भर्खरै :

वर्तमान शैक्षिक स्थितिबारे ख्वप/शारदा माविको अन्तरक्रिया

भक्तपुर, १० असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच वर्तमान शैक्षिक समस्या र समाधानबारे अन्तरक्रिया कार्यक्रम जूम (अनलाइन) मार्फत शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याउनुहुँदै शैक्षिक र प्रशासनिक दक्षताको लागि विद्यालय व्यस्थापनले अझ मेहनत गर्नुपर्ने सुझाव दिनुभयो ।
“कम शुल्कमा पढाउँदैमा र संस्था पुरानो हुँदैमा राम्रो हुने होइन । संस्थाको दक्षता राम्रो हुन व्यवस्थापकीय पक्ष राम्रो हुनुपर्छ, अनुशासित हुनुपर्छ”, उहाँले भन्नुभयो ।
प्राज्ञिक क्षेत्रलाई बजारजस्तो बनाउन नहुने धारणा राख्नुहुँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “बजारमा बिक्ने जनशक्ति तयार गर्नेभन्दा निःस्वार्थरूपले देश र जनताप्रति समर्पित नागरिक तयार गर्नेतर्फ शिक्षकहरूले ध्यान दिनु आवश्यक छ । विद्यार्थीको बानी–व्यहोरा र विद्यार्थीमा नागरिक भावनाको विकास गराउन शिक्षक कर्मचारीहरूले मेहनत गर्नैपर्छ ।”
बहुसङ्ख्यक जनतामा राजनैतिक संस्कार विकास नभएसम्म आमूल परिवर्तन सम्भव नहुने र आदर्श समाज निर्माणको लागि एक ऐतिहासिक युग लाग्नसक्नेतर्फ सचेत गराउनुहुँदै अध्यक्ष बिजुक्छेँले समाज परिवर्तनमा लाग्नेहरू विचलित नभई इतिहासबाट पाठ सिकी निरन्तर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
इतिहास, भूगोल र राजनीतिशास्त्रजस्तो देशको सार्वभौमिकता र भूअखण्डतासँग सम्बन्धित विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू कम हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्नुहुँदै उहाँले ती विषयहरूमा छात्रवृत्ति दिएर भएपनि विद्यार्थीलाई आकर्षित गर्नुपर्ने सुझाव दिनुभयो ।
विश्वविद्यालय, सीटीईभीटीका प्रमुख व्यक्ति र राज्यका प्रमुख प्रशासकहरूमा अझ पनि जातिविरोधी दृष्टिकोण रहेको र त्यस्ता जातिवादी व्यक्तिहरू रहेसम्म विश्वविद्यालयकोे शैक्षिक स्तर नसुध्रिने उहाँले स्पष्ट पार्नुभयो ।
नगर राज्यहरूले विश्वविद्यालय स्थापना गरेको इतिहास रहेको उदाहरण दिनुहुँदै अध्यक्ष बिजुक्छेँले विश्वविद्यालय सञ्चालन गर्न सक्षम भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति दिनुपर्ने बताउनुभयो ।
संरा अमेरिकी इतिहासमा ट्रम्प एक नकारात्मक राष्ट्रपति भएको उहाँले स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् विद्यालय÷कलेजसञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कोभिड–१९ को प्रतिकूलताबीच भनपाद्वारा सञ्चालित विद्यालय÷कलेजहरूमा नियमित पठन–पाठन हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो ।
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्य लिई भक्तपुरका जनप्रतिनिधि र स्थानीयवासीले स्थापना गरेको यस विद्यालयको उद्देश्य पूरा गर्न शिक्षक तथा कर्मचारीहरूले निःस्वार्थपूर्वक सहयोग गर्ने अपेक्षा गर्नुहुँदै उहाँले भन्नुभयो, “नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूको गुणस्तर राम्रो हुनुमा शिक्षक–कर्मचारीहरूको मेहनत र व्यवस्थापनको सफल नेतृत्व हो । विद्यालय र विद्यार्थीको भविष्य शिक्षकहरूको हातमा रहने हुँदा शिक्षकहरूले अझ मेहनत गर्नु आवश्यक छ ।”
“देश सङ्घीयतामा गएपनि शासक पार्टीहरूमा केन्द्रीकृत मानसिकता अझ कायम छ । संविधान तथा कानुनमा स्थानीय निकायको अधिकार क्षेत्र स्पष्ट व्यवस्था भएपनि केन्द्र सरकारले ती अधिकार दिन आनाकानी गर्नु संविधान र कानुनविपरीत हो”, प्रमुख प्रजापतिले भन्नुभयो ।
कोभिड–१९ नियन्त्रणको लागि सम्भव भएसम्म प्रयास गरिरहेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले भनपाले शनिबारबाट छुट्टै आइसोलेसन कक्ष सञ्चालन गरिसकेको जानकारी दिनुभयो ।
विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नयाँ शैक्षिक वर्षको कार्यक्रमबारे जानकारी दिनुहुँदै संस्था सफल बनाउन समूहगतरूपमा कार्य गर्ने पद्धतिको आवश्यकताबारे औँल्याउनुभयो ।
कार्यक्रममा विद्यालयका उपप्राचार्यद्वय लक्ष्मीप्रसाद कर्माचार्य र विष्णुप्रसाद किसीले पनि बोल्नुभएको थियो ।
ख्वप माविमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको नियमित पढाइ अनलाइनमार्फत आइतबारबाट हुने विद्यालय प्रशासनले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *