भर्खरै :

बीस वर्षमुनिका व्यक्तिमा कम सङ्क्रमण

ब्रसेल्स, ३१ भदौ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घ्रिसिएससले बीस वर्षभन्दा मुनिका व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापीरूपमा १० प्रतिशतभन्दा न्यून रहेको र मृत्यु दर ०.२ प्रतिशत रहेको बताएका छन् । तथापि, बाल–बालिका र किशोर–किशोरीमा यो भाइरस सङ्क्रमणको सम्भावना र निधनको सम्भावनाबारे थप अध्ययन भने अझै हुन बाँकी रहेको उनले बताएका छन् ।
“यो भाइरसको कारण बाल–बालिकाको पनि निधन हुनसक्छ भन्ने कुरा थाहा छ । तर, बालबालिकामा यसको सङ्क्रमण नरममात्र देखिएको छ । कोभिड–१९ को कारण निधन हुने केटाकेटी र किशोर–किशोरीहरूको सङ्ख्या ज्यादै कममात्र छ”, महानिर्देशकले भने ।
तथापि, यो भाइरसले बालबालिका र किशोर–किशोरीमा पार्ने दीर्घकालीन असर भने अझै अनुसन्धानकै विषय भएको उनले बताए ।
भाइरसले कमैमात्र बाल–बालिकामा सङ्क्रमित भए पनि यसले अर्को कुनै तरिकाबाट असर पार्न सक्ने टेड्रोसले बताए ।
उदाहरणको लागि महामारीकै कारण संसारका धेरै देशमा अहिले बाल–बालिकालाई दिनुपर्ने असाधारण पोषण र खोपका कार्यक्रम अहिले स्थगित भएका छन् । करोडौँ बाल–बालिका अहिले विद्यालय जानबाट बञ्चित छन् ।
यसैबीच संसारका धेरै देशमा विद्यालयहरू खुल्न थालेपछि सरकार र परिवारले मात्र समुदायका सबैले बाल–बालिकालाई सुरक्षित गर्ने विषयमा चिन्ता लिनुपर्ने टेड्रोसले बताए । त्यसको निम्ति सावधानीका विभिन्न उपायको कडाइपूर्वक पालना गर्नुपर्ने उनले बताए ।
“विद्यालय बन्द रहेका देशमा दूरशिक्षामार्फत पढ्न पाउने बाल–बालिकाको अधिकार सुरक्षित गर्नुपर्छ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *