भर्खरै :

बेलारुसका राष्ट्रपतिद्वारा सपथग्रहण, युरोपेली मुलुकद्वारा मान्यता दिन अस्वीकार

किभ, ८ असोज (एपी) । बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौँ पटक राष्ट्रपति पदको सपथग्रहण गर्नुभएको छ ।
विपक्षीहरूले चुनावमा धाँधली भएको आरोप लगाएर निरन्तर जुलुस र धर्ना गरिरहेको अवस्थामा राष्ट्रपति लुकाशेन्कोले पूर्व घोषणा नगरी सामान्य कार्यक्रमबीच सपथ लिनुभएको थियो ।
एक जना विपक्षी नेताले राष्ट्रपतिको सपथग्रहण समारोह ‘गोप्य’ रूपमा गरिएको र त्यो नौटङ्कीमात्र रहेको बताउनुभयो । धेरै युरोपेली मुलुकहरूले राष्ट्रपतिको चुनावी नतिजालाई अस्वीकार गर्ने र लुकाशेन्कोलाई वैधानिक राष्ट्रप्रमुखका रूपमा मान्यता नदिने पुनः दोहोर्याएका छन् ।
राष्ट्रपतिको सपथ भइरहँदा राजधानी मिन्स्कमा हजारौँ व्यक्ति प्रदर्शनमा उत्रिएका थिए भने सडकमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
मिन्स्कस्थित राष्ट्रपति कार्यालयमा आयोजित सपथग्रहण समारोहमा ठूलो सङ्ख्यामा समाजका लब्धप्रतिष्ठित व्यक्ति उपस्थित भएको राज्य सञ्चालित समाचार समिति बेल्टाले जनाएको छ ।
६६ वर्षीय लुकाशेन्कोले दाहिने हातमा संविधान राखेर बेलारुसी भाषामा सपथ लिनुभएको थियो । त्यस अवसरमा केन्द्रीय निर्वाचन आयोगका प्रमुखले बेलारुसको राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लुकाशेन्कोलाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यस अवसरमा राष्ट्रपति लुकाशेन्कोले निर्वाचनमा मुलुकको राष्ट्रपतिमा विजयी हुनु ठूलो कुरा होइन भन्दै आफूले राष्ट्रको मूल्यमान्यता, हाम्रो शान्तिपूर्ण जीवन, सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाको प्रतिरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
पूर्व सोभियत युनानिबाट अलग भएयता २६ वर्षदेखि लुकाशेन्को बेलारुसको राष्ट्रपतिमा हुनुहुन्छ । गत अगष्ट ९ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा लुकाशेन्कोले ८० प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँकी कट्टरविरोधी स्भितलाना चिखानोस्कायाले १० प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
विपक्षी नेतृ स्भितलाना हाल छिमेकी मुलुक लिथुआनियामा निर्वासनमा हुनुहन्छ । उहाँले निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणाम अस्वीकार गर्ने बताउनुभएको छ ।
उहाँका दशौँ हजार समर्थकहरूले ६ हप्तादेखि लुकाशेन्कोको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।
उहाँले भन्नुभएको छ, “जनताले लुकाशेन्कोलाई जनादेश दिएका छैनन् । सपथ ग्रहण कार्यक्रम नौटङ्कीमात्र हो र यो आफूलाई वैधानिक दाबी गर्ने चालबाजी मात्र हो ।”
लिथुआनियाको राजधानी भिलन्सबाट भिडियो सम्बोधन गर्दै विपक्षी नेतृ स्भितलानाले आफूलाई बेलारुसका जनताले निर्वाचित गरेको दाबी गर्नुभयो । उहाँले सबै मिलेर नयाँ बेलारुस बनाउने समय आएको बताउनुभयो ।
युरोपेली युनियनले समेत लुकाशेन्कोलाई बेलारुसको राष्ट्रपतिको रूपमा मान्यता दिन अस्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *