भर्खरै :

कतै अग्लो होटल, कतै प्रदूषित टेक्सटायलबाट सांस्कृतिक क्षेत्रलाई चुनौती

सरकार नै ऐन–नियम तोड्नेको संरक्षक भएपछि जनतालाई कति पीडा हुन्छ भन्ने ताजा घटना शङ्कर ग्रुपको काठमाडौँ थःबहीमा बनिरहेको जगदम्बा हस्पिटालिटी (होटल) हो । यही ग्रुपको जगदम्बा १६ एमएमको टीमएटी बार फलामे डण्डी गुणस्तरहीन भएको थियो ।
शङ्कर ग्रुपले काठमाडौँको ऐतिहासिक र सांस्कृतिक क्षेत्र थःबहीसँग जोडिएको नक्सालमा दुई तलाको बेसमेन्टसहित १५ तलाको होटल ४ अर्ब रूपैयाँ लगानीमा निर्माण गर्दा नक्साल भगवती मन्दिरदेखि प्रहरी प्रधानकार्यालयको सडक निकै गहिरो गरी भासिएको थियो ।
होटलको जग खन्ने बेला ठूलो मेसिन प्रयोग गरिँदा ठूलो भूकम्पभन्दा बढी थर्किएको, जोखिममा परेका कतिपय घरका मानिस घर बेचेर अन्त गएको र केही अन्त डेरामा बस्नुपरेको थियो । त्यसबेला वरिपरिका जनता आन्दोलनमा उत्रेका थिए । होटलले मुख्य सडकबाट ६ मिटर पर संरचना बनाउनुपर्नेमा सडकको किनारामै निर्माण गरेको छ । सर्वसाधारण जनताको स–साना निर्माणमा अनेक झन्झट तेस्र्याउने काठमाडौँ महानगरपालिका र सडक विभागलगायत सरकारी अङ्ग ठूलै रकमको चलखेलमा मत्थर भएको जनगुनासो छ ।
यही क्षेत्रमा ऐतिहासिक थःबही कमलपोखरी म्हासेर १२ तलाको व्यापारिक भवन निर्माणमा पनि सरकारी निकाय ठूलै रकम चलखेलमा मत्थर भएको जनगुनासो पनि पुरानो हो । सानो क्षेत्रमा गगनचुम्बी भवन बनाउन नक्सा कसरी पास भयो ? यो प्रश्नको जवाफ पनि रहस्यमै छ ।
कर्पोरेटहरूको चङ्गुलमा सरकार फसेपछि इमानदार जनता पीडित हुन्छन् । सरकारले आव २०७२÷७३ को बजेटमा काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू स्थानान्तरण गर्ने प्रतिबद्धता ग¥यो । कर्पोरेटहरू चलमलाएपछि सरकार आफ्नो प्रतिबद्धताबाट पछि हट्यो । अहिले काठमाडौँ, ललितपुर र भक्तपुर औद्योगिक क्षेत्रमा टेक्सटायल, डाइङलगायत उद्योगको ध्वनि र धुवाँबाट स्थानीय जनता पीडित छन् । जनताले आफ्ना पीडा उल्लेख गरी पटक–पटक औद्योगिक क्षेत्र व्यवस्थापन लि.को ध्यानाकर्षण गराए तर यो कार्यालय बहिरो र अन्धोजस्तो बसी जनताको आग्रहलाई बेवास्ता गर्दै छ । भक्तपुर औद्योगिक क्षेत्रको ध्वनि र धुवाँ प्रदूषण फाल्ने टेक्सटायल र डाइङ उद्योगविरूद्ध जनता सकडमा उत्रने तयारीमा छन् । समयमै काठमाडौँको थःबहीमा निर्माणाधीन १५ तलाको होटलबाट पीडित जनता र भक्तपुर औद्योगिक क्षेत्रको टेक्सटायल र डाइङ उद्योगबाट पीडित जनतालाई न्याय दिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *