भर्खरै :

जापानमा सुगा नयाँ प्रधानमन्त्री, मन्त्रिमण्डलका अधिकांश सदस्य पुराना

टोकियो, १६ सेप्टेम्बर । जापानमा सत्तासीन उदार प्रजातान्त्रिक पार्टीका नेता योशिहिदे सुगालाई जापानको संसदले औपचारिकरूपमा प्रधानमन्त्री घोषणा गरेको छ । उनी बितेका आठ वर्षयता प्रधानमन्त्री बनेका नयाँ अनुहार हुन् । जापानी तल्लो सदनमा भएको मतदानमा कुल खसेको ४६२ मतमध्ये सुगाको पक्षमा ३१४ मत परेको थियो ।
सन् १९४८ मा जन्मेका प्रधानमन्त्री सुगाले सन् १९७३ मा होसेई विश्वविद्यालयबाट स्नानकोत्तर तह उत्तीर्ण गर्नुका साथै कानुनमा पनि स्नातक गरेका छन् ।
प्रधानमन्त्री बनेपछि उनले यसअघिका प्रधानमन्त्री सिन्जो अबेकै नीति अङ्गीकार गर्ने अपेक्षा गरिएको छ । कर्मचारी प्रशासनमा बलियो पकड भएको मानिएका नेता सुगाले कर्मचारीतन्त्रमा अनियमितता नियन्त्रणमा महत्वपूर्ण कदम चाल्न सक्ने बताइएको छ ।
तथापि, कोभिड–१९ नियन्त्रणसँगै अर्थतन्त्रलाई पुनःस्थापना गर्ने र बढ्दो ज्येष्ठ नागरिकको सङ्ख्या व्यवस्थापन उनीसामु प्रमुख चुनौती हुन् ।
सुगाको मन्त्रिमण्डलमा आधाभन्दा बढी मन्त्रीहरू अघिल्लो सिन्जो अबेको मन्त्रिमण्डलकै सदस्य हुन् । अबे सरकारको प्रमुख सदस्य तारो असो नयाँ मन्त्रीमण्डलमा पनि अर्थमन्त्री नै बनेका छन् । विदेश मन्त्रालयको जिम्मेवारी पहिलेकै तोशिमित्सु मोटेगीलाई नै दिइएको छ । ६४ वर्षका काटो प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । उनी अबेका नजिकका व्यक्ति हुन् । नवनिर्वाचित प्रधानमन्त्री सुगा यसअघि प्रमुख सचिवको जिम्मेवारीमा थिए । त्यत्तिबेला काटो सहायक प्रमुख सचिव थिए ।
अबेको मन्त्रिमण्डलमा रक्षा मन्त्रालय सम्हालेका तारो कोनोलाई अहिले प्रशासन सुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । हिरोशी काजियामा पुनः अर्थ, व्यापार र उद्योगमन्त्री बनेका छन् । शिन्जिरो कोइजुमी वातावरण मन्त्री बनेका छन् । अबेका भाइ नाबो किशी अहिले रक्षामन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *