको खाँचो भनेकै विचारशील, इमानदार, नैतिकवान र प्रतिबद्ध नेतृत्वको विकास हो । यसका लागि नेपाली समाजका सचेत, जागरुक, विवेकवान र जनसेवी चिन्तक एवं बुद्धिजीवीहरूको विशेष पहल आवश्यक छ ।
तिनीहरूको प्रयासबाट मात्र जनताबीच सचेतना एवं आदर्शको प्रवाह र सही एवं सक्षम नेतृत्वको विकास हुनसक्दछ । आशा गरौँ, देशका परिवर्तनकामी न्यायप्रेमी जनसमुदायहरूको ध्यान विद्यमान भ्रष्ट, बेइमान र राष्ट्र एवं जनविरोधीहरूलाई परास्त गर्दै देशको लागि उपयुक्त एवं सक्षम नेतृत्वको विकास गर्ने कुरोतर्फ केन्द्रित गर्न स्वाभिमानी विवेकशील बौद्धिक जनहरूले आ–आफ्नो ठाउँबाट सम्भव प्रयासहरूको प्रारम्भ गर्ने कुरामा आफूहरूलाई समर्पित तुल्याउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *