भर्खरै :

थाइल्यान्डमा राजतन्त्रविरोधी आन्दोलन

बैङ्कक, २० सेप्टेम्बर । थाइल्यान्डको राजधानी बैङ्ककमा थाइ नरेश महा बजिरालोकर्नको अधिकार कटौतीको माग गर्दै हजारौँ जनताले प्रदर्शन गरेका छन् । राजाको विरोध गर्न नहुने लामो समयदेखिको परम्परा तोड्दै पछिल्ला दुई महिनामा थाइल्यान्डमा राजदरबार र सेनाको नियन्त्रण रहेको सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् ।
अधिकांश समय युरोपमा बिताउने गरेका थाइ नरेश अहिले पनि थाइल्यान्डमा छैनन् ।
प्रदर्शनकारीहरूलाई निःशस्त्र प्रहरीहरूले रोक्ने प्रयास गरेका थिए । प्रदर्शनकारीहरूका नेताले प्रदर्शनकारीहरूको तर्फबाट ज्ञापनपत्र प्रहरीलाई बुझाएको जानकारी दिए ।
“हामीजस्तो सर्वसाधारणले पनि राजालाई चिट्ठी लेख्न सक्छ भन्ने कुरा पुष्टि हुनु नै अहिलेको हाम्रो सफलता हो”, प्रदर्शनकारीका नेता परित ‘पेइनगुन’ चिवारकले भने ।
प्रदर्शनकारीहरूले राजदरबारमा सुधार, प्रधानमन्त्रीलाई पदबाट बर्खास्त गर्न र नयाँ संविधान तथा निर्वाचनको माग गर्दै नाराबाजी गरेका थिए ।
आइतबार बिहान सूर्योदय हुनुअघि नै प्रदर्शनकारीहरूले बैङ्ककको ग्रान्ड प्यालेसनजिक एउटा पताका झुन्ड्याएका थिए । त्यसमा लेखिएको थियो, “यो ठाउँमा जनताको अभिव्यक्ति दिने ठाउँ हो । यो देश जनताको हो । यो देश राजाको सम्पत्ति होइन ।”
सरकारका प्रवक्ताले प्रदर्शनकारीमाथि प्रहरीले हिंसात्मक दमन नगर्ने र प्रदर्शनकारीहरूले दिएका अवैध अभिव्यक्तिमाथि कारबाहीको लागि प्रहरी नै जिम्मेवार रहेको बताएका छन् ।
बैङ्कक सरकारले यसरी राजपरिवारको विरोध गरेर पताका राख्नु अवैधानिक हो वा होइन र त्यसलाई हटाउने वा राख्ने भन्ने कुराको निर्णय गर्न जिम्मेवारी भएको बताइएको छ ।
थाइल्यान्डका विश्वविद्यालयबाट सुरु भएको सङ्घर्षमा पछिल्लो समय अरू समुदायका मानिसहरू पनि बढ्दै छन् । पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रा समर्थकहरूको सङ्ख्यामा प्रदर्शन बढ्दै गएको बताइएको छ ।
“आफ्ना बाबु–बाजेले हिम्मत नगरेको काम अहिलेका युवाहरूले गरिरहेका छन् । हामी यसमा गौरव गर्छाैँ”, ५० वर्षका सामपोर्न आउटसाले भने । उनी राजावादी हुन् । “हामी राजतन्त्रको सम्मान गर्छौँ तर राजतन्त्र संविधानअन्तर्गत हुनुपर्छ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *