भर्खरै :

स्वामी अग्निवेश ः आधुनिक आध्यात्मिकताको खोजी

भारतका प्रख्यात सामाजिक कार्यकर्ता तथा विद्वान् स्वामी अग्निवेशको शुक्रबार नयाँ दिल्लीस्थित आईएलबीएस अस्पतालमा निधन भयो । उहाँ ८० वर्षको हुनुहुन्थ्यो ।
स्वामी अग्निवेश केही वर्षदेखि कलेजोको क्यान्सर (लिवर सिरोसिस) रोगबाट पीडित हुनुहुन्थ्यो र केही समय अगाडिदेखि बिरामी हुनुहुन्थ्यो । उहाँका कैयौँ अङ्गले काम गर्न छाडेपछि गएको मङ्गलबारदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
ॅद इन्डियन एक्सप्रेस’को रिपोर्टअनुसार आन्ध्र प्रदेशको एक ब्राह्मण परिवारमा जन्मेका स्वामी अग्निवेशले सन्यासी जीवन निर्वाह गर्न आफ्नो नाम, जात, धर्म, परिवार र सम्पत्ति त्याग गर्नुभएको थियो । केही वर्षअगाडि भारत सरकार र भारतीय माओवादी विद्रोहीहरूबीच वार्ताको निम्ति पहल गर्नुभएका स्वामी अग्निवेशलाई भारतीय दक्षिणपन्थीहरू ॅभगवा नक्सलाइट’ (सन्यासीको भेषमा नक्सलवादी) भएको आरोपसमेत लगाउने गर्थे ।
स्वामी अग्निवेशले आफ्नो सङ्गठन बँधुवा मुक्ति मोर्चाको माध्यमले बँधुवा मजदुर र केटाकेटीहरूको मुक्तिको निम्ति अनेकौँ सङ्घर्ष गर्नुभयो । कामदार जनताको हितको निम्ति काम गर्दागर्दै उहाँले कामदार जनतालाई राजनीतिमा आउन पे्ररित गर्नुभयो । सन् १९७० मा स्वामी अग्निवेशले आर्य समाजको सिद्धान्तमा आधारित र सोही नामको राजनीतिक पार्टी स्थापना गर्नुभयो । त्यही पार्टीको उम्मेदवारका रूपमा उहाँ हरियाणा विधानसभाको सदस्य निर्वाचित हुनुभयो । त्यसको दुई वर्षपछि उहाँ हरियाणा राज्य सरकारको शिक्षामन्त्री पनि बन्नुभयो । तर, बँधुवा मजदुरीको विरोधमा प्रदर्शन गरिरहेका कामदार जनतामाथि प्रहरीद्वारा गोली चलाएपछि र त्यसविरुद्ध हरियाणा सरकारले कुनै कारबाही नगरेपछि उहाँले तत्कालै मन्त्रीपदबाट राजीनामा दिनुभयो । त्यसपछि उहाँ वामपन्थी विचारतिर बढी झुकाव राख्न थाल्नुभयो ।
सन् २०१० मा भारतीय राष्ट्रिय काङ्ग्रेस नेतृत्वको सरकारले उहाँलाई माओवादीसित संवाद स्थापित गर्ने जिम्मेवारी सुम्पेको थियो । तर, सरकारको दोहोरो चालका कारण वार्ता असफल भयो । त्यसको एक वर्षपछि अन्ना हजारेको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी आन्दोलनमा पनि उहाँ सहभागी हुनुभयो ।
भारतका एक वरिष्ठ वकिल प्रशान्त भुषणले उहाँको निधनपछि प्रतिक्रिया दिँदै भन्नुभयो – “स्वामी अग्निवेशको निधन ठूलो क्षति हो । उहाँ सहनशीलता र मानवताका सच्चा योद्धा हुनुहुन्थ्यो । मैले चिनेका समकालीन भारतीयहरूमध्ये उहाँ सबैभन्दा साहसी र जनहितका निम्ति ठूलो जोखिम मोल्ने व्यक्तित्व हुनुहुन्थ्यो । दुई वर्षअगाडि झारखण्डमा भाजपा/सङ्घ कार्यकर्ताहरूद्वारा भएको बर्बर र साङ्घातिक आक्रमणको सिकार हुँदा उहाँको दुवै कलेजो खराब भएको थियो ।”
८१ वर्ष पुग्न केही दिनमात्र बाँकी हुँदा स्वामी अग्निवेश संसारबाट बिदा हुनुभयो । उहाँको घरबार छैन । तर, उहाँको संसारसित प्रगाढ नाता छ । उहाँ अलिकति पनि विरक्त हुनुहुन्थेन । रागले हरेक अर्थमा उहाँको व्यक्तित्वको परिभाषा गर्दथ्यो । पे्रम, घृणा, र क्रोध यी तीनै भाव उहाँमा प्रशस्त थियो । उहाँ ती धार्मिकहरूको अग्रदूत हुनुहुन्थ्यो, जसले आफ्नो धर्मप्रतिको आस्थाको कारण समाजलाई अधार्मिकताबाट माथि उठाउने प्रयास गरे । ती चाहे स्वामी दयानन्द हुन् या स्वामी विवेकानन्द ¤ उहाँहरूमा सांसारिक धार्मिकता थियो, जसले समाजलाई उदार, मानवीय र प्रेमिल बनाउन खोज्थ्यो । स्वामी र प्रेम ? मलाई एक प्रसङ्ग सम्झना भयो । मेरी एक छात्राको प्रेम जुन युवकसित थियो, उनको परिवारलाई त्यो वैवाहिक सम्बन्ध स्वीकार थिएन । तर, उनीहरू दुवैजनाले विवाह गर्ने निश्चय गरे । भारतको विशेष विवाह अधिनियमअन्तर्गत विवाह दर्तालाई जुन किसिमले कठिन बनाइदिएको छ, त्यसैका कारण धेरै युगल जोडीले कानुनी दर्ता भएको विवाहको मार्ग अपनाउन सक्दैनन् । हामीले स्वामी अग्निवेशलाई फोन गर्‍यौँ र आफ्नो समस्या राख्यौँ ।
उहाँले लाजपत नगरको आर्य समाज मन्दिरमा कुरा गरेर उनीहरूको विवाहका लागि व्यवस्था गरिदिनुभयो । उहाँ स्वयम् पनि विवाह कार्यक्रममा आउनुभयो र पूरै समय त्यहाँ उपस्थित हुनुभयो । उहाँको अनुहारमा त्यतिबेला प्रशन्नताको भाव छचल्किरहेको थियो । उहाँ स्वयम् आफ्नो व्यस्त दैनिकीमा पनि समय निकालेर आशीर्वाद दिन आउनुभयो । त्यतिबेला उहाँसँगै अर्का विद्वान वेदप्रताप वैदिक पनि खुशीसाथ त्यहाँ उपस्थित हुनुहुन्थ्यो । त्यसबाट मेरी छात्रालाई मात्र होइन, हामी सबैलाई धेरै ठूलो भरोसा मिलेको थियो । यस्तो अनुभव मेरोमात्र छैन, मजस्ता कैयौँले स्वामी अग्निवेशको सहयोग र आशिषको अनुभव गरेका छन् ।
धर्मले संसारमा कसरी असर पारेको छ ? ॅईश्वरीय’ सृष्टिको मान्यताअनुसार मानिसले जुन विकृतिहरू उत्पन्न गरे, तिनलाई ठीक गर्नु नै धर्मको जिम्मेवारी हो । यसो गर्नका लागि संसारसित भिड्नुपर्छ । मानवीय विकृतिहरूलाई ॅईश्वर’को योजनाको परिणाम भन्दै त्यसलाई निरन्तरता दिनु यथार्थमा समाजका शक्तिशालीहरूको धर्मद्रोह हो । उनीहरूको अधार्मिकतासित सङ्घर्षको अर्थ उनीहरूको कोपभाजनको सिकार बन्नु हो । यसकारण, अधिकांश सन्यासीहरू ॅईश्वरीय’ विधान होइन भनी थाहा हुँदाहुँदै पनि त्यसबारे खुलस्त बोल्दैनन् । ती सन्यासीहरू अन्याय-अत्याचारलाई पनि ॅईश्वर’को इच्छा बताएर भजनकिर्तनमा लागिरहन्छन् । ज-जसले मानिसले ॅईश्वर’को स्थान लिन सक्दैन भन्दै धर्मभित्रका विकृतिहरूको विरोध गरे, उनीहरूमाथि पनि चौतर्फी हमला भएका छन् ।
स्वामी अग्निवेशको जीवन यस्तै द्वन्द्वमा बितेको छ । बँधुवा मजदुर र बालश्रम धेरै पहिलेदेखि भारतमा थियो । त्यस समस्यामाथि प्रत्येकजसो धर्म बेपर्वाह थिए । तर, स्वामी अग्निवेशले मानिसलाई मानिसको दास बन्नबाट रोक्नु र बनेको भए मुक्ति दिनुलाई आफ्नो आध्यात्मिक कर्तव्य मान्नुभयो । बालबालिका, जसलाई भगवानको रूप मान्ने गरिन्छ, तिनीहरूलाई कसैको पनि दास बन्न-बनाउन दिन नसकिने उहाँको निश्चय थियो ।
उहाँको भिडन्त स्वयम् आफूलाई धार्मिक दावी गर्नेहरूसित धेरै भयो । नैतिक विजय स्वामी अग्निवेशकै भयो । घृणा उपयोगी भाव हो । महान् लेखक प्रेमचन्दका अनुसार अनाचार, अन्याय र असमानताप्रतिको सच्चा घृणाविना तपाईँ ती विकृतिसित लड्न पनि सक्नुहुन्न । यदि तपार्इँमा अन्याय, अत्याचार र असमानताप्रति घृणाभाव छैन भने तपाईँ उदासिन जीवन बिताउनुहुनेछ । त्यस्तो घृणाले न्यायको निम्ति सङ्घर्षलाई आवेग प्रदान गर्दछ । अग्निवेशमा त्यही घृणाको प्रचुरता थियो । आचार्य रामचन्द्र शुक्लले कारणसहितको सही क्रोधलाई स्वाभाविक मानेका छन् ।
जान दयालले स्वामी अग्निवेशका साथ आफूले प्यालेस्टाइन र जोर्डनमा गरेको यात्राको संस्मरण प्रकाशित गरेका छन् । प्यालेस्टाइन – जोर्डन सीमामा इजरायली सीमारक्षक सेनाले उहाँलाई रोक्यो । उहाँको पासपोर्ट पनि खोसियो । उहाँ तत्कालै त्यहीँ धर्नामा बस्नुभयो र इजरायली सेनाप्रति चिच्याउँदै नारा लगाउन थाल्नुभयो । त्यहाँ जम्मा भएका प्यालेस्टाइनी, इजरायली र शरणार्थीहरूको भीडलाई सम्बोधन गरेर भाषण पनि गर्नुभयो । त्यसपछि त्यहाँ राजदूतावासका अधिकारीहरू पनि आइपुगे, इजरायली सेनाका अधिकारीहरूले माफी माग्दै पासपोर्ट फिर्ता दिन बाध्य भए र सबैजना फेरि बसमा सवार भएर जोर्डन गए ।
धार्मिक मानिसहरू सबैजसो कुरामा ॅभगवान् भरोसे’ हुन्छन् । तर, स्वामी अग्निवेशको परिचय सबैभन्दा बढी हिम्मत या वीरताबाट हुन्छ । कसैलाई सङ्कटमा परेको देखेर आगोमा कुद्नसक्ने र बगिरहेको भेलमा हाम फाल्नसक्ने मानिसमध्ये अग्निवेश सबैभन्दा अगाडि हुनुहुन्थ्यो । उपदेश दिन सहज छ तर कार्यान्वयन गर्न कठिन । सन्यासको बहाना बनाएर कुनै पनि जोखिमसित बचेर हिँड्न सकिन्थ्यो । तर, स्वामी अग्निवेश त्यस्तो कायर हुनुहुन्थेन ।
दिल्लीका सामाजिक कार्यकर्ताहरू अझै स्मरण गर्छन्- १९८४ को दङ्गाका क्रममा कसरी स्वामी अग्निवेशले हिन्दू भीडको सामना गरेर शीखहरूलाई नरसंहार हुनबाट जोगाउनुभएको थियो ।
अमनदीप सन्धुले २००५ मा ॅरीडिफ’ लाई दिएको अन्तर्वार्तामा चर्चित सामाजिक कार्यकर्ता पूनम मटरेजालाई उद्धृत गर्दै भन्नुभएको थियो – शीखहरूमाथि भइरहेको हिंसा रोक्नका लागि हामीलाई मानिसहरूको जरुरत थियो । प्रहरी प्रशासन मूकदर्शक बनिरहेको थियो । तब हामी स्वामी अग्निवेशकहाँ गयौँ । उहाँ हामीसँगै आउनुभयो । चारैतिर लुटमार चलिरहेको थियो । एक स्थानमा हामी उत्तेजित हिन्दू भीडबाट घेरियौंँ । तत्कालै स्वामी अग्निवेश एउटा स्टूलमा उभिनुभयो र संयम नै हिन्दू धर्मको मूल मर्म भएको बताउनुहुँदै मानिसहरूलाई संयम अपनाउनका लागि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, हिन्दू धर्मका ती सच्चा अनुयायीहरू जसले हामीलाई सहिष्णुता सिकाएर गए, हामी पनि सहिष्णु हुनुपर्छ । हामीले हत्या र लुटपाट गरेको पटक्कै सुहाउँदैन । एक भगवा (गाढा पहेँलो) वस्त्रधारी सन्यासीको त्यस भीडमाथि जादुमय असर पर्‍यो र भीड एकैक्षणमा तितरबितर भई शान्ति कायम भयो ।
पछि पनि कैयौँपल्ट स्वामी अग्निवेशले जनताको हितका लागि आफूलाई समस्यामा पारेका छन्  । सामाजिक कार्यकर्ता हिमांशु कुमारले छत्तिसगढमा माओवादीहरू र सरकारको हिंसा रोक्न गरेको हस्तक्षेपलाई स्मरण गर्नुभयो । स्वामीजीको हिम्मत सबैभन्दा बढी अविस्मरणीय रहेको उहाँले बताउनुभयो ।
“स्वामीजी अत्यन्त साहसी हुनुहुन्थ्यो । उहाँ कति पनि डराउनुहुन्नथ्यो । छत्तिसगढमा सलवा जुडुमको आतङ्कको क्रममा र त्यसपछि ठूलठूला आदिवासी संहार सरकारद्वारा गरियो । स्वामी अग्निवेश ती सबैविरुद्ध आवाज उठाउनमा सधैँ अगाडि बढ्नुभयो । एकपटक माओवादीहरूले पाँचजना सिपाहीँहरूको अपहरण गरेका थिए । सिपाहीँका परिवार ठूलो बेदनामा थिए । स्वामी अग्निवेश उनीहरूलाई छोडाउन अबुझमाडको जङ्गलमा जानुभयो र सफलतापूर्वक तिनीहरूलाई छुटाएर ल्याउनुभयो ।”
छत्तिसगढमै ताडमेटलामा जक आदिवासीहरूको ३०० भन्दा बढी घरलाई प्रहरीले जलाए । मेलै सूचना दिएपछि स्वामी अग्निवेश तुरुन्त छत्तिसगढ आउनुभयो । त्यहाँ प्रहरी अधिकारी कल्लुरीको नेतृत्वमा स्वामी अग्निवेशमाथि भयानक हमला भयो । स्वामी अग्निवेशको ज्यान बल्लतल्ल जोगियो । त्यस्तै जब सारकेगुडामा गाउँमा रिजर्भ पोलिस फोर्स – आरपीएफले १७ जना आदिवासीहरू मार्‍यो (जसमध्ये नौ जना बालबालिका थिए), हामीले दिल्लीको इन्डिया गेटमा विरोध प्रदर्शन र सभा गर्‍यौँ । स्वामी अग्निवेशले त्यस मुद्दालाई निकै स्पष्ट हुने गरी कुरा राख्नुभएको थियो । त्यसैबाट जनदबाब बढेपछि सरकारले आदिवासी परिवारलाई क्षतिपूर्ति दिन र जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्नुपरेको थियो ।
स्वामीजीको जीवनमा अनेकौँ रुचिकर प्रसङ्गहरू छन् । स्वामीजीको टीभी शो राज्यसभा च्यानलमा आउने गथ्र्यो । त्यतिखेर पी. चिदम्बरम गृहमन्त्री थिए । स्वामीजीले त्यस कार्यक्रममा बहस गर्नका लागि मलाई बोलाउनुभयो । मैले स्वामीजीलाई पहिल्यै चेतावनी दिएको थिएँ, “यदि तपार्इँले मलाई बोलाउनुभयो भने हुनसक्छ अर्को हप्तादेखि नै सरकारले तपार्इँको कार्यक्रम बन्द गरिदिनेछ ।” स्वामीजीले ॅकेही छैन, तपाईँले आफ्नो कुरा राख्नुस् न’ भन्नुभयो । म गएँ, मेरो कुराको जवाफ दिनका लागि गृहमन्त्री त आएनन् । तर, गृहमन्त्रालयबाट एक उपसचिव आएका थिए । उनले सच्चाइको सामना गर्न सकेनन् । मेरो दावी वस्तुगत सच्चाइमा आधारित र सप्रमाण थियो, सरकारको प्रतिनिधिले जवाफ दिनै सकेनन् । त्यसको दुई दिनपछि स्वामीजीलाई एउटा पत्र आयो । त्यसमा भनिएको थियो – अर्को हप्तादेखि तपाईँको कार्यक्रम प्रशारण गरिनेछैन । स्वामीजीको टीभी पत्रकारितामा पूणर्विराम लाग्यो ।
स्वामी अग्निवेश राजनीतिको कैयौँ अवतारमा आउनुभयो । राजनीतिको छुद्रताको हिलोको छिटा उहाँमाथि पनि पर्‍यो । त्यसबाट उहाँ कति पनि डराउनुभएन । उहाँ भन्नुहुन्थ्यो – “सांसारिकतासित नजुझिकन आध्यात्मिकताको परीक्षा कसरी हुन्छ ?” सत्य कुरा यो हो कि आजको युगमा आध्यात्मिकताको आधार खोजी गर्नमा उहाँले समय व्यर्थ फाल्नुभएन । उहाँले भारतमा अल्पसङ्ख्यकहरूको अधिकारका लागि अडिगरूपमा उभिने एउटा अभियानको जग राख्नुभयो । उहाँ स्वयम् हिन्दू हुनुहुन्थ्यो तर उहाँ गान्धीको परम्पराका हिन्दू हुनुहुन्थ्यो । उहाँ कोही मुसलमान या शीख या ईसाइ या आदिवासीहरूलाई आफ्नो रङमा रङ्गाउन कहिल्यै चाहनुभएन । बरु तिनीहरूका लागि आफ्नो रगत बगाउन सधैँ नै तत्पर रहनुभयो । उहाँ मुसलमान र ईसाईहरूका पनि सच्चा मित्र हुनुहुन्थ्यो र त्यसैले उहाँ सफल हिन्दू हुनुहुन्थ्यो ।
भारतीयतामाथि पनि स्वामी अग्निवेशको अधिकार कसैको तुलनामा कम थिएन । वेपा श्याम रावको रूपमा एक तेलेगु परिवारमा जन्मनुभएका उहाँले छत्तिसगढ, बङ्गाल, हरियाणा र दिल्लीलगायत राज्यमा आफ्नो भारतीयता कुँद्नुभयो । उहाँ बहुभाषी हुनुहुन्थ्यो । उहाँको स्पष्ट हिन्दी सुनेर तपाईँ अनुमानै लगाउन सक्नुहुन्न कि हिन्दी उहाँको आर्जित भाषामात्र हो भनेर । त्यसैकारण उहाँ हिन्दू धर्मको सतहीकरण सहन गर्न सक्नुहुन्नथ्यो । त्यसैगरी भारतीयताको स्वाङ पनि उहाँलाई सह्य थिएन । उहाँले यी दुवैका लागि आफ्नो पूणर् परिश्रम लगाउनुभयो । आफ्नो रगत-पसिना सही हिन्दूत्व र सही भारतीयता कुँद्नमा उहाँले पोख्नुभयो । तिनलाई अरूले त सडकमा परेको चिजजस्तै उठाउनसम्म चाहेनन् । तिनको मूल्य उहाँलाई थाहा थियो । धर्म र भारतीयताको भ्रष्टीकरण देखेर त्यो सन्यासीमा पनि क्रोध प्रज्ज्वलित हुने गथ्र्यो ।
यो तथ्य हिन्दूहरूका लागि अफसोसको कुरा छ- तथाकथित हिन्दूहरूका उच्चपदस्थहरूले स्वामी अग्निवेशलाई कहिल्यै आफ्नो साथी वा हितैषी मानेनन् । स्वामी अग्निवेशमाथि अन्तिम भौतिक हमला झारखण्डमा तत्कालीन शासक दल भारतीय जनता पार्टीको इसारामा भएको थियो । त्यसअघि दिल्लीमा त्यसै पार्टीद्वारा अटलविहारी वाजपेयीलाई श्रद्धाञ्जली दिन गइरहेको बेलामा गरिएको थियो । त्यसबाट उहाँको शारीरिक क्षति भयो तर स्वामी अग्निवेशको मनोबल किञ्चित मात्र पनि डगमगाएन । स्वामी अग्निवेशजस्ता आफैलाई बिर्सेर अरूको हित र सेवामा समर्पित ॅआत्मा’लाई टाढा गरेर हिन्दूहरूले आफ्नो ॅआत्मा’लाई कति नोक्सान गरिरहेका छन्, के उनीहरूले कहिल्यै अनुभूति गर्नेछन् ?
Swami Agniwsh : Search of modern Spirituality)
– The Wire, 12 Sept. 2020
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *