सन् १९७१ को अगस्ट महिनामा चाभेज सत्र वर्षको उमेरमा सेनामा भर्ती हुनुभयो । त्यति नै बेला देशभक्त सैनिक अधिकारीहरूको एक समूहले सैनिक विद्यालयमा आमूल परिवर्तनको पुनः संरचनाको अभ्यास गरिरहेको थियो । उनीहरू सिपाहीहरूलाई सैनिक विज्ञानलाई मात्र प्राथमिकता दिने, परम्परागत पाठ्यक्रमको सट्टा व्यापक दृष्टिकोण भएको मानवतावादी प्रस्थापना गर्दै थिए । आफ्नो सोचलाई उनीहरूले उन्नाइसौँ शताब्दीका भेनेजुयाली कवि तथा दार्शनिक एन्डे«स बिल्लोको नामसँग जोडेर ‘एन्ड्रेस बिल्लो योजना’ नामकरण गरेका थिए ।
सैनिक शिक्षालयकै इतिहासमा पहिलो पटक सिपाहीहरूलाई विश्वविद्यालयको दीक्षा दिने व्यवस्था मिलाइएको थियो । सेनामा भर्ती हुन उच्च माध्यमिक तह उत्तीर्ण गरिसक्नुपर्ने प्रावधान बनाइयो । सिपाहीहरूले सैनिक इतिहास र रणनीतिसहित विभिन्न सामाजिक अध्ययन गर्नुपर्ने व्यवस्था मिलाइयो ।

किशोर चाभेज\ युवा चाभेज
शिक्षालयका निर्देशकहरूले सिपाहीहरूलाई अर्थशास्त्र, राजनीतिशास्त्र, विश्व इतिहास, संवैधानिक कानुन, भौतिकशास्त्र, रसायनशास्त्र, वास्तुशास्त्र, चिकित्साशास्त्रलगायतका विषयहरू पढाउन प्राध्यापकहरूलाई आमन्त्रण गर्थे । त्यस्ता कक्षाहरूमा भेनेजुयलाको इतिहास र समसामयिक परिस्थितिका विषयमा पनि पढाइन्थ्यो ।
वामपन्थी गुरिल्लाहरूको प्रतिरोध गर्न तालिम लिइरहेका सिपाहीहरूलाई ‘कम्युनिस्ट घोषणापत्र’ समेत पढाउन थालियो । यो कुरा एक प्रकारले विरोधाभासपूर्ण थियो । त्यही क्रममा चाभेजले माओदेखि क्लाउजविट्जसम्म, निपोलियनदेखि क्लाउन हिलरसम्मको अध्ययन गर्नुभयो । क्याउज हिलर सेनालाई सामाजिक परिवर्तनका बाहकको रूपमा लेख्ने पर्सियाली सैनिक अधिकारी थिए । त्यतिबेलाका कतिपय सिपाहीहरूको अध्ययनको दायरा आफूभन्दा अघिका सिपाहीहरूले पढेका परम्परागत पाठ्यक्रमभन्दा निकै पृथक र अगाडि बढ्यो । चाभेजभन्दा एक वर्षपछि सेनामा भर्ती भएका उहाँका नजिकका मित्र राउल इसायस बाड्युनले त पूर्वीय दर्शन र ध्यान विधिबारे विशेषज्ञता नै हासिल गरे ।
एन्डे«स बिल्लो योजनाले भेनेजुयाली सेनामा स्पष्टतः पुराना सिपाही र नयाँ सिपाहीबीच भेद ल्यायो । पुराना सिपाहीहरूले जस्तै नयाँ सिपाहीहरूले संरा अमेरिकाद्वारा सञ्चालित ‘द स्कुल अफ द अमेरिका’ जस्ता विद्रोह दबाउन तालिम दिइने शिक्षालयहरूमा तालिम लिएका थिएनन् । त्यतिबेला पानामामा रहेको यो शिक्षालय हाल जोर्जियाको फोर्ट बेनिनमा छ । आलोचकहरूले यो शिक्षालयलाई हत्याराहरूको शिक्षालयको नाम दिएका छन् । ल्याटिन अमेरिकाका अधिकांश जनविरोधी तानाशाह र मानव अधिकार उल्लङ्घनकर्ताहरूले तालिम लिएको शिक्षालय भएकोले यो शिक्षालय बदनाम छ । त्यो शिक्षालयले तयार गरेका जनविरोधीहरूमध्ये बोलिभियाका जनरल ह्युगो बोन्जर पनि पर्छ । त्यस्तै सन् १९८१ को डिसेम्बरमा एल साल्भाडोरको एल मोजोटेमा हजारौँ बुढा–बुढी र केटाकेटीहरूको हत्या गर्ने माथिल्लो वर्गका साल्भाडोरियाली सिपाहीहरू पनि त्यही शिक्षालयबाट तालिम प्राप्त थिए ।
एन्ड्रेस बिल्लो योजना आउनुअघि भेनेजुयलाको सेना ल्याटिन अमेरिकाका अरू देशका सेनाभन्दा पृथक थियो । भेनेजुयाली सेनाभित्र विभेद थिएन । जो कोही पनि उच्च पदमा पुग्न सक्थे अथवा इज्जतदार सैनिक शिक्षालयमा प्रवेश गर्नसक्थे । चिली र अर्जेन्टिनामा जस्तै सेनामा कुनै जात विशेषको जगजगी थिएन । भेनेजुयलाका अधिकांश उच्चपदस्थ सैनिक अधिकारीहरू सहरका गरीब र किसान परिवारबाट आएका थिए । उनीहरूलाई हातमुख जोड्न जनताले भोग्ने समस्याबारे थाहा थियो । त्यसको अर्थ उच्च पदमा पुगिसकेपछि उनीहरूले कुलीन वर्गको विपक्षमा उभिहाल्छन् भन्ने कुरा भने होइन । तर, नयाँ सेनाका प्रायशः सिपाहीहरूजस्तै चाभेज बाड्युन र उहाँका अर्का सहपाठी जोर्ज लुइस गार्सिया, कानिरोलगायतले आफ्नो धरातल बिर्सेका थिएनन् । कतिपय सिपाहीहरू त यति गरीब थिए, उनीहरूका परिवारले एक जोर जुत्तासम्म किन्न सक्दैनथे ।
एन्ड्रेस बिल्लो योजना र भेनेजुयाली सेनामा सुरुदेखिको उदारता मिलेर सन् १९७० दशकको सुरुवातमा त्यहाँ नयाँ किसिमको सेना तयार भयो । सैनिक ‘कू’ गर्ने र रक्तपातपूर्ण तानाशाही शासन स्थापना गर्ने पहिलेका दक्षिणपन्थी सेनाभन्दा त्यो सेना फरक खालको थियो । अर्जेन्टिना र चिलीका परम्परागत मुढेबल स्वभावका सशस्त्र बलभन्दा भिन्न भेनेजुयलाको नयाँ सेनामा व्यवसायिक निपुणता, नागरिक सम्पर्क र ताजा सामाजिक संवेदनशीलता बढी थियो ।
चाभेजमा एन्ड्रेस बिल्लो योजनाको निकै गहिरो प्रभाव थियो । उहाँले त्यो योजना र त्यसबाट तयार गरिएका मानिसहरूलाई भुल्नुभएको छैन । उहाँ लेफ्टिनेन्ट कर्णेल जासिन्टो पेरेज अर्केको कक्षाबाट भित्रैबाट प्रभावित हुनुभयो । उनी आफैँ एक लेखक तथा इतिहासकार थिए । उनीले जामोरा र सङ्घीय युद्धका विषयमा राम्रो व्याख्यान दिन्थे । साढे तीन दशकपछि चाभेज राष्ट्रपति बनेर मिराफ्लोर्स दरबार पुग्दा उहाँले अवकाश प्राप्त जासिन्टो पेरेजलाई आफ्नो कार्यालयसँगै एउटा सानो कार्यालयको व्यवस्था गरिदिनुभयो । एन्डे«स बिल्लो योजना ल्याउने सैनिक शिक्षालयका पूर्वनिर्देशक जर्ज असोरियो गर्सियालाई क्यानाडाका लागि राजदूत बनाइदिनुभयो ।
त्यतिबेलाका कक्षाहरूमा आर्के र अरू प्राध्यापकहरू भेनेजुयलाका ऐतिहासिक विभूति सिमोन बोलिभारको विषयमा पनि चर्चा गर्थे । किशोरावस्थामै चाभेजले त्यहाँका मुक्तिदाता बोलिभारको विषयमा भरपूर शिक्षा हासिल गर्नुभयो । “सुपरम्यानको सट्टा मेरो नायक बोलिभार थिए” उहाँले एक प्रसङ्गमा भन्नुभएको थियो । आर्के र अरू शिक्षकहरूको सहयोगमा स्पेनी शासनबाट ६ वटा दक्षिण अमेरिकी देशहरूलाई मुक्त गरी भेनेजुयलामा नायक कहलिएका बोलिभारको विषयमा चाभेजले गहिराइमा अध्ययन गर्नुभयो । भेनेजुयालीहरूको निम्ति सिमोन बोलिभार जर्ज वाशिङ्टन, अब्राहम लिङ्कन र जिसस क्राइस्टका संयुक्त अवतार थिए । राजनैतिक चिन्तक डानियल हिलिङ्गरको शब्दमा उनी ‘धर्मनिरपेक्ष साधु’ थिए ।
सिमोन बोलिभारप्रति चाभेजको आकर्षण सामान्यभन्दा बढी थियो । यो आकर्षण समयान्तरमा गहिरो समर्पणमा बदलियो । चाभेजले मुक्तिदाता बोलिभारबारे भेटिएका जति सबै सामग्री अध्ययन गर्नुभयो ।

विद्रोही चाभेज
रातको ९ बजे शिक्षालयमा कक्षा समाप्त हुन्थ्यो । चाभेज भने फेरि पनि खाली कक्षा कोठामा बसेर पढिरहनुहुन्थ्यो । शिक्षार्थीहरूलाई रातको ११ बजेसम्म कक्षाकोठामा बस्ने अनुमति थियो कहिलेकाहीँ त चाभेज ११ बजेपछि पनि त्यही हुने गर्नुहुन्थ्यो । उहाँ खुला पुस्तकमाथि नै घोप्टो परेर सुतिरहेको अवस्थामा भेटिनुहुन्थ्यो ।
बोलिभारप्रति चाभेजको आकर्षण त्यति आश्चर्यको विषय भने पक्कै होइन । सिमोन बोलिभारको जीवन विजय पराजयको उथलपुथलमय श्रृङ्खला थियो । सन् १८३० को डिसेम्बर १७ मा निधन हुँदा उनको अवस्था ज्यादै त्रासद थियो । उनीसँग न खल्तीमा एक पैसा बाँकी थियो न त साथमा कोही साथी नै । मर्नुअघि इक्वेडरका एक जनरललाई लेखेको चिट्ठी मा उनले निकै नमीठो भविष्यवाणी गरेका थिए जसको तरङ्ग ल्याटिन अमेरिकी इतिहासमा दशकौँसम्म रह्यो । उनले लेखेका थिए, “ल्याटिन अमेरिकामा शासन सम्भव छैन । यहाँ क्रान्ति गर्छु भनेर हिँड्नु समुद्रमा हलो जोत्नु जतिकै हो । अमेरिकीहरू प्रवासिनुबाहेक केही गर्नसक्दैनन् ।”
सिमोन बोलिभारले यी निराशजनक वाक्यहरू लेखेको झन्डै साढे एक शताब्दीपछि सैनिक शिक्षालयका कक्षा कोठामा चाभेजले ढिला राति पढ्दै गर्दा उहाँ भने त्यति निराश हुनुहुन्थेन जति बोलिभार आफ्नो जीवनका अन्तिम दिनहरूमा थिए । बरु बोलिभारका यस्ता शब्दले उहाँलाई उत्साहित बनायो । कालान्तरमा भेनेजुयलाका भ्रष्ट संस्थाहरूमा सुधार एवं साम्राज्यवादी शोषणबाट मुक्त सार्वभौम तथा एकीकृत ल्याटिन अमेरिका हासिल गर्ने आफ्नो लक्ष्य गर्न चाभेजले बोलिभारको जीवन र विचारलाई आफ्नो आदर्श स्वीकार्नुभयो ।
चाभेजले बोलिभारका ‘खुला पत्र’ र भाषणको अध्ययन गर्नुभयो । ती दस्तावेजहरूमा बोलिभारले आफ्नो समयको सबभन्दा अग्रगामी राजनीतिक चिन्तन पोखेका थिए र चाभेजका लागि यो चिन्तनको ठूलो महत्व रह्यो । चाभेजको विचारमा बोलिभारले सिङ्गो ल्याटिन अमेरिकालाई एउटा राष्ट्रको रूपमा स्पष्ट कार्यक्रम प्रस्तुत गरे । बोलिभारको निधनको सवा एक शताब्दीको उत्तराद्र्धमा बोलिभारको यो विचारको उत्तराधिकार चाभेज स्वयंले सम्हाल्नुभयो ।
बोलिभारको जीवनमा चाभेज यति गहिरोसँग डुब्नुभयो, कतिबेला त उहाँ स्वयं बोलिभार हुन् कि भन्ने भान पाथ्र्यो । ‘जब उहाँ बोलिभारको विषयमा कुरा गर्नुहुन्थ्यो, यस्तो लाग्छ मुक्तिदाता स्वयं उहाँ भित्र छन्,” चाभेजका नजिकका मित्र मिलाग्रो फ्लोर्स डि रेर्यसले भनिन् ।
भेनेजुयलामा रूपान्तरण ल्याउने चाभेजको इच्छाशक्ति बोलिभारसम्बन्धी पुस्तक पढेर मात्र जन्मेको भने होइन ।
चाभेजको मनमा भेनेजुयलामा परिवर्तन ल्याउने चाहनाको जन्म फगत सिमोन बोलिभारका पुस्तकहरू पढेर भएको थिएन । दुर्गन्धित नाली बगेका काराकसका गरीब बस्ती र रान्छोस पहाडका मानिसहरूको दयनीय अवस्थाले पनि उहाँभित्र त्यो परिवर्तनको चाहना हुर्काइदियो । आफ्नो पद र हैसियतको निकै ख्याल गर्ने सैनिक शिक्षालयका चाभेजका सहकर्मीहरू जनतासँग घुलमिल हुन रुचाउँदैनथे । उनीहरू सार्वजनिक यातायातका साधन प्रयोग गर्नसमेत अन्कनाउँथे । तर, चाभेज त्यस्ता नियमको पर्वाह गर्नुहुन्नथ्यो । उहाँ प्रायः शनिबार आफ्ना बुबाका मित्रको घरमा बिताउने गर्नुहुन्थ्यो । त्यहाँ जाँदा–आउँदा पनि उहाँ आफ्नो बर्दी र सेता पञ्जा लगाउने गर्नुहुन्थ्यो । उहाँको यस्तो चाला देखेर वरपरका मानिसहरू तीनछक्क पर्थे ।
रान्छोसका पहाडहरूमा उहाँले वास्तविक संसार देख्नुभयो र अलो प्रिमिराका गीतहरू सुन्न अभ्यस्त हुनुभयो । एक दिन उहाँ प्राडोस डेल इस्टीको एउटा सम्पन्न घरमा पाहुना बनेर पुग्नुभयो । त्यहाँबाट फर्किँदा उहाँले धेरै हिँड्नुप¥थ्यो किनभने ट्क्यासी चढ्न उहाँसँग पैसा थिएन । धनी परिवार भएर पनि उहाँलाई त्यो घरका मानिसहरूले फर्कने पैसाले जोहो पनि गरिदिएनन् । गरीब बस्तीमा उहाँले यस्तो समस्याको कहिल्यै सामना गर्नुपरेको थिएन । “गरीबहरूसँग माया हुन्छ, सद्भाव हुन्छ । उनीहरू आफूले खाँदै गरेको रोटीसमेत बाँडेर खान तयार हुन्छन् । तर, धनीहरू चिसो हृदयका हुन्छन् ।” उहाँले भन्नुभएको छ ।
चाभेजको मनमा सुरुदेखि नै बोलिभारका सपना साकार पार्ने उत्कृष्ट चाहना थियो । भेनेजुयलाका राष्ट्रपति कार्लोस एन्ड्रेस पेरेजको स्वागतपछि उहाँले आफ्नो व्यक्तिगत डायरीमा लेख्नुभएको थियो, “लामो प्रतिक्षापछि राष्ट्रपति आउनुभयो । जब मैले उहाँलाई देखेँ, मैले पनि एक दिन यो बोलिभारको महान् भूमिको जिम्मेवारी आफ्नो काँधमा बोक्नुपर्ने कुरा सोचेँ ।” त्यतिबेला चाभेज भर्खर उन्नाइस वर्षको हुुनुहुन्थ्यो । उहाँले सन् १९७४ को मार्च १३ मा यी वाक्यहरू लेख्नुभएको थियो ।
त्यही वर्षको सेप्टेम्बर महिनामा उहाँले आफ्नै उमेरका अरू युवाहरूको अवस्थाप्रति दुःख पोख्दै लेख्नुभयो, “हामीले जे गरिरहेका छौँ, त्यो कुरा थाहा भए उनीहरूले हामीलाई पागल भन्नेछन् । तर, म पागल होइन । मलाई मैले के चाहेको छु, म के गरिरहेको छु र म केका लागि बलिदान गर्दै छु भन्ने विषयमा राम्ररी थाहा छ । यतिखेर म चे ग्वेभाराको भनाइ सम्झन्छु, ‘वर्तमान सङ्घर्ष हो, भविष्य हाम्रो हुनेछ ।’
त्यतिञ्जेल चाभेजमा सामाजिक संवेदनशीलताको राम्रो विकास भइसकेको थियो । साबानिटामा बिताउनुभएको गरिबीले पिरोलिएको बाल्यकाल र त्यसपछि वरपर देखेका दृश्यहरूले उहाँमा त्यो भावनाको विकास गरिदियो । त्यही क्रममा उहाँले आफ्नो डायरीमा आफू कफी खान पसेको एउटा घरको बारेमा लेख्नुभएको थियो, “आफ्ना दुई केटाकेटीसँगै तिनी महिला बिदाबारी गर्न दैलोसम्म आइन् । मैले ती केटाकेटीहरूमा गहिरो दुःख देखेको छु । उनीहरूका पेट फोहर खाना, खाली खुट्टाका कारण जुकाले भरिएका थिए । यस्ता दृश्यले मेरा रक्तनलीमा तातो रगत बगेको महसुस गर्छु र ती मानिसहरूका लागि मैले जे गर्नुपर्ने हो, गर्छु जस्तो लाग्छ ।”
चाभेज भेनेजुयलामा फैलिएको गरिबीको साक्षी बनिरहेको र बोलिभारको जीवनमा झन् झन् डुब्दै गर्दा ल्याटिन अमेरिकाकै अरू देशहरूमा मुक्तिका लागि पहलकदमीहरू भइरहेका थिए र त्यसमध्ये एउटा देश थियो पेरु । चाभेज बोलिभारका विषयमा जान्ने बुझ्ने युवाविज्ञ बनिसक्नुभएको थियो । उहाँलाई साथीहरूबीच ती नायकका विषयमा बोल्न आमन्त्रण गरिन्थ्यो । अनौपचारिकरूपमा बोलिभारियानोस भनेर चिनिने समूहमा उहाँ पनि आबद्ध हुनुहुन्थ्यो । बोलिभारप्रति उहाँको समर्पणभाव नै यसको कारण थियो । उहाँहरूले आफ्नो कक्षाको नाम नै बोलिभारको नामसँग जोड्नुभएको थियो । सन् १९७४ को अन्त्यतिर सैनिक शिक्षालयमा चाभेजहरू अन्तिम दिन बिताउँदै हुनुहुन्थ्यो । त्यही बेला चाभेजसहित एक दर्जन सिपाहीहरूलाई पेरु जाने अवसर प्राप्त भयो । अयाकुछो युद्धको १ सय ५० औँ वर्षगाँठमा आयोजित कार्यक्रममा सहभागी बन्न उहाँहरूलाई त्यहाँ पठाइएको थियो ।
आफू पेरु जाने टोलीमा छानिएको खबर पाउने बित्तिक्कै चाभेज सैनिक शिक्षालयको पुस्तकालयमा गएर पेरुको अवस्थाबारे अध्ययन सुरु गर्नुभयो । त्यहाँको वस्तुस्थितिको अध्ययनले उहाँलाई चकित पा¥यो ।
पेरुमा ज्वान भेलास्को अल्भाराडो नामका राष्ट्रवादी सैनिक जनरलले प्लान इन्का नामको क्रान्तिको नेतृत्व गरिरहेका थिए । साढे दुई दशकपछि चाभेज र उहाँका साथीहरूले गरेजस्तै पेरुमा एक समूह प्रगतिशील सैनिक अधिकारीहरूले त्यहाँको व्यापक भ्रष्टाचार र खस्किँदो अवस्थाबाट आक्रोशित भएर सन् १९६८ मा सत्ता कब्जा गरेका थिए । उनीहरूले फर्नान्डो बिलाउन्डो टेरीको नागरिक सरकारलाई सत्ताच्युत गरिदिए ।
पेरुका गाउँ–गाउँमा गुरिल्लाहरूसँग लडेको अनुभव प्राप्त ती सैनिक अधिकारीलाई ग्रामीण जनतामा व्याप्त गरिबीबारे थाहा थियो । भेलास्कोले सन् १९६० को दशकमा गुरिल्लाहरूलाई दमन गरिरहँदा उनले अर्को गुरिल्लाहरूका कार्यक्रम पनि कार्यान्वयन गरिरहेका थिए । उनले विदेशीको नियन्त्रणमा रहेका तेल कम्पनीहरू राष्ट्रिकरण गरे र उबुका खल्यानहरू कब्जा गरे र उनले बृहतृ भूमिसुधार लागु गरे । एन्डियन पर्वतका आदिवासी जनताले बोल्ने भाषालाई उनले आधिकारिक भाषा बनाइदिए । उनले अनुदारवादी पत्र–पत्रिका बन्द गराए र कलकारखानाको व्यवस्थापनमा मजदुरहरूको भूमिका बढाइदिए । वाशिङ्टनको चाहनाविपरीत उनले क्युवासँग कूटनीतिक सम्बन्ध विस्तार गर्नुका साथै सोभियत सङ्घसँग दुई पक्षीय व्यापार सम्बन्ध गाँसे ।
भिलास्कोले प्लान इन्काको उत्कर्ष कालमा चाभेज पेरु पुग्नुभयो र धेरै दिन क्रान्तिकारी वातावरणको अनुभव गर्नुभयो । त्यहाँ, उहाँले पेरु, चिली, कोलोम्बिया, पानामालगायतका देशका सैनिक अधिकारीहरूसँग भेट्नुभयो । त्यहाँ पनि उहाँले पेरुका गरिब अवस्थाको प्रत्यक्ष अवलोकन गर्नुभयो ।
पेरु भ्रमणको अन्त्यमा चाभेज र अरू भेनेजुयाली अधिकारीहरूसँग भिलास्काले भेटे । भेटमा दुईवटा पुस्तक उपहार दिए । एउटा थियो पेरुको सैनिकको क्रान्तिकारी सरकारको घोषणापत्र भने अर्को भालिस्कोका भाषणहरू सङ्कलित सानो निलो पुस्तिका थियो । सो भेटबारे चाभेजले पछि भन्नुभएको छ , भिलास्कोसँगको भेटघाटपछि मैले ती पुस्तकहरू पिएँ । उसका कतिपय ‘भालिस्कोका भाषण त मैले कण्ठसमेत गरँे ।’ उहाँले धेरै वर्षसम्म त्यो निलो पुस्तक आफैँसँग राख्नुभयो । १७ वर्षपछि उहाँ आफैँले सत्ता कब्जाको प्रयास गर्दा सरकारले अरु पुस्तकहरूसँगै त्यो पुस्तक पनि जफत गरियो । दुई वर्षपछि चाभेज फेरि पेरु पुग्दा भिलास्कोको राष्ट्रिय सरकार अपदस्थ भइसकेको थियो । भिलास्को सरकारलाई जनसमर्थनको अभाव हुनुका साथै पैसाको पनि अभाव थियो । उसका सबै विदेशी संचिति सकिएको थियो । भिलास्कोका दुई प्रमुख गल्ती थिए – पहिलो उनको सरकारले पूर्णरूपले सैनिक अधिकारीहरूले भरिएको थियो, नागरिकको उपस्थिति थिएन । साथै उनको सरकारले आफूले गरेका सुधारका तत्कालीन हितबाहेक अन्य कुरालाई बेवास्ता ग¥यो । यो कुरा चाभेजले राम्ररी बुझ्नुभएको थियो । वाम पक्षधर भिलास्को सरकारको पतनले चाभेजलाई एउटा प्रगतिशील सैनिक शासक कसरी ढल्न सक्छ भन्ने शिक्षा दिलायो, कालान्तरमा यो पाठ उनको लागि उपयोगी सिद्ध भयो । साथै चाभेजले पेरुलाई बोलिभारप्रति निकै सम्मान गर्ने देशको रूपमा चिन्नुभयो ।
त्यस्तै घटना पानामामा पनि भएको थियो । सन् १९६८ मा जनरल ओमार तोरिजोसले सत्ता कब्जा गरे । चाभेज तोरिजोसकै एक जना छोरीसँग काराकसको सैनिक शिक्षालयमा पढ्नुभएको थियो । पानामामा सैनिक शिक्षालय नभएकोले तोरिजोसका छोरा काराकस पुगेका थिए । दुवै जना बेसबलमा रमाउँथे र राम्रा साथी बने । पानामाको राष्ट्रवादी अनुभव थाहा पाएका चाभेजले आफ्ना मित्रसँग उनका पिताबारे पुस्तकहरू ल्याइदिन आग्रह गर्नुभयो । तोरिजोसका छोराले आफ्ना पिताले किसानहरूबीच भाषण गरिरहेका तस्वीरहरूसमेत उहाँलाई दिए । त्यसबाट चाभेज तोरिेजोसबाट प्रभावित हुनुभयो । शिक्षालयबाट बिदा हुनु अगाडि चाभेज पानामा पुग्नुभयो, तोरिजोससँग भेट्नुभयो र त्यहाँको क्रान्ति प्रत्यक्ष हेर्नुभयो ।
तोरिजोसले पनि आफ्नो देशमा व्याप्त भ्रष्टाचार र धनी गरिबबीचको बढ्दो खाडलविरुद्ध विद्रोह गरेका थिए । उनले पानामामा किसानहरूको पक्षमा भूमिसुधार लागु गरे । पानामा नहरमा संरा अमेरिकी नियन्त्रण उनी मन पराउँदैन । उनी पानामा नहर पानामाली जनताको नियन्त्रणमा हुनुपर्ने सोच्थे । अन्ततः सन् १८८१ मा सत्ता कब्जाको ते¥ह वर्षपछि एउटा विमान दुर्घटनामा उनी मारिए ।
पेरु र पानामाका प्रगतिशील सुधार कार्यक्रमले युवा चाभेजमा निकै सकारात्मक प्रभाव पा¥यो । तोरिजोस र भिलास्को आफ्नो देशका र जनताको जीवनस्तर वृद्धि गर्न, संरा अमेरिकाबाट सार्वभौमसत्ता फिर्ता गर्न र जनताको गरिबी हल गर्न चाहने शक्ति प्रयोग गर्न आफ्नो प्रगतिशील सैनिक अधिकारी थिए । सन् १९७३ सेप्टेम्बर ११ मा जनरल अगस्टो पिनोचेले चिलीका प्रथम निर्वाचित माक्र्सवादी राष्ट्रपति साल्भाडो येएन्डेको सत्ता अपदस्थ गरिदियो र सैनिक तानाशाही लागु ग¥यो । त्यतिबेला चाभेज पहाडी क्षेत्रमा तालिम गर्दै हुनुहुन्थ्यो । यो घटनाको स्मरण गर्दै चाभेजले पछि भन्नुभएको थियो, “एउटा कुरा हामीले बिर्सनै सकेनौँ”, फिडेलको भाषणमा भनिएको थियो, “यदि हरेक मजदुर, हरेक श्रमिकसँग हातमा राइफल हुँदो हो त चिलीमा जस्तो घटना घट्ने थिएन ।”
सन् १९६० दशकको उत्तर्राद्र्ध र ७० सुरुतिर ल्याटिन अमेरिकामा भएका सैनिक विद्रोहहरूले चाभेजलाई जनताको मुक्तिका लागि विद्रोह गर्ने सैनिक नेताहरू र जनतालाई दबाउन विद्रोह गर्ने सैनिक नेताहरूबीच भेद बुझ्न सहज पारिदियो । “हामी सिपाहीहरूका लागि पिनोचे यस्ता उदाहरण थिए जसको हामी सिको गर्नसक्दैनौँ ।” चाभेजले भन्नुभयो ।
सन् १९७५ जुलाईमा चाभेज सैनिक शिक्षालयबाट बिदा हुँदा चाभेजले भेनेजुयलामा सत्ता कब्जाबारे सोच्नुभएको थिएन । उहाँले तेलको धनी करोडौँ जनसङ्ख्या भएको आफ्नो देश र त्यहाँका भ्रष्ट राजनीतिज्ञहरूबारे सोच्नुभएको थियो । उहाँको दिमाग बोलिभार र अरू क्रान्तिकारीहरूका विचारले भरिपूर्ण थियो । उहाँको आत्मा धनीवर्गप्रति तीव्र आक्रोश र गरिब जनताप्रति सद्भावले पूर्ण थियो । सैनिक शिक्षालयमा उहाँलाई गुरिल्लाहरूविरुद्ध लड्न सिकाइएको थियो । तर, अब उहाँलाई आफ्नो वास्तविक शत्रु तिनीहरू हो कि होइन भन्ने मनमा लागिरहेको थियो ।
“हामीले गुरिल्लाविरोधी रणनीति सिक्यौँ तर म ती सबै रणनीतिमाथि प्रश्न ते¥याइरहेको थिएँ ।”
Leave a Reply