भर्खरै :

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

वीरगञ्ज, ५ असोज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारबाही थालेको छ । व्यवसायीहरूले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरूकहाँ छापा मार्न थालेपछि कारबाही प्रक्रिया अघि बढाएको हो ।
वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो । प्रशासनले व्यापारीहरूलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्ताहरूले राहत पाएको उपभोक्ता विजय पण्डितले बताउनुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरूबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताउनुभयो । स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी रु. ६५ र खुद्रा मूल्य प्रतिकेजी रु. ७५ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसअघि व्यापारीहरूले कृत्रिम मूल्य सिर्जना गरी प्रतिकेजी रु. १०० मा बेच्दै आएका थिए । तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्याज बिक्री वितरण गरेको पाइए स्थानीय प्रशासनले कानुनबमोजिम कारबाही गरिने बताइएको छ । यसका साथै व्यापारीहरूले आलु, प्याजलगायतका खाद्य सामग्रीको बढी मूल्य लिएर कालोबजारी गरेको उजुरी आएमा पनि कारबाही गरिने जनाइएको छ । वीरगञ्जमा थोक तथा खुद्रा बिक्रेताको सङ्ख्या ५०० को हाराहारीमा छ ।
भारतले प्याजको निर्यातमा रोक लगाएपछि वीरगञ्ज नाका हुँदै एउटा पनि प्याज बोकेको ट्रक नेपाल भित्रिएको छैन । यसअघि वीरगञ्ज भन्सार नाकाबाट दिनको तीन ट्रकभन्दा बढी प्याज नेपाल भित्रिने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताउनुभयो । यता प्याजको अभाव हुनथालेपछि सीमावर्ती नाका रक्सौलबाट तस्करहरूले साइकलमा राखी नेपालतर्फ प्याजको तस्करी गर्न थालेको पाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *