भर्खरै :

नेपालमा रेल्वे विकासबारे इन्जिनियरहरूको वेभिनार

भक्तपुर , १० असोज । इन्जिनियर समाज नेपालको आयोजनामा ‘नेपालमा रेल्वे विकासको आर्थिक, सामाजिक तथा राजनैतिक पक्ष’माथि अनलाइन सेमिनार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपालमा कोइला, पेट्रोल तथा डिजेलबाट होइन बिजुली एवम् वैकल्पिक ऊर्जाबाट चल्ने रेल्वे तथा सम्पूर्ण यातायातको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
हिजो ३० वर्षे पञ्चायती शासनको विरोध गर्नेहरू आज सरकारमा भए तापनि पञ्चायतकालमा नेपालभन्दा पछाडि रहेको इथोपिया नेपालभन्दा धेरै अगाडि बढिसकेको उहाँले बताउनुभयो ।
सन्तुलित विकास तथा पर्यटन प्रवद्र्घन एवम् मालसामान ढुवानीका लागि रेल्वेलगायत अन्य यातायातको विकास गरिनुपर्ने उल्लेख गर्दै उहाँले देशैभरि अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेभन्दा दाङमा यसको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । नेपालको जलविद्युत् विदेशीलाई बेच्नुभन्दा नेपालमै उपयोग हुनुपर्ने आवश्यकताबारे औँल्याउँदै उहाँले सर्तसहितका विदेशी अनुदान लिएर सञ्चालन हुने एमसीसीलगायतका कार्यक्रमले देशको हित नहुने बताउनुभयो ।
भारत र अमेरिका मिलेर नेपालको बिजुली बाहिर लान खोजेको उहाँको दाबी थियो । ग्लोबलाइजेसनको नाममा निजीकरणको बढावा नदिई सरकार आफै अग्रसर भएर विश्वमा छरिएर रहेको ज्ञान र प्रविधि मानव जातिको हितका लागि प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले दक्षिण एसियाको विद्युत् ग्रिडको नाममा नेपालको बिजुलीको चावीसमेत दिल्लीमा बुझाउने कार्यको नेमकिपाले विरोध गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा रेल्वे विकाससम्बन्धी अध्येता एवम् पूर्वाधार विकाससम्बन्धी विज्ञ डा. सूर्यराज आचार्यले नेपालमा रेल्वेको इतिहास एवं त्यसको आर्थिक, सामाजिक तथा राजनैतिक पक्षमाथि विशेष प्रस्तुति दिनुभयो । ऊर्जाको कम खपत, कम भूमि तथा कम समय लाग्ने विश्वसनीय यातायातको रूपमा रेललाई लिन सकिने डा. आचार्यको भनाइ थियो । हाल नेपालमा भारतबाट ल्याइएको रेल पुरानो प्रविधिको भएको र डिजेलबाट चल्ने भएकोले पनि यसले कालान्तरमा रेल्वे यातायातमा विकास नपु¥याउने उहाँको धारणा थियो । रेल्वे भनेको इन्जिनियरिङ र प्रविधिमात्र नभई यो एक सार्वजनिक यातायातसमेत भएकोले सामाजिक पक्षमा यसले ल्याउने परिवर्तनलाई ध्यान दिंदै ढिलै भए पनि नेपालको जलविद्युत्को उपयोगिता बढ्ने गरी हाइस्पीडको बिजुलीबाट चल्ने रेल नेपालको लागि आवश्यक हुने उहाँले बताउनुभयो ।
नेपालमा रेल ल्याउने कुरा १० वर्षअगाडि नै भए पनि सरकारले हालसम्म एकजना पनि रेल चलाउने प्राविधिक तयार गर्न नसक्नु र सबै प्राविधिक भारतबाट ल्याएर रेल सञ्चालन गर्ने कुराले नेपालको रेल्वे विकास नहुने भएकोले जापानजस्ता आधुनिक रेल्वेमा विकसित देशहरूको इतिहासबाट केही सिक्न उहाँले सत्तामा बस्नेहरूलाई सुझाउनुभएको छ । रेल प्राविधिकहरूको बुझाइमात्रै नभई राजनैतिक तहमा बस्नेहरूले समेत बुझ्नुपर्ने विषय भएको उल्लेख गर्दै उहाँले सरकारसित रेल्वेसम्बन्धी विज्ञहरू नभएको र विदेशी परामर्शदाताहरूबाट तयार गरिएको योजनाको आधारमा हतारमा डीपीआर गर्ने र ठेक्का लाएरमात्रै रेलको सपना पूरा नहुने उहाँले उल्लेख गर्नुभयो ।
समाजका अध्यक्ष ई. रवीन्द्र फोजूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ई. सत्यराम ज्याख्वले नेपालमा रेल्वेको विकास तथा सम्भाव्यता विषयमा प्रकाश पार्नुभयो भने ई. अनिता प्रजापतिले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *