भर्खरै :

ख्वप माविमा कानुन विषयको अध्ययन र महत्वबारे प्रवचन

भक्तपुर, ८ असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र शारदा क्याम्पस माविको आयोजनामा कानुन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी ‘कानुन विषयको अध्ययन र यसको महत्व’ विषयमा जुममार्फत प्रवचन कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कानुन पढ्न चाहने र कानुन पढिरहेका विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा ज्ञान हासिल गरी समाज र देशको हितमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कानुन विषय अध्ययनको महत्व ज्यादै रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “जुनसुकै पेशा –व्यवसाय गर्नेलाई पनि कानुनी ज्ञान हुनु आवश्यक छ । गलत बाटोमा लागेका व्यक्तिलाई दण्ड सजायमार्फत सही ठाउँमा ल्याउने काम पनि कानुनले गर्ने हुँदा कानुन पढ्ने विद्यार्थी अझ क्षमतावान हुनुपर्छ ।”
शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाको भूमिकाबारे प्रस्ट पार्दैै प्रमुख प्रजापतिले शिक्षालाई उच्च प्राथमिकतामा राखी नगरपालिकाले ६ वटा शिशुस्याहार र सातवटा शैक्षिक संस्थाहरू सञ्चालन गरी शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको छ भन्नुभयो ।
नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले सस्तो र गुणस्तरीय शिक्षाको अवसर देशैभरिका विद्यार्थीलाई प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले भनपा ख्वप विश्वविद्यालय सञ्चालनको तयारीमा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा ‘कानुन शिक्षाको भविष्य र महत्व’ बारे प्रस्ट पार्दै संविधानविद् डा. भीमार्जुन आचार्यले कानुन पेशा उत्तिक्कै सम्माननीय पेशा रहेको धारणा राख्दै संसारमा सबभन्दा बढी लेखिएको र चर्चा गरिएको विषय कानुनलाई मान्ने गरिन्छ भन्नुभयो ।
मानिस जन्मदेखि मृत्युसम्म कानुनी बन्धनमा बाँधिने भएकोले कानुनी ज्ञान र शिक्षाको महत्व अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
कानुन अवसर नै अवसरको विषय भएको र कानुनका सबै विषय व्यवहारिक जीवनमा लागु हुने भएकोले कानुन अध्ययन गर्नेले धेरै मिहिनेत गर्नुपर्ने खाँचो औँल्याउँदै डा. आचार्यले केही बदमास व्यक्तिहरूले कानुनलाई बदनाम गरिरहेको दुखद विषय भएको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता सविता भण्डारीले कानुनको अज्ञानता क्षम्य नहुने बताउँदै कानुन सबैले पालना गर्नुपर्ने र कानुनको उल्लङ्घन गर्ने जोकोहीले पनि सजाय भोग्नुपर्ने यथार्थबारे प्रस्ट पार्नुभयो । कानुनका विद्यार्थी सामाजिक इन्जिनियर हुने धारणा राख्दै उहाँले कानुनका असल विद्यार्थीले समाजलाई डो¥याउने, समाजलाई सही दिशामा अगाडि बढाउने र समाजलाई न्याय दिने बताउनुभयो ।
कार्यक्रममा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र कानुन विषयका विभागीय प्रमुख अनिता जधारीले ख्वप मा.वि.ले स्थापनादेखि हालसम्मको कलेजको शैक्षिक स्थितिबारे प्रकाश पार्नुभयो । उहाँहरूले सामुदायिक संस्था बलियो भए गरिब तथा जेहेनदार विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न सम्भव हुने बताउनुभयो । कार्यक्रममा विद्यार्थी आयुषा थकुलवट र बबिन भट्टराईले ख्वप माविमा अध्ययन गर्दाको अनुभव सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *