भर्खरै :

गरीबको पीडा कसले बुझ्ने ?

चितवन, ८ असोज । वर्षा भइरहेको थियो । वरिपरि आफन्तहरू निन्याउरो अनुहारका देखिन्थे । कालिका नगरपालिकास्थित शक्तिखोरका ८६ वर्षे बिरामी पविमाया चेपाङ पिँढीमा मृत्युलाई कुरिरहेको भान हुन्थ्यो । ६ दिनदेखि पविमाया थला परेकी छिन् । दुई महिनाअघि उनी बिरामी परेर भरतपुर अस्पतालमा उपचार गराएर फर्केकी थिइन् । हातखुट्टा नचल्ने र बोल्न पनि नसक्ने नसासम्बन्धी रोगी उनी केही हदसम्म निको भइन् । उपचारपछि उनी बोल्न र सामान्य हिँड्डुल गर्नसक्ने भएका थिए ।
यो पटक भने बिरामी पविमाया घरमै छट्पटिरहेकी थिइन् । यो पालि उनी हातखुट्टा नचल्ने र बोल्न नसक्ने भएकी हुन् । आँखा हेर्न सकिन्छ । मुख चलाउन सकिन्छ । उनलाई तत्काल स्वास्थ्य उपचार गर्नुपर्ने हो । तर, उनलाई उपचार गर्न अस्पताल नल्याई घरमा नै राखिरह्यो । यो पीडादायी दृश्यले हाम्रो समाजको चेतना, समस्या र बाध्यतालाई उजागर गर्दछ ।
उनको समयमै उपचार भए केही दिन बाँच्न सकिन्छ । समयमै उपचार पाउनुपर्छ । उमेर भयो भन्दैमा बिरामीले उपचार नपाउनु मानवीय हितबिपरीत हो । बिरामी भएकै बेलामा स्वास्थ्य उपचार, हेरचाह गर्ने हो । तर, यो दृश्यले हाम्रो गाउँ समाजलाई नै गिज्याइरहेको छ ।
बिरामी पविमाया चेपाङको एक छोरा र एक छोरी साथमा छन् भने नातिनातिनी थुप्रै छन् । छोरा मानबहादुर चेपाङ भन्दै थिए, “गाउँकै मेडिकलका मान्छेलाई बोलाएर एक दुई पटक उपचार गराएँ । बिरामी आमा हलचल गर्नसक्नुहुन्न । कोरोना सङ्क्रमणको महामारी छ । पैसा नभएकोले अस्पताल लान सकिएन ।” चार पाँच दिनदेखि थला पर्दा बिरामी चेपाङलाई दूध र पानीमात्र चम्चाले खुवाउने गरेको रहेछ । बिरामीको अवस्था देख्दा त्यो पनि खानसक्ने स्थिति थिएन ।
पविमाया यसरी थला पर्दा पनि केही नहेर्ने आफन्त, छरछिमेकी निर्दयी हो कि हाम्रो समाजको नियति हो बुझ्न गा¥हो छ । उनले मुखबाट केही खान सकिरहेकी छैनन् । शरीर पुरै सुकिसकेको छ । सिकिस्त बिरामीलाई हेरी हेरी मर्न दिनु भनेको हाम्रो असक्षमता हो । मानिसको मनलाई मार्नु हँुदैन । समाजमा धेरै वर्ष बाँचेका मानिसहरूको उदाहरण छ । तर, बिरामी पविमाया चेपाङ स्वास्थ्य उपचार नपाई मृत्युको मुखमा छटपटिरहेकी छिन् । हाम्रो समाजको गाउँ–ठाउँमा अझै पनि थुप्रै पविमाया चेपाङहरूले यस्तो अवस्था भोगिपरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *