भर्खरै :

अबको विकल्प समाजवादी गणतन्त्र

राजतन्त्रात्मक पञ्चायत व्यवस्था निरङ्कुश भएकै कारण जनताले फालेका थिए । पञ्चायती व्यवस्था सामन्तवादमा टेकेको थियो । राजा सामन्तवादका नाइके थिए । राजालाई कुनै कानुन नलाग्ने त्यो व्यवस्थामा मौलिक र राजनीतिक अधिकार थिएन । धर्मको नाउँमा शोषण हुन्थ्यो । सामन्ती चरित्रकै कारण मानिसमा अन्धविश्वास र कुरीति व्याप्त थियो । गोप्यरूपमा राजनीति गर्नुपथ्र्याे । राजाको विरोध गरे कानुन लाग्थ्यो । धार्मिक शोषणमात्र होइन आर्थिक, राजनीतिक शोषण पनि थियो । भ्रष्टाचार व्याप्त थियो । यही कारण पञ्चायती व्यवस्थाविरुद्ध जनताले आन्दोलन छेडेर राजतन्त्रात्मक व्यवस्था अन्त्य गरे ।
राजतन्त्रात्मक व्यवस्था अन्त्य गरेर गणतन्त्रात्मक व्यवस्था भएको पनि १२ वर्ष नाघ्यो । तर, अझै राजाभन्दा राजावादीहरू, सामन्तका पृष्ठपोषकहरू राजतन्त्रको पक्षमा वकालत गर्छन् । ‘सङ्कल्प गरे विकल्प उपलब्ध’ हुन्छ भनी राजतन्त्रको पक्षमा उनीहरूले गुणगान गरेका छन्, राजतन्त्रको आवश्यक महसुस गर्न थालेका छन् । त्यसबेला बीपीबाट नेपालको लागि राजाको अभिभावकीय भूमिका अपरिहार्य भएको प्रसङ्ग जोडेर देशमा फेरि राजतन्त्रको आवश्यकता देख्नु आकाशको फलसरि हुनेछ । विगतमा कम्युनिस्ट भनिने नेताहरूले राजासमक्ष गरेको बिन्तीभाउ र सांस्कृतिक प्रचलनमा राजाको भूमिका जोडेर राजतन्त्रप्रति आस्था जगाउनु कुनै पनि प्रगतिशील र अग्रगामी लेखकलाई सुहाउँदैन । इन्द्रजात्रामा जीवित देवी कुमारीको गात्रा, ललितपुरमा रातो मच्छेद्रनाथको भोटो जात्रा र भक्तपुरमा नवदुर्गाको दर्शनमा राजाको सहभागिता भएको विगतको प्रसङ्ग जोडेर राजतन्त्र फेरि फर्कन सक्ने आकलन गर्नु सपनाको धुनमा नाच्ने नाचबाहेक अरू हुनेछैन ।
हिजो राजतन्त्र अन्त्य भए पनि राजालाई नेपालमै बासको व्यवस्था गरिएको थियो । फेरि राजतन्त्रको आवश्यकता महसुस गरेर आन्दोलन छेडेमा या राजतन्त्र स्थापना गर्ने कोशिश भएमा पूर्वराजालाई हाल पाउँदै आएको बासस्थान पनि पाउँछ कि पाउँदैन भन्न सकिँदैन । प्रतिगामी आन्दोलन जनताको निम्ति स्वीकार्य हुनेछैन । देशमा हिन्दू राष्ट्र र हिन्दू धर्मको भजन गाएर अब जनताको विश्वास जित्न सकिँदैन । एक समयको शाहवंशीय राजसंस्था अब फर्कने छैन, फर्काउन दिनेछैन, कसैले साहस गरे त्यो दिवास्वप्नमात्रै हुन्छ । राजा आऊ देश बचाऊ र सबै नेपाली पञ्च हुन्, सबै पञ्च नेपाली हुन् भन्ने नारा इतिहासको पानामा थन्किसकेको छ । अब राजतन्त्र, पुँजीवादी गणतन्त्र होइन समाजवादी गणतन्त्रको आवश्यकता छ । समाजवादी गणतन्त्र स्थापना गरेर बहुमत जनताको हितमा राजनीति गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *