भर्खरै :

प्याजको कुरा

 
नेपाल–चीन व्यापार नाका बन्द र भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा रातारात प्याज अभाव भएको छ र मूल्य दोब्बरभन्दा बढीले बढेको छ । प्याजको कृत्रिम अभाव र मूल्यवृद्धिमा भारत सरकारको निर्णय जिम्मेवार देखिए पनि यथार्थमा नेपालमा थोक तथा खुद्रा व्यापारीहरू दोषी भएकोमा कुनै शङ्का छैन । अहिले नेपाली बजारमा रहेका प्याज कम्तीमा १५ दिनअगावै नेपाल–भारत सीमा कटेका थिए, त्यसको मूल्य हिजोको आजै कसरी बढ्न सक्छ र बढाउन मिल्छ ?
यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपालमा प्याजको अभाव सिर्जना हुन नदिन भारत–चीनसँग कूटनीतिक पहल गर्ने बताए । हिन्दू नेपालीहरूको ठूलो पर्व दसैँ–तिहारको समयमा प्याजको बढी खपत हुने भएकोले त्यसलाई मध्यनजर गर्दै आफूहरूले कसरी अगाडि बढ्न सकिन्छ भनी छलफल गरिरहेको मन्त्री भट्टले जानकारी दिए । प्याजको अभावका सम्बन्धमा कृषिप्रधान देशका कृषि मन्त्रीको कुनै प्रतिक्रिया आएन । प्याज नेपालको तराईमात्र होइन, भित्री मधेस र पहाडका बेँसीहरूमा समेत उत्पादन गर्न सकिने तरकारी हो । प्याजमा समेत नेपाल दुई छिमेकी देशमा निर्भर हुनुले देशमा कृषि क्षेत्रको व्यापक आधुनिकीकरण र विकास भइसकेको प्रतिवेदन तयार गर्ने कृषि विभाग र मन्त्रालयको पोल खोलेको छ । नेपालको बजारमा प्याज अभाव हुन नदिन कृषि मन्त्री र मन्त्रालयको कुनै योजना सार्वजनिक होला ? विगतमा प्याजको खेती गर्ने किसानहरूले उत्पादनको उचित मूल्य नपाएर खेती गर्न छोडेको तथ्यलाई बिर्सन मिल्दैन । के अर्को वर्षदेखि प्याजको निम्नतम् मूल्य निर्धारण गर्ला र किसानहरूले आफ्नो उत्पादनको लागतसम्म उठाउन पाउलान् ? सरकारले यतिमात्र प्रत्याभूति गरिदिन सक्ने हो भने नेपालमै पर्याप्त प्याज उत्पादन सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *